सुधा देव
सप्तरी, १२ कार्तिक। सानैदेखि पढाइमा रूचि राख्दै आएकी जिल्लाको तिरहुत गाउँपालिका ५ लोहजाराकी १८ वर्षिया अनुसाकुमारी सदा ८ हजार रूपियाँ तिर्न नसकेर कक्षा १२ उत्तीर्ण गरेको लाव्धाङ्कपत्र निकाल्न सक्नुभएको छैन। त्यसको अभावमा उनको उच्च शिक्षाको बाटो रोकिएको छ।
आफ्नो समुदायको छात्राहरूमध्ये १२ उत्तीर्ण गर्ने आफ्नो गाउँको पहिलो उदाहरण बन्न सफल उनी आर्थिक अभावका कारण उच्च शिक्षाबाट बन्चित हुनुपरेको स्थानीय सगिया सदाले बताए।
उनले भने, ‘शैक्षिक रूपमा जिल्लामा सबैभन्दा पछाडि परेको हाम्रो समुदाय अझै पनि शिक्षालाई प्राथमिकतामा राख्न सकेको अवस्था छैन्। त्यसैले हाम्रो समुदायमा पढेलेखेका व्यक्ति बिरलै पाउने हुनाले उहाँ १२ पास गरेर आफ्नो गाउँको लागि उदाहरण बन्न सफल हुनुभएको हो।’
उनीले घरको काम र आवश्यकता परेका बेला अर्काको घरमा काम गरेर नियमित रूपमा १२ कक्षा उत्तीर्ण गरे। मजदुरी गरेर परिवार पाल्दै आएको बाबुलाई ८ महिनाअघि ब्लड क्यान्सर भएर थला परेपछि दुई जना भाइसहित आमाबाबुलाई हातमुख जोर्न समेत समस्या हुन थालेपछि श्री ठाकुरजी माध्यमिक बिद्यालय बकदुवा जण्डौलमाबाट कक्षा १२ उत्तीर्ण गरे पनि अहिलेसम्म व्याचलरमा भर्ना हुनु सकेका छैनन्।
उनले भने, ‘सम्पत्तिको नाममा केही छैन्। बुबा रोगले ग्रस्त हुनुभएपछि दुई छाक टार्न र बुबाको उपचार गर्ने खर्च छैन। परीक्षा दिने बेलामा पनि क्याम्पसमा पैसा तिर्न बाँकी थियोे। बुबा बिरामी हुनुहुन्छ भन्ने थाहा पाएर परीक्षा दिनका लागि क्याम्पसले अनुमति दिए पनि परीक्षा उत्तीर्ण भएको प्रमाणपत्र निकाल्ने रूपियाँ छैन।’






















