- सीके लाल
काठमाडौँ — भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोका छोरा निकोलस मदुरो गुयरा १५ सदस्यीय टोलीको नेतृत्व गर्दै सन् २०१९ तिर नेपाल भ्रमणमा आएका थिए । उनको टोलीले तत्कालीन नेपाल कम्युनिस्ट पार्टीका पत्रपर्ण अध्यक्ष पुष्पकमल दाहाल सँगसँगै भ्रातृत्व सम्बन्ध भएका अरू राजनीतिकर्मीहरूसँग पनि भेटघाट गरेको थियो ।

भेनेजुएलाका ‘कमरेडहरू’लाई भेट्न अस्वीकार गर्ने शीर्ष नेपाली कम्युनिस्टहरूमा सायद पदासीन राष्ट्रपति विद्यादेवी भण्डारी एवं तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली मात्रै थिए । कुनै बेला दक्षिणपन्थी आलोचकहरू नेपाली कम्युनिस्टहरूको उत्तर कोरिया, क्युबा र भेनेजुएला मोह देखेर खिसी गर्थे— ‘बेला न कुबेला, भेनेजुएला’ ।
पूर्वराष्ट्रपति भण्डारी र पूर्वप्रधानमन्त्री शर्मा ओली अहिले पनि भेनेजुएलाको सार्वभौमिकताको बचाउमा खुलेका छैनन् । नेत्रविक्रम चन्द बाबुसाहेबका सेनामेनाबाहेक भेनेजुएलाको सार्वभौमिकता हनन गर्नेहरूका विरुद्ध सडकमा अहिलेसम्म अरू कुनै पनि राजनीतिक समूह उत्रिएको छैनन् ।
नयाँदिल्ली प्रस्थान गर्नुअघि शर्मा ओलीसँग दाहालको एक्लाएक्लै भेटघाटमा के कस्ता मुद्दाहरूबारे मन माझामाझ भयो, अद्यापि सार्वजनिक भएको छैन । तिथिमिति तय भइसकेको चुनावमा ‘एमालेग्रेस’ गठबन्धन सँगसँगै दाहालको राजनीतिक मञ्च पनि जोडिन सक्ने सम्भावना पहिल्याउने प्रयत्न भयो होला ।
निर्वाचनमा ‘तीन तिकडमबाज’ अझै पनि एकसाथ रहेको कुरा भारतीय सुरक्षा सल्लाहकार अजित डोभाललाई सुनाइदिने निर्क्योलमा पुगिएको होला । तर भेनेजुएला मुद्दामा नयाँदिल्लीले कुरा चपाएर बोले जस्तै दाहाल पनि खुला रूपमा अमेरिकीहरूको भूराजनीतिक दादागिरीको विपक्षमा उभिन हच्किरहेको बुझ्न गाह्रो छैन ।
सोभियत संघको अन्तःस्फोटभन्दा पहिले रुसकै वर्चस्व रहने गरेको युक्रेनमाथि सन् २०२२ मा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले हमला गर्दा युक्रेनी राष्ट्रपति जेलेन्स्कीको पक्षमा उभिएर युक्रेनको सार्वभौमिकता हनन भएको वक्तव्यबाजी गर्ने नेपालका दक्षिणपन्थी, यथास्थितिवादी एवं सेप्टेम्बर ८–९, २०२५ दुःखपूर्ण परिघटना पछि ‘डिस्कर्डवादी’ बन्न पुगेका राजनीतिकर्मी तथा विचारनिर्माताहरू ‘वीरताभन्दा सावधानी बेस’ भन्ने मान्यतालाई अंगीकार गर्दै भेनेजुएला मुद्दामा मौनता अंगीकार गरेका छन् ।
भेनेजुएलाको सार्वभौमिकताबारे नेपालको अर्ध–सैनिक, गैर–संवैधानिक र ‘डिस्कर्ड–निर्मित’ सरकारसमेत आफ्नो औपचारिक अडान सार्वजनिक गर्नुअघि संयुक्त राष्ट्रसंघको विशेष बैठकको निष्कर्ष पर्खेर बसेको जस्तो छ ।
विश्व भने स्पष्टतः दुई भागमा विभाजित भएको देखिँदै छ— एकातिर भूराजनीतिक सन्तुलनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अहंकारी र निर्लज्ज आक्रामकताका असरहरू सोचेर अत्तालिएको समुदाय छ भने अर्कोतिर ‘खड्गेन आक्रम्य भुंजीतः, वीर भोग्या वसुंधरा’ अर्थात् ‘शक्तिद्वारा विजयी हुनेहरू धरतीको उपभोग गर्छन्’ भन्ने मान्यतामा विश्वास गर्नेहरूमा अमेरिकाका प्रतिस्पर्धी चीन र रुस जस्ता आनुमानिक महाशक्ति राष्ट्रका रणनीतिकारहरू पनि छन् ।
युरोप काउन्सिलका महासचिव एलेन बर्सेटले भने ‘बललाई सामान्यीकरण गर्ने र कानुनलाई हतियार बनाउने कदमले उदीयमान विश्व व्यवस्थामा गहिरो परिवर्तन’ ल्याउने डर व्यक्त गरेका छन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पनि भेनेजुएलामा अमेरिकी हमलाले ‘खतरनाक उदाहरण’ स्थापित गरेको कुरा इंगित गरेका छन् ।
हुन त चीनका लागि ताइवान फगत ‘एकीकरण कुरिरहेको’ प्रान्त हो, तर एउटा स्वतन्त्र राष्ट्रको बहालवाला राष्ट्रपतिको कब्जा, अपहरण र नजरबन्द जस्ता नग्न शक्ति प्रदर्शनका अनपेक्षित असरहरूले बलियो देशहरूलाई उत्साहित र कमजोर राष्ट्रहरूलाई आतंकित तुल्याउनु अस्वाभाविक होइन ।
राष्ट्रपति ट्रम्पले भेनेजुएलाको प्राकृतिक स्रोत कब्जा गरेपछि विश्वको खनिज, तेल बजार र बहुमौद्रीकरण (डि–डलराइजेसन) प्रक्रिया प्रभावित हुनेछ । गोलबन्द हुने क्रममा रहेका संसारका वैकल्पिक महाशक्ति गठबन्धनहरूले आकार पाउने छन् ।
एकातिर अक्षुण सार्वभौमिकताको मान्यता र अर्कोतिर मानवतावादी हस्तक्षेपसम्बन्धी अन्तर्राष्ट्रिय रूपमा स्वीकृत मापदण्डहरू कमजोर हुनेछन् । भेनेजुएलाका बासिन्दाहरूको मानवाधिकार एवं त्यस देशमा प्रजातन्त्रको अवस्था के कसो छ भनेर दुनियाँले चासो राख्न पाउँछ, तर संरक्षणको अधिकार (राइट टु प्रोटेक्ट) जस्तो असाधारण कूटनीतिक अस्त्र एउटा पदासीन राष्ट्रपतिलाई अपहरण गर्न प्रयोग हुनु दम्भ प्रदर्शनको पराकाष्ठा हो ।
कोलम्बिया, मेक्सिको र क्युबा जस्ता अन्य दक्षिण अमेरिकी देशका नीति निर्माताहरू एउटा यस्तो संसारमा ब्युँझिरहेका छन्, जहाँ तिनका देशहरूको सार्वभौमिकताका सीमा अब वासिङटनका सामरिक रणनीतिकारहरूले तय गर्नेछन् ।
विश्वको प्रहरी
अमेरिकाको हस्तक्षेपकारी नीतिको इतिहास नयाँ भने होइन । सन् १८२३ को ‘मोनरो सिद्धान्त’ले पश्चिमी गोलार्धलाई अमेरिकी प्रभाव क्षेत्रका रूपमा स्थापित गरेको थियो । सन् १९०४ को ‘रुजवेल्ट उपप्रमेय’ले अमेरिकालाई ‘गलत काम’ रोक्न ल्याटिन अमेरिकी देशहरूमा हस्तक्षेप गर्ने अधिकार रहेको बताएको थियो ।
यदि रुजवेल्ट उपप्रमेयले अमेरिकालाई ‘पश्चिमी गोलार्धको प्रहरी’मा परिणत गरेको थियो भने सन् २००२ पछि तथाकथित ‘बुस सिद्धान्त’ले अन्य देशहरूमा सत्ता पलट (रेजिम चेन्ज) गर्न पाउने थप शक्तिको साथ प्रभावकारी रूपमा अमेरिकालाई ‘विश्वको प्रहरी’मा परिणत गर्यो, जसको नकारात्मक परिणाम अफगानिस्तानका साथै इराक र लिबियामा अद्यापि देख्न सकिन्छ ।
भेनेजुएलाबाट प्रयोग हुन सुरु भएको ‘ट्रम्प उपप्रमेय’ अझ स्पष्ट छ— यसले दक्षिण अमेरिकाका स्रोतहरूलाई बलपूर्वक प्रयोग गर्ने र ती देशहरूमा वर्चस्व स्थापित गर्ने अमेरिकाको अग्राधिकारलाई जोड दिन्छ र ‘अमेरिका पहिला’ सोचको दायरालाई विश्वव्यापी बनाउँछ ।
नवीनतम उपप्रमेयले राष्ट्रको निवारक सुरक्षा वा सामान्यजनको मानवीय हितको प्रवर्धन जस्ता हस्तक्षेपकारी नीतिहरूको लाज छोप्ने लंगोटीलाई समेत फालेर शक्तिशालीले जे गरे पनि हुने जंगलराजको मान्यतालाई वैधानिकता प्रदान गरेको छ ।
अचम्म त के भने अमेरिकीहरूको वक्रदृष्टिमा परेको छिमेकी देश भारतमा समेत ‘ट्रम्प उपप्रमेय’का प्रशंसकहरू छन् भने मदुरोको अपहरणबाट भेनेजुएला मुक्त भएको कुरा पत्याउने शक्तिशालीका भक्तिगायकहरू नेपालमा पनि छन् । राजनीतिक मनोविज्ञानभित्र नायक पूजा (हिरो वर्सिप) प्रचलित अवधारणा भएकाले होला, आक्रामक शक्तिप्रदर्शनलाई जायज मान्नेहरू सम्भाव्य आखेट समुदायमा पनि हुने रहेछन् ।
नायक पूजा प्रायः अनिश्चितता, संकट वा संस्थाहरूप्रति अविश्वासको कालखण्डमा देखा पर्दछ । त्यस्तो विकट परिस्थितिमा सामान्यजन जटिल मुद्दाहरूबारे स्पष्टता, समाधानका उपाय कार्यान्वयन गर्न सक्ने बलियो व्यक्ति र सम्भाव्य परिणामबारे आश्वस्त गर्न सक्ने प्राधिकार खोज्न थाल्दछन् ।
नायकले पाउने प्रशंसा र सम्मानले उसलाई तत्काल सामूहिक कार्य गर्न उत्प्रेरित गर्न सक्छ । तर नायक पूजा त्यस बखत समस्याग्रस्त हुन्छ, जब यसले जवाफदेहिताको क्षय गर्दछ, शक्तिको दुरुपयोगलाई सामान्य बनाउँछ र ठीक–बेठिक छुट्याउने क्षमतालाई नायकप्रतिको बफादारीले प्रतिस्थापन गर्दछ । तार्किकता लोप भएपछि नायक सुस्तरी ‘अपनायक’ बन्न थाल्दछ ।
अपनायकको अर्थ खुट्याउनुभन्दा पहिले नायक, प्रतिनायक एवं खलनायक जस्ता शब्दहरूको स्थापित परिभाषा पहिल्याउनुपर्ने हुन्छ । शक्ति वा व्यवस्थाको प्रतिबिम्ब ठहरिने उपयुक्त शब्द छनोट गर्नु महत्त्वपूर्ण हुन्छ, त्यो किनभने शब्दहरूले परिभाषा मात्र बोक्दैनन्, तिनीहरूले उद्देश्य, भावना र सामाजिक स्थिति देखाउँछन् ।
शब्दले विचार तथा निर्णयहरूलाई आकार दिन्छ र उपयुक्त सम्प्रेषण एवं व्यक्तिगत रूपान्तरणका लागि व्यावहारिक अन्तर्दृष्टि प्रदान गर्दछ । ज्ञान नै नभए पनि गहिरो समझदारी शब्दको उपयुक्तताले निश्चित गर्दछ । नायक त्यो हो जो विपरीत परिस्थितिमा पनि संयम गुमाउँदैन । साहसी हुन्छ नायक र ऊ निःस्वार्थ भावले इमानदारीका साथ सही उद्देश्यका लागि सही काम गर्दछ । आफ्ना कमजोरीहरूलाई स्वीकार गर्छ, गल्ती सच्याउँछ र सहयोगीहरूलाई साथमा लिएर अगाडि बढ्छ ।
प्रतिनायक पनि एकथरी नायक नै हो । ऊ नैतिकता–निरपेक्ष हुन्छ र सामाजिक वा राजनीतिक मूल्य एवं मान्यतालाई मान्दैन । आफूले चाहेको परिणामका लागि जस्तोसुकै प्रक्रिया अवलम्बन गर्न सक्दछ । ऊ परनिन्दक, स्वार्थी वा हिंसात्मक पनि हुन सक्दछ । ऊ गलत उद्देश्य (जस्तो कि बदला, सत्ता पलट वा तत्काल सन्तुष्टि) प्राप्तिका लागि प्रभावकारी काम गर्ने गर्दछ ।
त्यसैले प्रतिनायकलाई सानो तर समर्पित समर्थक पाउन गाह्रो हुँदैन । खलनायक त आफ्नो दुर्भाव वा स्वार्थ लुकाउने प्रयत्न पनि गर्दैन र आफ्नो तौरतरिकालाई सही वा गलत ठहर्याउने बहसमा अल्झिन रुचाउँदैन । खलनायकका प्रशंसकहरू उसको स्पष्टोक्तिमा थपडी बजाइरहेका हुन्छन् ।
अंग्रेजीका ‘हिरो, एन्टी–हिरो र भिलेन’ शब्दहरूलाई नायक, प्रतिनायक र खलनायकका रूपमा चित्रित गर्न सजिलो छ । त्यस्ता शब्दहरूले नसमेट्ने प्रतिरूप नायक (रिप्रजेन्टेटिभ हिरो) अवधारणालाई नेपालीमा ‘अप’ अर्थात् शब्दका अघिल्तिर गाँसिएर ‘अनुचित निन्दनीय वा हीन’ भाव जनाउने ‘अपनायक’ भन्न सकिन्छ कि ? शाब्दिक नवप्रवर्तन नरुचाउनेले प्रतिरूप नायक भनेर बुझे पनि हुन्छ, तर असुरक्षा भाव व्याप्त समाजहरूमा आत्ममुग्ध र अहंकारी व्यक्तिको बोलवाला समसामयिक विश्वमा बढ्दै गएको भने यथार्थ हो ।
अपनायकहरूको दबदबा
समकालीन वैश्विक राजनीतिमा देखिने अपनायकहरूको लोकप्रियता ठम्याउन नायकत्व मनोदशा (मेन क्यारेक्टर सिन्ड्रोम) सँग सम्बद्ध आत्मकेन्द्रितता, आत्मप्रवर्धन, अतिनाटकीयता र व्यक्तिगत महत्त्वाकांक्षाको प्रदर्शन जस्ता दम्भयुक्त विशेषताहरूको आकर्षणलाई बुझ्नुपर्ने हुन्छ ।
सामूहिक असुरक्षा भावले ग्रस्त समर्थकहरूको दृष्टिमा आत्ममुग्धताको हदसम्मको आत्मविश्वास कमजोरी नभएर अपनायकको शक्ति र दूरदृष्टि जस्ता क्षमताहरूको संकेत हो । अनिश्चितता, अव्यवस्था र संस्थागत थकानले भरिएको कालखण्डमा त्यस्तो आत्मविश्वासी व्यक्तिको उपस्थिति मात्रले पनि उनीहरूलाई दिशानिर्देश र आश्वासन मात्र दिँदैन, सम्भाव्य सफलताको प्रत्याभूति पनि गर्छ ।
पटक–पटक उनको ग्यारन्टी हावादारी ठहरिए पनि प्रायः आफूलाई तेस्रो पुरुषमा उल्लेख गर्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले न ‘ये मोदी की गारंटी है’ भन्न छाडेका छन्, न त उनका समर्थकहरू नै जोस्सिएर थपडी बजाउन छाडेका छन् । ट्रम्प र मोदी जस्ता अति–आत्मविश्वासी राजनीतिकर्मीहरूलाई तिनका समर्थकले केवल शक्तिशाली व्यक्तिका रूपमा नभएर आफ्नो प्रतिनिधि नायकका रूपमा पूज्न थाल्दछन् ।
परम्परागत निश्चितताहरू भत्किएको, पुराना मान्यताहरू काम नलाग्ने भएको र भविष्य अस्पष्ट देखिन थालेपछि संसार अस्तव्यस्त र अ–केन्द्रित भएको जस्तो अनुभूत हुन्छ । त्यसपछि एकथरी जमातले आफ्ना सामूहिक असन्तुष्टि एवं साझा भ्रमलाई समान कथ्यमा जोड्ने ‘मुख्य पात्र’ खोज्न थाल्दछ ।
सन् २०१९ को आफ्नो अन्तर्राष्ट्रिय संस्करणमा अमेरिकी पत्रिका टाइमले मोदीको आवरण कथालाई भारतको विभाजनकारी प्रमुख (इन्डिया’ज डिभाइडर–इन–चिफ) शीर्षक दिएर प्रस्तुत गरेको थियो । अपनायकहरूको शक्तिको स्रोत नै ‘आफ्ना’ र ‘अरू’ बीच ध्रुवीकरण हो— तिनलाई आलोचक त के, प्रशंसक पनि चाहिँदैन । अपनायकहरू अन्ध समर्थक चाहन्छन् र त्यस्ता भक्तहरू तर्क होइन, उन्मादद्वारा मात्र उत्पाद गर्न सकिन्छ ।
तथाकथित ‘डिप स्टेट’ र ‘टेक्नोक्रेसी’को आलोचना गरेर ट्रम्प एवं परिवारवाद तथा तुष्टीकरणको राग अलापेर मोदीले राष्ट्रवादी जनोत्तेजकताका आधार खडा गरेको पक्का हो, तर प्रियतावाद तिनको आकर्षणको प्रमुख भए पनि एकमात्र आयाम भने होइन । समाजको उल्लेख्य हिस्सा असहज, अस्थिर, चिन्ताग्रस्त, विस्मित र व्याकुल भएर निश्चितता र स्थायित्वको खोजी गर्न थाल्यो भने अपनायकहरूको उदय स्वाभाविक बन्न पुग्दछ । सन् १९९० ताका समाजवादको सपना टुटेपछि बजारवाद व्यापक भएको थियो ।
बजारको ‘अति–सफलता’ द्वारा सिर्जित असुरक्षाभावले अपनायकहरूको लोकप्रियतालाई बढाउँदै लगिरहेको छ । अन्य सामूहिक भूराजनीतिक प्रवृत्तिहरू जस्तै अपनायकहरू पनि विलोप हुनु अगाडि विश्वव्यापी बरबादीको कारण बन्न सक्दछन् ।
सन् १९९० सम्म आइपुग्दा सोभियत संघको चुनौती धराशायी भए जस्तै द्वितीय विश्वयुद्धपछिको अमेरिका–नियन्त्रित विश्वव्यवस्था पनि अन्तःस्फोट हुने क्रममा छ— सेना परिचालन गरेर अनुपालन गराउनुपर्ने अवस्था वर्चस्व कमजोर भएको संकेत हो । तर चिनियाँहरू अद्यापि वैकल्पिक विश्वव्यवस्थाको अवधारणात्मक खाकामै अल्झिएका छन् ।
मूलपात्र प्रवृत्तिका स्थानिक संस्करणहरू पनि थरीथरीका देखिन्छन् । कथंकदाचित असफल ठहरिए पनि नायकहरूले इतिहास बनाउँछन् र सार्वजनिक स्मृतिमा लामो कालसम्म जीवित रहन्छन् । केही इतिहासकारहरूले भीमसेन थापाको जति नै दानवीकरण गरे पनि सुगौली सन्धिमार्फत उनले देशको स्वतन्त्र अस्तित्वलाई जोगाएको यथार्थलाई बेवास्ता गर्न सकिँदैन ।
उनलाई कसैले नायकको दर्जा नदिए पनि उनको उल्लेख बेगर नेपालको संस्थाकरणको कथा लेख्न सकिँदैन । जंगबहादुरले लुटपाट गर्ने अधिकार र बकसको लोभमा इस्ट इन्डिया कम्पनीका अगाडि र चन्द्रशमशेरले आफ्नो सत्ता सुरक्षित गर्ने उद्देश्यले नेपालको स्वायत्ततालाई बेलायत सरकारको जुनाफमा चढाएर प्रतिनायक भएर इतिहासमा दर्ज छन्।
कसैकसैले जुद्धशमशेरलाई खलनायक ठहर्याउँछन् भने कुनैकुनै पीडित व्यक्तिका परिवार एवं प्रभावित समुदायका लागि राजा महेन्द्र एकतन्त्र, एकल पहिचान र प्रजातन्त्रको षड्यन्त्रमूलक ढंगले हत्या गरेर तानाशाही स्थापित गर्ने खलपात्र हुन्। नेपाललाई अपनायक कहलाउन सक्ने व्यक्ति पाउन भने सन् २०१५ सम्म प्रतीक्षा गर्नुपरेको थियो।
शर्मा ओलीको राजनीतिक उदय र सम्भाव्य पतन केवल सत्ता आरोह–अवरोहको वृत्तान्त होइन । यो सम्भवतः आत्ममुग्ध व्यक्तिले गणतान्त्रिक व्यवस्थालाई प्रतिरूप नायकको भूमिका निर्वाह गर्दै ‘मुख्य पात्र’ नाटकमा तानेको कथा हो । शर्मा ओलीले कम्तीमा एक दशक— सन् २०१५ देखि सन् २०२५ सम्म— कहिले वैधानिक त कहिले व्यावहारिक शासक भएर सञ्चालन गरेका हुन्।
त्यति मात्र भए उनी ‘बलियो राजनीतिकर्मी’ कहलिन्थे । तर जब उनले समग्र नेपालका सबै अवयवहरू— राज्य, समाज र राष्ट्रवादी संस्कृति— सबै उनको ‘म’ मा विलय गराउने प्रयत्न गर्दै नेपालको ‘सी वा मोदी’ बन्न सुरु गरेर, उनको सँगसँगै देशको दुर्दिन पनि सुरु भयो । अपनायक इतिहासको पाद टिप्पणीमा समेटिन्छन्, मूलपाठ भने राज्य असफलताको लेखिन्छ।
सन् २०१३–२०१५ बीचको राजनीतिक अन्योल, गणतान्त्रिक संविधानको अन्तर्वस्तुबारे विवाद र २०१५ को भूकम्पले सिर्जना गरेको राष्ट्रिय आघात शर्मा ओलीका लागि अवसर बनेको थियो । संकटग्रस्त समाज सहमति खोज्दैन, त्यसलाई दृढता र निश्चितता चाहिन्छ— यो मनोविज्ञानलाई उनले तिनताकका राजनीतिकर्मीहरूमध्ये सबभन्दा राम्रोसँग पहिचान गर्न सफल देखिए। अन्य नेताहरू अन्योलमा देखिँदा उनको अदम्य आत्मविश्वासले उनलाई ‘अराजकतामा स्थायित्वका वास्तुकार’ बन्ने अवसर उपलब्ध गरायो।
तत्कालीन प्रधानमन्त्री अस्वस्थ, कमजोर र दिशाहीन एवं सत्तागठबन्धनको सबभन्दा ठूलो दल विभाजित मनस्थितिमा रहेकाले उनको मनोमानीलाई नियन्त्रण गर्न सक्ने शक्ति कुनै पनि भएन । नेपाली मानसमा गहिरोसँग जडा गाडेको जनोत्तेजक राष्ट्रवादमा एकाधिकार स्थापित गर्ने शर्मा ओलीको रणनीतिले उनलाई छोटो समयमा राजनीतिको शीर्षमा पुर्याएको हो।
उनलाई समर्थन गर्नु देशभक्ति, विरोध गर्नु विदेशी प्रभावको दलालीजस्तै बनाउने दुष्प्रचारको धंगधंगी अद्यापि बाँकी छ। सन् २०१५ को तेस्रो मधेश विद्रोहलाई भारतविरोधी भावनातिर मोड्दै चीनसँगको सम्बन्धलाई प्रतीकात्मक ढाल बनाउनु उनको दोस्रो व्यक्तिगत सफलता तर समग्र देशको दीर्घकालीन हित–विरोधी कर्म थियो । पुच्छ्रे नक्साको प्रकाशनले देशलाई न केही फाइदा भएको छ, न कुनै सकारात्मक उपलब्धिको आशा नै छ।
तर उनले त्यस्तो कदमको नरम आलोचनालाई नै समेत राष्ट्रविरोधी सावित गर्ने अभियानमा देशका समस्त मिडिया, बुद्धिजीवी र विचार निर्माताहरूलाई आफ्नो पछाडि लामबद्ध गर्न सफल भएका छन् । परम्परागत मिडिया मात्र नभएर ‘अरिंगाल’ र ‘साइबर सेना’ खडा गरेर प्रचारतन्त्र सञ्चालन गरे पनि सन् २०२५ को हरितपीत विद्रोहले उनलाई सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिने अवस्थामा पुर्यायो र देश गैरसंवैधानिक सरकारले गराउन लागेको शीघ्र निर्वाचन कुर्न अभिशप्त छ।
भेनेजुएला वा नेपाल जस्ता राज्यहरूको असफलताले मानव सभ्यताको इतिहासलाई खासै फरक पार्दैन। अपनायकहरूको हातमा अमेरिका, रुस, चीन र भारत जस्ता प्रभावशाली देशहरूको कमान एकसाथ पुग्नु भनेको सबै थर्कमान हुनुपर्ने हो।
हुन त हरिण कराएर जंगलको आगो निभाउन सकिने होइन, तर जनावरको चिच्याहटले समेत कहिलेकाहीँ मानवतालाई जागृत गराउन सक्दछ। हरेक देशका अपनायकहरूको प्रतिरोध संसारका प्रत्येक स्वतन्त्रताप्रेमी नागरिकको कर्तव्य बन्न पुग्दछ । भेनेजुएलाका लागि बोल्न ‘बेला न कुबेला’ भनेर डराउनु पर्दैन।



















