काठमाडौं, २८ साउन। पत्रकार किशोर श्रेष्ठको रिहाइको माँग गर्दै नेपाल पत्रकार महासंघले आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिँदैछ। धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबैलाई महासंघले आह्वान समेत गरेको छ। महासंघका महासचिव रामप्रसाद दाहालले सूचना जारी गर्दै धर्नाका लागि आह्वान गरेका हुन्।

हिजो नेपाल प्रहरीले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ। आज बिहानै प्रहरी टोलीले जनआस्थाको कार्यालयमा खानतलासी समेत गरेको छ।

महासंघले श्रेष्ठको पक्राउ र जनआस्थामा गरिएको खानतलासीको विरोध गरेको छ। हिजो राति नै महासंघ अध्यक्ष निर्मला शर्मासहित पत्रकारहरुको एक टोलीले काठमाडौं प्रहरी परिसर अगाडि प्रदर्शन गरेको थियो।

श्रेष्ठलाई विनासर्त रिहा नगरे कडा आन्दोलन गर्ने चेतावनी महासंघले दिएको छ।

प्रहरीले पत्रकार श्रेष्ठविरुद्ध वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोपमा पक्राउ गरिएको र अनुसन्धान भइरहेको जनाएको छ।

विश्व प्रेस काउन्सिलका वरिष्ठ उपाध्यक्षसमेत रहेका श्रेष्ठ प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष एवम् नेपाल पत्रकार महासंघका पूर्व महासचिव हुन्। खोजी पत्रकारितामा छुट्टै पहिचान बनाएका उनी खरो र निर्भिक पत्रकारका रूपमा परिचित छन्।