राधा लुइटेल
फिदिम, ९ जेठ। अविरल वर्षापछि आएको बाढी र पहिरोले पाँचथरको याङवरक गाउँपालिका १ र २ मा ठुलो क्षति पुगेको छ। यस क्षेत्रमा शुक्रबार साँझ भारी वर्षा भएको थियो। वर्षापछि आसपासका खोला–नालामा आएको बाढी र पहिरोले सडक, पुल–पुलेसा तथा सर्वसाधारणका घरमा क्षति पुर्याएको हो।
दोभाने खोला, तमोर खोला तथा मध्यपहाडी राजमार्ग आसपासका क्षेत्रमा आएको बाढीले निर्माणाधीन मोटरेबल पुल बगाएको स्थानीय प्रशासनले जनाएको छ। पाँचथर र तेह्रथुम जोड्ने तमोर नदीमा निर्माणाधीन लिम्बुनी पुलका सबै संरचना बाढीले बगाएको बताइएको छ।
बाढीका कारण याङवरक क्षेत्रको दोभाने खोलामा सञ्चालित जलविद्युत् आयोजनासहित विभिन्न संरचनामा क्षति पुगेको जनाइएको छ। यस्तै माथिबाट खसेको पहिरोले याङवरक ३ र ७ को सीमावर्ती लाम्वाखोला ढाँड–एकराते क्षेत्रमा दुईवटा घर बगाएको छ।
स्थानीय ममलाल खवास र कविन्द्र खवासको घर पहिरोसँगै बगेको जनाइएको छ। प्रभावित परिवार सुरक्षित स्थानतर्फ सरेका छन्। जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डिएसपी अनिषकुमार कर्णका अनुसार निरन्तर वर्षा र टेलिफोन सम्पर्क अवरुद्ध भएका कारण क्षतिको विस्तृत विवरण सङ्कलन गर्न कठिनाइ भइरहेको छ।
बाढीले याङवरक १, २ र ३ का विभिन्न खोलामा रहेका झोलुङ्गे तथा पक्की पुलमा पनि क्षति पुर्याएको छ। उता, सडकमाथिबाट खसेको पहिरोका कारण मध्यपहाडी राजमार्गअन्तर्गत च्याङथापु–थर्पु सडकखण्ड अवरुद्ध बनेको छ।
यसैबीच, ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाबाट पाँचथरतर्फ जोडिने मोटरेबल पुलमा समेत वर्षाका कारण क्षति पुगेको बताइएको छ । यसैगरी खेतीयोग्य जमिन र अलैँची खेतीमा पनि क्षति पुगेको छ। क्षतिको यकिन विवरण सङ्कलन हुन बाँकी रहेको जनाउँदै प्रशासनले प्रभावित क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ।























