काठमाडौं, १३ बैशाख। योस वर्षको कक्षा १२ को परीक्षा भोली १४ गत सोमबारबाट सुरु हुँदैछ। परीक्षामा देशैभरीबाट ४ लाख १८ हजार ८ जना विद्यार्थी सहभागी हुँदैछन्। गतवर्षको तुलनामा योवर्ष करिब ९० हजार विद्यार्थी घटेका छन्। गत वर्षसम्म पुरानोकोर्षका विद्यार्थी सहभागी थिए। त्यसले गर्दा विद्यार्थी संख्या कम देखिएको परीक्षा नियन्त्रण कार्यालयको भनाई छ।

परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले पुरानो कोर्ष अध्ययनगर्ने विद्यार्थीले ३ वषसम्म परीक्षा दिने अवसर पाएका कारण गत वर्षसम्म विद्यार्थी संख्या बढेको जानकारी दिए। तीनवर्षसम्मको अवसर सकिएकाले यो वर्ष विद्यार्थी संख्या घटेको हो। यतिका धेरै विद्यार्थी घट्नुको थप कारण पनि खोजी गर्नुपर्ने देखिएको छ। एसईईमा करिब साढे ४ लाख विद्यार्थी उत्तीर्ण हुन्छन्। भर्ना भने ३ लाख ५० हजारको हाराहारीमा मात्र छ यस विषयमा खोजी गर्नुपर्छ–अभिभावक महासंघका पूर्व अध्यक्ष सुप्रभात भण्डारीले भने।
यो वर्षको परीक्षामा ५ हजार ३३९ विद्यालयका नियमिततर्फ ३ लाख ३२ हजार १७८ विद्यार्थी परीक्षामा सहभागी हुँदैछन्। जसमध्ये १ लाख ७२ हजार १२ छात्र र १ लाख ६० हजार १३७ छात्रा र अन्य २९० परीक्षार्थीले सहभागी हुदैछन्। आंशिकतर्फ ५ हजार ८३० परीक्षार्थीहरू सहभागी हुनेछन्। यो वर्ष सबैभन्दा कम मनाङमा ३१ र सबैभन्दा बढी काठमाडौं जिल्लाबाट ६४ हजार ३३ परीक्षार्थी सहभागी हुदैछन्।
यो वर्ष देशभर १ हजार ४२० र जापानमा १ समेत गरी कूल १ हजार ४२१ परीक्षा केन्द्र कायम गरिएको छ। सबैभन्दा बढी काठमाडौं मा १६१ र सबैभन्दा कम मनाङ र मुस्ताङ जिल्लामा १–१ केन्द्र निर्धारण गरिएको बोर्डले जनाएको छ। परीक्षा मर्यादित व्यवस्थित बनाउन परीक्षा बोर्डले सबै सरोकारवालालाई आग्रह गरेको छ।
प्रदेशगत रुपमा कोशी ६७ हजार ४९७, मधेस ६२ हजार ११४, बागमती १ लाख २० हजार ४७७, गण्डकीमा ३० हजार ५४६, लुम्बिनी ६९ हजार ४११, कर्णाली ३० हजार ४७९ र सुदूरपश्चिम प्रदेशमा ३७ हजार ४४५ र जापानमा ३९ जनाले परीक्षा दिँदै छन्। परीक्षालाई व्यवस्थित बनाउन सबै सरोकारवाला निकायलाई बोर्डले अपिल गरेको छ।






















