• जेबी विश्वकर्मा

राजनीति भनेको राजनीतिक, सामाजिक–सांस्कृतिक, आर्थिक प्रणालीलाई व्यवस्थित बनाउने प्रक्रिया हो । देश र जनताको हितअनुकूल राजनीतिक प्रणाली सञ्चालन भएन भने जनताले राजनीतिक प्रक्रियाबाटै विद्रोह वा प्रतिरोध गर्छन् र आफ्नो अपेक्षाअनुरूपको शासन व्यवस्था वा आर्थिक–राजनीतिक र सामाजिक प्रणालीको विकास गर्छन् ।

त्यसैले जनताको हित र देशको सकारात्मक रूपान्तरणलाई योगदान पुर्‍याउने राजनीतिक संस्कृतिको विकास भयो भने देश र जनताको प्रगति हुन्छ । घृणा, अपमान, द्वेष, विभेद र अत्याचार प्रवर्द्धन गर्ने विकृत संस्कृति राजनीतिमा हाबी भयो भने त्यसले न त जनताको हित गर्छ, न त देशलाई नै अग्रगति दिन सक्छ । लोकतान्त्रिक देशको राजनीतिक चरित्र राजनीतिक पार्टी, तिनको नेतृत्व र व्यवहारबाट प्रकट हुने गर्दछ । नेपालको राजनीतिक चरित्रको चित्रण हुने केही चर्चा गरौःं

एक, राजनीतिक सिद्धान्त, आदर्श र विचार राजनीतिक पार्टीको आधार हो । देशमा कस्तो अर्थ–राजनीतिक व्यवस्था स्थापित गर्ने, जनताका सरोकार, अपेक्षा र चाहनालाई कसरी सम्बोधन गर्ने र समग्रमा देश र जनताको समृद्धिको लक्ष्य हासिल गर्ने भन्ने विषयमा राजनीतिक पार्टीका निश्चित सैद्धान्तिक–वैचारिक दृष्टिकोण हुनुपर्छ । नेपालका सबैजसो राजनीतिक पार्टी स्थापना हुँदा निश्चित सैद्धान्तिक–वैचारिक दृष्टिकोण र आदर्शसहित स्थापित भएका थिए ।

तर, अहिले नेपालमा अधिकांश मूलधारका राजनीतिक पार्टीसँग विश्वको विकसित राजनीति, क्षेत्रीय शक्ति–सन्तुलन र देशको आन्तरिक परिस्थितिको विश्लेषण गरी राष्ट्रिय स्वाधीनताको सुनिश्चितता, आत्मनिर्भर स्वाधीन अर्थतन्त्रको निर्माण, सामाजिक–सांस्कृतिक अन्तरविरोधको पहिचान र हल गर्ने कुनै ठोस राजनीतिक विचार र दृष्टिकोण देखिँदैन । आफ्नै राजनीतिक विचार, सिद्धान्त र आदर्शलाई नै आत्मसात् र सम्मान गर्न नसक्नु वा विचलित हुनु भनेको राजनीतिक पार्टी र नेतृत्व आधारभूत राजनीतिक चरित्रबाटै विमुख हुनु हो । राजनीतिक विचार र दृष्टिकोणका सन्दर्भमा नेपालमा अधिकांश राजनीतिक दल वैचारिक सांस्कृतिक चरित्रबाट अलग–थलग अवस्थामा छन् ।

दुई, गैरजिम्मेवार नेतृत्व । पार्टीको नेतृत्व विचार, नीति र संगठनको सामूहिक प्रतिबिम्ब हो अर्थात् पार्टी नेतृत्व यी सबै सवालप्रति जिम्मेवार हुनुपर्छ । यस्तो नेतृत्व पार्टीप्रति मात्रै होइन, समग्र जनता र देशप्रति पनि उत्तिकै जिम्मेवार हुनुपर्छ । पार्टीको कुनै जिम्मेवार पदाधिकारीबाट भएका कमजोरीप्रति पार्टी र त्यसको नेतृत्व पनि जिम्मेवार हुनुपर्छ । तब मात्रै पार्टीको आन्तरिक लोकतन्त्र बलियो हुन्छ । तर, मूलधारका सबैजसो पार्टीका केही जिम्मेवार पदाधिकारी वा नेता–कार्यकर्ता भ्रष्टाचार, अनियमितता, तस्करीजस्ता विभिन्न काण्डमा मुछिएका छन् । न त ती पार्टीले अपराधमा संलग्न व्यक्तिको छानबिन गर्छन्, न त राज्यलाई नै छानबिन गर्ने वातावरण बनाउन सघाउँछन् । पार्टी र तिनको नेतृत्व भ्रष्टाचार र अनियमिततामा संलग्न नेतृत्वको संरक्षणकर्ता बनेका छन् । यो राजनीतिमा व्याप्त अर्को चरम विकृत राजनीतिक–संस्कृति हो ।

तीन, नेतृत्वको देवत्वकरण र भक्तिमण्डली । तत्कालीन नेकपा (माओवादी) खुला राजनीतिमा आएपछि पार्टीका नेता–कार्यकर्ताले प्रचण्डको देवत्वकरण गरे । निरंकुश राजतन्त्रमा राजा संविधानभन्दा माथि भएजस्तै प्रचण्डको देवत्वकरण भयो, जुन धेरै लामो समयसम्म टिकेन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीको एउटा समूहले निकै लामो समयदेखि देवत्वकरण गर्दै आइरहेको छ । यसले ओलीलाई यति सर्वसत्तावादी बनाइदियो कि पार्टीभित्रकै नेता–कार्यकर्ताले फरक मत दर्ज गर्न सक्ने अवस्था छैन । नेतृत्व देवत्वकरणको चर्को रोग राष्ट्रिय स्वतन्त्र पार्टीमा पनि देखिन्छ ।

नागरिकता, पासपोर्ट काण्ड, रवि लामिछानेका सहकर्मी चितवनका पत्रकार शालिकराम पुडासैनीको आत्महत्या र चुनावका बेलामा भएको चालक दिलबहादुर थापाको मृत्यु प्रकरणबारेको छानबिनको मुद्दा रास्वपाका कुनै नेता–कार्यकर्ताले उठाउन सकेनन् । यति मात्रै होइन, सहकारीपीडितले उठाएको न्यायिक मुद्दामा लामिछानेको सहभागिताका सन्दर्भमा पार्टीले आन्तरिक छानबिन गर्न सक्थ्यो । संसदीय छानबिन समितिले दिएको प्रतिवेदनमाथि पार्टीभित्र छलफल गर्न सक्थ्यो । सहकारीपीडितले न्यायको अपिलसहित उजुरी दिँदा र छानबिनका लागि लामिछाने पक्राउ पर्दा ‘षड्यन्त्र’ को हास्यास्पद नारा सडकमा लगाउने परिस्थिति बन्दैनथ्यो । तर, रास्वपाभित्रको ‘देवत्वकरण र भक्तिमण्डली राजनीतिक–संस्कृति’ सहकारी प्रकरणमा छरपस्ट हुन पुगेको छ ।

चार, दलालीकरण । राजनीतिक पार्टी विधि, पद्धति र संस्कृतिमा चल्न छोडेपछि दलालीकरणमा रूपान्तरित हुन पुग्छ । मूलधारका सबैजसो राजनीतिक पार्टीको मूल चरित्र दलालीकरणतर्फ उन्मुख छ । पार्टीमा जिम्मेवार र इमानदारितापूर्वक काम गर्ने नेता–कार्यकर्ताले सायदै अवसर पाउने गरेका छन् । पुँजीपति, व्यापारी, नाफाखोर, ठेकेदार र दलाल सजिलै राज्यसत्ताको भर्‍याङ उक्लिरहेका छन् । विनोद चौधरी, मोतीलाल दुगड, लारक्याल लामा, उमेश श्रेष्ठदेखि धेरैले नेतृत्वको दलालीकै आधारमा लाभको पद दिएका छन् ।

भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले नेकपा (एमाले) लाई अर्बौंको जग्गा दिनु केबल पार्टीप्रतिको सदाशयता र सहयोग होइन । स्वार्थप्रेरित लगानी नै हो । दलालीकरणको यो ताजा उदाहरण हो । अर्कोतिर, सिस्टममा सञ्चालन हुने पार्टीमा नेता–कार्यकर्ता योगदान, क्षमता र सम्भावनाका आधारमा स्वतः लाभका पदमा पुग्छन् । तर, मूलधारका पार्टीका लागि ती गुणभन्दा नेतृत्वको सबैभन्दा धेरै गुलामी, चाकडी र दलाली गर्नेले मात्रै अवसर पाउने परिस्थिति छ । यस्तो दलालीकरणको राजनीतिक संस्कृतिले इमानदार नेता–कार्यकर्ता र जनतमाथि निकै ठूलो कुठाराघात गर्ने सम्भावना बढाएको छ ।

पाँच, यथास्थितिवादी चरित्र । जनता सधैं सामाजिक–राजनीतिक अग्रगमन चाहन्छन् । बदलिँदो विश्वसँगै प्रतिस्पर्धा गर्न सक्ने तीव्र रूपान्तरणको चाहना जनतामा छ । सामाजिक–राजनीतिक रूपान्तरणलाई गति दिने काम राजनीतिक पार्टीकै हो । तर, नेपालका राजनीतिक पार्टीहरू संघर्ष, आन्दोलन र बलिदानीबाट प्राप्त व्यवस्थालाई संरक्षण गर्ने र जनचाहनाअनुरूपको रूपान्तरण गर्न तयार देखिँदैनन् ।

संघीय व्यवस्थालाई संस्थागत गर्ने होइन, सत्ता र शक्ति केन्द्रीकृत गर्ने होडबाजी राजनीतिक पार्टीमा देखिन्छ । प्रदेश सरकार गठनदेखि मन्त्रिमण्डल निर्माणमा राजनीतिक पार्टीको केन्द्र नै सर्वेसर्वा छ । यो संघीयताको मर्मविपरीत छ । नेपाल धर्मनिरपेक्ष राज्य हो । तर, प्रधानमन्त्रीमा बहाल हुँदा होस् वा भवन शिलान्यास हुँदा, भैंसी पूजा होस् वा चितवनको अयोध्यामा राम मन्दिर बनाउँदा, धर्मनिरपेक्षता मर्मविपरीतका व्यवहार भइरहेका छन् । यति मात्रै होइन, नेपाललाई हिन्दु राज्य बनाउनुपर्छ भनेर हस्ताक्षर गर्दै हिँड्ने सांसद पनि संसद्मै छन् । तर, धर्मनिरपेक्षताबारे पेचिलो बहस हुँदा कुनै राजनीतिक पार्टीले ठोस धारणा बनाउँदैनन् ।

यति मात्रै होइन, राजनीतिक र संवैधानिक रूपमा समानुपातिक समावेशी सिद्धान्तको अवलम्बन गरिएको छ । संघ वा प्रदेशमा राजनीतिक पार्टीहरूले सरकार बनाउँछन् तर दलित र सीमान्तीकृत समुदाय अटाउँदैनन् । पार्टीले ठूलाठूला सम्मेलन गर्छन् । त्यसको मञ्च पुरुष र खस–आर्यले भरिभराउ हुन्छ । तर, ती पार्टीका शीर्षस्थ नेतृत्वलाई असहज लाग्दैन, हीनताबोध हुँदैन ।

सरकारले राजदूत नियुक्ति गर्छ, संवैधानिक निकाय र नियोगमा नियुक्तिको सिफारिस गर्छ । त्यहाँ न त दलित हुन्छन्, न त महिला वा सीमान्तीकृत समुदाय नै । नेपाली जनताले संघर्ष गरेर वा लडेर स्थापित गरेको संवैधानिक र राजनीतिक रूपमा स्विकारिएको समावेशिताको पार्टीकै नेतृत्वले विरोध गर्छन् तर यस्ता गम्भीर विषयमा पार्टीभित्र बहस र छलफल हुँदैन । यसको अर्थ पार्टीहरूमा विकसित यथास्थितिवादी पश्चगामी चिन्तन राजनीतिक रूपान्तरणको साधक बन्न सक्दैन । त्यसैले यो चिन्नत प्रक्रिया रूपान्तरण रोक्ने विकृत राजनीतिक चरित्रकै परिणाम हो ।

छ, घृणा र अपमानको राजनीतिक चरित्र । घृणाको राजनीति अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले विगतको राष्ट्रपतिकालमा विभिन्न किसिमका राजनीतिक चरित्रको प्रदर्शन गरेको देखिन्थ्यो । उनमा एकातिर रंगभेदी वा श्वेत सर्वोच्चताको अहंकार प्रकट हुने गर्थ्यो भने अर्कोतिर आप्रवासीप्रतिको तीव्र अपमान र घृणाभाव । उनी कहिले अबोर्सनको विरोध गर्थे त कहिले बन्दुक राख्न पाउने अधिकारको पक्षमा उभिन्थे । ट्रम्पले घृणा, अपमान र दमनलाई हतियार बनाएका कारण उनले राजनीतिक चरित्र प्रदर्शन गर्न नसकेको आरोप लाग्ने गर्थ्यो । घृणा र अपमान लोकप्रियतावादी राजनीतिक पार्टीको प्रभावकारी हतियार हो ।

फरक मतलाई अस्वीकार गर्ने, व्यक्ति र समुदायप्रति लाञ्छना, घृणा र अपमानको राजनीति नेपालको मूल राजनीतिक संस्कृतिका रूपमा पनि विकसित भइरहेको छ । स्वाभाविक रूपमा आलोचनात्मक विचार विमर्श, तर्क–वितर्क, बहस र छलफल सबै सवालमा हुनुपर्छ, यसले मात्रै समस्याको हल खोज्ने, नयाँ विचार र दृष्टिकोण निर्माण गर्न सघाउँछ । तर, केबल अपमान, घृणा र गाली असल राजनीतिक पार्टी र नेतृत्वको चरित्र होइन । नेल्सन मण्डेलाले भनेका थिए, ‘तिम्रा लागि सबैभन्दा खतरनाक तिनी हुनेछन्, जसलाई तिमीले अपमान र घृणा गरेका छौं ।’

राजनीतिक संस्कृतिको रूपान्तरण

अरूलाई रूपान्तरित हुनुपर्छ भनेर उपदेश दिन अत्यन्तै सजिलो छ । तर, आफैं रूपान्तरित हुने कुरा त्यति सजिलो छैन । ठूलाठूला क्रान्ति वा विद्रोहबाट राज्यसत्ताको रूपान्तरण भएका छन्, जड बनेर रहेको सामाजिक–सांस्कृतिक रूपान्तरण गर्न पार्टी र नेतृत्वले निकै ठूलो संघर्ष गरेका छन् । राज्यसत्ता रूपान्तरणको संघर्ष सत्ता प्राप्तिसँग हुन्छ तर सांस्कृतिक रूपान्तरण आफ्नो विश्वास र सत्वविरुद्ध हुन पुग्छ । त्यसैले मानिस सांस्कृतिक रूपान्तरणका लागि सहजै तयार हुँदैन । राजनीतिक आन्दोलनको नेतृत्वमा पुरुषसत्ता, जातसत्ता र परम्परागत वैभव हाबी भएका कारण महिला र उत्पीडितको मुक्तिको एजेन्डा ती पार्टी र नेतृत्वको एजेन्डा बन्न निकै गाह्रो हुने रहेछ ।

नेपालमा मूलधारमा राजनीतिक पार्टी सत्ता, शक्ति र वैभवमा टिकेका छन् । नेता–कार्यकर्ताले निर्माण गरिदिएको एकाधिकारवादी सर्वोच्चता र देवत्वकरण, पुँजीपति र दलालले उपलब्ध गराइदिएको वैभव र सत्ताको उन्मादमा मस्त पार्टी र तिनको नेतृत्व आफैंलाई चुनौतीमा हाल्न वा रूपान्तरित हुन चाहँदैनन् । यो प्रवृत्ति पुराना वा नयाँ स्थापित सबै पार्टीमा जबरजस्त हाबी छ । राजनीतिक सत्ता र राज्यसत्ताको नेतृत्व गर्ने पार्टी रूपान्तरित भएनन् भने आम नागरिकले विकृत राजनीतिको सिकार भइरहनुपर्नेछ ।

जनताको अपेक्षा, चाहना र आवश्यकता एकातिर, राजनीतिक पार्टी र नेतृत्व अर्को दिशातिर भएको खण्डमा स्वाभाविक रूपमा यसले अर्को संघर्ष र विद्रोह जन्माउँछ । विद्रोहले नै नयाँ अर्थ–राजनीतिक व्यवस्था र सामाजिक–सांस्कृतिक रूपान्तरणको ढोका खोल्न सक्छ ।