रौतहट, २९ साउन। रौतहटको गरुडा नगरपालिका ६ पोठीयाहीबाट भारतको झारखण्डमा रहेको बाबा बैधनाथ र बासुकीनाथ दर्शन गर्न गएका यात्रु चढेको बस दुर्घटनाहुँदा एक बालकसहित तीनजनाको मृत्यु भएको छ। ४५ जनाभन्दा धेरै यात्रु घाइते भएका छन्। 

रौतहट गरुडाका नवल चौधरी र उहाँकी श्रीमती तथा राजेश महतोका १४ वर्षीय छोरा शिवम महतोको मृत्यु भएको प्रारम्भिक विवरण प्राप्त भएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ।

ना ६ ख १५५४ नम्बरको बस दुर्घटनामा तीन जना नेपाली तिर्थालुको  मृत्यु भएको भारतीय सञ्चारमाध्यमले पनि जनाएको छ। 

दुर्घटनाको खबरले पोठियाही र डुमरिया गाउँ शोकमा डुबेको छ। मृतक तथा घाइतेका आफन्त शुक्रबार बिहानै चार वटा सवारीसाधन रिजर्भ गरी भारततर्फ प्रस्थान गरेका छन्।