सिरहा, २९ बैशाख। सिरहामा निजी जमिनमा बाटो बनाउने विषयमा एक युवकलाई रुखमा बाँधेर अमानवीय व्यवहार गरिएको घटनाका आरोपी वडाध्यक्षसहित पाँच जना विरुद्ध नेपाल प्रहरीमा जाहेरी दर्ता भएको छ।

औरही गाउँपालिका ३ का वडाध्यक्ष जीवक्ष यादवसहित पाँचजनाविरुद्ध अभद्र व्यवहार सम्बन्धी कसुरमा जिल्ला प्रहरी कार्यालय सिरहामा जाहेरी दर्ता भएको हो।

shrijana school 2083

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी रमेश बहादुर पालका अनुसार वडाध्यक्ष यादवसहित हेमा यावद, रामबाबु यादव, मुकेश यादव, विजय यादव र विसुन यादवविरुद्ध पीडित पक्षले जाहेरी दिएका छन्।

उजुरी परेकाहरूविरुद्ध सडक खाली गराउने नाममा औरही गाउँपालिका ३ का स्थानीय वीरेन्द्र साहलाई रुखमा बाँधेर अभद्र व्यवहार गरिएको भिडियो सार्वजनिक भएको थियो।

‘पीडित पक्षबाट आएको जाहेरी दर्ता भएको छ। अब पक्राउ अनुमति लिएर अनुसन्धान अघि बढाउने प्रहरीको भनाई छ। अनुसन्धानका क्रममा घटनामा जसको जस्तो भूमिका देखिन्छ, त्यसअनुसार कानुनी कारबाही हुने प्रहरीले बताए।

प्रहरीका अनुसार औरही ३ को पिपरा टोलमा एक वर्षअघि कृषि सडक निर्माण गरिएको थियो। सडक विस्तारका क्रममा वीरेन्द्र साहको जग्गा एकतर्फी रूपमा प्रयोग गरिएको भन्दै विवाद उत्पन्न भएको थियो। विवादकै कारण उक्त सडक सञ्चालनमा आउन सकेको थिएन।

सोमबार वडाध्यक्ष जीवछ यादवसहितको टोली डोजर लिएर सडक खाली गराउन पुगेको थियो। त्यसक्रममा वीरेन्द्र साहले विरोध जनाएपछि उनलाई कुटपिट गर्दै रुखमा बाँधेर त्यहाँ बनेका संरचना डोजरले भत्काइएको भनिएको छ। घटनापछि स्थानीय स्तरमा तीव्र विरोध भइरहेको छ।

घटनामा संलग्न वडा अध्यक्षसहितकालाई पक्राउ गरी कार्वाहीको माँग गर्दै आजै जनमत पार्टीले जिल्ला प्रशासन कार्यालय सिरहामा ज्ञापनपत्र नै बुझाएको छ। ज्ञापनपत्रमा गाउँपालिका अध्यक्षसहितको समूहले स्थानीय नागरिकमाथि गैरकानुनी, दमनकारी र मानव अधिकार विपरीत व्यवहार गरेको आरोप लगाइएको छ।