सप्तरी, २६ फागुन। सप्तरीमा माछा मार्ने क्रममा पोखरीमा डुवेर एक युवकको मृत्यु भएको छ। राजविराज नगरपालिका ३ स्थित कल्टु दास पोखरीमा डुबेर सोही नगरपालिका ४ निवासी २५ वर्षीय ‘बौव’ भनिने गजेन्द्र दासको मंगलबार मृत्यु भएको हो।
मङ्गलवार बिहान ७ बजे माछा मार्न पोखरीमा पसेका दासको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी डीएसपी डम्बरबहादुर पुरीले जानकारी दिए। प्रहरीका अनुसार दुई पटक माछा मारेर बाहिर निस्केका दास तेस्रो पटक पुनः पोखरीमा पस्दा डुवेको हो।
पोखरीमा युवक डुबेको खबर पाएलगत्तै पुगेका नेपाली सेनाको बरख गण, सशस्त्र प्रहरी र नेपाल प्रहरीको गोताखोर टोलीले करिब चार घण्टाको प्रयासपछि शव बाहिर निकालेको थियो। राजविराजस्थित बरख गणका गणपति प्रमुख सेनानी सोभितबहादुर चन्दले सुरक्षाकर्मीको टोलीले शव फेला पारेको बताए।
शव राजविराजस्थित परीक्षणका लागि गजेन्द्रनारायण सिंह अस्पताल पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको सप्तरी प्रहरीले जनाएको छ।






















