• सागर न्यौपाने

काठमाडौं, ९ जेठ। गत मंसिर २८ देखि पुस ३ सम्म काठमाडौँमा भएको ११ औँ महाधिवेशनमा केपी शर्मा ओलीको प्यानलबाटै उपाध्यक्ष जितेका हुन्– रामबहादुर थापा, विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ र रघुजी पन्तले। पौडेलले त ओलीलाई सधैँ संकटका बेला साथ दिँदै आएका थिए। 

पार्टीभित्र आलोचनात्मक धारणा राखेपनि गुरुङ सधैँजसो ओलीको कित्तामा उभिएका नेता हुन्। तर, महाधिवेशन भएको पाँच महिनामै थापाबाहेकका सबै उपाध्यक्षले ओलीको साथ छाडेका छन्।

shreejana+12 2083

शुक्रबार भक्तपुरको गुण्डुस्थित ओली निवासमा बसेको सचिवालय बैठकमा पौडेल, गुरुङ र पन्तले ओलीलाई मार्गप्रशस्त गर्न आग्रह गरे। उनीहरूले अब ओलीको नेतृत्वमा एमाले अघि बढ्न नसक्ने भन्दै पार्टी पुनर्गठन गरेर जानुपर्ने धारणा राखे। 

उनीहरूको कुरामा समर्थन जनाउँदै उपाध्यक्ष गोकर्ण विष्टले पनि ओलीलाई पद त्याग गरेर जान आग्रह गरे। महाधिवेशनमा ईश्वर पोखरेल प्यानलबाट उपाध्यक्ष निर्वाचित विष्ट ओलीको विपक्षमा हुने नै भए।

तर, आफ्नै प्यानलबाट सचिवालयमा जिताएका नेताहरूले यति छिट्टै साथ छाडेपछि ओली संकटमा परेका छन्।

जबकि, महाधिवेशनमा ओली पक्षले दुईतिहाइ सचिवालय र केन्द्रीय सदस्य जितेको थियो।  

फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको चुनावमा एमाले नराम्ररी पराजित भयो। २०७९ को चुनावमा ७८ सांसद जिताएका उनै ओलीले तेस्रो कार्यकालको अध्यक्ष जितेर पार्टीभित्र झन् शक्तिशाली भएर आफूलाई प्रधानमन्त्री घोषणा गर्दै चुनावमा होमिएका थिए। तर, एमाले जम्मा २५ सिटमा खुम्चियो। 

चुनावी परिणामपछि ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने आवाज उठ्यो। पौडेलले पनि ओली हट्नुपर्ने संकेत गरे। तर, ओलीले राजीनामा दिन तयार भएनन्। 

चैत १३ गते राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वमा सरकार बन्यो। सरकार गठन भएकै दिन गौरीबहादुर कार्की नेतृत्वको जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय लियो। यही निर्णयका आधारमा गृहमन्त्री सुधन गुरुङले ओलीलाई पक्राउ गर्न मातहतका निकायलाई निर्देशन दिए। 

चैत १४ गते गुण्डु निवासबाटै ओली पक्राउ परे। उनलाई हिरासतमा राखियो। यद्यपि, कमजोर स्वास्थ्य अवस्थाका कारण ओली १२ दिन अस्पताल बसे। सर्वाेच्चको आदेशपछि उनी रिहा भए। तर, पत्थरीको अप्रेसर गरेर वैशाख ५ गते मात्र उनी गुण्डु निवास फर्किए। उनी पक्राउ परेपछि उनलाई हटाउन उपाध्यक्ष पौडेललगायतले तयारी गरेका थिए। 

ओलीले राजीनामा नदिए हटाउनको लागि विभिन्न उपायको प्रयासमा उनीहरू लागे। आफूविरुद्ध नेताहरू लागेको सुइँको पाएका ओलीले संकट समाधानका लागि विभिन्न उपाय लगाएका छन्।

उनको पहिलो ध्यान पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीतिर छ। किनकि भण्डारीले ११ औँ महाधिवेशनमा ओली विरुद्ध ईश्वर पोखरेल नेतृत्वमा प्यानल उठाएकी थिइन्।

चुनावी परिणामपछि ओली हटाउने खेलमा लागेका नेताहरूले भण्डारीसँग पनि छलफल गरेको सूचना ओलीले पाएका थिए। तर, वैशाख २८ गते ओली निवास गुण्डु पुगेकी भण्डारीसँग ओलीले ३ घण्टा छलफल गरे।

त्यसपछि उनी ११ महिनादेखि रोकिराखेको भण्डारीको सदस्यता नवीकरण गराउने निचोडमा पुगेर सचिवालय बैठकबाटै निर्णय गराए।

अब भण्डारीलाई जिम्मेवारी दिने तयारीमा ओली छन्। त्यसका लागि ओलीले राष्ट्रपति भएको २०७२ कात्तिक ११ देखि २०७९ फागुन २८ गतेसम्मको अवधि पनि एमाले पार्टी सदस्य रहेको कायम गराउन चाहेका छन्। भण्डारीलाई निरन्तर पार्टी सदस्य कायम गराएर जिम्मेवारी दिने ओलीको योजना छ। 

यद्यपि, ओलीको संकट सकिएको छैन। भण्डारीले भेट्न जाने नेताहरूलाई एमाले पुनर्गठन गरेर जाने बताएकी छन्।

अब यो विषय शुक्रबारबाट औपचारिक रुपमा पार्टीमा प्रवेश गरेको छ। त्यति मात्र होइन, चार उपाध्यक्ष ओलीले छोड्नुपर्ने पक्षमा उभिएका छन्। 

१९ जनाको सचिवालयका बाँकी महासचिव, उपमहासचिव र केही सचिव समेतले ओलीले अध्यक्ष पद छोड्नुपर्ने कुरा उठाउने एक उपाध्यक्ष दाबी गर्छन्।

‘उपाध्यक्षमा ४–१ भयो, अब बाँकी भोलि बोल्नेहरूले पनि अध्यक्षलाई पार्टीको नेतृत्व छोडेर पुनर्गठन गर्नुपर्ने धारणा राख्छन्,’ उनले नेपालखबरसँग भने। 

शुक्रबारको बैठकमा अध्यक्ष ओली र उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङबीच नोँकझोँक चलेको अर्का नेताले बताए।

‘पार्टी र आन्दोलन जोगाउने हो भने तपाईंले राजीनामा दिनुपर्छ भन्ने हिसाबले पीएस गुरुङले कुरा राखेपछि अध्यक्षज्यू अलि आक्रामक रुपमा प्रस्तुत हुनुभयो,’ अर्का पदाधिकारीले भने, ‘त्यसपछि पीएसजीले पनि कडै जवाफ दिनुभयो। पार्टी तपाईंको पेवा होइन, कम्युनिस्ट आन्दोलनमा हाम्रो पनि योगदान छ लगायतको कुरा गर्नुभयो।

आफ्नाहरूले छोड्दै गएपछि ओलीको थप संकट बढ्दै गएको नेताहरू बताउँछन्। 

‘हिजो साथ दिएकाहरूले विस्तारै उहाँलाई छोड्दै गएका छन्, अहिले त उहाँको पक्षमा पूर्वमाओवादीका बादल पो देखिनुभयो,’ ती पदाधिकारीले भने। 

(नेपालखवरबाट)