सप्तरी, ३० बैशाख। सप्तरी तिलाठी कोइलाडी गाउँपालिका ५ बनरझुलाबाट पछिल्लो एक सातादेखि बेपत्ता महिलाको शव फेला परेको छ। स्थानीय ३६ वर्षीया अनितादेवी रायको शव बुधबार सोही वडाको नौ किलोमिटर भन्ने स्थानमा हात खुट्टा विधिएको अवस्थामा भेटिएको हो।

shrijana school 2083

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी डम्बरबहादुरका अनुसार गत बुधबार रातिदेखि बेपत्ता महिलाको हात–खुट्टा बाँधिएको अवस्थामा शव भेटिएको जानकारी दिए।  उनले महिलाको हात पछाडी फर्काएर तथा खुट्टा पनि बाँधिएको र शव सडिसकेको अवस्थामा रहेको बताए।

छिमेकी शेखर रायका छोराको विवाहमा अधिकांश स्थानीय जन्ती गएको मौका छोपेर राति केही व्यक्तिले जबरजस्ती महिलालाई उठाएर लगेको हुन सक्ने पीडित परिवार बताउँदै आएका थिए। 

बेपत्ता महिलाका बाबु प्रितम रायका अनुसार महिलाका दुई छोरी छन्। जेठी छोरी सपनाको विवाह भइसकेको छ भने कान्छी छोरी १३ वर्षीया काजल पनि छिमेकीको विवाहमा जन्ती गएकी थिइन्। श्रीमान् वैदेशिक रोजगारीकामा रहेका कारण अनिता घरमा एक्लै थिए। यही मौका छोपेर कसैले उनको अपहरण गरेको हुन सक्ने उनको भनाइ छ।

बेपत्ता भएको राति श्रीमान् वीरेन्द्रसँग ११ बजेसम्म फोनमा कुरा गरेका थिए। त्यसपछि महिलालाई बेपत्ता पारिएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। महिला बेपत्ता भएको राति आँगनमा रगत देखिएको स्थानीय बताउँछन्। उनीहरूका अनुसार गाउँलेहरु विवाहमा जन्ती गएको बेला उनलाई घरबाटै अपहरण गरी लगेको अनुमान गरेका थिए।

कसले किन हत्या गरेको भन्ने अझै खुलि नसेको प्रहरीको भनाई छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाए।