चन्द्रशेखर कार्की नेपाली फोटो पत्रकारितामा एक स्थापित नाम हो।
बितेका तीन दशकभन्दा बढी उसँग संगत गरेको आधारमा म भन्न सक्छु, यो मान्छे राजनीति बुझ्छ। तर भाँती पुर्याएर व्याख्या विश्लेषण गर्दैन। हामीले पाँच सय शब्द खर्चेर लेखेको समाचारको दर्शनीय वृत्तान्त भने ऊ क्यामेराको एउटै क्लिकबाट देखाइदिन्छ।
तर हालैको एक बिहान फेसबुक खोल्दा आफ्नो पोस्टमा मलाई समेत ‘ट्याग’ गरेर उसले लेखेको रहेछ, ‘आजबाट निर्धक्क भन्न सक्छु, ३४०६ (उम्मेदवार) मध्ये एक नम्बर भनेको गगन थापा नै हो। आजको दिनमा देश बनाउने स्पष्ट मार्गचित्र कसैसँग छ भने त्यो गगनसँगै छ।’
त्यसको एक घण्टापछि नेपाल टेलिभिजनको पहिलो पुस्ताको कार्यक्रम उत्पादक सहजमान श्रेष्ठको फोन आयो। सहजमान अहिले सान फ्रान्सिस्को बस्छन्। ‘चन्द्रेले ठीक लेखेछ,’ सहजमानको भनाइ थियो, ‘मैले ‘वीर गणेशमान’ फिल्म बनाउँदा एक जना प्रभावशाली विद्यार्थी नेताको रोल गर्ने मान्छे चाहिएको थियो। मैले गगनलाई आग्रह गरेँ। उनी तत्काल राजी भए। उनले त्यो बेला अभिनय गरेका थिए, आज वास्तविक संसारमा नेतृत्व गर्न तयार छन्। अहिलेको अवस्थामा गगनको विकल्पमा अर्को मान्छे छैन।’
मेरा यी दुवै जना पुराना साथीहरू सञ्चारकर्मसँगै कुनै न कुनै रूपमा प्रजातान्त्रिक आन्दोलनसँग जोडिएका मान्छे हुन्। यस अर्थमा ‘कांग्रेसी’ छाप लागेका उनीहरूले गगन थापाको पक्षमा गरेको वकालतको वजन त्यति नहुन सक्छ। तर माओवादी आन्दोलनबाट उदाएर हाल सक्रिय राजनीतिबाट विश्राम लिएका विश्लेषक मुमाराम खनालको एकभन्दा बढी अन्तर्वार्ता हेर्दा उनको मनसाय पनि फरक थिएन।
किन होला?
आसन्न चुनावमा उम्मेदवारी दिएका विभिन्न दलका रंगीचंगी आकांक्षी राजनीतिक खेलाडीहरू कसैले पनि आफूलाई ‘उत्कृष्ट’ भनाउने क्षमता प्रदर्शन गरेका छैनन्। गगन थापालाई शंकाको सुविधा दिँदै उनको खरो आलोचना गर्ने लेखकमध्ये म पनि एक हुँ। आरजु राणा देउवामाथि लागेको भ्रष्टाचारका तपसिल मेटाउन नेकपा एमालेका नेता केपी ओली र नेपाली कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवाले प्रचण्ड सरकारलाई ढाल्न मध्यरातमा गरेको सम्झौताका निम्ति गगन थापालाई दोष दिनु अन्याय हुन्छ। दलको महामन्त्री हुँदाहुँदै पनि उनले यो उदेकलाग्दो समाचार सामान्य नागरिक सरह भोलिपल्टको अखबार पढेर थाहा पाएका थिए।
शेरबहादुर देउवाको भान्छाको स्वाद पाएका उनका मतियारका निम्ति हर्षबढाइँ भए पनि गगन थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्माले झिनो स्वरमा नै सही, विरोध भने गरेका थिए। तर थोरै बोलेर धेरै खेलोफड्को गर्ने स्वभावका देउवाले सम्भावित विद्रोहको व्यवस्थापन गर्न गगन थापालाई गठबन्धन सरकारको उच्चस्तरीय राजनीतिक संयन्त्रमा मुख्य भूमिकामा नियुक्त गरिदिए। गगन थापाको राजनीतिक भविष्यका निम्ति यो एक आत्मघाती कदम थियो। हामीजस्ता नेपाली कांग्रेसको चारआने सदस्यता समेत नलिएका तर प्रजातान्त्रिक आन्दोलन र सुशासनका हिमायतीहरूले थापाको विरोध गर्नु स्वाभाविक थियो। थापाको तत्कालीन बाध्यता वा रणनीतिका बारेमा हामीलाई थाहा हुने कुरा भएन!
बौरिएका गगन
केपी ओली, शेरबहादुर देउवा (यथार्थमा आरजु राणा देउवा) को शासनकालमा एक पुर्जाका रूपमा प्रयुक्त गगन थापा बौरिएका छन्। तर नेपाली कांग्रेसको बागडोर एक असहज परिस्थितिमा उनको काँधमा आएको छ। ‘जेन–जी’ नामको विध्वंस नेपाली कांग्रेसका लागि एक चुनौती मात्र होइन, अवसरका रूपमा प्रकट भयो। गगन थापाले यो चुनौतीलाई अवसरमा परिवर्तित गरेर देखाए। यसो भन्दा संकोच मान्नुपर्ने कारण छैन। षड्यन्त्रको सिद्धान्तकारका आ–आफ्नै व्याख्या हुन्छन्।
एकथरी भन्दैछन्, ‘नेपाली कांग्रेसको नेतृत्व परिवर्तन त यसै पनि हुने नै थियो, शेरबहादुर देउवा विधिवत् सभापति हुने थिएनन्। तर चुनावअघि नै नेतृत्व परिवर्तन गर्न गगनलाई के को हतारो?’
यी विश्लेषकको कथन सुनिन्छ, ‘जुन शक्तिले जेन–जी विध्वंस गरायो, गगन थापा र विश्वप्रकाश शर्मालाई पनि त्यसैले उचालेर विशेष अधिवेशन गराएको हो।’
सोचनीय कुरा यो पनि छ, जुन शक्तिले जेन–जी विध्वंस गराएको आशंका गरिएको छ, शेरबहादुर देउवा र आरजु राणाको विवाह पनि उसैले गराएको हो। जुन मुलुकमा नक्कली शरणार्थी धमाधम पठाउने धन्दा चलेको थियो, के त्यो मुलुकलाई यसको जानकारी थिएन होला? सबै थाहा भएर पनि ऊ किन कानमा तेल हालेर बस्यो? अनि मौकामा यसलाई राजनीतिक भ्रष्टाचारको मुद्दा बनाएर किन उपयोग गर्यो?
एमसीसी पारित हुँदा केपी ओली पछिल्लो सिटमा बसेर के गर्दै थिए? प्रचण्डले ‘व्याख्यात्मक टिप्पणी’ गरेर भए पनि यो पक्षमा किन लाग्नुपर्यो? नेपालले चीनसँग ‘बीआरआई’को हकमा ‘सैद्धान्तिक सहमति’ नगरेको भए के हुन्थ्यो? केपी ओलीले चीनमा भ्लादिमिर पुटिनसँग एकान्त वार्ता नगरेको भए, चिनियाँ सैन्य परेडमा सहभागी नभएको भए नेपालमा यति छिटो यो स्तरको भदौरे विध्वंस हुन सम्भव थियो?
गगन थापा अध्ययनशील र राजनीतिक व्याकरणको कखरा पढेर राजनीतिको उत्कर्षमा पुगेका व्यक्ति हुन्। उनलाई थाहा हुनुपर्छ, अहिले जुन शक्तिले उनलाई उचालेको आरोप लागेको छ, त्यो मुलुकले आफ्नो आर्थिक र राजनीतिक स्वार्थका निम्ति दोस्रो विश्वयुद्धपछि साठी मुलुकमा कहिले सडक क्रान्ति त कहिले सैनिक कू मार्फत प्रजातान्त्रिक सरकारलाई अपदस्थ गरेको उदाहरण इतिहासमा अंकित छ। थापाले सहकारी ठगीमा संगठित रूपमा निर्लिप्त रास्वपा सभापतिको संसदीय छानबिनमा जोड दिँदा रास्वपाका नेताले उनलाई संसदभित्रै ‘अमेरिकी एसेट’ को आरोप लगाएका थिए।
भारत पनि गगनलाई सभापति देख्न उत्साही थिएन। ऊ शेखर कोइराला अघि बढेको देख्न चाहन्थ्यो। तर गगनको प्रयास अमेरिकी उक्साहटभन्दा बढी नेपाली कांग्रेसभित्र दबेर बसेको अजीर्ण असन्तोषको उपज थियो। शेरबहादुर देउवाको नेतृत्वमा नेपाली कांग्रेसका कार्यकर्ताहरूले एक दशकसम्म रुखमा छाप लगाउन पाएका थिएनन्। गगनले नेपाली कांग्रेसलाई यो विसंगतिपूर्ण परिस्थितिबाट उद्धार गरेका छन्। तर यो पक्षको चर्चा भएको छैन।
गगनलाई चुनाव जिते पनि, नजिते पनि सहज भने छैन। उनले नेतृत्व गरेको दल नेपाली कांग्रेस परम्परागत रूपमा विभाजित घर हो। गगन थापाविरोधी पूर्वसंस्थापन पक्ष अहिले किंकर्तव्यविमूढ छ। सर्वोच्च अदालतमा विशेष महाधिवेशन विरोधी रिटको सुनुवाइ भएको छैन। उता निर्वाचन आयोगले बडो आतुरीपूर्ण रूपमा गगन थापालाई आधिकारिकता दिइसकेको अवस्था छ। शेरबहादुर देउवाका पुरातन पोष्यपुत्रहरूसँग अहिले ‘पर्ख र हेर’ को विकल्प छैन। चुनावमा कम मत आए यसको जिम्मेवारी गगनको हुनेछ। सत्तामा जाने अवस्था आए त्यसको व्यवस्थापन उनका निम्ति थप कठिन र जटिल हुने निश्चित छ।
के होला परिणाम?
नेतृत्व ग्रहण गर्ने क्षमता र चुनाव जित्ने कला एउटै होइन। प्रियतावादको अग्लो घोडा चढ्ने राजनीतिक फौबन्जारहरू लामो दौडका खेलाडी हुन्छन् भन्ने कुनै निश्चितता हुँदैन। तर अहिलेसम्मको अवस्था साक्षी हो, सामाजिक सञ्जालमा व्याप्त प्रियतावादी विस्फोटका प्रत्यूत, गगन थापा लामो दौडका एक निर्विकल्प घोडा भने पक्कै हुन्।
विद्यार्थी राजनीति गर्दा गणतन्त्रको पक्षमा उनले नरहरि आचार्यसँग सहकार्य गरे। यसले नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको रणनीतिलाई ठेस पुर्याएको कारण उनी झन्डै पार्टीच्यूत भएका थिए। तर उनले शिष्टाचारको मर्यादा नाघेनन्। नेपाल गणतान्त्रिक व्यवस्थामा प्रवेश गरेपछि समेत उनले दलभित्र लघुताभाषपूर्ण परिस्थितिको सामना गर्दै आएका हुन्।
व्यक्तिगत प्रयासबाट एक उद्यम सुरु गर्दा उनको प्रयास विफल भयो। तर दलभित्रैबाट उनका विरुद्ध ‘राज्यको अनुदान खाएर मासेर भ्रष्टाचार गरेको’ लाञ्छना लाग्यो। उनलाई ‘मटन काजी’ र ‘बाख्रे’ का रूपमा मिम बनाएर बदनाम गरियो। यो अनर्गल प्रचारको फाइदा अहिले रास्वपा नामको टुप्पोबाट पलाएको दलले उठाउँदै छ। किनकि, यो कथित नयाँ दलका नेता आफैँ भुइँमान्छेको सहकारी बचत अपचलन गरेको आरोपमा जेल परेका मान्छे हुन्। विदेशी अदृश्य शक्ति, स्वदेशी सेना र अदालतका एकजना न्यायाधीशको उदेकलाग्दो आदेशको भरमा अस्थायी रूपमा जेलमुक्त भएका उनी बृहत् राजनीतिक चलखेलको एक प्यादा हुन सक्छन्। उनीसँग अर्कोलाई होच्याउने बाहेक अरू एजेन्डा देखिँदैन।
‘सिध्याउने, देखाउने, सटर बन्द गर्ने’ जस्ता प्रतिशोधात्मक नाराको भरमा नयाँ दल चुनाव लड्दैछ। यो नयाँ दलका नेताको टाउकोमा संगठित अपराध र सम्पत्ति शुद्धीकरणको ‘डेमोक्लसको तरबार’ झुण्डिएको छ। चुनाव जिते पनि उनको सांसद पद अहिलेको अवस्थामा स्वतः निलम्बित हुनेछ। तर, तुजुक हेर्न लायक छ।
गगन थापालाई ‘मटन काजी’ भनेर जिउँदै सामाजिक सञ्जालको खड्कुलोमा उमाल्नेहरू आफ्ना नेताका बारेमा किन प्रश्न गर्दैनन्?
उनका ‘ब्रदर इन आर्म्स’ बालेन शाह काठमाडौँ महानगरपालिकाका मतदाताले दिएको चार वर्षे मेयरको मतादेशलाई धोका दिएर प्रधानमन्त्रीको दौडमा छन्। घिउ बेचुवा र तरबार बेचुवाको भूमिकामा चुनावी दौडमा हिँडेका रास्वपा सभापति र वरिष्ठ नेताको अहिले नै कुरा मिलेको छैन। कथं सत्तामा आए भने के होला? त्यो हरिबिजोग त हेर्नै बाँकी छ।
अब सामान्य ‘भिजनको’ कुरा गरौँ, बालेन शाहले काठमाडौँ महानगरपालिका चुनावमा कबोल गरेका आकर्षक नाराको एक तिहाइ गरेर देखाउन सकेनन्। संघीय सरकारले दिएको विकास खर्चको चालीस प्रतिशत पनि खर्च गर्ने ल्याकत भएन उनको। मुलुकका अरु महानगरको तुलनामा उनको ‘रिपोर्ट कार्ड’ पुछारमा देखियो।
तैपनि चुनाव लड्ने बेला भनिदिए, ‘भोट माग्न होइन, काम माग्न आएको। मान्छेलाई बाटोमा सुताएर, रुखमा बाँधेर भए पनि दुई वर्षको काम डेढ वर्षमा गर्नेछु।’
यता त्यही मुद्दामा गगन थापाको भनाइ थियो, ‘पूर्वाधार निर्माणको सवालमा ४१ ओटा कानुन बाधक छन्। केही निलम्बन गर्नुपर्नेछ, केही समन्वय गर्नुपर्नेछ, केही परिमार्जन गर्नुपर्नेछ।’
मान्छे सुताएर र रुखमा बाँधेर सडक बन्ने भए कुरा अर्कै हो, तर संघीय संसदमा जानेले कानुन बनाउने हो। घण्टी बजाउने होइन।
नयाँ भनिने दलका समर्थकहरू सामाजिक सञ्जालमा हिंस्रक रूपमा प्रस्तुत हुँदैछन्। विशेषतः आफ्नो दलको विरोध गर्ने महिलाहरूको चरित्रहत्या गर्न रास्वपाका कार्यकर्ताहरूले सामाजिक सञ्जालको जुन दुरुपयोग गरेका छन्, यो प्रवृत्तिले चित्कार गर्दैछ, यिनले जितेको देश सुरक्षित हुनेछैन।
कमसेकम गगन थापा यिनीहरूभन्दा माथि छन्।
(राजेश मिश्र हाल अमेरिकाको सान डिएगो, क्यालिफोर्नियामा बसोबास गर्छन्)
(नेपालखवरबाट)





















