सिरहा, २७ साउन। आन्दोलनको क्रममा यहि १४ साउनमा एक किशोरको ज्यान जाने गरी भएको घटनापछि तोडफोड र आगजनीहुँदा ७४ करोड १३ लाखको मूल्यको धनमाल क्षति भएको छ। गोलबजार क्षेत्रका १८ वटा पसल, व्यवसाय, १५ वटा निजी घर, २८ सवारीसाधन, धार्मिक तथा शैक्षिक स्थल गरी ६४ संरचनामा आगजनी र तोडफोडहुँदा उक्त मूल्य बराबरको क्षेति भएको हो।
पीडितबाट प्राप्त निवेदनको आधारमा गरिएको स्थलगत मुचुल्का विश्लेषण गर्दा प्रदर्शनको क्रममा ७४ करोड १३ लाख ९० हजारको क्षति पुगेको सिराहा प्रहरी प्रमुख प्रहरी एसपी वासुदेव पाठकले जानकारी दिए।
सबैभन्दा बढी क्षति निजी घर तथा व्यापारिक संरचनातर्फ ३४ करोड पाँच लाख ५९ हजार, पसल व्यवसायमा ३३ करोड १७ लाख १२ हजार, सवारीसाधनतर्फ एक एक करोड दुई लाख, धार्मिक तथा शैक्षिक स्थलमा तोडफोड तथा आगजनीबाट पाँच करोड ८१ लाख ९० हजारको क्षति भएको प्रहरीको भनाई छ।






















