सिरहा, २९ मंसिर। पूर्व पश्चिम राजमार्ग अन्तर्गत सिरहाको धनगढीमाई नगपालिका १० जिरोमाईलमा दुर्घटनामा परेका एक कारमा गाँजा फेला परेको छ। पूर्वबाट पश्चिमतर्फ गईरहेको ट्रकमा उत्तर तर्फको सहायक सडकबाट आईरहेको बा. २८ च ९९६३ नम्वरको कार आपसमा ठोकिएको हो।
धनगढीको उत्तरतिरबाट आएको सो कारमा गाँजा रहेको स्थानीयले बताएको छ। कार ठोकिए लगतै कारभित्रबाट २÷३ जना मानिसहरु निस्केर भित्रबाट पोकाहरु झिक्दै सीटी रीक्सामा हाल्न थालेपछि स्थानीयले नियाल्न थालेपछि उनीहरु छोडेर भागेको एक स्थानीयले बताए।
स्थानीयले उत्तरबाट आएको कार ट्रकमा ठोकिने वित्तिकै उनीहरु निस्केर कोही पोका निकालेर सिटी रीक्सामा हाल्ने र कोही कारको नम्वर प्लेट निकाल्न थालेपछि सङ्का लागेर पोका नियाँदा गाँजा देखिएकोको बताए।
घटना लगतै आएका जनपथ प्रहरी र सशस्त्र प्रहरीको समूहले सामान सहितको कार र ट्रक नियन्त्रणमा लिएर घटनास्थलबाट इलाका प्रहरी कार्यालय धनगढीमा लागने प्रयास भईरहेको जनाएको छ।
यता इलाका प्रहरी कार्यालय लहानका प्रमुख डीएसपी विष्णुप्रसाद सोतीले घटनाको पुष्टि गर्दै कारमा केही पोकाहरु फेला परेको र त्यो के हो भन्ने एकीन भईनसकेको बताए। उनले भने, ‘अहिले हाम्रा प्रहरी घटनास्थलमा पुगिसेको छ। कारमा केही सङ्कास्पद चिज भेटिएपनि त्यो के हो भन्ने अझै खुलिसकेको छैन। म आफै घटनास्थल जाँदै छु। त्यसपछिमात्र के हो भन्ने थाहा हुन्छ।’
स्थानीयले धनगढीको उत्तरीक्षेत्रमा गाजाँ सङ्कलन गरी जिरोमाईल बडियारपट्टी हुँदै भारतीय बजारमा सम्म जाने गरेको बताउँछन्। प्रहरीकै मिलेमत्तोमा यसक्षेत्रबाट गाँजा तस्करी हुने गरेको स्थानीयले बताए।
अहिलेको घटनामा पनि प्रहरीले ढाकछोप गर्ने प्रयास गरेको स्थानीयले आरोप लगाएको छ।