चितवन, ८ असार। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बन्दसत्र आज नहुने भएको छ। प्रतिनिधिहरूको अन्तिम नामावलीलगायतको तयारी नपुगेपछि आज बन्दसत्र नहुने भएको हो।

सोमबार बिहान साढे ८ बजे सुरु हुने तय थियो। बन्दसत्र नहुने भएपछि नेताहरू होटेलतिर फर्कन थालेका छन्। 

shuba shree

बन्दसत्रको हलमा केही प्रतिनिधिहरू सुतेर, नाचगान गरेर, मोबाइल चलाएर समय बिताइरहेका छन्। भरतपुरको गेस्टहाउस चौरमा उद्घाटन भएको महाधिवेशनको बन्दसत्र चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा हुने भएको छ।

मंगलबार बिहानैदेखि सुरु गर्ने गरी तयारी थाल्नेबारे छलफल भइरहेको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ। आयोगका प्रमुख भुवन केसीले आज बन्दसत्र सुरु नहुने बताए। ‘भोलि बिहानबाट बन्दसत्रको प्रक्रिया सुरु हुन्छ,’ उनले नेपालखबरसँग भने, ‘आज प्रतिनिधिको कार्ड वितरण गरिसक्छौँ।’

बन्द सत्रको तयारी नपुगेपछि सभापति रवि लामिछाने र बरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र साह बन्दसत्रस्थल चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा आएका छैनन्। 

रास्वपाको बन्दसत्रमा विभिन्न प्रतिवेदनमाथि छलफल गरेर पारित गरेपछि मात्र सभापति र केन्द्रीय सदस्यको निर्वाचनको कार्यक्रम अघि बढ्नेछ।

आइतबार सुरु भएको महाधिवेशन मंगलबारसम्म सकिने मिति तय भएको थियो। तर, बन्दसत्रमा ढिलाइ हुँदा महाधिवेशन लम्बिने भएको छ।

महाधिवेशन प्रतिनिधिको संख्या पनि बढ्दै गएको छ। प्रतिनिधिको संख्या चार हजार पाँच सय पुग्ने अनुमान गरिएको रास्वपा प्रवक्ता मनीष झाले जानकारी दिए।