मणिलाल विश्वकर्मा

लहान, १२ माघ। सिराहाको धनगढीमाई नगरपालिका क्षेत्रका चारवटा खानेपानी आयोजना वर्षौँदेखि अलपत्र छन् । धनगढीमाई– ९ चैनपुर, १२ कुसमाहा सिमलटोकी, विष्णुपुरकट्टी तथा १३ को भोर्लेनीमा खानेपानी सरसफाइ उपभोक्ता समितिअन्तर्गतका खानेपानी आयोजना अलपत्र छन् ।

२५ सय घरपरिवारलाई खानेपानी पुर्‍याउने भन्दै १३ वर्षअघि चैनपुरमा सुरु भएको खानेपानी आयोजनामा साढे चार करोड खर्च भइसकेको छ । तर, आयोजना स्थलको बाउन्ड्री, साढे चार लाख लिटर क्षमताको ओभरहेड ट्यांकी निर्माण, बोरिङ, विद्युतीकरणका लागि पोलिङ मात्र भएको छ । तीन फेजको दुई थान विद्युतीय मोटर, नयाँ ट्रान्सफर्मर र पाइप बिछ्याउने काम बाँकी नै रहेको धनगढी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष सकिल अख्तरले बताए । ‘अझै १० करोड ३९ लाख बजेट लाग्ने अनुमान गरिएको छ,’ उनले भने । 

महुवाडाँडा, मुसहर्निया चैनपुर, श्यामपुर, जिरोमाइल र धनगढी बजार, सोनापुर, छपराढी र शान्तिपुरसम्म खानेपानी पुर्‍याउने भन्दै आव ०६८र६९ देखि खानेपानी आयोजना सुरु भएको हो । ‘आयोजनाका लागि किनिएको ट्रान्सफर्मर तेल चुहिएर पुरानो भइसकेको छ । ०७०र७१ मा खरिद भएको ६ र चार इन्चको पाइप विद्यालयको चौरमा थुपारेर राखिएको छ ।

खानेपानी आयोजना सञ्चालनका लागि नगरपालिका, खानेपानी डिभिजनमा धाए पनि सुनुवाइ नभएको धनगढीमाई– ९ का वडाध्यक्ष प्रकाश योञ्जनले बताए । ‘०७६र७७ देखि आयोजनाको काम ठप्प जस्तै छ,’ उनले भने । उनका अनुसार ०७९र८० मा डिभिजनले नै प्राविधिक पठाएर ट्यांकीको उत्तर र दक्षिणतर्फ रहेको दुईवटा बोरिङ सफा गरेर गएपछि फर्केर आएका छैनन् । ‘खानेपानी आयोजना सञ्चालन गर्न वडाको बजेटले धान्दैन,’ उनले भने, ‘राज्यको ठुलो लगानी भइसकेको आयोजना अलपत्र छोडिनुहुँदैन ।’ 

ट्रान्सफर्मर नै चोरी, सोलार प्लान्ट जीर्ण

धनगढीमाई– १२ ९साबिक विष्णुपुरकट्टी ५, ६ र ७ नम्बर वडा० का करिब चार सय घरपरिवारलाई खानेपानी पुर्‍याउन १० वर्षअघि सुुरु खानेपानी आयोजनाको त झन् विद्युतीय ट्रान्सफर्मर नै चोरी भएको छ । खानेपानी तथा ढल निकास विभागको बजेटमा जडान गरिएको सोलार प्लान्टसमेत जीर्ण भएको वडाध्यक्ष जयप्रकाश ठाकुरले बताए । 

उनका अनुसार थटिया, विष्णुपुरसहित १० गाउँका नागरिकलाई स्वच्छ खानेपानी पुर्‍याउन आव ०७०र७१ मा थालिएको आयोजनाअन्तर्गत १२र१२ इन्चको दुई थान बोरिङ, २५० घनमिटर क्षमताको ओभरहेड ट्यांकी, कार्यालय र आवास भवन निर्माणको काम भएको छ । ‘खानेपानी वितरणका लागि करिब ९५ प्रतिशत पाइप बिछ्याउने कामसमेत सकिएको छ,’ उनले भने, ‘आयोजनाको गत आवको ४८ लाख रुपैयाँ बजेट छ भन्ने सुनेँ, तर केमा खर्च भयो डिभिजनलाई नै थाहा होला ।’

कुसमाहा सिमलटोकी खानेपानी आयोजनाको हालत पनि उस्तै 

धनगढीमाई– १२ कै ९साबिक ८ र ९ नम्बर वडाअन्तर्गत पर्ने० ३५० घरपरिवारका लागि पाँच वर्षअघि सुरु भएको कुसमाहा सिमलटोकी खानेपानी आयोजनाको हालत पनि उस्तै छ । 

कुसमाहा खानेपानी उपभोक्ता समितिका अध्यक्षसमेत रहेका वडाध्यक्ष ठाकुरका अनुसार एक सय घनमिटर क्षमताको ओभरहेड ट्यांकी, कम्पाउन्ड, कार्यालय र गार्ड आवास निर्माण गरिएको छ । आयोजना सञ्चालन नहुँदा स्थानीय बासिन्दा आहाले, गडम्मे, कुसमाहाका बासिन्दा खुट्टीखोलाको पानी प्रयोग गरिरहेका छन् । ‘अहिलेसम्म आयोजनाका लागि एक करोड १८ लाख खर्च भएको छ, तर स्थानीय बासिन्दा खोला, इनार, कुवाको पानीले तिर्खा मेटाउन बाध्य छन्,’ उनले भने । 

आयोजना सञ्चालनका लागि कुसमाहा सिमलटोकीमा विद्युतीकरण र ट्रान्सफर्मर खरिद, पाइपलाइन बिछ्याउने, तीन फेजको विद्युतीय मोटर खरिद, भवन मर्मत गरी ६ करोड ३२ लाख बजेट लाग्ने अनुमान गरिएको छ । 

विष्णुपुरकट्टी खानेपानी आयोजना सात वर्षदेखि अलपत्र

धनगढीमाई नगरपालिका– १३ भोर्लेनीस्थित विष्णुपुरकट्टी खानेपानी आयोजना पनि सात वर्षदेखि अलपत्र छ । आव ०७३र७४ देखि थालिएको खानेपानी आयोजनाका लागि ०७६र७७ को १० लाख पूरै र ०७९/८० को ३० लाखमध्ये २७ लाख ५९ हजार डिभिजन खानेपानीको कारणले फ्रिज भएको धनगढीमाई– १३ का वडाध्यक्ष सूर्यमान तामाङले बताए।

नयाँ पत्रिका।