बर्दिवास, १८ असार। नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी बिहीबार बेलुका महोत्तरीको गौशाला ५ बाट पक्राउ परेका छन्।
उनलाई गौशाला ५ स्थित एमाले पार्टी कार्यालय अगाडिबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी डीएसपी पन्चलाल गोलेले जानकारी दिए।
असई थमन विक हत्या प्रकरणमा उच्च अदालत जनकपुरले बुधबार मात्रै ५ वर्ष कैद सजाय सुनाएको थियो।
उच्च अदालतले जिल्ला अदालतको फैसला उल्ट्याउँदै अभियुक्तहरू कोइरी, अभिराम शर्मा, धर्मेन्द्र राय, रामशंकर मिश्र, सुरेश पाण्डे र पवन कापरलाई जनही पाँच वर्षको कैद सजाय सुनाएको हो।
जिल्ला अदालत महोत्तरीले २०८० मंसिर २८ गते कोइरीलाई सफाइ दिएको थियो।
२०७२ भदौ २५ मा भएको असई विक हत्या प्रकरणमा तत्कालीन एमालेका प्रतिनिधिसभा सदस्य महतोसहित २८ जनाविरुद्ध २०७५ साउन २८ गते कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो।






















