डा. अनुप सुवेदी
काठमाडौं, २६ फागुन।प्रदूषणको समस्या नयाँ होइन । यसअघि पनि यस्तै स्तरको प्रदूषण देखिँदै आएको थियो । तर हालै अन्तर्राष्ट्रिय मापनहरूमा काठमाण्डौ विश्वकै धेरै प्रदूषित शहरहरूको सूचीमा माथिल्लो स्थानमा देखिएपछि यसबारे चर्चा बढी हुन थालेको हो ।
विश्व स्वास्थ्य सङ्गगठनले वायु प्रदूषणको एउटा सुरक्षित सीमा तोकेको छ । उदाहरणका लागि, हावामा हुने सबैभन्दा साना प्रदूषण कण अर्थात् एक्यूआई २.५ को मात्रा ५० भन्दा कम हुनुलाई सुरक्षित मानिन्छ । तर अहिले काठमाण्डौमा यो स्तर १ सय ८०–१ सय ९० को आसपासमा पुगेको देखिन्छ, जुन निकै असुरक्षित अवस्था हो ।
यसले दीर्घरोग भएका मानिसहरू– जस्तै फोक्सोसम्बन्धी समस्या भएका बिरामीहरूलाई बढी असर पार्ने त हुन्छ नै, तर सामान्य रूपमा स्वस्थ देखिने मानिसहरूलाई पनि यसले बिस्तारै बिरामी बनाउन सक्छ । प्रदूषणका कारण रुघाखोकी लाग्ने, घाँटी दुख्ने, एलर्जी हुने, खोकी लागिरहने र फोक्सोसम्बन्धी समस्या बढ्ने जस्ता लक्षण देखिन सक्छन् ।
सबैभन्दा ठूलो चिन्ता के हो भने, यी प्रदूषणका कणहरू अत्यन्त साना हुन्छन् । त्यसैले यी सिधै फोक्सोभित्र पुगेर त्यहाँबाट रक्तसञ्चार प्रणालीमा प्रवेश गर्न सक्छन् । रगतमा पुगेपछि यी कणहरू शरीरका विभिन्न भागमा पुग्न सक्छन्, जसले गर्दा मुटुसम्बन्धी रोग, हृदयघात, पक्षघात तथा विभिन्न प्रकारका क्यान्सरको जोखिम बढ्ने सम्भावना हुन्छ । सहज तरिकाले बुझ्दा चुरोट खानेलाई जति जोखिम हुन्छ त्यती नै जोखिम नखानेलाई पनि अहिलेको प्रदूषणले बढाएको छ ।
अर्को चिन्ताजनक पक्ष के हो भने वायु प्रदूषणले गर्भमा रहेको भूर्णलाई पनि असर गर्न सक्छ । यसले भ्रूर्णको विकासमा समस्या ल्याउने, बच्चाको तौल कम हुने वा समयभन्दा अगाडि जन्मिने जस्ता जटिलता निम्त्याउन सक्छ ।
छोटो अवधिमा प्रदूषणको असरका रूपमा आँखा पोल्ने, नाक र घाँटी पोल्ने, खोकी लाग्ने, रुघाखोकी जस्तो हुने वा एलर्जी देखिने जस्ता समस्या देखिन सक्छन् । तर दीर्घकालीन रूपमा हेर्दा यसले दम, फोक्सोको रोग, विभिन्न अङ्गका क्यान्सर, मुटु तथा रक्तनलीसम्बन्धी समस्या र मिर्गौला जस्ता अङ्गमा गम्भीर असर पार्न सक्छ ।
त्यसैले अहिलेको अवस्थामा वायु प्रदूषणलाई केवल असहज वातावरणको समस्या मात्र नभई गम्भीर सार्वजनिक स्वास्थ्य चुनौतीका रूपमा हेर्न आवश्यक छ ।
पछिल्लो समय बढ्दो वायु प्रदूषणको अवस्था हामीले निरन्तर देखिरहेकै विषय हो । विशेषगरी काठमाण्डौ उपत्यका लगायत अन्य ठाउँमा पानी नपरेको बेला धुलो, धुवाँ र अन्य कणहरू हावामा धेरै फैलिन्छन् । मानिसहरूले घुर बाल्ने, सडकको धुलो उड्ने, गाडीबाट निस्किने धुवाँ र उद्योग–कलकारखानाबाट आउने प्रदूषणका कारण यहाँको हावा झनै दूषित बन्दै गएको छ ।
प्रदूषणले मानिसको स्वास्थ्यमा गम्भीर असर पारिरहेको छ । विभिन्न अध्ययनहरूले देखाएअनुसार नेपालमा हरेक वर्ष झन्डै ४० हजारदेखि ४८ हजार मानिसको मृत्यु वायु प्रदूषणसँग सम्बन्धित कारणले हुने गरेको छ । यो सङ्ख्या निकै ठूलो हो । उदाहरणका लागि, कोरोना भाइरस महामारीका समयमा नेपालमा झन्डै तीन वर्षमा १२ हजार मानिसको मृत्यु भएको सरकारी तथ्याङ्क छ । तर वायु प्रदूषणका कारण भने हरेक वर्ष नै त्यसभन्दा धेरै मानिसको ज्यान जाने गरेको देखिन्छ ।
यद्यपि मृत्युको कारण प्रत्यक्ष रूपमा क्यान्सर, हार्ट अट्याक, स्ट्रोक वा श्वासप्रश्वाससम्बन्धी रोग देखिए पनि त्यसको पछाडि वायु प्रदूषण मुख्य कारक हुने गरेको चिकित्सकहरू बताउँछन् । अब व्यक्तिगत रूपमा हामीले गर्न सक्ने केही सावधानीहरू पनि छन् । सकेसम्म धुलो र धुवाँबाट जोगिनु सबैभन्दा महत्त्वपूर्ण हो । बाहिर वायु प्रदूषण धेरै भएको बेला मास्क लगाउने, र सम्भव भएसम्म धेरै धुलो–धुवाँ हुने समयमा बाहिर कम निस्किने प्रयास गर्नुपर्छ ।
घरभित्र पनि प्रदूषण हुन सक्छ । त्यसैले हामीले प्रयोग गर्ने चुलोको प्रकार पनि महत्त्वपूर्ण हुन्छ । यदि दाउरा बाल्ने चलन छ भने सुधारिएको चुलो प्रयोग गर्न सकिन्छ । ग्यास चुलोबाट पनि केही मात्रामा प्रदूषण हुने भएकाले सम्भव भएसम्म बिजुलीबाट चल्ने चुलो प्रयोग गर्नु राम्रो हुन्छ ।
त्यस्तै, घर वरिपरि कुडा–कर्कट वा सुकेका झारपात जलाउने बानी पनि प्रदूषण बढाउने कारण हो । यस्तो काम बन्द गर्नु आवश्यक छ । गागी प्रयोग गर्नेहरूले समय–समयमा सर्भिसिङ गराउनु पनि महत्त्वपूर्ण हुन्छ ।
राज्यको तर्फबाट पनि केही महत्त्वपूर्ण काम गर्नुपर्ने हुन्छ । विशेष गरी गाडीको प्रदूषण जाँचलाई कडाइका साथ कार्यान्वयन गर्नुपर्छ । अहिले धेरै गाडीमा प्रदूषण जाँच पास गरेको हरियो स्टिकर देखिए पनि छड्के जाँच गर्दा धेरै गाडीले मापदण्ड पूरा नगरेको पाइन्छ । त्यसैले जाँच प्रणालीलाई अझ पारदर्शी र प्रभावकारी बनाउन आवश्यक छ ।
प्रदूषण बढेको बेला बिहान वा बेलुका व्यायाम वा हिँडडुल गर्न बाहिर निस्कने विषयमा पनि सावधानी आवश्यक हुन्छ । सामान्य अवस्थामा व्यायाम स्वास्थ्यका लागि राम्रो हो, तर प्रदूषण अत्यधिक भएको बेला बाहिर निस्कनु उपयुक्त हुँदैन ।
यदि बाहिर निस्कनै पर्ने अवस्था छ भने एन ९४ वा केएन ९५ जस्ता राम्रोसँग अनुहारमा टाँसिने मास्क प्रयोग गर्नु उपयुक्त हुन्छ । विशेष गरी दम, फोक्सोसम्बन्धी दीर्घरोग भएका व्यक्तिहरू र साना बालबालिकाका लागि यस्तो अवस्थामा बाहिर निस्कनु जोखिमपूर्ण हुन सक्छ ।
अहिले प्रविधिको प्रयोग गरेर पनि हामी वायुको अवस्था थाहा पाउन सक्छौँ । आफ्नो क्षेत्रको वायु प्रदूषणको स्तर बुझ्न सकिन्छ । मोबाइल वा इन्टरनेटबाट सजिलै हेर्न सकिने भएकाले बाहिर निस्कनु अघि प्रदूषण जाँच गर्ने बानी बसाल्नु राम्रो हुन्छ । यदि प्रदूषण धेरै उच्च छ भने सकेसम्म घरभित्रै बस्नु सुरक्षित हुन्छ ।
(संक्रमण रोग विशेषज्ञ डा. अनुप सुवेदीसँग महेश ज्ञवालीले गरेको कुराकानीमा आधारित)






















