अरुन्धती रोय
(सन् २०२४ को ‘पेन पिन्टर पुरस्कार’ लेखक तथा अभियन्ता अरुन्धती रोयलाई प्रदान गरिएको छ। नाटककार ह्यारोल्ड पिन्टरको सम्झनामा ‘इङ्गलिस पेन’ ले स्थापना गरेको पुरस्कार प्रत्येक वर्ष प्रदान गर्ने गरिन्छ।
यो वर्षको पुरस्कार रोयले पाउने घोषणा भएसँगै पुरस्कारको रकम ‘प्यालेस्टाइन चिल्ड्रेन्स् रिलिफ फण्ड’ नामक संस्थालाई दिने घोषणा गरिन उनले । साथै उनले आफूले पाउने पुरस्कार साझा गर्नका लागि बेलायती–इजिप्टेली लेखक तथा अभियन्ता अला अब्द एल–फत्ताहको नाम पनि उल्लेख गरिन । प्रस्तुत आलेख उनले १० अक्टोबरमा ब्रिटिस लाइब्रेरीमा पुरस्कार ग्रहण गर्दा दिएको मन्तव्यको पूर्णपाठ हो ।)
मलाई पेन पिन्टर पुरस्कार प्रदान गरेकोमा अङ्ग्रेजी संस्करणको पेन र यसको निर्णायक मण्डललाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु । मैले आफ्नो साथमा यो वर्षको पुरस्कार लिन चाहेको ‘साहसी लेखक’ को नाम घोषणा गर्दै, म आफ्नो मन्तव्य आरम्भ गर्न चाहन्छु।
आज मसँगै पुरस्कृत हुने साहसी लेखक अला अब्द एल–फत्ताह हुन। म उनलाई हार्दिक अभिवादन गर्छु। उनलाई इजिप्टको जेलमा थुनिएको छ। उनी सेप्टेम्बरमा रिहा हुने छन् भन्ने हामीले आशा गरेका थियौँ। प्रार्थना गरेका थियौँ। अला! तिमी यति राम्रो लेखक एवं खतरनाक चिन्तक भइदियौँ कि उनीहरूले तिमीलाई आजका दिन पनि स्वतन्त्र भएको देख्नै चाहन्नन्।
प्रिय अला! तिमी यो कोठामा हामीसँगै छौ। तिमी यहाँको सबैभन्दा महत्त्वपूर्ण मान्छे हौ। तिमीले जेलबाटै लेख्यौ, ‘मेरा शब्दहरू अब बलिया रहेनन्, तर जे–जसरी भए पनि म बोलिरहेँ। थोरै मानिसले मात्रै सुन्न सक्ने भए पनि अझै मसँग आवाज त छ।’ हामी सुनिरहेका छौँ अला! नजिकबाटै सुनिरहेका छौँ।
अला र मेरो दुबैजनाको साथी, मेरी प्रिय नाओमी क्लेनलाई पनि अभिवादन! आज यहाँ उपस्थित भएकोमा आभारी छु। मेरा लागि यसको धेरै ठुलो महत्त्व छ।
इतिहासमा जातीय सफाया र नरसंहार गरेका प्रत्येक राज्यहरू जस्तै इजरायलका ‘जायोनिष्टहरु’, जो आफूलाई भगवान्द्वारा ‘रोजिएका मान्छे ठान्छन्’ प्यालेस्टिनीलाई उनीहरूको जमिनबाट बेदखल गर्न तथा मार्न, पहिले उनीहरूलाई अमानवियकरण गर्छन् ।
उपस्थित सबैमा अभिवादन! यहाँ दर्शकदीर्घामा नदेखिएका साथीहरूलाई पनि अभिवादन, जो यहाँ नदेखिए पनि मेरा लागि उनीहरू प्रस्ट देखिई रहेका छन्। मैले भारतको जेलमा थुनिएका उमर खालिद, गुल्फिशा फातिमा, खालिद सैफि, सरजिल इमाम, रोना विल्सन, सुरेन्द्र गडिलिङ, महेश राउत जस्ता वकिल, प्राज्ञ, विद्यार्थी, पत्रकारलगायत साथीहरूको सम्झनामा उनीहरूको कुरा गरेकी हुँ।
मेरा साथीहरू! म तिमिहरूसँगै बोलिरहेको छु। मैले चिनेका मध्ये एकजना विशेष मान्छे छन्– खुर्राम पर्वेज। उनलाई तीन वर्षदेखि जेलमा थुनिएको छ। इरफान मेहराजलगायत कश्मीर तथा सिङ्गो भारतभर बन्दी बनाइएका, थुनिएका हजारौँ व्यक्ति, जसको जीवन तहसनहस बनाइएको छ, यतिबेला म तपाईँहरू सबैलाई सम्बोधन गरिरहेको छु।
मलाई यो पुरस्कार दिन लागिएको बारे सुरुमा पिन्टर प्यानेल तथा इङ्गलिस पेनकी प्रमुख रुथ बर्थविकले खबर गरेकी थिइन्। उनले पिन्टर पुरस्कार ‘अटल, अडिग र खरो बौद्धिक अडान’ मार्फत ‘हाम्रो जीवन र समाजको यथार्थ’ परिभाषित गर्ने लेखकलाई प्रदान गरिने भनी लेखेकी थिइन। यी पदावली ह्यारोल्ड पिन्टरले साहित्यतर्फको नोबेल पुरस्कार ग्रहण गर्दा बोलेका थिए।
‘अटल’ शब्द सुन्ना साथ यसले मलाई एक छिन अड्यायो। म स्वयं आफूलाई अटल ठान्दिन। बरु म त आफूलाई सदैव लचिलो मान्छे ठान्छु।
म यहाँ ‘अटल’ र ‘अडिग’ बारे केही सन्दर्भ कोट्याउन चाहन्छु, जुन झनै राम्रो गरी स्वयं ह्यारोल्ड पिन्टरले चर्चा गरेका छन् :
“म सन् १९८० को दशकको अन्त्यतिर लण्डनमा रहेको अमेरिकी दूतावासमा भएको बैठकमा उपस्थित थिएँ। बैठक निकारागुवामा के गर्ने भन्ने सन्दर्भमा डाँकिएको थियो। अमेरिकी कांग्रेसले निकारागुवाको राज्य विरुद्ध अभियान चलाइरहेको कोन्ट्रा समूहलाई थप पैसा दिने वा नदिने भन्ने विषयमा निर्णय गर्न लागिएको थियो। यसबारे थप निचोड निकाल्न सहयोग पुगोस् भनेर बैठक आयोजना गरिएको थियो। म निकारागुवाको तर्फबाट बोल्ने प्रतिनिधिमण्डलको सदस्यको रूपमा उपस्थित थिएँ।
त्यो प्रतिनिधिमण्डलको मुख्य मान्छे चाहिँ पादरी जोन मेटकाफ थिए। अमेरिकी पक्षको नेतृत्व रेमण्ड सेइजले गरेका थिए (तत्कालीन समयमा दूतावासको दोस्रो वरियतामा रहेका उनी पछि आफैँ राजदूत भए)। पादरी मेटकाफले भने, ‘सर! म उत्तरी निकारागुवाको एउटा इलाकामा चर्चको प्रमुख छु। मेरो इलाकाका मानिसहरूले विद्यालय, स्वास्थ्य केन्द्र, सांस्कृतिक केन्द्र इत्यादि बनाए। हामी शान्तिपूर्वक बसिरहेका थियौँ। केही महिना अघि एउटा समूहमा आएर कोन्ट्राहरुले हाम्रो इलाकामा आक्रमण गरे। उनीहरूले विद्यालय, स्वास्थ्य केन्द्र, सांस्कृतिक केन्द्रलगायत सबै ध्वस्त बनाई दिए। नर्स र शिक्षिकाहरूको बलात्कार गरे। डाक्टरहरूको क्रूरतापूर्वक हत्या गरे र सम्पूर्ण बर्बरता देखाए। तपाईँसँग मेरो विनति छ त्यस्ता आततायीहरूलाई अमेरिकी सरकारले गरेको समर्थन फिर्ता लिन भनी दिनुपर्यो।’
रेमण्ड सेइज आफ्नो क्षेत्रमा प्रतिष्ठित व्यक्ति थिए। तर्कसङ्गत, जिम्मेवार र उच्चस्तरको परिष्कृत व्यक्तिको रूपमा उनलाई मानिसले सम्मान गर्थे । कूटनीतिक वृत्तमा पनि उनलाई सम्मान साथ हेरिन्थ्यो। पादरीको कुरा उनले ध्यानपूर्वक सुने। केही बेर गमेर उनले गम्भीरता साथ भने, ‘पादरी! युद्धमा निर्दोष मानिस सधैँ पीडित हुन्छन्।’ त्यहाँ सन्नाटा छायो। हामीले उसलाई नियालेर हेर्यौँ। उनी अटल थिए।”
स्मरण रहोस्, अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनले कोन्ट्रालाई ‘नैतिक रूपमा अमेरिकी स्वतन्त्रता सङ्ग्रामका नायक मानिने ‘फाउण्डिङ फादर समान’ भएको बताएका थिए। यो उनलाई असाध्यै मन पर्ने र प्रयोग गरिरहने वाक्यांश पनि थियो। उनले यसको प्रयोग सीआईए समर्थित अफगानी मुजाहिद्दिनको वर्णन गर्ने क्रममा पनि गरेका थिए । यी मुजाहिद्दिनहरु पछि गएर तालिबान बने।
पछिल्लो वर्ष मात्रै अमेरिकाले इजरायललाई १७.९ अर्ब डलरको सैन्य सहयोग पठायो । त्यसैले फेरी एक पटक र सँधैका लागि अमेरिका शान्तिको पहलकर्ता, मध्यस्थकर्ता हो भन्ने झुटलाई त्यागौँ । नरसंहारकर्ता मध्यस्थकर्ता हुन सक्दैनन् ।
यी तीनै तालिबान हुन, जसले अमेरिकी आक्रमण र कब्जा विरुद्ध २० वर्ष लामो संघर्ष गरेर अहिले अफगानिस्तानमा शासन चलाइरहेका छन्। कोन्ट्रा र मुजाहिद्दिन भन्दा अघि अमेरिका भियतनाम युद्धमा थियो। त्यहाँ पनि अमेरिका ‘अटल’ सैन्य सिद्धान्तसहित उपस्थित थियो। जस अनुसार यसले आफ्ना सैनिकहरूलाई ‘प्रत्येक चलायमान बस्तुलाई मारिदेऊ’ भन्ने आदेश दिन्थ्यो। तपाईँले भियतनाम युद्ध र त्यसको लक्ष्य बारे ‘पेन्टागन पेपर’ वा अन्य सम्बन्धित दस्ताबेज पढ्नु भयो भने कसरी नरसंहार गर्ने भन्ने खालका ‘अटल र जीवन्त’ बहसहरू त्यहाँ पाउनु हुनेछ।
मानिसलाई कसरी मार्दा ठिक हुन्छ ? सोझै मार्ने कि बिस्तारै–बिस्तारै भोकले तड्पाएर ? यी दुई मध्ये कुन प्रभावकारी होला ? तपाईँले यस्ता खालका छलफल त्यहाँ भेट्नु हुनेछ। पेन्टागनमा रहेका नीति निर्माताका आफ्नै दुःख छन् । उनीहरूको बुझाइमा एसियाका मानिस अमेरिकी जस्तो ‘जीवन, खुसी, धन र शक्ति’ का पछि लाग्नुको सट्टा ‘धन र जीवनको बर्बादीलाई चुपचाप सहिदिन्छन्।’ उनीहरूका अनुसार, यस्तो सहनशीलताले अमेरिकीलाई ‘नरसंहार’ गर्न प्रेरित गर्छ। र, यो भयानक बोझ अटल रूपमा बहन गर्न बाध्य बनाउँछ।
र, हामी आज यहाँ छौँ। यतिका वर्षपछि पनि आज फेरी एक वर्ष भन्दा अघिदेखि गाजामा नरसंहार जारी छ। अमेरिका र इजरायल टेलिभिजनमा देखाएरै गाजा र लेबनानमा जारी अटल नरसंहारमा व्यस्त छन्। यो नरसंहार औपनिवेशिक कब्जा र नश्लभेदी राज्यको पक्षमा चलाइएको छ। हालसम्म मारिनेको आधिकारिक सङ्ख्या ४२ हजार छ । यसमा अधिकांश महिला र बालबालिका छन्। यो सङ्ख्याले भग्नावशेष भित्र चिच्याउँदै मरेकाहरू, सिङ्गो सहर ध्वस्त बनाउँदा मरेकाहरूलाई समेट्दैन। लास फेला नपरेकाको गणना यसमा हुँदैन। अक्सफामको हालैको प्रतिवेदन अनुसार इजरायले यो अवधिमा गाजामा जति बालबालिकाको हत्या गर्यो, त्यति सङ्ख्यामा पछिल्ला २० वर्षमा भएका कुनै पनि युद्धमा बालबालिका मारिएका छैनन्।
नाजीले युरोपका दसौँ लाख यहुदीको सफाया गर्दा सुरुवातिकालमा आफूले बेवास्ता गरेको सामूहिक दोष मेटाउने नाममा अमेरिका र युरोपले अर्को नरसंहारको आधार भूमि तयार पारेका छन्। इतिहासमा जातीय सफाया र नरसंहार गरेका प्रत्येक राज्यहरू जस्तै इजरायलका ‘जायोनिष्टहरु’, जो आफूलाई भगवान्द्वारा ‘रोजिएका मान्छे ठान्छन्’ प्यालेस्टिनीलाई उनीहरूको जमिनबाट बेदखल गर्न तथा उनीहरूलाई मार्न सुरु गर्नुअघि अमानवीयकरण गरेर यो सबै सुरु गर्छन्।
प्रधानमन्त्री मेनाचेम बेगिनले प्यालेस्टिनीलाई ‘दुई–खुट्टे राक्षस’ भनेका थिए। यित्जाक रविनले ‘नष्ट पार्न सकिने फट्याङ्ग्रा’ भनेका थिए। गोल्डा मेअरले ‘प्यालेस्टाइन भन्ने कुनै कुराको अस्तित्व नै छैन’ भनेकी थिइन। फासिवाद विरुद्धका चर्चित योद्धा विन्स्टन चर्चिलले ‘कुकुर कोक्रामा सुत्यो भन्दैमा कोक्रो कुकुरको हुन्छ भन्ने म मान्दिन। चाहे त्यो जतिसुकै लामो समयदेखि त्यहाँ बसेको किन नहोस्’ भनेका थिए।
यति भनेर उनले कोक्रामा ‘उच्च जाति’ को नैसर्गिक अधिकारको घोषणा गरे। एक पटक यी दुई खुट्टे राक्षस, फट्याङ्ग्रा, कुकुर र अस्तित्वहीन मानिस मारिएपछि, जाति सफाया गरिएपछि र घेट्टोमा पुर्याइएपछि, नयाँ देश जन्मियो। यसलाई ‘देश नभएका मान्छेका लागि मान्छे नभएको देश’ भनेर ढोल पिटियो। आणविक हतियार सम्पन्न इजरायलले अमेरिका तथा युरोपका लागि मध्यपूर्वको प्राकृतिक सम्पत्ति र स्रोतसाधनको ढोकामा सैन्य सुरक्षा चौकीको काम गर्नु थियो। हेर्नुस् त लक्ष र उद्देश्यको कस्तो मधुर मिलन!
दुनियाँको सम्पूर्ण शक्ति, सम्पत्ति, हातहतियार र प्रोपोगाण्डाले पनि प्यालेस्टाइनको घाउ छोप्न वा लुकाउन सक्दैन, यो घाउमा सारा संसार दुखेको छ ।
नयाँ राज्यलाई बिना हिचकिचाहट र अटल रूपमा समर्थन गरियो। हतियार र पैसा खन्याइयो। जस्तो सुकै जघन्य अपराध गर्दा पनि ताली बजाइयो। यसले जस्तो सुकै अत्याचार गर्दा पनि मुसुक्क हाँस्दै, धनाढ्य परिवारमा पुलपुल्याएर पालेको बच्चा जस्तै गरी यसलाई हुर्काइयो। अहिले यसले खुलेआम नरसंहारको घमन्ड देखाउँदै हिँड्नु कुनै नौलो कुरा नै भएन।
इजरायली सिपाहीहरूले शालीनता गुमाउनु कुनै अचम्मको विषय होइन। उनीहरूले मारेका वा विस्थापित गरेका महिलाहरूको संवेदनशील वस्त्र लगाएको देखिनु, मरिरहेका प्यालेस्टिनीहरू र घाइते बालबालिकाहरू वा बलात्कार र यातना भोगेका कैदीको नक्कल गरेको भिडियोहरूमा देखाउनु पनि अचम्मको विषय रहेन। अझ उनीहरूले चुरोट पिउँदै वा हेडफोनमा कोलाहलपूर्ण सङ्गीत बजाएर भवनहरू उडाइरहेको भिडियो सामाजिक सञ्जालमा बाढी आउनु पनि अनौठो होइन। यी को हुन?
इजरायलले गर्दै गरेको कामको औचित्य केले सिद्ध गर्न सक्छ?
इजरायल, यसका सहयोगी र पश्चिमा मिडियाका अनुसार गत ७ अक्टोबरमा हमासले इजरायलमा गरेको आक्रमणको जबाफ हो यो। इजरायली नागरिकको हत्या र इजरायलीको अपहरण गरेर बन्धक बनाइनुको जबाफ हो यो। उनीहरूका अनुसार इतिहास बल्ल एक वर्ष अघिदेखि मात्रै सुरु भएको हो।
यसरी मेरो यो मन्तव्यको खण्डमा मबाट तटस्थता र आफ्नो बौद्धिकताको रक्षाका लागि सन्तुलित विचार पस्कनु पर्ने अपेक्षा गरिएको छ। यो खण्डमा मबाट नैतिक समभावमा फसेर हमासको आलोचना गर्नु पर्ने, गाजाका अन्य सैन्य समूह तथा उनीहरूको सहयोगी लेबनानका हिज्बुल्लाहलाई सर्वसाधारणको हत्या तथा नागरिकलाई बन्धक बनाएकोमा आलोचना गर्नुपर्ने ठानिएको छ। साथै हमासको यो हमलाबाट उत्साहित गाजाका मानिसको आलोचना गर्नुपर्ने ठानिएको छ। एक पटक त्यति गर्दा सबै मिल्छ हैन त ? ठिक छ किनभने सबै डराएका छन्। यस्तो अवस्थामा के गर्न सकिन्छ ? बरु सपिङ गर्न जाऔँ होला...
म निन्दाको यो खेल खेल्न अस्वीकार गर्छु। पहिला मलाई प्रस्ट पार्न दिनुहोस्। म उत्पीडित मानिसलाई कसरी उनीहरूले दमनको प्रतिरोध गर्ने वा को–को उसको सहयोगी हुने/नहुने भन्न सक्छु ?
कसले सोचेको थियो होला– अमेरिकी सरकारले इजरायली राज्यको सेवा गर्न वाक स्वतन्त्रताका आधारभूत सिद्धान्तमै प्रहार गर्दै प्यालेस्टाइन समर्थित नारामा प्रतिबन्ध लगाउँछ भनेर ? केही अपवाद छाडेर आजका दिन पश्चिमा प्रजातन्त्र बाँकी दुनियाँमा हाँसोको विषय बनेको छ ।
अक्टोबर २०२३ मा, जब अमेरिकी राष्ट्रपति जो वाइडेनले इजरायल भ्रमणका क्रममा प्रधानमन्त्री बेन्जामिन नेतान्याहु तथा इजरायली युद्ध मन्त्रिपरिषद्लाई भेटे। उनले त्यसै बेला भनेका थिए, ‘म हर कोही जायोनिष्ट हुन यहुदी नै हुनुपर्छ भन्ने मान्दिन किनभने म जायोनिष्ट हुँ।’
राष्ट्रपति वाइडेन बाहेक कसले आफूलाई गैह्र–यहुदी जायोनिष्ट भन्न सक्छ र अटल रूपमा इजरायललाई युद्ध अपराधका लागि हतियार तथा पैसा खन्याई रहन सक्छ? म मेरो लेखाई भन्दा सङ्कीर्ण रूपमा आफूलाई घोषणा गर्न वा परिभाषित गर्न सक्दिन। म जे लेख्छु, म त्यही हुँ।
म के विषयमा असाध्यै सचेत छु भने म जस्तो मान्छे एउटा लेखक भएर, गैह्र–मुस्लिम भएर तथा महिला भएर हमास, हिज्बुल्लाह वा इरानको शासनमा लामो समय टिक्न अप्ठेरो मात्रै होइन असम्भव पनि हुन्छ होला। तर, यहाँ मुख्य कुरा त्यो होइन। मुख्य कुरा त तिनिहरु अस्तित्वमा आएको परिस्थिति र इतिहासबारे आफूलाई शिक्षित पार्नु हो। मुख्य कुरा आजका दिन उनीहरू जारी नरसंहार विरुद्ध लडिरहेका छन् भन्ने हो। मुख्य कुरा हामी आफूलाई उदार र धर्म निरपेक्ष भन्नेहरू नरसंहारकारी युद्धतन्त्र विरुद्ध लड्दै छौ कि छैनौँ भनी आफैलाई सोध्नु हो।
किनभने संसारका सबै शक्ति उनीहरू विरुद्ध छन् भने उनीहरू कहाँ जाने? देउताकोमा? म के कुरामा पनि सचेत छु भने, हिज्बुल्लाह र इरानी सत्ताका धेरै विरोधीहरू उनीहरूकै देशमा छन्। कोही जेलमा पीडा भोगिरहेका छन् भने कोही त्यो भन्दा पनि कठोर परिणाम भोगिरहेका छन्। म के कुरामा पनि सचेत छु भने, हमासले ७ अक्टोबरमा गरेको सर्वसाधारणको हत्या तथा बन्धक बनाउने कार्य युद्ध अपराध हो। तर, पनि यी घटना इजरायल र अमेरिकाले गाजा, वेस्ट ब्यांक र लेबनानमा गरेका कुकृत्यसँग समान हुनै सक्दैनन्।
७ अक्टोबरको हिंसाको मूलमा इजरायलले प्यालेस्टाइनमा गरेको अवैध कब्जा र प्यालेस्टिनी जनतालाई अधीनस्थ बनाउने गतिविधिमा छ। इतिहास ७ अक्टोबर २०२३ मा सुरु भएको होइन।
म सोध्न चाहन्छु, यो हलमा भएका हामी मध्यै कसले–कसले प्यालेस्टिनीहरुमाथि गाजा र वेस्ट ब्यांकमा थोपरिए जस्तो अपमान स्वीकार गर्न सक्छौँ ? प्यालेस्टिनीहरुले शान्तिपूर्ण जीवनयापनका लागि कुन विकल्प प्रयोग गरेनन् ? उनीहरूका अघिल्तिर खुट्टामा झुकेर थुकेको चाट्नु पर्ने बाहेक कुन सम्झौता उनीहरूले मानेनन् ?
साथीहरू इजरायलले आत्मरक्षाको युद्ध लड्दै छैन। यसले आक्रामक युद्ध लडिरहेको छ। यो युद्धको लक्ष्य प्यालेस्टिनी जनताबाट थप भूभाग हडप्नु र नश्लभेदी संयन्त्रलाई थप मजबुत बनाउनु बाहेक केही छैन।
७ अक्टोबरदेखि इजरायलले दशौँ हजारको हत्या मात्रै गरेको छैन, थप कयौँ गुणा मानिस विस्थापित भएका छन्। अस्पतालमा बम खसालिएको छ। डाक्टर, सहायताकर्मी र पत्रकारलाई खोजी–खोजी मारिएको छ। गाजाको सम्पूर्ण जनसङ्ख्यालाई भोकै पारिएको छ। उनीहरूको इतिहास मेटाउन खोजिएको छ। यी सबै कर्तुत संसारका धनी र सर्वशक्तिमान् मुलुकको नैतिक र भौतिक समर्थनमा गरिएको छ। तिनका मिडिया पनि यसमा उत्तिकै सहयोगी छन्।
यहाँ म मेरो देश भारतलाई पनि समेट्न चाहन्छु, उसले पनि इजरायललाई हतियार र हजारौँ कामदार पठाएको छ। इजरायल र यी मुलुकबिच केही तात्त्विक भिन्नता छैन। पछिल्लो वर्ष मात्रै अमेरिकाले इजरायललाई १७.९ अर्ब डलरको सैन्य सहयोग दियो। त्यसैले फेरी एक पटक र सधैँका लागि अमेरिका शान्तिको पहलकर्ता, मध्यस्थकर्ता वा आफ्नो प्रभावको सदुपयोग गर्दैछ भन्ने झुटलाई त्यागौँ। वा अमेरिकी मूलधारको राजनीतिमा वामपन्थी मानिएकी अलेक्जेण्ड्रा ओकासियो–कोर्टेजहरुले भने जस्तै– ‘युद्धविरामका लागि अविराम लागि रहेको’ जस्ता फोस्रा गफलाई खारेज गरौँ। नरसंहारकर्ता मध्यस्थकर्ता हुन सक्दैनन्।
अहिले सुरु भएको युद्ध झनै भयानक हुनेछ र यसले इजरायलको नश्लभेदी शासनलाई अन्ततः तहसनहस बनाई दिनेछ । संसार सबैका लागि सुरक्षित हुनेछ । यहुदीहरूका लागि पनि । अझै धेरै न्यायपूर्ण हुनेछ । यो हाम्रो घाइते मुटुबाट तीर झिके जस्तै हुनेछ ।
दुनियाँको सम्पूर्ण शक्ति, सम्पत्ति, हातहतियार र प्रोपोगाण्डाले पनि प्यालेस्टाइनको घाउ छोप्न वा लुकाउन सक्दैन। यो घाउमा सारा संसार दुखेको छ। इजरायल आफै पनि दुखेको छ।
इजरायली नरसंहारलाई समर्थन गर्ने मुलुकका जनतामा गरिएको सर्वेक्षणले उनीहरूको बहुमत सङ्ख्याले यसलाई प्रस्ट रूपमा अस्वीकार गरेको छ। हामीले लाखौँ मानिस संलग्न विरोध प्रदर्शन र र्याली देखेका छौँ। यस्ता र्यालीमा ती युवा यहुदी पनि छन्, जो उनीहरूको अनवरत दुरुपयोगदेखि आक्रान्त छन्। कसले सोचेको थियो होला– जर्मन प्रहरीले ‘एण्टी–सेमेटिक’ भन्दै यहुदी नागरिकलाई ‘जायोनिज्म’ र इजरायलको विरोध गरेको आरोपमा गिरफ्तार गरेको पनि देख्नुपर्छ? कसले सोचेको थियो होला– अमेरिकी सरकारले इजरायली राज्यको सेवा गर्न वाक स्वतन्त्रताका आधारभूत सिद्धान्तमै प्रहार गर्दै प्यालेस्टाइन समर्थित नारामा प्रतिबन्ध लगाउँछ भनेर? केही अपवाद छाडेर आजका दिन पश्चिमा प्रजातन्त्रको कथित नैतिक धरातल बाँकी दुनियाँमा हाँसोको विषय बनेको छ ।
जब बेन्जामिन नेतान्याहु प्यालेस्टाइन मेटिएको तथा जोर्डन नदिदेखि भू–मध्यसागरसम्म फैलिएको इजरायलको नक्सा देखाउँछन, उनलाई यहुदी भूमीको सपना साकार गर्न लागेका दूरदर्शी नेताका रूपमा प्रशंसा गरिन्छ। तर, जब प्यालेस्टाइन र उनका समर्थकहरू ‘नदीदेखि सागरसम्म, प्यालेस्टाइन आजाद हुनेछ’ भनेर गाउँछन् उनीहरूलाई यहुदी नरसंहारको आह्वान गरेको आरोप लगाइन्छ।
के उनीहरू साँच्चै यस्तै छन् ? वा यो रोगी सोच हो, जसले आफ्नै अँध्यारोपना अरूमा थोपरिरहेको छ ? होइन । एउटा कल्पना जसले विविधतालाई स्विकार्न सकेको छैन, त्यो कुनै पनि देशमा अन्य मानिससँग, समान रूपले, समान अधिकारसहित बस्ने कुरालाई स्विकार्नै सक्दैन । एउटा त्यस्तो सोच, जसले प्यालेस्टिनी पनि स्वतन्त्र हुन्छन् भनी स्विकार्ने जोखिमसमेत उठाउन सकेको छैन।
दक्षिण अफ्रिका, भारत जस्ता कयौँ देशहरू, जो उपनिवेशवादबाट मुक्त भए, जो विविधताले भरिएका छन्, त्रुटिपूर्ण नै सही तर ती स्वतन्त्र छन्। जति बेला दक्षिण अफ्रिकीले आफ्नो स्वतन्त्रताको नारा लगाउँदै ‘अमान्डाला’ भन्थे के त्यति बेला उनीहरू गोराहरूको नरसंहारको आह्वान गरिरहेका हुन्थे। होइन। उनीहरू आफ्नो देशमा रहेको रङ्गभेदी, नस्लवादी राज्यको अन्त्यको आह्वान गरिरहेका हुन्थे। ठ्याक्कै त्यसै गरी प्यालेस्टिनीहरुले आफ्नो स्वतन्त्रताको नारा लगाई रहेका छन्।
अहिले सुरु भएको युद्ध झनै भयानक हुनेछ र यसले इजरायको नश्लभेदी शासनलाई अन्ततः तहसनहस बनाई दिनेछ। संसार सबैका लागि सुरक्षित हुनेछ। यहुदीहरूका लागि पनि । अझै धेरै न्यायपूर्ण हुनेछ। यो हाम्रो घाइते मुटुबाट तीर झिके जस्तै हुनेछ।
अमेरिकी सरकारले इजरायलको समर्थन फिर्ता लिएको खण्डमा युद्ध आजै रोकिन सक्छ। शत्रुता यसै पलदेखि समाप्त हुन सक्छ। इजरायली बन्धकलाई मुक्त गर्न सकिन्छ, प्यालेस्टिनी कैदीलाई रिहा गर्न सकिन्छ। हमास र अन्य प्यालेस्टिनी सरोकारवालासँगको युद्धपछि हुने अनिवार्य वार्ता तत्कालै सुरु हुन सक्छ र लाखौँ मानिसको पीडालाई अहिले नै रोक्न सकिन्छ। तर, निकै दुःखद कुरा हो– धेरै मानिस यसलाई मूर्ख र हास्यास्पद प्रस्ताव ठान्छन्।
उनीहरूले हामीलाई किनारामा पुर्याइयो भन्ने सोचेका छन् । उनीहरूलाई थाहै छैन हामीले मैदान छाडेकै छैनौँ । यो त क्षणिक हार मात्र हो । न मतपत्रले, न दरबार र मन्त्रालयले, न जेलनेलले, न त चिहानले नै हाम्रो सपनालाई छोप्न वा रोक्न सक्छ ।
अला अब्द एल–फत्ताह! मेरो मन्तव्य टुङ्ग्याउनु अघि मलाई तिमीले जेलमा लेखेको पुस्तक ‘यु ह्याव नट येट बिन डिफिटेड’ का केही हरफहरूमा आउन देऊ। चरम निराश समयबाट गुज्रँदा पनि इमानदार राजनीतिक आवश्यकता खोज्ने तथा विजय र पराजयको अर्थबोध गराउने गरिएका यस्ता शब्दहरू मैले बिरलै पढेकी छु। यस्तो प्रष्टता साथ आफूलाई राज्य, सेनाका जर्नेल तथा चोकका नारा भन्दा पृथक् लेखिएको मैले असाध्यै कम पढेकी छु।
‘सत्ताको केन्द्रमा धोका छ, जर्नेलहरू जस्ता धोकेबाजका लागि त्यहाँ ठाउँ छ। म धोकेबाज होइन, त्यसैले सत्तामा छैन। उनीहरूले हामीलाई किनारामा पुर्याइयो भन्ने सोचेका छन्। उनीहरूलाई थाहै छैन हामीले मैदान छाडेकै छैनौँ। यो त क्षणिक हार मात्र हो। न मतपत्रले, न दरबार र मन्त्रालयले, न जेलनेलले, न त चिहानले नै हाम्रो सपनालाई छोप्न वा रोक्न सक्छ। सपना छाडेर जाने बाहेक कसैका लागि ठाउँ नभएकाले हामीले सत्तालाई परित्याग गरेका हौँ । हाम्रा लागि त सडक पनि काफी थिएन, त्यसैले धेरै जसो लडाई हामीले त्यो भन्दा बाहिर लड्यौँ। र, ती वास्तविक योद्धा पनि परिदृश्य भन्दा बाहिर नै छन्।’
आज हामीले गाजा र लेबनानमा विनाश हेरिरहेका छौँ, चाडै यो युद्ध क्षेत्रीय युद्धमा विस्तार हुन्छ। यसका वास्तविक नायकहरू अझै दृश्यमा ल्याइएका छैनन्। तर, पनि उनीहरू लडिरहन्छन् किनभने उनीहरूलाई राम्रोसँग थाहा छ–
एक दिन,
नदीदेखि सागरसम्म
प्यालेस्टाइन स्वतन्त्र हुनेछ।
पक्का स्वतन्त्र हुनेछ
आफ्नो नजर पात्रोमा अड्याएर राख्नुस्। घडीमा होइन।
आफ्नो स्वतन्त्रताका लागि लड्नेहरू समय यसै गरी हेर्छन्, जर्नेलहरू होइन!
अनुवाद: रोहित बास्तोला
(द वायरबाट)