- दिनेश गौतम
त्रिभुवन विश्वविद्यालय, पृथ्वीनारायण क्याम्पस, पोखराका उपप्राध्यापक मित्रमणि सुवेदीले १४ साउन २०७४ मा पीएचडी गर्न अध्ययन बिदा लिएका थिए। बिदा सकिएको पाँच वर्षपछि उनी त्रिविको सेवामा फर्किनुपर्ने थियो तर फर्किएनन्। बिदा सकिएलगत्तै उनले १५ साउन २०७९ मा राजीनामा दिए।
‘सुवेदीले अध्ययन बिदाको दुरुपयोग गरेको’ भनेर पृथ्वीनारायण क्याम्पसले उनको राजीनामा स्वीकृत गर्न मानेन। तर, सुवेदीले पहँुच प्रयोग गरेर १५ माघ २०८० मा कार्यकारी परिषद्बाट आफ्नो राजीनामा स्वीकृत गराए।
‘बिदा सकिएपछि फर्किनुपर्ने थियो तर अमेरिकामै पलायन हुनुभयो। बिदाको दुरुपयोग भएपछि क्याम्पसले राजीनामा स्वीकृत गरेन। तर माथिबाट गराउनुभयो’, क्याम्पस प्रमुख प्रा.डा. सरोज कोइरालाले भने
त्रिविको ‘शिक्षक, कर्मचारी सेवा सम्बन्धी नियम २०५०’ को विनियम ३० मा ३ वर्षभन्दा बढी ५ वर्षसम्मको अध्ययन बिदा उपभोग गरेका शिक्षकले फर्केर कम्तीमा ५ वर्ष सेवा गर्नुपर्ने उल्लेख छ। यदि ३ वर्षको अध्ययन बिदा उपभोग गरेमा कम्तीमा ३ वर्ष विश्वविद्यालयको सेवामा रही काम गर्नुपर्ने नियम छ। तर उपप्राध्यापक सुवेदीले यो नियम पालना गरेनन्।
यस्तो बिदा स्वीकृत गर्दा रेक्टर कार्यालय अन्तर्गतको समन्वय महाशाखाले अध्ययन बिदा सकिएपछि सेवामा फर्किने शर्त सहितको कबुलियतनामा शिक्षकसँग गरेको हुन्छ। साक्षी सहित राखेर नेपाली कागजमा फर्किने कबुल गरिएको पत्रमा शिक्षकको ल्याप्चे समेत लगाइएको हुन्छ।
यदि अध्ययन बिदा सकिएपछि शिक्षक नफर्किएमा बिदामा बस्दा त्रिविको ढुकुटीबाट खाइपाइ आएको तलब भत्तामा १० प्रतिशत ब्याज सहित फिर्ता गर्नुपर्ने हुन्छ। २०८० देखि भने त्रिविले १२ प्रतिशत ब्याज लगाउन थालेको छ। विश्वविद्यालय स्रोतका अनुसार, उपप्राध्यापक सुवेदीले बिदामा बस्दा खाएको तलब बापत करिब २५ लाख रुपैयाँ अझै फिर्ता गरेका छैनन्।
‘त्रिविका पदाधिकारीले पैसा असुलउपर गर्छौं भनेर राजीनामा स्वीकृत गर्नुभएको थियो। अहिलेसम्म फिर्ता भएको छैन। राज्यको पैसा खाएर भाग्न मिल्दैन, यो राष्ट्रघात हो। जसरी पनि पैसा फिर्ता गर्नुपर्छ’, क्याम्पस प्रमुख कोइरालाले भने।
२०८१ असोज महिनामा उपप्राध्यापक सुवेदीले उल्टो आफूले पाउने सेवा–सुविधा खोज्न छोरालाई त्रिविमा पठाएका थिए। उनले ३ लाख ५० हजार रुपैयाँ पाउने तर पाउने भन्दा ८ गुणा बढी अर्थात् करिब २५ लाख रुपैयाँ तिर्नुपर्ने देखियो। यो उपप्राध्यापक सुवेदीले अध्ययन बिदामा बस्दा खाएको तलबको अंक हो। पाउने भन्दा तीन गुणा तिर्नुपर्ने देखिएपछि सुवेदीका छोरा ‘बुबासँग सल्लाह गर्ने’ भनेर त्यहाँबाट हिंडेका थिए।
यो एउटा उदाहरण मात्रै होइन, त्रिविभित्रको प्रवृत्ति हो। त्रिविमा अध्ययन बिदाको व्यापक दुरुपयोग भइरहेको पदाधिकारीहरू पनि स्वीकार गर्छन्। ‘दुरुपयोग भन्दा पनि यो कसुर हो, संस्था र राष्ट्रको लागि घात हो’, शिक्षाध्यक्ष प्रा.डा. खड्क केसीले भने।
त्रिविको भौतिकशास्त्र केन्द्रीय विभागकी उपप्राध्यापक पवित्रा शाक्यले १८ माघ २०६० मा ३ वर्षका लागि अध्ययन बिदा लिइन्। बिदा स्वीकृत गराएर छात्रवृत्तिमा पीएचडी गर्न उनी बेलायत उडिन्। उनी उडेको २० वर्ष बित्यो, फर्किएकी छैनन्।
भौतिकशास्त्र केन्द्रीय विभागले उनलाई १० कात्तिक २०७१ मा हाजिर हुन पत्राचार गर्यो। तर, लन्डनमा रहेकी उनले ‘आफूलाई विभागले पत्र नपठाएको’ जिकिर गरिन्। ‘नेपाल आएको समयमा राजीनामा दिन विभागमा जाँदा कुनै सम्बोधन भएन, मैले त्यस्तो कुनै पत्र पनि पाएको छैन’, उनले भनिन्।
बेलायत पुगेकी शाक्यले राजीनामा दिने प्रक्रिया समेत बिर्सिएको बताइन्। अध्ययन बिदामा बस्दा खाएको तलब भत्ताका बारेमा उनलाई अहिले सम्झनामा पनि छैन। ‘पैसा फिर्ता गर्ने नियम मलाई थाहा भएन, कबुलियतनामा बारे पनि याद छैन’, उनले सहजै भनिन्।
‘शिक्षक कर्मचारी सेवा सम्बन्धी नियम २०५०’ को विनियम ८४ मा शिक्षक लगातार ९० दिनसम्म विना सूचना क्याम्पस वा कार्यालयमा अनुपस्थित रहेमा सेवाबाट हटाउने वा बर्खास्त गर्न सकिने भनिएको छ। तर २० वर्षसम्म काममा नफर्किएकी शाक्यलाई त्रिविले अहिलेसम्म कुनै कारबाही गरेको देखिंदैन।
त्रिविको कमजोरीका कारण यो प्रवृत्ति मौलाएको बताउँछन् प्राध्यापक कृष्ण खनाल। ‘कबुलियत गरेको हुन्छ तर फलोअप कसले गर्ने ? कहाँ, कसरी जान लागेको हो, कुन विश्वविद्यालयमा जान लागेको हो बुझ्नुपर्छ’ खनालले भने, ‘विश्वविद्यालयले फिल्टर गरेर मात्र अध्ययन बिदा दिनुपर्छ।’
शिक्षकको बिदा सकिएपछि त्रिविले निरन्तर ताकेता गर्नुपर्ने मत प्राध्यापक खनालको छ। ‘गतिलो तथ्यांक राखेर आफ्नो शिक्षकको फलोअप गर्नुपर्छ’ उनले भने, ‘शिक्षक जुन युनिभर्सिटीमा गएको हो त्यसलाई बोधार्थ दिन पनि सकिन्छ।’
त्रिवि वन विज्ञान अध्ययन संस्थान, पोखराका उपप्राध्यापक शम्भु पौडेल छात्रवृत्तिमा ‘वाटर म्यानेजमेन्ट’ मा पीएचडी गर्न अमेरिका गए। २ माघ २०७४ मा ४ वर्षको अध्ययन बिदा लिएका उनले काममा नफर्की राजीनामा दिए। उनले नेपाल फर्केर कम्तीमा ३ वर्ष सेवा गर्नुपर्ने थियो, गरेनन्।
तर उनी आफूले अध्ययन बिदामा बस्दा खाएको तलब फिर्ता गर्न चाहिं राजी भए। उनले ४४ लाख ८३ हजार रुपैयाँ त्रिविलाई फिर्ता गरे। शिक्षक जस्तो पेशामा रहेको व्यक्तिले आफूले विश्वविद्यालयसँग गरेको कबुलियत ‘३ वर्ष सेवा गर्नुपर्ने’ शर्त पूरा नगरेकोमा भने उनलाई रत्तिभर ग्लानि छैन।
उनले भने ‘खाएको तलब भत्ताको १० प्रतिशत ब्याज सहित तिरेको छु, म त्रिवि फर्कन्नँ।’ त्रिविको सेवा–सुविधामा पढ्न गएर किन नफर्किनुभएको त भन्ने प्रश्नमा पौडेलले भने, ‘नेपालमा कामको सुरक्षा भएन। भविष्य नदेखेर यतै बसेको हुँ।’
यस्तो प्रवृत्तिले शिक्षकको विश्वसनीयतामा ह्रास आएको तर्क गर्छन् प्राध्यापक खनाल। ‘शिक्षामा लागेका मानिस असल हुन्छन्, वचनमा पक्का हुन्छन् भन्नेथियो। तर त्यो विश्वास र नैतिकतामा ह्रास आएको उदाहरण हो यो’, उनले भने।
अध्ययन–अध्यापन प्रभावित
शिक्षक नफर्किंदा केन्द्रीय विभाग र क्याम्पसहरूमा अध्ययन–अध्यापन प्रभावित भएको छ। सबैभन्दा धेरै पुल्चोक क्याम्पस मारमा परेको छ। २०४५/४६ तिर अध्ययन बिदा लिएर गएका १८/१९ जना शिक्षकमध्ये २ जना मात्रै फर्किंदा आर्थिक र पठनपाठन दुवैमा असर परेको बताउँछन् क्याम्पस प्रमुख इन्द्र आचार्य।
‘शिक्षक अमेरिका र क्यानडा जानुभयो। क्याम्पसलाई धेरै गाह्रो भयो। उहाँहरूको सट्टा करारमा अर्को शिक्षक राख्नु पर्यो । आर्थिक र शैक्षिक क्षति भयो’, उनले भने। इन्जिनियरिङ शिक्षा परियोजनामा अध्ययनका लागि गएका शिक्षक नफर्किएको उनको भनाइ थियो। ‘त्रिविको सेवा–सुविधामा गएर नफर्किनु भनेको अपराध नै हो’, उनले भने।
त्रिवि वन विज्ञान अध्ययन संस्थान, पोखराका पनि धेरै शिक्षक अध्ययन बिदामा गएर फर्किएका छैनन्। अध्ययन बिदामा जाँदा परिवार सहित गएका शिक्षक नफर्किएको क्याम्पसका सहायक प्रमुख सुमन भट्टराई बताउँछन्। ‘उहाँहरू फर्कनुभएन, यता प्रोमोसन पनि नियमित भएन। तर, क्याम्पसले पठाएपछि फर्किनुपर्ने थियो’, उनले भने।
स्थायी शिक्षक अध्ययन बिदामा बसेर नफर्किंदा करार र आंशिक शिक्षक राख्नुपर्ने बाध्यता त्रिविको छ। अध्ययन बिदा स्थायी भएको र ५० वर्षभन्दा कम उमेर भएका शिक्षकले मात्रै पाउँछन्। स्थायी शिक्षक बिदामा बसेपछि अर्को शिक्षकका लागि पनि थप तलब दिएर राख्दा त्रिविलाई आर्थिक भार परेको त्रिविका पदाधिकारीहरू बताउँछन्।
‘स्थायी शिक्षक पाँच वर्ष बिदा बस्दा अर्को शिक्षक राख्नु परेको छ। यसको कारण आंशिक शिक्षक बढेका हुन्। बिदामा बसेकोलाई पनि तलब दिनुपर्ने, आंशिकलाई पनि दिनुपर्ने हुँदा त्रिविलाई आर्थिक भार बढेको छ’, पूर्व उपकुलपति डा. धर्मकान्त बास्कोटाले भने।
त्यति मात्र होइन अध्ययन बिदाको उल्टो असर शैक्षिक गुणस्तरमा पनि परेको छ। पूर्व उपकुलपति बास्कोटाले भने, ‘स्थायी शिक्षकलाई शिक्षण विधिको तालिम पर्याप्त दिइएको हुन्छ। आंशिक र करारको हकमा त्यस्तो हुँदैन। त्यसैले स्थायी शिक्षक नहुँदा पठनपाठनमा ह्रास आएको छ।’
‘त्रिवि माथि ठूलो घात’
अध्ययन बिदामा बसेर बिदा सकिएपछि नफर्किने शिक्षकको संख्या धेरै छ। त्रिविको १० वर्षको तथ्यांक हेर्दा ८९३ जना शिक्षकले अध्ययन बिदा लिएको देखिन्छ। यो तथ्यांक २०७० देखि २०८० सालसम्मको हो। तर यसमध्ये कति फर्किए, कतिले अध्ययन पूरा गरे, कतिले नगरी फर्किए र कति फरार छन् भन्ने अभिलेख त्रिविसँग छैन।
१० वर्षमा बिदा बस्ने शिक्षकको तलब मात्रै हिसाब गर्दा पनि रु.१ अर्ब ७६ करोड भन्दा धेरै हुन आउँछ। बिदा बसेको वर्षको आधारभूत तलबबाट हिसाब निकाल्दा यो अंक देखिन आउँछ। अध्ययन बिदा बस्नेमा धेरै उपप्राध्यापक छन्।
उपप्राध्यापकको प्रत्येक वर्ष बढेको अवधिको तलबलाई आधार मान्दा यो अंक निस्किन्छ। बिदा बसेको शिक्षकलाई त्रिविले अहिलेसम्म कति तलब दियो भनेर विवरण माग्दा उसले सो उपलब्ध गराउन नसकेपछि हामीले आधारभूत तलब गणना गरेर यो अंक निकालेका हौं।
रेक्टर, रजिष्ट्रार, डीन कार्यालय, केन्द्रीय विभाग र केही क्याम्पस पुगेर अध्ययन बिदामा गएर नफर्किएका शिक्षकको विवरण संकलन गर्दा हामीले नै ५४ जनाको नाम फेला पार्यौं। यसको एकीकृत विवरण पाउन नसकिने भएकोले यो संख्या धेरै गुणा बढी हुनसक्ने त्रिविका अधिकारीहरू बताउँछन्।
नफर्किएका शिक्षकबाट फिर्ता लिनुपर्ने रकम कति हुन आउँछ भन्ने हिसाब पनि त्रिविसँग छैन। अध्ययन बिदामा बसेका शिक्षकको सम्बन्धित क्याम्पसमा बुझ्दा अधिकांशले पाँच वर्ष नै बिदा उपभोग गरेको देखिन्छ। त्यसैले पाँच वर्षको आधारभूत तलबलाई आधार मान्दा यिनै ५४ शिक्षकबाट मात्रै पनि रु.८ करोड बढी फिर्ता गर्नुपर्ने देखिएको हो।
त्रिवि नियम अनुसार, अध्ययन बिदामा बसेको बेला विश्वविद्यालयले शिक्षकलाई तलब दिन्छ। तर, उनीहरू यो तलब पनि खाने अमेरिका, अष्ट्रेलिया, क्यानडा, युरोपका विभिन्न मुलुकमा बसेर काम पनि गर्ने गर्छन्। अनि अध्ययन बिदा सकिएपछि अन्तिममा उतै लुक्छन्। त्यसैले बिदामा बसेको समयमा शिक्षकलाई तलब दिने नियममाथि नै अहिले प्रश्न उठेको छ।
यसलाई भ्रष्टाचारको रूपमा अथ्र्याउँछन् त्रिविका पूर्वउपकुलपति केदारभक्त माथेमा। ‘त्रिविमाथिको ठूलो घात हो यो, शिक्षकबाट भएको भ्रष्टाचार हो। यो अपराध माथि नेतृत्व तत्काल एक्सनमा जानुपर्छ’, उनले भने।
अध्ययन बिदामा बसेको समयमा दिने तलबमाथि पुनर्मूल्याङ्कनको खाँचो रहेको त्रिविकै पदाधिकारी बताउँछन्। ‘विश्वविद्यालयलाई आर्थिक भार बढेको छ। बिदा बस्दा तलब दिने परिपाटीमा निर्मम भएर सोच्नुपर्ने अवस्था आएको छ’, शिक्षाध्यक्ष केसीले भने।
‘पाउने भन्दा तिर्ने बढी भएमा शिक्षक नआउने समस्या छ। घरघरानाबाट उठाउन सकिएको छैन। पेन्सनबाट भए पनि असुल उपर गर्नुपर्छ’, त्रिविका पूर्व शिक्षाध्यक्ष प्रा.डा. शिवलाल भुसालले भने।
‘शिक्षकलाई पीएचडी गराउन प्रोत्साहन गरेर अध्ययन बिदा दिन थालिएको थियो। पहिले सुविधा दिंदा पनि जान मान्दैनथे। अहिले बिदामा बस्ने शिक्षकको संख्या बढेको छ’ पूर्व शिक्षाध्यक्ष भुसालले भने, ‘पछिल्लो समय दुरुपयोग हुन थाल्यो।’
नियम अनुसार, शिक्षकले शुरूमा तीन वर्षको तलबी अध्ययन बिदा पाउँछ। यसमा पनि एक–एक वर्षमा आफ्नो अध्ययन बिदा नवीकरण गर्नुपर्ने हुन्छ। तीन वर्षपछि पनि अध्ययन नसकिएमा सुपरभाइजरले सिफारिस गरेमा ६/६ महिना थप गरी दुई वर्ष थपेर पाँच वर्षसम्म बस्न पाउने प्रावधान छ।
पैसा फिर्ता गर्ने संख्या पनि न्यून
अध्ययन बिदामा जाँदा कबुलियत गरे अनुसार फर्किएर पनि पूरा अवधि सेवा नगरी पैसा फिर्ता गर्ने पनि छन्। बिदा सकेपछि जति अवधि पढाउनुपर्ने हो त्यो समय नपढाउने र बढी बिदा बस्ने कतिपय शिक्षकले पैसा फिर्ता गरेका छन्। २७ जना शिक्षकले यसरी पैसा फिर्ता गरेको देखियो। त्रिविले यी २७ जनाबाट रु.१ करोड १४ लाख फिर्ता गरेको अभिलेखबाट देखिन्छ।
पैसा फिर्ता गर्नेमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का उपकुलपति भइसकेका डा. दिलीप सुब्बा पनि छन्। उपकुलपति हुनुअघि त्रिविको केन्द्रीय प्रविधि क्याम्पस धरानको प्राध्यापक रहेका उनले अध्ययन बिदा बढी उपभोग गरेका कारण ५५ हजार २० रुपैयाँ फिर्ता गरेका छन्।
यसैगरी शिक्षाशास्त्र केन्द्रीय विभागका उपप्राध्यापक प्रेम फ्याक अध्ययन बिदा सकिएपछि त्रिवि फर्किए। तर उनले बिदापछि फर्किएर एक वर्ष चार महिना सेवा नगरेका कारण ५ लाख ६७ हजार ६९८ रुपैयाँ त्रिविलाई फिर्ता गरे। राजीनामा दिएर हाल कोलम्बिया विश्वविद्यालयको टिचर्स कलेजमा प्राध्यापन गर्छन् उनी।
‘अध्ययन बिदा सकिएपछि नेपाल फर्किएँ। केही समय पढाउन बाँकी थियो। राजीनामा दिएपछि कबुलियत अनुसार रकम फिर्ता गरेको हुँ। इमानदार शिक्षकले फिर्ता गर्छन्’ फ्याकले भने, ‘राजीनामा दिने विषय स्वाभाविक हो। प्रोफेसर जहाँ राम्रो हुन्छ त्यो ठाउँमा जान सक्छ। काम गर्ने वातावरण नभएपछि त्रिवि छोडेको हुँ।’
त्रिवि इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस, पोखराले भने अध्ययन बिदा दुरुपयोग गर्ने शिक्षकबाट रकम असुल पनि गरेको छ। रकम फिर्ता गराउनेमा पश्चिमाञ्चल क्याम्पस अगाडि देखिन्छ। उसले ६ जना शिक्षकबाट यसरी रकम असुल गरेको छ।
‘राष्ट्रसेवक शिक्षक बेतन लिएपछि संस्थाप्रति बफादार हुनुपर्छ। नफर्किने शिक्षकबाट कबुलियत अनुसार रकम उठाएको हो। एउटा शिक्षक पढ्न गएपछि नयाँ शिक्षक राख्नुपर्छ। त्रिविलाई दोहोरो आर्थिक भार परेको हुन्छ। त्यसैले क्याम्पसले बिदा सकेर नफर्किने शिक्षकबाट रकम असुल गरेको हो’, क्याम्पस प्रमुख निर्मलप्रसाद बरालले भने।
‘कर खाएका शिक्षक फिर्ता बोलाऊ’
अध्ययन बिदा लिएर धेरै शिक्षक अमेरिका, अष्ट्रेलिया र क्यानडा जाने गरेको पाइएको छ। कोही छात्रवृत्तिमा त कोही आफ्नै खर्चमा अध्ययनका लागि भनेर त्यहाँ पुग्छन्। बिदा सकिएपछि कति त उतैको पीआर समेत लिएर बसेका छन्। तर यस्तो संख्या कति छ भन्ने आँकडा पनि त्रिविसँग छैन।
केन्द्रीय विभाग र क्याम्पसका प्रमुखहरू विदेशमा लुकेका शिक्षकसँग आजित छन्। पटक–पटक औपचारिक पत्र, अनौपचारिक फोन, म्यासेज गर्दा पनि नफर्किएको गुनासो प्रमुखहरूको छ। उल्टै विदेश बसेर बिदा थप गर्न र सेवाबाट नहटाउन त्रिविका पदाधिकारीलाई दबाब दिने काम समेत हुन्छ।
‘राष्ट्रपति र प्रधानमन्त्री कार्यालयबाट पनि बिदा मिलाइदिनुपर्यो भनेर फोन आउँछ। शिक्षकको मर्का मात्र हेरेर हुन्छ ? त्रिविको मर्का कसले बुझ्ने भनेर कसैको पनि बिदा थप गरिनँ’ पूर्वउपकुलपति बास्कोटाले भने। बिदा थप नगरेपछि राजीनामा गर्ने शिक्षकको संख्या बढेको उनी बताउँछन्।
यस्तै अनुभव पूर्वउपकुलपति माथेमासँग पनि छ। एक महिला शिक्षक बिदाको लागि माथेमाको कार्यकक्षमा पुगेकी थिइन्। अध्ययन सकेर फर्किने बाचा गरेपछि माथेमाले बिदा स्वीकृत गरे। तर, पछि ती शिक्षक फर्किनन्।
‘आँखा जुधाएर कुरा गर्नुहोस् पछि फर्किनुहुन्छ भनेर सोधेको थिएँ। फर्किन्छु भनेर कबुलियत गरेपछि बिदा त दिएँ तर बेलायत पुगेपछि फर्किनुभएन। पछि बिदा बस्दा खाएको तलब असुल गराएको थिएँ’, माथेमाले भने।
यस्ता शिक्षकले खाएको तलब भत्ता फिर्ता गर्न सकिने बताउँछन् माथेमा। ‘कुन देशमा कहाँ काम गरिरहेका छन् पत्ता लगाएर रिपोर्ट गर्न सकिन्छ। त्रिविले उनीहरू काम गरिरहेको ठाउँमा देशको कर खाएर बसेका हुन्, फिर्ता पठाइदिनू भनेर पत्र काट्नुपर्छ’, उनले भने।
रजिष्ट्रार प्रा.डा. केदारप्रसाद रिजाल भन्छन्, ‘गरिब देशको पैसा खान पाइँदैन। कबुलियत गरे अनुसार फिर्ता गर्नुपर्छ। राजीनामा दिएर भाग्न पनि मिल्दैन।’ उनले भने, ‘विदेशमा जहाँ काम गरिरहेका छन् अब त्यो ठाउँमा इमेल मार्फत पत्र पठाउने हो। राज्यको कर खाएर लुकेर बसेको हाम्रो शिक्षक फिर्ता पठाइदेऊ भन्ने हो। गृह र परराष्ट्र मन्त्रालयसँग समन्वय गरेर भिसा समेत रद्द गर्ने प्रक्रिया अघि बढाउँछौं।’
तर, धेरैको विवरण नै छैन त्रिविसँग
प्रा.डा. रिजाल उनीहरूलाई फिर्ता ल्याउन प्रतिबद्ध भए पनि कसले पीएचडी गर्यो, कसले गरेन, को फर्के, को फर्केनन् भन्ने विवरण त्रिविसँग छैन। पीएचडीका लागि गएका शिक्षक अध्ययन पूरा नगरी फर्किएको समेत भेटिएको छ। जनप्रशासन केन्द्रीय विभागका उपप्राध्यापक केशवराज पाण्डे २०६४ सालमा छात्रवृत्तिमा पीएचडीका लागि नर्वे गएका थिए। उनी चार महिनामै फर्किए।
आफूले पीएचडी पूरा नगरेको पाण्डेले बताए। अध्ययन पूरा नगरी फर्केमा पनि त्रिविबाट बिदा अवधिमा खाएको तलब भत्ता फिर्ता गर्नुपर्ने हुन्छ। ‘मेरो खातामा तलब आएको हो। यो विषय मेरो होइन, विश्वविद्यालयले मिलाउने हो। जुन प्रोजेक्टबाट गएको हो त्यसमा लफडा भएपछि म पीएचडी नगरी फर्किएको हुँ’, पाण्डेले भने।
सोही विभागकी सहप्राध्यापक यशोदा काफ्लेले पनि २०६७ सालमा पीएचडीको लागि बिदा लिएकी थिइन्। तर, उनले पीएचडी पूरा गरे/नगरेको विषयमा त्रिविलाई कुनै जानकारी छैन। विभागको प्रमुख समेत भएकी काफ्लेले अवकाश लिइसकेकी छिन्। काफ्लेले चाहिं आफूले पीएचडी पूरा गरेको दाबी गरिन्।
यस्तै थापाथली क्याम्पसका उपप्राध्यापक देउकाजी गुरुङले पीएचडी गर्न २ मंसिर २०७५ मा बिदा लिए। तर, उनले पीएचडी पूरा गरेनन्। ‘कोभिडको कारण पीएचडी पूरा गर्न सकिनँ। नसकेपछि रकम फिर्ता गर्नुपर्ने हुन्छ। मेरो बाँकी रहेको विभिन्न शीर्षकको बिदाबाट फरफारक गरेर मिलाएको छु’, उनले भने।
यतिसम्म लापरबाही छ कि, अध्ययन बिदा सकेर फर्किएका शिक्षकलाई समेत त्रिविले ‘थाहा नभएको’ सूचीमा राखेको छ। रसायनशास्त्र केन्द्रीय विभागका प्रमुख छन्् जगदीश भट्टराई। उनका बारेमा त्रिविले उपलब्ध गराएको विवरणमा ‘अध्ययन बिदामा बसेर हाजिर भए नभएको थाहा नभएको’ उल्लेख छ। उनले पीएचडीका लागि २१ असार २०६४ मा अध्ययन बिदा लिएका थिए।
तर अध्ययन बिदा सकेर काममा फर्किएर उनी विभागको प्रमुख पनि बनिसके। तर, त्रिविले अहिलेसम्म अभिलेख अद्यावधिक गरेको छैन। विभागमा पुग्दा उनी आफ्नै कार्यकक्षमा भेटिए। ‘अध्ययन बिदा सकिए लगत्तै काममा फर्किएको हुँ। अहिले विभागको प्रमुख छु’ उनले भने, ‘त्रिविबाट अध्ययन गर्न गएकाले त्रिविकै सेवा गर्न फर्किएको हुँ।’
त्यसैगरी भूगर्भशास्त्र केन्द्रीय विभागका प्रमुख दिनेश पाठक पनि अध्ययन बिदा सकेर त्रिविको सेवामा फर्किएका छन्। तर त्रिविले उपलब्ध गराएको विवरणमा उनी पनि फर्किए/नफर्किएको भन्ने ‘थाहा नभएको’ सूचीमा छन्। ‘पीएचडी सकिएपछि काममा फर्किएको हुँ। अहिले विभागको प्रमुख छु। कसरी थाहा नभएको सूचीमा परें ?’ आश्चर्य मान्दै उनले भने।
शंकरदेव क्याम्पसका उपप्राध्यापक खगेन्द्र ओझाले व्यवस्थापनमा पीएचडी गर्न १७ पुस २०५९ मा अध्ययन बिदा लिए। बिदा सकिएपछि फर्किएर एक वर्ष सेवा गरेपछि राजीनामा दिए। बाँकी तीन वर्ष थप सेवा गर्नुपर्ने थियो। तर बाँकी समयको पैसा फिर्ता गरेर त्रिविबाट नै बाहिरिए। तर अहिले पनि उनी त्रिविको ‘थाहा नभएको’ सूचीमा छन्। त्रिविले उपलब्ध गराको विवरणमा ‘थाहा नभएको’ लेखिएको तर फर्किएका शिक्षकको संख्या २२ छ।
‘अध्ययन बिदा सकिएपछि केन्द्रीय विभाग र क्याम्पसमा शिक्षक फर्किनुपर्छ। रेकर्ड झिकाएर अद्यावधिक गर्न सकिन्छ। यो त्रिविको कमजोरी हो, यसलाई सुधार गर्छौं’, शिक्षाध्यक्ष केसीले भने।
झण्डै एक दशक भन्दा लामो अभ्यासले शिक्षक अध्ययन बिदामा बस्दा पनि तलब भत्ता उपलब्ध गराउने नियम नै गलत भएको भन्ने निष्कर्षमा विज्ञहरू पुगेका छन्। यसमाथि फितलो कार्यान्वयनका कारणले पनि शिक्षकले अध्ययन बिदाको दुरुपयोग गरेकाले यो नियम संशोधनको आवश्यकता देख्छन् त्रिविका पदाधिकारी नै।
‘अध्ययन बिदा तीन वर्षको मात्रै बनाउनुपर्छ। पाँच वर्ष आवश्यक छैन। कबुलियतनामा प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्छ’, पूर्व उपकुलपति बास्कोटाले भने। पूर्व शिक्षाध्यक्ष भुसाल पनि नियम संशोधन गर्नुपर्ने ठान्छन्। ‘त्रिविलाई नोक्सान गर्ने कुरा हुँदैन, कानुन संशोधन गर्न पनि तयार हुनुपर्छ’, उनले भने।
(खोज पत्रकारिता केन्द्र)