काठमाडौं, ७ असार। जनता समाजवादी पार्टी (जसपा)नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधानमा रहेका त्रुटी, विरोधाभास र अपूर्णताहरू सच्याउँदै संशोधनमार्फत थप समावेशी, न्यायपूर्ण र समृद्ध बनाउने जिम्मेवारी रास्वपामाथि आएको बताएका छन्।
चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। अध्यक्ष यादवले मुलुक अझै पनि सुशासन, समृद्धि, सामाजिक न्याय र वास्तविक समानताको खोजीमा रहेको बताए।

उनले संविधानले संघीयता, गणतन्त्र, समावेशिता र धर्मनिरपेक्षता जस्ता महत्वपूर्ण उपलब्धि संस्थागत गरे पनि ती विषयहरू पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको टिप्पणी गरे। उनले संविधानभित्रै विरोधाभास र अपूर्णता रहेको उल्लेख गर्दै विभेदमा परेका समुदाय, जातजाति र सांस्कृतिक समूहहरूको अधिकार सुनिश्चित गर्न संविधान परिमार्जन अपरिहार्य रहेको बताए।
उनले संविधान संशोधनमार्फत विद्यमान विकृति र विसंगतिहरू हटाई देशको राजनीतिक तथा सामाजिक रूपान्तरणलाई नयाँ उचाइमा पुर्याउनुपर्ने आवश्यकता औँल्याउँदै समावेशी लोकतन्त्रको सुदृढीकरणमा रास्वपाले अग्रसरता लिनुपर्नेमा जोड दिए।
उनले भने, ‘संविधान त्रुटिपूर्ण, अधुरो र अपुरो रहेको छ। आफैंभित्र विरोधाभास रहेको छ। निश्चित रुपमा यसमा केही महत्वपूर्ण आयामहरु पनि छन्। संघीयता, गणतन्त्र, समावेशिता, धर्म निरपेक्षता जस्ता महत्वपूर्ण पक्षहरु भएपनि ती धेरै कुराहरु अपुरा र अपूर्ण रुपमा रहेका छन्। र अहिलेको आवश्यकता संविधानलाई संशोधन गरी, संविधानलाई परिमार्जन गरी संविधानमा रहेका विकृति र विसंगतिलाई हटाएर संविधानलाई समृद्ध बनाउनुपर्ने ऐतिहासिक जिम्मेवारी पनि यहाँहरुमाथि आइपुगेको छ।’
उनले मुलुकलाई समृद्धिको दिशामा लैजान सफलता मिलोस् भन्दै रास्वपा परिवारलाई शुभकामना दिए।






















