सिरहा, २९ बैशाख। सातामा दुई दिने बिदा निर्णयलाई ध्यानमा राखेर सरकारले विद्यालयमा हुने हिउँदे र बर्षे बिदा घटाउन परिपत्र गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत शिक्षा तथा मानवस्रोत विकास केन्द्रले मंगलबार सबै शिक्षा विकास तथा समन्वय एकाइ, स्थानीय तह र विद्यालयलाई निर्णय कार्यान्वयन गराउन परिपत्र गरेको हो। 

shrijana school 2083

केन्द्रका निर्देशक डा. श्यामप्रसाद आचार्यले जारीगरेको पत्रमा शिक्षण संस्थामा शनिबार र आइतबारको बिदा दिन भनिएको छ। 

दुई दिने बिदाले गर्दा पाठ्यक्रमले तोकेअनुसारको कार्यघण्टालाई असर नपर्ने गरी अन्य व्यवस्था गर्न ६ बुँदे निर्देशन दिइएको छ। ‘प्रत्येक दिन प्रार्थना समय १५ मिनेट र खाजा समय ३० मिनेट व्यवस्थापन गर्ने,’ पत्रमा भनिएको छ। 

त्यस्तै, सोमबारदेखि शुक्रबारसम्म पूरा समय पठनपाठनसँग सम्बन्धित क्रियाकलाप सञ्चालन गर्न भनिएको छ। यससँगै हिउँदे र बर्षे विदाको अवधि ३० दिन कायम गर्न पत्राचार गरिएको छ। यसअघि हिउँदे र बर्से बिदा ४५ दिन हँदै आएको थियो। 

यससँगै पहिलो र दोस्रो त्रैमासिकमा गरिने आन्तरिक मूल्यांकनलाई पठनपाठन भएकै दिन वा पठनपाठनमा असर नपर्ने दिनमा गर्नेगरी व्यवस्थापन गर्न भनिएको छ। अन्तिम परीक्षा तथा नतिजा प्रकाशनका लागि शैक्षिक सत्रको अन्तिम १२ दिनलाई उपयोग गर्न सुझाइएको छ। 

shiksha