काठमाडौं, ४ असार। पूर्वसभामुख एवम् नेपाली कम्यूनिष्ट पार्टी (नेकपा)का नेता कृष्णबहादुर महराले स्वास्थ्य अवस्थालाई कारण देखाउँदै पार्टीको सक्रिय जिम्मेवारीबाट विदालिने घोषणा गरेका छन्। आफू केही वर्षयता एट्रोफी सम्बन्धी रोगबाट पीडित रहेको र उपचार तथा नियमित थेरापी गरिरहे पनि स्वास्थ्यमा अपेक्षित सुधार हुन नसकेकाले सक्रिय राजनीतिक जिम्मेवारी निर्वाह गर्न कठिन भएको विन्दै लिएका हुन्।

705521264_1588534663277540_4869241638790147670_n

नेपाली कम्युनिष्ट आन्दोलनका विभिन्न चरण, संघर्ष र परिवर्तनका यात्रामा निरन्तर सक्रिय रहेको उल्लेख गर्दै उनले नेकपा चौथो महाधिवेशन, नेकपा मशाल, नेकपा एकता केन्द्र, नेकपा (माओवादी), एनेकपा माओवादी, नेकपा माओवादी केन्द्र हुँदै हालको नेकपासम्म आइपुग्दा आफ्नो क्षमता, समय र जीवनको महत्वपूर्ण हिस्सा पार्टी, आन्दोलन, देश र जनताको सेवामा समर्पित गरेको उनले आज जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ।

महराले जारी गरेको विज्ञप्तीमा ‘नसाहरू र मांसपेशीहरू क्रमशः खुम्चिँदै जाने एट्रोफी रोगका कारण नियमित उपचार, थेरापी र औषधि सेवन गरिरहे पनि विगतझैँ सक्रिय, प्रभावकारी र जिम्मेवार ढङ्गले पार्टीका गतिविधिमा योगदान गर्न नसक्ने अवस्था सिर्जना भएको’ उल्लेख गरेका छन्।

पार्टी जीवनमा अन्तरसंघर्ष, नेतृत्व निर्माण तथा नेपालको राष्ट्रिय स्वाधीनताको सवालमा आफू सधैं इमानदार र प्रतिबद्ध रहेको उल्लेख गर्दै महराले पार्टीमा बिताएका वर्षहरू, आन्दोलनका स्मृतिहरू, सहकर्मीहरूको आत्मीयता तथा देश र जनताप्रतिको प्रेम र प्रतिबद्धता कहिल्यै समाप्त नहुने बताएका छन्।

शरीर कमजोर भए पनि देशप्रतिको चिन्ता, जनताप्रतिको माया र समृद्ध नेपालको सपना अन्तिम श्वाससम्म जीवित रहने उनको भनाइ छ। उनले नयाँ पुस्ताका ऊर्जाशील युवाहरूले देशलाई अझ समृद्ध, आत्मनिर्भर र सम्मानित राष्ट्रका रूपमा स्थापित गर्ने विश्वास व्यक्त गर्दै उनीहरूको सफलतामै आफ्नो पुस्ताको संघर्ष र योगदानको सार्थकता रहने बताएका छन्।