सिरहा, १८ फागुन। सिरहामा जबरजस्ती करणी अभियोगमा प्रहरी जवान नै पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय लहानको मुद्दा शाखाका प्रहरी जवान नवीन यादवलाई जिल्ला प्रहरी कार्यालय सिरहाले नियन्त्रणमा लिएको हो।
पीडित महिलाले यादवविरुद्ध विवाह गर्ने आश्वासन दिएर दुई वर्षदेखि पटक–पटक जबरजस्ती करणी गरेको आरोप लगाउँदै जाहेरी दिएकी थिइन्। इलाका प्रहरी कार्यालय लहानमा पटक–पटक जाहेरी दिन गएका पनि जाहेरी दर्ता नभएपछि जिल्ला प्रहरी कार्यालयमा गएर जाहेरी दर्ता पछि यादवलाई नियन्त्रणमा लिएको प्रहरीको भनाई छ।
पीडित महिलाले यस विषयमा इलाका प्रहरी कार्यालय लहानका डिएसपी विष्णु सोतिसमक्ष समेत गुहार मागेकी थिइन्। तर, जाहेरी दिन खोज्दा प्रहरी जवानकै कारण अवरोध झेल्नुपरेको उनको गुनासो छ।
यता, इलाका प्रहरी कार्यलय लहानका डिएसपी बिष्णु सोतिले आफू समक्ष कुनै महिलाले आफ्नो जवान बिरुद्ध जाहेरी लिएर नआएको बताए। आफ्नै इलाकाको प्रहरी जवान भएपनि अनुसन्धामा सहयोग पुर्याएको सोतिको भनाई छ।
यस विषयमा जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी बिरेन्द्र पासवानले कानुनी प्रक्रिया अनुसार पीडितको जाहेरीका आधारमा मुद्दा दर्ता गरी यादवलाई पक्राउ गरिएको जानकारी दिए।
हाल उनीमाथि अदालतबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीको भनाई छ।