सिरहा, ३० बैशाख। मुद्दा मिलाइदिन्छु भन्दै पीडितसँग छ लाख रुपैयाँ ठगी गरेको आरोपमा सिरहाको गोलबजार नगरपालिका ६ निवासी तथा पोल्ट्री दाना व्यापारी राकेश साह पक्राउ परेका छन्।  विभिन्न प्रकृतिका मुद्दा मिलाइदिन्छु भन्दै सर्वसाधारणबाट रकम असुल गरेको आरोपमा प्रहरीले साहलाई मंगलबार सिरहाबाट पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रमेशबहादुर पालका अनुसार पक्राउ गरिएका साहले पीडितसँग मुद्दा किनारा लगाउन भन्दै पटक–पटक रकम लिएको आरोप छ। त्यसरी लिएको रकम प्रहरी र अदालतसम्म दिनुपर्छ भन्दै उनले पीडितसँग पटक पटक गरी छ लाख रुपैयाँ लिंदै आएको आरोप लगाइएको छ।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा पक्राउ गरिएका साहले विगतमा पनि प्रहरी प्रशासन र अदालतको नाममा विभिन्न मुद्दा मिलाइ दिन्छु भन्दै कैयौं सर्वसाधारणबाट रकम असुल गरेको खुलेको छ। केही महिनाअघि बलात्कार सम्बन्धी मुद्दा मिलाइ दिन्छु भन्दै आरोपी साहले रकम लिएर पनि काम नगरेको र रकम फिर्ता माग्दा नदिएको भन्दै प्रहरीमा उजुरी परेको परेको बताइएको छ। 

उजुरीपछि पक्राउ परेका साहमाथि ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पक्राउ गरिएका साहलाई मंगलबारदेखि लागू हुनेगरी सिरहा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।