जनकपुरधाम, १५ मंसिर। धनुषा प्रहरीले आफ्नै प्रेमीका हत्या गरेको आरोपमा तीन जनालाई पक्राउ गरेका छन्। धनुषाको जनकनन्दिनी गाउँपालिका ५ उधा टोलकी २० वर्षीया रेखा कुमारी मण्डलको हत्या अभियोगमा उनका प्रमी सोही गाउँपालिका ३ का २२ वर्षीय राम ललित खत्वे मण्डलसहित २० वर्षीय ज्ञानेन्द्र दास र धनुषाकै शहिदनगर नगरपालिका ८ नाथपट्टीका २४ वर्षीय रमेशकुमार मण्डललाई प्रहरीले पक्राउ गरेका हुन्।
चारवर्षदेखि रेखा र रामललितबीच प्रेम सम्बन्ध रहेको र विवाह गर्ने विषयमा भएको विवादमा हत्या भएको अनुसन्धानबाट खुलेको धनुषा प्रहरीका सूचना अधिकारी डीएसपी बरुणबहादुर सिंहले जानकारी दिए।
रेखाको शव जनकनन्दिनी गाउँपालिका ४ खजुरी स्थित आमा खोलामा हत्या गरी प्लास्टिकको बोरामा राखेर फालेको अवस्थामा गत मंसिर ८ गते दिउँसो साढे ३ बज फेला परेको थियो।
तीनैजनालाई बिहीबार प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ।
डिएसपी सिंहका अनुसार मृतक रेखाको हत्याका मुख्य आरोपी रामललित हुन्। चारवर्षदेखि रेखा र रामललितबीच प्रेम सम्बन्ध रहेको र विवाह गर्ने विषयमा भएको विवादमा हत्या भएको अनुसन्धानबाट खुलेको छ।
प्रहरीका अनुसार रेखाको परिवारले रामललितसँग विवाह सम्बन्ध स्वीकार गर्न नमानेको, रेखाले आफ्नो घरबाट भागेर रामललितलाई बिहे गर्न दबाब दिएको, तर रामललित नेपाली सेनामा फर्म भरेको हुँदा जागिर खाइसकेपछि मात्र विवाह गर्ने भनेकोमा विवाद हुँदै आएको थियो।
रामललितले रेखालाई घटनास्थलमा भेटघाटको लागि बोलाउन साथी ज्ञानेन्द्र र रमेशको सहयोग लिएका थिए। त्यहाँ रेखा आएपछि उनले ढुङ्गाले अनुहारमा हानेर वेहोस बनाएपछि ब्लेडले घाँटी रेटी हत्या गरेको अनुसन्धानबाट देखिएको डीएसपी सिंहले बताए।