• पवन बराइली

प्रविधिको उपलब्धताका कारण नेपालको संगीत क्षेत्र पछिल्लो समय सहभागिताको दृष्टिले केही हदसम्म समावेशी बन्दै गएको देखिन्छ। तर, मधेशको संगीत र संगीतकर्मीहरू भने उल्लेखनीय रूपमा अझै पनि ‘मूलधार’ भनिने क्षेत्रमा समावेश भएको देखिन्न। मधेशको संगीतलाई ‘अन्य’को स्थानमा राख्ने र मधेशका संगीतकर्मीहरूले नाघ्नुपर्ने संघर्षका उकाली–ओराली अरूको तुलनामा अझै पनि धेरै छ ।

नेपाली संगीत क्षेत्रमा जब नयाँ गीत सार्वजनिक हुन्छ, त्यसको भाषा, लय, प्रस्तुति र अनुहार प्रायः एउटै शैलीका देखिन्छन् । त्यहाँ मैथिली, भोजपुरी, थारू, अवधी संगीत देखिन्न । म्युजिक भिडियो लन्चदेखि स्टुडियोमा नयाँ गीत रेकर्ड गर्दा मधेशको संगीत र संगीतकर्मी अझै पनि देखिन्न । जबकि करिब आधा नेपाल मधेशी भूमिमा बस्छन् । मधेशको संगीतले त्यहाँको समाजलाई पुस्तौँदेखि एक ठाउँमा जुटाएर राखेको छ । तर, जब नेपाली संगीतको इतिहास लेखिन्छ, मधेशका संगीत र संगीतकर्मीहरूको योगदान ओझेल पारिन्छ ।

नेपाली संगीतमा मधेशको योगदान 

नेपाली संगीत बृहत्तर हुनुमा मधेशको संगीतको पनि महत्वपूर्ण भूमिका छ । साहित्यकार धीरेन्द्र प्रेमर्षीका अनुसार मिथिला क्षेत्रका संस्थापक राजा मान्यदेवले संगीतशास्त्र लेखेका थिए । पन्ध्रौँ शताब्दीमा पण्डित लोचनले नेपाल–मिथिलाको लोकसंगीत र राग निर्माण गरे । तर, यी योगदान आज प्रायः ओझेलमा छन्’,उनी भन्छन्,‘मिथिलामा संगीत मनोरञ्जन मात्र होइन, पूजा हो । मिथिला स्वायत्त राष्ट्रको रूपमा रहेको थियो र त्यसका गीत–संगीत राष्ट्रियतासँग जोडिएको थियो । तर, अहिले ती परम्परा ओझेल परे ।

विगतमा गीत–संगीत र नृत्यजस्ता कलामा जीवन समर्पित गर्ने मानिसहरूलाई ‘गाइने’ वा ‘बादी’ भनेर होच्याइन्थ्यो । प्रेमर्षीका अनुसार मिथिलामा संगीतको आफ्नै परम्परा थियो, जसलाई निरन्तरता दिनेमा धेरैजसो ब्राह्मण समुदायका मानिस छन् । ‘नेपाली भनेर भाषा र संस्कृतिको एक पक्षलाई मात्र मान्यता दिइयो । यसले अन्य भाषाभाषीका कलाकारहरूलाई ओझेलमा पारेको छ । मल्लकालमा मैथिली र नेवारीमा लेखिएका साहित्य छन् । तर, त्यो इतिहास नेपाली साहित्यमा समावेश गरिएको छैन,’ उनी भन्छन्,‘नेपाली भन्नेबित्तिकै खस भाषा र संस्कृति हुनुपर्ने बनाइयो । यसले अरू भाषाभाषी, कलाकार र स्रष्टाहरूलाई ओझेलमा पारेको छ । यसले स्वयं नेपाललाई संकुचित र संकीर्ण बनाएको छ । नेपालको इतिहास नै खुम्च्याइदिएको छ ।’

संगीतज्ञ बुलु मुकारुङका अनुसार २००७ सालतिर परिवर्तनकारी गीतको चर्चा हुँदा गायिका रानुदेवी अधिकारी र गीतकार तारणीप्रसाद कोइरालाको मात्रै नाम लिइन्छ, तर ती गीतका संगीतकार कालुराम मण्डल र हिरालाल मण्डलको योगदानबारे चर्चै हुँदैन । ‘कालुराम मण्डल र हिरालाल मण्डलले परिवर्तनकारी गीतका संगीत भरेका थिए । तर, नेपाली संगीतको इतिहासमा उनीहरूको खोज, योगदान र पहिचानलाई समेटिएको पाइँदैन,’ उनी भन्छन् ‘क्रान्तिकारी गीत गाउने र लेख्नेहरूको नाम इतिहासमा आयो, तर संगीत सिर्जना गर्नेहरू सधैँ ओझेलमा परे ।’

नेपाली संगीतमा मधेशबाट उदाएका संगीतकर्मीहरूको पनि ठुलो योगदान छ । उदितनारायण झा, रामा मण्डल, सीताराम ताजपुरियालगायतका कलाकारले नेपाली संगीतमा उल्लेखनीय काम गरे । उनीहरूले नेपाली मात्र नभएर विभिन्न भाषामा गीत गाएर सांगीतिक क्षेत्रलाई समृद्ध बनाए । मुकारुङका अनुसार नेपाली संगीत क्षेत्रमा पहाडी समुदायको वर्चस्व र राजनीतिक प्रभावका कारण अवसरको पहुँच असन्तुलित बन्यो । ‘संगीतमा अवसर मुख्यतः पहाडी समुदायले पाएको देखिन्छ । मधेशका स्रष्टा र संगीत पर्याप्त रूपमा प्रतिनिधित्व हुन सकेनन्,’ उनी भन्छन् ।

संगीत क्षेत्रमा पहिचान बनाउने गायकमध्ये अग्रपंक्तिमा पर्छन्, रामा मण्डल । उनका धेरै गीत रेडियो नेपालमा लोकप्रिय बने, जसमा फिल्म गोपीकृष्णको ‘कहाँ छ कहाँ।।।’ बोलको गीत विशेष चर्चित छ । उनले एक सयभन्दा धेरै चलचित्रका गीतमा स्वर दिएका छन् । उनले नेपाली, मैथिली, भोजपुरी, थारू, अवधी, नेवारी तथा हिन्दी भाषामा गीत गाएका छन् । यति धेरै योगदान हुँदाहुँदै पनि सार्वजनिक सांगीतिक समारोहमा उनको नाम र योगदानबारे खासै चर्चा हुँदैन । हाल उनी विराटनगरमा बसेर संगीत यात्रालाई निरन्तरता दिइरहेका छन् ।

गायक तथा संगीतकार सीताराम ताजपुरियाले पनि रेडियो नेपालमा ३५ वर्ष काम गरे । ‘गौरादहको बजारैमा।।।’, ‘ढाकरै बोकी टेकुवा टेकि ठ्याक्कै ठ्याक्कै ठ्याक्कै।।।।’, छिटको सारी।।।’जस्ता उनका गीत निकै चर्चित बने । उनले पनि दर्जनौँ भोजपुरी मैथिली गीत गाएका छन् । तर, अहिले उनी सांगीतिक कार्यक्रमहरूमा कमै देखिन्छन् ।

मधेशी मूलका गायक उदितनारायण झा अहिले बलिउड संगीत क्षेत्रमा सक्रिय छन् । पछिल्लो पुस्ताकी गायिका अनु चौधरीलगायत कलाकार सक्रिय रहे पनि नेपालको आधुनिक संगीतमा मधेशी अनुहार र आवाजको उपस्थिति अझै पनि उल्लेखनीय रूपमा देखिँदैन ।

‘लोक स्टार’ कार्यक्रममा रविराज शाह र सुष्मा झाले गलबन्दी च्यातियो गीत गाएका थिए । शाहले इन्द्रेणी कार्यक्रममा झलकमान गन्धर्भको गीत गाएका थिए । मधेशी मूलकी गायिका मुना सोरेन नेपाल आइडलमा सहभागी भएकी थिइन् । तर, नेपाल आइडल, द भ्वाइस अफ नेपालजस्ता सांगीतिक रियालिटी सोहरूमा मधेशी समुदायको उपस्थिति अत्यन्त न्यून देखिन्छ ।

म्युजिक नेपाल र ओएसआर डिजिटलजस्ता युट्युब च्यालनमा पनि मधेशका गीत वा मधेशी कलाकारका प्रस्तुति तुलनात्मक रूपमा कम देखिन्छन् । प्रिज्म रेकर्डिङ स्टुडियोका श्यामश्वेत रसाइली काठमाडौंका रेकर्डिङ स्टुडियोमा मधेशका संगीतकर्मीका गीतहरू कमै रेकर्ड हुने बताउँछन् । ‘मधेशका संगीतकर्मीहरू औँलाले गन्न सक्ने मात्रै छन् । निश्चित ठाउँमा मैथिली, भोजपुरी वा अवधी भाषाका गीत रेकर्ड भए पनि उल्लेख्य रूपमा नेपाली संगीतमा उपस्थिति देखिँदैन’, उनी भन्छन्, ‘जसरी पूर्व, पश्चिमका लवजमा गीतहरू बन्छन्, मधेशी लवजका गीतहरू खासै बन्दैनन् ।’ 

पहाडी मूलका गायक–गायिकाका गीतले युट्युब र सामाजिक सञ्जालमा करोडौँ दर्शक पाउँदा त्यसको व्यापक चर्चा हुन्छ । रेडियो, टेलिभिजन तथा विभिन्न अवार्ड समारोहमा पनि उनीहरूको उल्लेखनीय उपस्थिति रहन्छ । तर, मधेशका कलाकारका गीतले लाखौँ दर्शक पाए पनि ती गीत र संगीतकर्मीले मूलधारका सञ्चारमाध्यम तथा अवार्ड समारोहमा अपेक्षित स्थान पाएको देखिँदैन । यसले नेपाली संगीत क्षेत्रमा सांस्कृतिक असन्तुलन र प्रतिनिधित्वको अभावलाई स्पष्ट रूपमा देखाउँछ ।

नेपाली संगीतमा पहाडी संस्कृतिको प्रभुत्व बढी देखिन्छ । तराई–मधेशका संस्कृति र परम्पराले अपेक्षित स्थान पाउन सकेका छैनन् । मधेशमा थुप्रै प्रतिभाशाली संगीतकर्मी जन्मिए पनि पहुँच अभाव र उपेक्षाका कारण उनीहरू सधैँ ओझेलमा पर्छन्  । मधेशी समुदायलाई राज्यले नीतिगत रूपमै लामो समयदेखि मूलधारबाट अलग राख्दै आएको अनुभूति विभिन्न क्षेत्रमा जस्तै संगीत क्षेत्रमा पनि देखिन्छ । नेपाली संगीत क्षेत्रमा एउटा पनि चर्चित मधेशी नाम सहज रूपमा नसुनिनु केवल संयोग मात्र होइन, यसले संरचनागत असमानता र उपेक्षालाई संकेत गर्छ । 

संगीत अन्वेषक रामशरण दर्नालले आफ्नो पुस्तक ‘संगीत परिक्रमा’मा लेखेका छन्,‘तराई क्षेत्र प्राचीनकालदेखि विविध संगीतले परिपूर्ण रहिआएको छ । यहाँ परम्परागत गीतदेखि लिएर संस्कार गीत, ऋतुगीत, धार्मिकगीत, विरहगीत र लोकगीतका अनेकौँ नमुना देख्न सकिन्छ । गीतमा मात्र होइन, बाजामा पनि यहाँ विविधता पाइन्छ । यसैले नेपाल तराईको भित्री मधेशसम्म जनजीवनका चलेका गीत, बाजा र नाचहरू संकलन गरिनुपर्छ ।’

दर्नालको यो टिप्पणीले मधेशको संगीत परम्परा केवल क्षेत्रीय विषय नभई राष्ट्रिय सांस्कृतिक सम्पदा भएको संकेत गर्छ । तर, विडम्बना त्यही मधेशी समुदायको संगीतकर्मीबारे कहिले चर्चा हुँदैन। 

पछिल्लो समय केही मधेशी युवा कलाकारले डिजिटल प्लाटफर्ममार्फत आफ्नो उपस्थिति बलियो बनाउन थालेका छन् । युट्युब, टिकटकलगायत सामाजिक सञ्जालमा मैथिली र भोजपुरी गीतले लाखौँ दर्शक पाउन थालेका छन् । उदाहरणका लागि ‘जनचेत्ना’लाई लिन सकिन्छ । जनकपुरका डिके सागर र वीरेन्द्र केशरीलगायत कलाकारले गाएको र्‍याप गीतले दुई करोडभन्दा धेरै भ्युज बटुलेको छ । उनको गीत भारतीय सहरमा समेत निकै चर्चित भएको थियो । तर, विडम्बना यस्ता गीतलाई नेपाली ‘मूलधार’को संगीत क्षेत्रले चिनेन।

संगीत उद्योगमा मधेशका गायक, संगीतकारले अपेक्षित स्थान पाउन नसकेको संगीतकर्मीको अनुभव छ  संगीतकर्मीहरूका अनुसार यसको मुख्य कारण काठमाडौंकेन्द्रित संगीत बजार, भाषिक विभाजन र पहुँचको असमानता हो। नेपाली संगीत उद्योगमा नेपाली गीत भन्नासाथ अझै पनि खस–आर्य सांस्कृतिक संरचनामा आधारित गीतलाई प्राथमिकता दिने प्रवृत्ति छ ।

गायक तथा संगीतकार रामा मण्डलका अनुसार नेपाली संगीतमा अवसरको अभावसँगै सामाजिक विभेद पनि मधेशी संगीतकर्मीले भोग्दै आएका छन् । मधेशी समुदायका लागि सांगीतिक मूलधारमा प्रवेश गर्न अझै पनि कठिन छ । उनका अनुसार काठमाडौंमा आएर मधेशका संगीतकर्मी स्थापित हुन आर्थिक र सामाजिक रूपमा अत्यन्तै गाह्रो छ । उनको अनुभवले भन्छ, काठमाडौंमा अझै पनि मधेशी मूलका कलाकारलाई फरक दृष्टिले हेर्ने प्रवृत्ति कायम छ । छालाको रङ र बोल्ने लवजका आधारमा हुने विभेदले गर्दा मधेशी कलाकारलाई अन्य समुदायका कलाकारभन्दा बढी संघर्ष गर्नुपर्ने अवस्था छ । ‘आर्थिक रूपमा विपन्न कलाकारलाई काठमाडौंमा बसेर संगीत सिक्न र संघर्ष गर्न असम्भवजस्तै छ,’ उनी भन्छन्,‘आफ्नो पेट पाल्ने कि संगीतमा लाग्ने भन्ने बाध्यताका बिच धेरै मधेशी प्रतिभा पलायन हुनुपर्ने बाध्यता छ ।’

चुनौतीहरू 

रामा मण्डलले रेडियो नेपालमा २२ वर्ष काम गरे । उनी बिहान ९ देखि ५ बजेसम्म रेडियो नेपालमा काम गर्ने र राति अबेरसम्म होटेलहरूमा गजल गाएर आफ्नो सांगीतिक यात्रालाई निरन्तरता दिए । काठमाडौंमा बस्ने–खाने ठेगान नहुनु र मैथिली भाषा बोल्दा जिस्क्याइनुले मधेशी कलाकारहरूको संघर्षलाई थप कष्टकर बनाउने गरेको उनी सम्झिन्छन् । ‘काठमाडौंमा अझै पनि मधेशी हुनु नै एउटा अलग परिचयजस्तो बनाइन्छ । रङ, भाषा र उच्चारणका आधारमा हेपिने अवस्था छ । त्यसैले मूलधारको नेपाली संगीतमा स्थापित हुन हामीले दोब्बर संघर्ष गर्नुपर्छ,’ उनी भन्छन् ।

गायक तथा संगीतकार सीताराम ताजपुरियाको अनुभवमा मधेशका कलाकारले प्रायः हेपिएको अनुभूति गर्नुपर्छ । ‘रेडियो नेपालमा आउँदा पनि हामीसँग हाम्रो आफ्नै मान्छे कोही थिएन’, उनी सम्झिन्छन्, ‘संगीतको बाटो सजिलो थिएन । राम थापा र पाण्डव सुनुवारको सहयोगले मेरो यात्रा सम्भव भयो ।’

मधेशका संगीतकर्मीहरूलाई मूलधारमा आउन सबैभन्दा ठुलो बाधा भाषा र लवजले पारेको संगीतकार अर्जुन पोखरेलको बुझाइ छ । संगीतकार पोखरेलका अनुसार उनीहरूमा मैथिली वा भोजपुरी लवजको प्रभाव भएकाले नेपाली भाषाले त्यस्तो लवजलाई सहजै स्वीकार नगर्ने हुँदा संगीतमा मधेशी समुदायले संघर्ष गर्न गाह्रो भएको हो ।‘नेपालको संगीत उद्योग लामो समयदेखि काठमाडौंकेन्द्रित छ । जसको पहुँच काठमाडौंसम्म भयो, उसैले अवसर पाउने अवस्था बन्यो । मधेशमा धेरै प्रतिभा छन्, तर उनीहरूलाई राष्ट्रिय प्लाटफर्मसम्म ल्याउने संरचना कमजोर छ ।’

कसलाई भन्ने मूलधार?

लेखक तथा अभिनेता रमेश रञ्जन झा ‘मूलधार’ शब्दलाई दम्भको प्रदर्शनको रूपमा व्याख्या गर्छन् । उनको विचारमा मूलधार भन्नु अर्कोको अस्तित्व अस्वीकार गर्नु हो । उनले कमजोर स्वीकारोक्तिको संस्कार भएको समुदाय र संस्कृतिभित्रबाट ‘मूलधार’जस्तो शब्द जन्मिने बताए । ‘यसले आफूलाई मात्रै योग्य ठान्छ र अरूलाई टाढा राख्छ’, उनी भन्छन्,‘मूलधार शब्दले तिमी योग्य छैनौ, हामीसँग प्रतिस्पर्धा गर्न सक्दैनौ भन्ने सन्देश दिन्छ ।’

उनका अनुसार यस्तो प्रवृत्ति संगीत क्षेत्रलगायत विभिन्न क्षेत्रमा देखिन्छ । ‘मूलधार’ शब्दले वास्तवमा सत्ताको प्रतिनिधित्व गर्ने उनको बुझाइ छ । ‘कुनै समुदायमा सत्ताको दम्भ हुन्छ । उनीहरू आफूलाई शासक र अरूलाई प्रजा ठान्छन्,’ उनी भन्छन् ।

उनले नेपालमा गणतन्त्र आए पनि समाजको मनोविज्ञान परिवर्तन हुन नसकेको टिप्पणी गरे । भन्छन्, ‘राजनीतिक व्यवस्था फेरिए पनि सोच उस्तै छ । यही मानसिकताले ‘मूलधार’ भन्ने शब्द प्रयोग गरिरहेको छ ।’ झाका अनुसार देशमा एउटा भाषालाई मात्रै प्राथमिकता दिँदा अन्य भाषामाथि अन्याय भइरहेको छ । त्यही भाषाका वक्ता, स्रष्टा र सर्जकले बढी अवसर र स्थान पाउँछन् । राज्यले पनि उनीहरूलाई सहयोग गर्छ, जसका कारण उनीहरूको वर्चस्व स्थापित हुन्छ । ठुलो समुदायबाट मात्रै उत्कृष्ट सिर्जना हुन्छ भन्ने मान्यता गलत रहेको उनी बताउँछन् । राज्यको चरित्र परिवर्तन गर्न आवश्यक रहेको धारणा उनी राख्छन् । ‘हाम्रो देशमा विविध भाषा र संस्कृतिमा भएका सिर्जनाको उचित मूल्यांकन हुन सकेको छैन । हामीले एकअर्कालाई समकक्षी रूपमा स्वीकार गर्न सकेका छैनौँ,’, उनी भन्छन्, ‘अरूको अस्तित्व अस्वीकार गर्ने मनोविज्ञान अझै जीवित छ ।’

मधेशको कथामा फिल्म बन्दा पनि चरित्र र गीत गाउन मधेशकै कलाकारलाई अवसर दिनुको सट्टा पहाडी मूलकै कलाकारलाई दिइन्छ । यसले गर्दा मधेशी कलाकारहरू अवसरबाट वञ्चित भइरहेका छन् । पहाडी लोकगीतले मात्र नेपाली लोकगीतको परिचय बोक्नु संगीतको कमजोर पक्ष मान्छन्, संगीतकार अर्जुन पोखरेल। 

उनका अनुसार मधेशको परिवेशमा सिनेमा बनाए पनि त्यसको प्रचार–प्रसार र गीत–संगीत फेरि पहाडी मूलको शैलीमै सिर्जना भइरहेका छन् । उदाहरणका लागि चलचित्र ‘लालीबजार’लाई लिन सकिन्छ । चलचित्र बादी समुदायको कथामा आधारित बने पनि संगीत पहाडिया ढाँचामा छ । तर, त्यहाँ उनीहरूको आफ्नै मौलिक लोकभाका, गायनशैली र सांगीतिक प्रस्तुति देखाइएको छैन । उनी भन्छन्, ‘बादी समुदायको आफ्नै स्वर, लय र सांगीतिक परम्परा छ । उनीहरूले गाउने शैलीअनुसारका गीतहरू बन्न आवश्यक थियो । तर, फेरि पनि पहाडिया नेपाली लोकगीतकै ढाँचामा उनीहरूलाई प्रस्तुत गर्‍यौँ ।’ 

ओझेलमा मधेशका वाद्यवादन

मधेशका लोकगीतले रेडियो नेपाल, तथा ‘मूलधार’का सञ्चारमाध्यममा पर्याप्त स्थान पाउन सकेका छैनन् । वाद्यवादनको क्षेत्रमा पनि सारंगी, मादलजस्ता पहाडी वाद्य बज्नुलाई मात्र ‘नेपाली संगीत’ मान्ने प्रवृत्ति हावी छ । जसले मधेशका परम्परागत वाद्यवादक र सांगीतिक शैलीहरू ‘मूलधार’बाट टाढै रहेका छन् । 

मुकारुङका अनुसार मधेशको संगीत त्यहाँका संस्कार, जात्रा, पर्व, भाषा र जीवनशैलीसँग गहिरो रूपमा जोडिएको छ । भन्छन्,‘नेपाली संगीत यति विशाल हुनुमा मधेशको संस्कृति, सभ्यता र बाजागाजाको पनि ठुलो योगदान छ । तर, मधेशका बाजा र सांगीतिक परम्परा अझै पनि ओझेलमै छन् ।’

मूलधारको संगीतमा स्थान बनाउनका लागि मिहिनेत र साधना ९तपस्या० को ठूलो भूमिका हुन्छ, तर धेरै कलाकार मिहिनेत गर्न नचाहने र हिन्दी गीतको ट्र्याकमा मैथिली वा भोजपुरी गीत गाएर छिटो चर्चा खोज्ने प्रवृत्तिका कारण लामो समय टिक्न नसकेको रामा मण्डलको बुझाइ छ । रेडियो नेपालजस्ता सरकारी निकायमा भोइस टेस्ट पास गर्नुपर्ने कडा नियम थिए, जहाँ धेरै मधेशी गायक–गायिका पुग्न सकेनन् । अहिले अन्य कलाकारजस्तै मधेशका कलाकारहरूमा पनि मिहिनेत गर्ने र सिक्ने प्रवृत्ति कम भएकाले सांगीतिक गुणस्तरमा ह्रास आएको उनी ठान्छन् । नयाँ पुस्ताले पर्याप्त समय दिएर साधना गर्नु नै यसलाई निखार्ने पहिलो सर्त हो । मधेशको संगीतमा अहिले हिन्दी गीतको धुन चोरेर त्यसमा मैथिली वा भोजपुरी शब्द हाल्ने प्रवृत्ति हावी देख्छन् उनी । उनी भन्छन्,‘यस्तो कार्यले संगीतलाई धुमिल पारिरहेको छ । यस भण्डारलाई निखार्नका लागि आफ्नै मौलिक धुन र संगीत सिर्जना गर्नुपर्छ । मैथिली भाषा आफैँमा एउटा महासागर हो । यो सागरबाट मौलिक लोकधुनलाई सही ढंगले बाहिर ल्याउन सकेमा मधेशको संगीत जोगिन्छ ।’

नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका पूर्वउपकुलपति शम्भु राई मधेशको भाषा, संस्कृति र संगीतको व्यापक विस्तारका लागि प्रतिष्ठानहरूले अपेक्षित चासो नदिएको बताउँछन् । भन्छन्, ‘मैथिली र भोजपुरी गीत–संगीतप्रति पर्याप्त रुचि र प्रोत्साहन देखिएको छैन । मधेशका कला–संस्कृतिलाई राष्ट्रियस्तरमा स्थापित गर्न सरकारी तहबाट सम्मानजनक दृष्टिकोण अपनाइनुपर्छ ।’ 

(नयाँ पत्रिकाबाट)