मणिलाल विश्वकर्मा
लहान, १५ असोज। सिराहाको गोलबजार नगरपालिका १३, दुर्गापुर डंग्राहा गाउँका बालकको अपहरण र हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका ६ जनाविरुद्ध अपहरण गरी हत्या गरेको कसुरमा प्रहरीले पाँच बालकसहित ६ जनाविरुद्ध मुद्दा चलाएको छ।
जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार ५ असोजको राति करिब ८ बजेतिर घरबाट हराएका करिब १६ वर्षीय मालिक भनिने अभिषेककुमार सिंहको अपहरण गरी हत्या गरेको कसुरमा परिवर्तित नाम ०८२/८३ (गोलबजार– ए), अमितकुमार यादवसहित अन्य नाबालक चार गरी ६ जनाविरुद्ध मुद्दा चलाइएको हो।
मृतकका हजुरबा लक्ष्मण महतोको किटानी जाहेरीको आधारमा ६ जनालाई सिराहा जिल्ला अदालतबाट पक्राउपछि पक्राउ पुर्जी स्वीकृत गराई अनुसन्धान जारी रहेको सिराहा प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेशकुमार यादवले जानकारी दिए ।
पाँच करोड फिरौती माग र हत्या
उनका अनुसार हिन्दी टेलसिरियलको नक्कल गरी अपहरणपछि पाँच करोड रुपैयाँ फिरौती रकम माग गर्दै हत्या गरी लासलाई ड्रममा लुकाउने योजना बनाएको देखिएको अनुसन्धानमा पाइएको छ । मृतकको घरदेखि करिब दुई सय मिटरपूर्व अर्जुन आधारभूत विद्यालयनजिकै सार्वजनिक बाटोमा ७ असोजको बिहान शव भेटिएलगत्तै अनुसन्धानको क्रममा सोधपुछका पाँचजना आफन्तसहित आठजनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
रातिको खाना खाइवरी घरबाहिर निस्किएका सिंह भोलिपल्ट दिउँसोसम्म फेला नपरेपछि उनका मामा नरेश महतोले खोजतलासका लागि गोलबजारस्थित इलाका प्रहरी कार्यालयमा निवेदन दिएका थिए। निवेदन परेलगत्तै जिल्ला प्रहरी प्रमुख र गोलबजार प्रहरी प्रमुखसहितको टोलीले घटनाको बारेमा सोधपुछसहित खोजतलास थालेको थियो। त्यही क्रममा ७ असोजको बिहान करिब ६ बजेतिर बाटोमा सिंहको शव भेटिएपछि जिल्ला र गोलबजार प्रहरी तथा मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामबाट आएको तालिम प्राप्त कुकुरसमेतको टोलीले घटनाको अनुसन्धान थालेको थियो।
कुकुरसमेतको प्रहरी टोलीले घटनामा संलग्न सम्भावित व्यक्तिहरूको पहिचानका लागि आठजना नियन्त्रणमा लिएर शव पोस्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको थियो।
बगैँचामा भेट्न बोलाएर अपहरण
परिवर्तित नाम ०८२/८३ (गोलबजार– ए) ले आफूसहित अमितले सिंहलाई घरनजिकैको आँपको बगैँचामा भेट्न बोलाएर अपहरण गरी फिरौती रकम लिने र हत्या गर्ने योजना बनाएको अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ। बगैँचा पुगेलगत्तै सिंहलाई उनीहरूले घरबाट लगेको सिलभर रंगको डोरीले दुवै हात बाँधेपछि गम्छाले मुख थुन्दै आफ्नै घरनजिकै पुर्याई प्लास्टिकको ड्रममा हालेर माथिबाट टायलले छोपी घर फर्किएको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार त्यसपछि अन्यले थाहा पाउने डरले विद्यालयको पश्चिमपट्टिको पर्खाल छेउको झाडीमा ड्रम छिर्ने खाल्डो खनेर प्लास्टिकको ड्रम राखेपछि सिंहको हत्या गरी ड्रममा लास लुकाउने योजना खुलेको छ।
प्रतिवादीहरूले ६ असोजको बिहान करिब सवा ८ बजेतिर मृतकले चलाउने मोबाइलको इमो आइडीबाट हिन्दी भाषामा पाँच करोड रुपैयाँ फिरौती रकम माग्दै उनकी आमाले चलाउने गरेको इमोमा म्यासेज पठाएका थिए। गाउँमा प्रहरीको चहलपहल बढेपछि उनीहरूले सिंहको लासलाई अन्यत्र लुकाउने योजनासहित ७ असोजको बिहान करिब २ बजेतिर लास ड्रमबाट निकालेर सडकमा फालेको, ड्रम पोखरीमा फालेर मृतकले चलाउने गरेको मोबाइल खेतमा फालेका थिए।
अभिषेक स्थानीय संजयकुमार सिंह र रेखा सिन्हाकी एक्लो छोरा थिए। उनका बाबु संजयको करिब १० वर्षअघि दुर्घटनामा निधन भएपछि एक बहिनी, आमा, हजुरबा र आमासँग बस्दै आएका थिए। बाबु नभएकाले हजुरबाको स्वामित्वमा रहेका जग्गामा मजदुर लगाएर खेतीपाती र दुईवटा ट्याक्टर चलाउँदै आएका उनको हत्यापछि परिवार संकटमा परेको छ।