जनकपुरधाम, २७ साउन। जिल्ला अदालत, धनुषाको गेटमा एक जना महिलाले आत्मदाहको प्रयास गरेकी छन्। बुधबार अपरान्ह जनकपुरधाम उपमहानगरपालिका ३ की ५५ वर्षीया फूलकुमारी रजकले आफ्नै शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेकी हुन्।
उनले पेट्रोल खन्याएको थाहा पाउने वितिक्कै प्रहरीले उद्धार गरेको छ। उनलाई घटनास्थलमै रहेका प्रहरीले जोगाउन सफल भएको धनुषा प्रहरीले बताए।
धनुषा अदालतमा मिटरब्याजी हरेराम शसाह र गोपाल साहविरुद्ध थुनछेकको बहस चलिरहेको थियो। उनीहरूलाई जेल हाल्नुपर्ने माँग गर्दै मिटरब्याज पीडित प्रदर्शन थिए।
प्रदर्शनकै क्रममा रजकले आत्मदाहको प्रयास गरेकी हुन्। अहिले जिल्ला अदालत वरिपरि सुरक्षा व्यवस्था कडा बनाइएको छ।






















