रामनारायण ठाकुर
मिर्चैया, ५ चैत। कर्जन्हा नगरपालिकाका जनप्रतिनिधीहरुले गर्दैआएको आन्दोलन आम सञ्चार तथा सामाजिक सञ्जालबाट प्रत्यक्ष प्रशारणसहितको बार्तापछि स्थगित भएको छ। पालिकाका सबै योजनाहरु इविडिङ्ग प्रकृयाबाट गर्ने, कार्यपालिकाका सवै बैठक आम सञ्चारमाध्यमबाट प्रत्यक्ष प्रशारण गर्ने, सवै वडा र पालिकाले नियमित सार्वजनिकसुनवाई गर्ने लगायतका सहमतिपछि आन्दोलन स्थगित भएको हो।
पालिका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतले गर्दै आएका बेथितीका विरुद्ध विभिन्न माँगसहित गत फागुन २७ गतेबाट वडा अध्यक्ष तथा कार्यपालिकाहरुले आन्दोलन गर्दै आएका थिए। माँग सम्वोधन गर्ने विषयमा सार्वजनिक प्रतिबद्धता जनाएपछि आजबाट आन्दोलन स्थिति भएको वडानम्वर ११ का वडा अध्यक्ष किस्मत राईले जानकारी दिए।
‘हाम्रा जायज माँगका विषयमा आम जनता तथा सञ्चारमाध्यमको विचमा पालिका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतले प्रतिबद्धता जनाउनु भएको छ; वडा अध्यक्ष राईले भने, ‘प्रतिबद्धता अनुसार हामी सवै मिलेर काम गरे धेरै काम गर्न सकिन्छ। अझैपनि २ वर्ष समय छ। हामी पालिकाका धेरै समस्यालाई सम्वोधन गर्नसक्ने अवस्थामा अझै छौं। अन्यथा हामी पुनः आन्दोलनमा जानबाध्य हुने छौं।’
प्रमुख प्रशासकीय अधिकृत मनहरी बरालले कार्यपालिकाले सवैकाम इविडीङ्गबाट गर्ने निर्णयगरे आफूहरु गर्न तयार र सक्षम रहेको बताए। अधिकृत बरालले भने, ‘हामीसँग प्रयाप्त दक्ष जनशक्ति छ। कामगर्ने प्रतिबद्धता पनि छ। इविडिङ्गमा जाने प्रकृया पुराभए हामी सवैले समयमै काम सम्पन्न गर्न सक्छौ। यसबाट कसैलाई दोष र टिक्का टिप्पनी गर्ने ठाउँ समेत रहँदैन।’
जनप्रतिनिधीहरुविच रहेको केही मनमोटाव आजको बार्ताबाट सम्पन्न भएको नगर प्रमुख भोला प्रसाद पोखरेलले विश्वास व्यक्त गरे। उनले भने, ‘कहिलेकाही कुनै विषयमा मतैक्यता नहुँदा आन्दोलन हुन्छ। यो स्वभाविक प्रकृया पनि हो। अव हाम्रो भाईचारा कायम भईसकेको छ। चाँडै पुरानै गतिमा पालिकाका कामहरु अगाढी बढ्छ।’
सोही क्रममा उनले आन्दोलनको क्रममा सेवाग्राहीमा पर्न गएको असजिलो प्रति कर्जन्हा नगरपालिका क्षमा याचना समेत गरेका छन्।
वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरुले प्रशासकीय भवन निर्माण, कोल्ड स्टोर निर्माण प्रकृयामा ढिलाई, हिउँदे अधिवेशन गर्नेबारे, प्रमुख प्रशासकीय अधिकृत र लेखाका कर्मचारी नियमित कार्यालयमा उपस्थित हुनुपर्नेसहित १८ बुँदे माँग राखेर कार्यालयमा तालाबन्दि लगायतका अन्दोलन गर्दै आएका थिए।