• यमुना पाण्डे

नेपालको राजनीतिमा सरकार परिवर्तन हुनु र नयाँ सत्ता समीकरण बन्नु आश्चर्यको विषय होइन। तर, हरेक नयाँ सुरुवातसँगै आशा पलाउनु मानवीय स्वभाव हो। सर्वप्रथम म यो नयाँ सरकारलाई सफल कार्यकालको शुभकामना दिन चाहन्छु तर यो शुभकामनासँगै एउटा सचेत नागरिकको गम्भीर खबरदारी पनि जोड्न चाहन्छु। हामीले दशकौंदेखि एउटै चक्र देख्दै आएका छौं, जहाँ सरकार बन्नासाथ सडकमा टायर बाल्ने र ढुंगा हान्ने संस्कृति सुरु हुन्छ। अहिले भइरहेका आन्दोलनहरूलाई गहिराइबाट नियाल्दा एउटा प्रश्न उठ्छ– आन्दोलनहरू साँच्चै नागरिकका साझा मुद्दामा केन्द्रित छन् ?

जबसम्म आन्दोलनले भान्साको महँगी, बेरोजगारी र भ्रष्टाचार जस्ता आधारभूत समस्या बोक्दैन, तबसम्म ती आन्दोलनहरू केवल सत्ता प्राप्तिको स्वार्थ र कुर्सी खोसिएको पीडा लुकाउने माध्यम मात्र हुन्। हामी त्यस्ता आन्दोलन र प्रदर्शनको पक्षमा छैनौं, जसको केन्द्रमा आममानिसको एजेन्डा छैन । कुनै खास व्यक्ति वा समूहको राजनीतिक भविष्य लुकेको आन्दोलनको पक्षमा हामी उभिन सक्दैनौं। त्यसैले बेअर्थका प्रदर्शन र सडकको कोलाहललाई हामी जायज मान्दैनौं। यसमा हाम्रो कुनै पनि किसिमको समर्थन वा साथ छैन।

अहिले सामाजिक सञ्जालमा विरोधका नाममा जुन किसिमको तल्लोस्तरको व्यवहार देखिँदै छ, त्यो झन् बढी चिन्ताजनक छ। विरोध प्रदर्शनका भिडियो वा तस्बिरहरूमा अत्यन्तै दुर्व्यवहार गरिएका, नराम्रा र तुच्छ शब्दहरू प्रयोग गरेर टिप्पणी गर्नु पनि कुनै असल र सभ्य व्यक्तिको पहिचान हुन सक्दैन। कसैले गल्ती गर्‍यो भन्दैमा उसलाई गालीको वर्षा गर्नु वा अश्लील शब्द बोल्नुले समस्याको समाधान दिँदैन, बरु यसले टिप्पणी गर्ने व्यक्तिकै संस्कार र स्तरलाई प्रस्ट पार्छ। यदि हामी अरूलाई सुधारिएको हेर्न चाहन्छौं भने सुरुमा हाम्रो आफ्नो बोली र व्यवहारमा शालीनता हुनुपर्छ।

हामीले बुझ्नुपर्छ, कुनै पनि आन्दोलन यदि सत्ताप्रेमीहरूको उन्माद र स्वार्थको पोका मात्र हो भने त्यसमा साथ नदिँदा केही बिग्रिँदैन । बाँकी काम राज्य र कानुनले आफ्नै गतिमा गरिहाल्छ। सडकमा उत्रिएर राष्ट्रिय धनमा क्षति पुर्‍याउनु वा कसैको निजी सम्पत्तिमा आँच पुर्‍याउनु उचित होइन। बरु यो त कायरता हो। कसैको पछि लाग्नुअघि वा कसैको समर्थनमा उभिनुअघि आफूले आफूलाई प्रश्न गरौं, म एउटा असल नागरिकका रूपमा उभिएको छु कि कसैको इसारामा नाच्ने कठपुतली बनेको छु ?

हाम्रो देश बिग्रनुमा केवल नेताहरू मात्र दोषी छैनन्। हामी जनता पनि उत्तिकै जिम्मेवार छौं। हामी नै भ्रष्ट र बेइमान भयौं भने हामीले सुशासनको अपेक्षा गर्नु नै व्यर्थ छ। जनता जबसम्म कसैको अन्धभक्त वा झोले कार्यकर्ता बन्न छोड्दैनन्, तबसम्म यो देशमा साँचो परिवर्तन आउन सम्भव छैन। हामीले नेतालाई शासक बनायौं, जबकि उनीहरू हाम्रा सेवक हुन्। यो दास मानसिकता नै आजको समृद्धिको मुख्य बाधक हो। यदि हामी आफैं नसुध्रिने हो भने व्यवस्था फेरिएला तर नागरिकको अवस्था जस्ताको तस्तै रहनेछ।

नयाँ सरकारका लागि मेरो स्पष्ट सुझाव छ कि अब आश्वासनको पोको बाँडेर मात्र पुग्दैन। सरकारले सबैभन्दा पहिले युवा पलायन रोक्नका लागि स्वदेशमै उत्पादनमूलक क्षेत्रमा लगानीको वातावरण बनाउनुपर्छ। कृषिलाई आधुनिकीकरण गर्ने र साना उद्यमीहरूलाई बिनाझन्झट सहयोग गर्ने नीति अबको प्राथमिकता हुनुपर्छ। सरकारी कार्यालयहरूमा हुने ढिलासुस्ती र भ्रष्टाचारलाई प्रविधिको प्रयोगमार्फत अन्त्य गरिनुपर्छ। शिक्षा र स्वास्थ्य जस्ता आधारभूत आवश्यकतालाई व्यापारीकरणबाट मुक्त गराई गुणस्तरीय सेवाको सुनिश्चितता गर्नु सरकारको मुख्य दायित्व हो। यदि यो सरकारले पनि अघिल्ला सरकारहरू जस्तै केवल गफ र शक्तिको उन्मादमा समय बिताउन खोज्यो भने हामी चुप लागेर बस्ने छैनौं। जुन हातले मतदान गरेर तपाईंहरूलाई सत्तामा पुर्‍यायौं, त्यही हातले तपाईंहरूलाई सडकमा पुर्‍याउने हिम्मत पनि हामी राख्छौं।

अन्त्यमा, म आम जनसमुदायलाई एउटा हार्दिक अपिल गर्न पनि चाहन्छु। अब पनि हामी खास व्यक्तिको अथवा संघसंस्थाको हुन छोडेनौं भने हाम्रा सन्ततिको भविष्य पनि परदेशको रोजगार खोज्दैमा व्यतीत हुनेछ। आफ्ना सन्तानलाई बुढेसकालको सहाराका रूपमा आफ्नै छेउमा राख्ने कि विदेशमा बाध्यताको रोजगारी खोज्न पठाउने ? छनोट हाम्रै हो। आउनुहोस्, नेताको झोला बोक्न छोडेर देशको भविष्यका बारेमा सोचौं । जबसम्म हामी प्रश्न सोध्न डराउँदैनौं र तथ्यमा आधारित भएर कुरा गर्दैनौं, तबसम्म कसैले हामीलाई ठग्न सक्दैन। यो देश हाम्रो हो र यसलाई बनाउने वा बिगार्ने जिम्मा पनि हाम्रै हो। अबको सरकारले राम्रो काम गर्नुपर्‍यो, त्यसको उचित मूल्यांकन गर्ने काम हाम्रो भयो।

(कान्तिपुरबाट)