गोलबजार, २६ साउन। सुनसरीको कप्तानगन्जमा भएको घटनाको चार दिनपछि १४ साउनको अपरान्ह सिराहाको गोलबजारमा एकजनाको ज्यान जाने गरी हिंसात्मक प्रदर्शन मात्र भएन, एउटा समुदायका पसल, घर तथा धार्मिक आस्थाका केन्द्रहरु छानी–छानी तोडफोड र आगजनीसमेत भयो।

घटनापछि स्थानीय प्रशासनले लगाएको कर्फ्यु तीन दिनपछि हटेसँगै बिस्तारै जनजीवन सामान्य हुन थालेको छ। तर, आगजनी र तोडफोडको मारमा परेकाहरूले अझै सुरक्षित महसुस गर्न नसकिरहेको सन्दर्भमा सामुदायिक शान्ति र सामाजिक सदभावका लागि स्थानीय अगुवाहरू जुट्न थालेका छन्।

गोलबजार क्षेत्रका हिन्दु, मुस्लिम र बौद्ध धर्मावलम्बी समुदायका अगुवा, व्यापारी प्रतिनिधि तथा सामाजिक अभियन्ताहरूको सहभागितामा सोमबार आयोजित शान्ति र सदभावका लागि शान्ति संवाद कार्यक्रममा गाउँ–बस्ती तहमा सदभावमूलक कार्यक्रमहरू विस्तार गरिनुपर्नेमा जोड दिइएको छ।

वर्षौँदेखि आपसी भाइचारा र सदभावसहित बस्दै आएका स्थानीय समुदायलाई फुटाउँदै धार्मिक सहिष्णुता भड्काएर राजनीतिको रोटी सेक्न गोलबजारमा सुनियोजित षड्यन्त्र गरिएको सहभागीहरूले ठहर गरेका छन्। उनीहरूले स्थानीय सरकार तथा सामाजिक संघसंस्थाको सहकार्यमा सामुदायिक शान्ति र सदभाव कायम गर्न सामुदायिक संवादलाई व्यापकता दिनुपर्ने बताए।

‘सामुदायिक शान्ति र सामाजिक सदभावका लागि नागरिक समाज, मानव अधिकारकर्मी, शैक्षिक संस्था र मिडियाको भूमिका सकारात्मक रहनुपर्छ,’ उनीहरूले भने, ‘विभिन्न जातीय तथा धार्मिक समाजबिच सामाजिक सदभाव, एकता र दिगो शान्ति कायम राख्न स्थानीय तहसँगको सहकार्यमा व्यवस्थित पहल गरिनुपर्छ।’

त्यसका लागि अन्तरधार्मिक सञ्जालमार्फत पहल गर्न सकिने भए पनि चरणबद्ध रूपमा संवाद गरिनुपर्ने उनीहरूले औँल्याए।

नेपालमा समावेशी तथा शान्तिपूर्ण समुदायका लागि सशक्तीकरण परियोजनाअन्तर्गत कुर्वे उष्ट्रोको प्राविधिक सहयोग तथा दलित महिला केन्द्र नेपालको सहयोगमा स्थानीय ज्योति महिला समूहको आयोजनामा भएको संवाद कार्यक्रममा धर्मको आवरणमा गोलबजारमा भएको मानवीय तथा भौतिक क्षतिको कसैले पनि पूर्ति गर्न नसक्ने धारणा व्यक्त गरियो।

गोलबजार घटनापछि सुरक्षाको कारण देखाउँदै स्थानीय व्यापारी, बैंक तथा वित्तीय संस्थाको हुन सक्ने पलायनले गोलबजारको विकास, समृद्धि तथा सामाजिक एकतामा अवरोध पुर्‍याउन सक्ने भएकाले त्यसलाई रोक्न स्थानीय सरकारले पहल गर्नुपर्नेमा सहभागीहरूले जोड दिए।

संवाद कार्यक्रममा मधेश प्रदेश सांसद साहिदा खातुनले ‘जय श्रीराम’, ‘अस्सलाम वालेकुम’जस्ता अभिवादनमूलक शब्दले केही नहुने चर्चा गर्दै प्रदर्शनलाई समुदायसँग जोडेर मिडियाकर्मीको नाममा सामाजिक सञ्जालकर्ताहरूले सामाजिक सदभाव भड्काएको आरोप लगाइन्।

‘त्यतिवेला जुनसुकै समुदायका भए पनि केही अगुवाहरूलाई मात्र नियन्त्रणमा लिइएको भए प्रदर्शन हिंसात्मक र साम्प्रदायिक हुने थिएन,’ उनले भनिन्, ‘आफ्नो राजनीतिको रोटी सेक्न भड्काइएको घटनामा संलग्न जोसुकै भए पनि कानुनबमोजिम कारबाही हुनुपर्छ।’

स्थानीय मुस्लिम समुदायका अगुवा मो। मञ्जुर अहमदले मिलेर बसेका धार्मिक सम्प्रदायहरूलाई फुटाउन आन्दोलनको नाममा कलिला बालबालिकाको प्रयोग हुनु दुर्भाग्यपूर्ण रहेको चर्चा गर्दै कर्फ्यु लागिसकेपछि प्रदर्शनकारीहरू तितरबितर भइसकेको समयमा गोली कसले र किन चलायो, त्यसको निष्पक्ष अनुसन्धान हुनुपर्ने माग गरे।

‘गोलबजार घटनाको जिम्मेवारी राज्यले लिनुपर्छ,’ उनले भने, ‘आन्दोलनको नाममा हिन्दु–मुस्लिम दुवै समुदायमाथि अन्याय भएको छ। पीडितलाई न्याय र क्षतिपूर्तिका लागि दबाब दिनुपर्छ।’

कार्यक्रममा गोलबजार ३ र ६ का वडाध्यक्ष क्रमशः धनप्रसाद मोक्तान र सञ्जितकुमार लामा, शिक्षकहरू रामअवतार यादव, अरुणकुमार साह र बेचनप्रसाद साह, राजनीतिकर्मी खिमलक्ष्मी गिरी श्रेष्ठ, जीवन यादव, उमेश बराल, महिला अधिकारकर्मी श्यामकुमारी साह, उद्योग वाणिज्य संघ गोलबजारका अध्यक्ष विजय साहलगायतले आन्दोलनको नाममा अराजकता मच्चाउने छुट कसैलाई पनि नरहेको चर्चा गर्दै सामाजिक तथा धार्मिक सदभावका लागि स्थानीय सरकार, धार्मिक समूह, राजनीतिक दल तथा सामाजिक संघसंस्था मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिए।

उनीहरूले प्रायः हरेक घरबाट विद्यालय पढ्न जाने बालबालिकालाई सामाजिक तथा धार्मिक सदभावका विषयमा बुझाउँदै तिनका अभिभावकसम्म पुग्न सकिएको खण्डमा आगामी दिनमा सामाजिक सदभाव बलियो बनाउन सकिने औँल्याए।

गोलबजार घटनापछि पीडित व्यापारीहरूले मधेश प्रहरी कार्यालयले गठन गरेको तीन सदस्यीय छानबिन समिति तथा गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय छानबिन समितिसमक्ष आफ्नो समस्या राखिसकेको संघका अध्यक्ष साहले जानकारी दिए। उनका अनुसार गोलबजार क्षेत्रका ५० जना व्यापारीले स्थानीय प्रहरीमा दिएको निवेदनबमोजिम स्थलगत मुचुल्का उठाइएको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक वासुदेव पाठकले जिल्ला प्रहरीबाट समेत पठाएर स्थानीय प्रहरीमार्फत स्थलगत मुचुल्का उठाई भौतिक तथा आर्थिक क्षतिको प्रारम्भिक विवरण संकलन गरिएको जानकारी दिए। ‘मुचुल्कामा उल्लेख गरिएबमोजिमको आर्थिक तथा भौतिक क्षतिको विश्लेषण गर्दैछौँ,’ उनले भने।