• जनार्दन पोखरेल

साँझको खाना खाएर गाउँ डुल्न निस्कनुभएका बा अन्धकार रातमा पानीमा रुझ्दै हस्याङफस्याङ गर्दै  घरभित्र छिर्नुभयो। राति झण्डै १० बजेको थियो होला। निथ्रुक्क भिज्नुभएका बा निकै आत्तिनुभएको थियो। 

‘गाउँमा खोलो पस्ने भयो। बाढी पल्ला छेउको डिलडिलसम्म आइसकेछ। ठूलो बाढी खोलाको वारपार भएर बगेको छ। अब सबै सक्ने भयो। बर्बाद हुने भयो। घर पनि बगाउँछ होला,’ बा एक सासमा बोल्नुभयो।
***

२०४३ साल बर्खाको एक रात। त्यो साउनको अन्तिम अथवा भदौको पहिलो साता हुनुपर्छ। गते यकिन भएन। उज्यालो नहुँदैदेखि परेको पानी साँझसम्म पनि थामिएन। एक झुल्को घाम नदेखी दिन बित्यो, साँझ पर्‍यो। पानी परिरहेकाले हामी दिनभर घरमै थुनियौँ।

आमा-बाले पानीमा रुझ्दै भए पनि वस्तुभाउ, खेतीपातीको काम गर्नुभयो। साँझ पर्न थालेपछि झन् ठूलो पानी दर्कियो। एकनास झमझम!

दिनभरि परेको पानीले गाउँ जलमग्न भयो। हाम्रो घरनजिकैको खहरे खोलो निरन्तर सुसाइरहेको थियो। बारी, आँगन, डगर जताततै पानी नै पानी! गाईवस्तु बाँध्ने गोठ पनि ओभानो थिएन। बाले घरको पेटी अग्ल्याएर पानी नछिर्ने बनाउनुभएको थियो। त्यसैले घरभित्र चिसो ओस परे पनि पानी छिर्न पाएन। हिउँदमा सुक्खा हुने घरको मझेरी वर्षात्‌का ४/५ महिना निकै चिसो हुन्थ्यो। बर्खा लागेपछि घुरघुरे (एक जातको कीरा) ले खनेर उस्तै सिगसिग हुन्थ्यो। दिनहुँ आमा घुरघुरेले खनेको भुईँ टालटुल र लिपपोत गर्नुहुन्थ्यो। तर, भोलिपल्ट फेरि घुरघुरले मझेरी उस्तै पार्थ्यो।  

खरको छाना, भुईँटाँडे घर। वनमाराको बेरा। खाना पकाउने, सुत्ने, बस्ने, राखनधरन सबै एउटै छानोमुनि। भुईँमा माटो र ढुंगाको चुल्हो। माथि टाँडमा सुत्ने ओछ्यान र राखनधरन गर्ने ठाउँ।

निकै दिनपछि पानी पर्दा पहिलो झर छानाबाट ठाउँठाउँमा चुहिन्थ्यो। तर, पछि भने आफैँ पानी चुहिन बन्द हुन्थ्यो। पानीले खर ढाडिँदै गएपछि चुहिने छिद्रहरू टालिन्थे कि!

भुईँमा सुत्दा सर्प, बिच्छीको डर। बाले हाम्रा लागि सुत्ने व्यवस्था टाँडमाथि नै मिलाउनुभएको थियो। झुल लगाउने चलन नै थिएन। मच्छड लागे न झुल लगाउनु!

घरनजिकै गाईवस्तु बाँध्ने गोठ भएकाले झिँगा, डाँठ र भुसुना भने प्रशस्तै हुन्थे। बर्खामा गाईवस्तुलाई झिँगा, भुसुनाले नटोकोस् भनेर बा गोठमा साँझ-बिहान धुँवा लगाउनुहुन्थ्यो। बल्दै गरेको आगोमा ओसिएको झ्यासझुस हालेपछि धुँवा फैलिन्थ्यो। झिँगा, डाँठ र भुसुना भाग्थे। तर, ती झिँगा र भुसुनाले अहिलेका मच्छडले जसरी राति सुतेका बेला भने हामीलाई दुःख दिँदैनथे।

त्यतिबेला गाउँमा सबैका घर हाम्रैजस्ता थिए। अलिक हुनेखानेका घरको बेरा काठका पटा अथवा बाकलका थिए। तर, छानो सबैका खरले नै छाएका। हाम्रो गाउँ मात्रै होइन, वरपरका अन्य गाउँमा पनि कतै पक्की घर मैले देखेको थिइनँ। टाली अथवा जस्ताको छाना पनि कसैका थिएनन्। गाउँमा निकै पछि मात्रै छानोमा खपडा लगाउने चलन भित्रिएको थियो।

बर्सेनि घरगोठ छाउन सबैजसोका आआफ्नै खरबारी थिए। ‘मै हुँ’ भन्नेलाई पनि मकै, कोदो रोप्ने जमिनमा घर, गोठ छाउने खर नहुर्काई सुखै थिएन। धान फल्ने खेत गाउँमा कमै थियो। अधिकांशका घरमा प्राय: मकैको ढिँडो नै पाक्थ्यो। कसैले एक छाक चामलको भात, अर्को छाक पिठो-च्याँख्लाको खान्कीले भोक टार्थे। दही, दूध भने प्रायः सबैका घरमा हुन्थ्यो। 

बाहिर मुसलधारे पानी दर्किरहेकै थियो। ‘यत्रो पानी त यसअघि कहिल्यै परेको थाहा थिएन,’ आमाले दिक्दारी व्यक्त गर्नुभयो।

झमझम पानी दर्किरहेको अन्धकार रातमा हामी माथिल्लो तलामा सुत्ने तयारी गर्दै थियौँ। आमाले टुकी निभाइसक्नुभएको थियो। मट्टीलेतको बचत होस् भनेर आमा प्रायः भातभान्साको काम सकिएपछि टुकी बाल्न दिनुहुन्थेन। त्यसपछि गफिनु परे पनि हामी भुराभुरी अन्धकारमै गफिन्थ्यौँ। बिजुली बत्ती त्यतिबेला देख्नु त परै जाओस्, यो संसारमा बिजुलीबत्ती पनि हुन्छ र त्यसले उज्यालो दिन्छ भन्ने सुनेका पनि थिएनौँ।

पहिलोपटक ०५२ सालको दसैँअघि हाम्रो गाउँमा बिजुली बल्दा ठूलै उत्सव मनाएका थियौँ। हाम्रो गाउँमा बिजुली बाल्ने अभियानको नेतृत्व निर्मल बरालले गर्नुभएको थियो। सबैले गच्छेअनुसार लगानी गरेर गाउँमा बत्ती बालिएको थियो।

साँझको खाना खाएर गाउँ डुल्न निस्कनुभएका बा अन्धकार रातमा पानीमा रुझ्दै हस्याङफस्याङ गर्दै घरभित्र छिर्नुभयो। बा आइपुग्दा राति झण्डै १० बजेको थियो होला। निथ्रुक्क भिज्नुभएका बा निकै आत्तिनुभएको थियो। 

‘गाउँमा खोलो पस्ने भयो। बाढी पल्लाछेउको डिलडिलसम्म आइसकेछ। ठूलो बाढी खोलाको वारपार भएर बगेको छ। मैले भर्खरै हेरेर आएको। अब सबै सक्ने भयो। बर्बाद हुने भयो। घर पनि बगाउँछ होला,’ बा एक सासमा बोल्नुभयो। 

चुरेको सिरानमा ढोकाजोर, पूर्वेली र खड्कुले नाम गरेका तीनवटा खोला थिए। हिँउदमा सुख्खा हुने ती खहरे वर्षामा भने उर्लिएर बग्थे। 

ती खोला चुरेबाट अलिक तल दोभानमा झरेपछि एउटै हुन्थे। हाम्रो गाउँको सिरान भएर बग्ने त्यस खोलाले खेतबारी कटान गरेर बर्सेनि दुःख दिन्थ्यो। चुरेको फेदीमा आइसकेपछि भने त्यो खोला बेनामे बन्थ्यो। हामी त्यसलाई नाम नभनी खोलो मात्रै भन्थ्यौँ। वरपर अन्य खोला थिएनन्। खोलो भनेपछि त्यही एउटा हुन्थ्यो। 

अलिक तल पुगेपछि त्यसलाई चापिनी खोलो भनिन्थ्यो। पूर्वपश्चिम राजमार्गबाट तल लागेपछि लखन्देही खोलामा गएर मिसिन्थ्यो। अहिले त्यसलाई धेरैले कैलाशपुरी खोलो भन्छन्। तर, यो पछि राखिएको नाम हो। 

हाम्रो जमिन सकिएर खोलाको क्षेत्र सुरु हुने ठाउँलाई आमा-बाले ‘पल्लाछेउ’ नाम राख्नुभएको थियो। पल्ला छेउमा हामी प्रायः कोदो रोप्थ्यौँ। त्यहाँ कोदोको बिउ हुर्किंदै थियो। कोदो रोप्नुअघि मकै फलाइन्थ्यो। थोरै जमिनमा फिलुंगे र गहत पनि लगाइन्थ्यो। भदौदेखि कोदो रोप्ने चटारो हुन्थ्यो। 

सुत्ने तयारीमा रहेका हामी गाउँमा बाढी पस्दै छ भन्ने बाको सन्देशबाट आतंकित भयौँ। निकै डरायौँ। त्यसअघि हाम्रो गाउँमा कहिल्यै बाढी पसेको थिएन। बा पनि त्यसरी कहिल्यै डराउनुभएको मैले देखेको थिइनँ। बाले काँध थापेपछि सबै अप्ठ्यारा सकिन्छन् भन्ने म सोच्थेँ। तर, अहिले बा नै डराउनुभयो। घरको मूली नै आतंकित भएपछि हामी नाथे भुराभुरी नडराउने कुरै थिएन। 

हामी त्रासले एकासपमा अझ नजिक सर्‍यौँ। मछेउमै रहेकी दिदीसँग टाँसिएर बसेँ। मैले सोधेँ, ‘दिदी बाढी पस्यो भने के हुन्छ?’ मभन्दा सात वर्ष जेठी दिदीले मेरा कानमा खुसुक्क भन्नुभयो, ‘बगाउँछ नि भाइ!’

‘खोलाले बगायो भने के हुन्छ?’ मेरो अर्को जिज्ञासा थियो। 

‘खोलाले बगायो भने त मरिन्छ नि!’

‘मान्छे मर्‍यो भने के हुन्छ?’,  मैले डराउँदै दिदीलाई सोधेँ।

‘मान्छे मरेपछि भूत-प्रेत हुन्छ नि भाइ!’ दिदीले छोटो उत्तर दिनुभयो। दिदीको उत्तरले म झन् डराएँ।

‘मकै पाकिसकेका थिए। भित्र्याउन पनि पाइँदैन कि क्या हो?’ आमाले चिन्ता व्यक्त गर्नुभयो। मकै नै वर्षभरिको भोक टार्ने हाम्रो घरको बलियो स्रोत थियो। 

‘मकै मात्रै होइन, बाढी पस्यो भने सबै सखाप हुन्छ। केही बाँकी राख्दैन। के ठाउँमा आएर बसिएछ!’ बाले लामो सास तान्दै खुइय गर्नुभयो। 

बाआमा २०२६ सालमा ओखलढुंगाबाट बसाइँ सरेर आउँदा हाल हरिवन बजार रहेको क्षेत्र ताप्रे घारी थियो रे। हरिवनका तत्कालीन प्रधानपञ्च तिलकराम पोखरेलले बालाई अहिले हरिवन बजार रहेको ठाउँभन्दा पश्चिमतिर देखाउँदै ‘त्यही ताप्रेघारी फाँडेर खेती लगाऊ, पछि नापी आएपछि तिम्रा नाममा पास हुन्छ,’ भनेका रहेछन्। जुन ठाउँ भएर पछि पूर्वपश्चि राजमार्ग बन्यो। 

तर, हाम्रा बा–आमाले त्यो सुविधायुक्त ठाउँ छाडेर चुरेनजिकै जंगलछेउको जग्गा रोज्नुभएछ, जंगलनजिक बस्दा वस्तुभाउ पाल्न सजिलो हुने लोभले।

बा–आमाले त्यो रात सम्भावित बाढीको जोखिमबारे निकैबेर गन्थनमन्थन गर्नुभयो। हामीले त्रासले काँप्दै राति अबेलासम्म उहाँहरूका कुरा सुन्यौँ। 

बिहान ब्युझिँदा गाउँमा कोलाहल थियो। 

बाले भनेजस्तै राति गाउँमा बाढी पसेछ। बिहान उठेर हेर्दा सबैका घर पानी र लेदोमा डुबेका थिए। 

बा–आमाले राति नै उठेर थान्कोमुन्को गर्नुभएछ। भाँडाकुँडा, सामल–पिठो राति नै भुईँबाट माथिको तलामा सार्नुभएकाले जोगिएछ। 

बिहान आँखा मिच्दै माथि टाँडबाट तल मझेरीमा झर्नेबित्तिकै म हतारहतार गाईवस्तु बाँध्ने गोठमा गएँ। 

मलखाडी बालुवा र हिलोले पुरिएको थियो। गोठभित्र पनि बालुवा र लेदो भरिएछ। गाईगोरु आफ्नै थलोमा उभिएका थिए। ब्याउने बेला भएको भैँसी  पनि उसैगरी गोरुकै छेउमा उभिएको थियो। बाख्रा भने टाँडमा भएकाले भिजेका थिएनन्। 

मैले सोधेँ, ‘आमा, राति हाम्रो घरमा खोलो पसेको हो?’

‘राति झण्डै कम्मर कम्मरसम्मको बाढी आयो। धन्न वस्तुभाउ र घर बगाएन,’ आमाले भन्नुभयो।

गाउँमा बाढी पसे पनि बारीमा पाकेका मकैका बोट भने ठाडै थिए। रोप्ने बेला भएको कोदोको बिउ पुरेछ। मैले एकै छिनमा घर वरपर घुमेर बाढीको बितन्डा हेरेँ। मन खिन्न भयो।

‘बा खोइ त?’ मैले आमालाई सोधेँ। 

‘बाढीले क–कसका घरमा के बिगार गर्‍यो भनेर गाउँ चहार्न जानुभएको होला,’ आफ्नै घरगोठ र खेतीपातीमा ध्यान नदिएर बा गाउँतिर निस्केकामा आमाको चित्त बुझेको थिएन सायद।

पानी पर्न रोकिएको र बाढीले पाकेको मकैमा धेरै नोक्सान नगरेकाले होला, आमाले धेरै पिर मानेजस्तो मलाई लागेन। उहाँ उत्तिखेरै घरधन्दामा व्यस्त हुनुभयो।

गाउँ डुलेर बा पनि घरमा आइपुग्नुभयो। 

‘करवीर छैनन्। घरमा पनि छैनन्। गाउँमा पनि कतै छैनन्। उनले ओड्ने गरेको घुम भने पल्लाछेउको खोलाको डिलमा भेटियो। सबैले उनलाई राति नै बाढीले बगाएको अड्कल काटेका छन्। अब खोज्न जानुपर्ने भो!’ 

बाले एकै सासमा त्रासदीपूर्ण कुरा सुनाउनुभयो।

हाम्रो घरभन्दा पश्चिमपट्टी दुईपाखे एउटा घर थियो। हाम्रोजस्तो त्यो घर भुईँटाँडे थिएन। माथि चढ्ने लिस्नु पनि थिएन। तलोबिनाको त्यस घरको ढोकाबाट छिर्नेबित्तिकै खाना पकाउने अँगेनो थियो। छेउमै काठका साटा खापेर बनाएको चारखुट्टे टाँड थियो। जसमाथि सधैँ एउटा फाटेको गुन्द्री बिछ्याइएको हुन्थ्यो। 

करवीर (पौडेल) बा त्यहीँ अँगेनोमा खाना पकाउनुहुन्थ्यो। त्यही टाँडमा बसेर खानुहुन्थ्यो। सुत्ने र थकान मेटाउने ठाउँ पनि त्यही थियो। प्रायः साँझ–बिहान सधैँ म करवीर बाको घरमा गइरहन्थेँ। उहाँले मलाई गर्ने स्नेहले म त्यता तानिन्थेँ सायद। 

त्यो घरमा उहाँबाहेक अरू कोही बस्दैनथे। उहाँ घरको एक्लो सदस्य। छोराबुहारी अन्यत्रै बस्थे। कहाँ बस्थे, थाहा थिएन। 

घरमा मिठो-मसिनो पकाउँदा उहाँ मलाई थोरै भए पनि राखिदिनुहुन्थ्यो। घरमै बोलाउन आउनुहुन्थ्यो। 

दुई दिनअघि मात्रै एकाबिहानै करवीर बा मलाई खोज्दै आउनु भएको थियो। आफ्नो घरमा लगेर अँगेनाको डिलमा राखेर उहाँले मलाई राति पकाएको खिर दिनुभयो। मैले गुलियो खिर मिठो मानेर खाएको थिएँ।

‘राति किन गएछन् त बाढी आएको बेलामा करवीर दाइ खोलातिर?’ आमाको जिज्ञासा थियो। हाम्री आमा पौडेलकी छोरी भएकाले होला, करवीर बालाई दाजु भन्नुहुन्थ्यो। 

‘बाढीले बाँध बगायो कि बगाएन भनेर हेर्न गएका थिए कि?’ बाले अनुमान लगाउनुभयो। 

गाउँमा खोलो पस्ने त्रास पहिलेदेखि नै थियो। करवीर बा, हाम्रा बासहित गाउँका अन्य धेरै बाहरूले खोलो गाउँ पस्न नपसोस् भनेर त्यो साल बर्खा सुरु नहुँदै बाँध बाँध्नुभएको थियो। 

चाम्रे, खयरजस्ता रुखका मुढा र ठुटा गाडेर, साटा र बलाहरू कसेर झण्डै ५० मिटर जति लामो काठैकाठको बाँध एक साता जतिमा तयार भएको थियो।

त्यसअघिका सानातिना बाढीलाई त्यो बाँधले तर्काएको पनि थियो।

‘गाउँतिर सोझिएको खोलो अब बिस्तारै पूर्वतिर तर्किन्छ होला,’ बा र करवीर बाले बिँडीको धुँवा तान्दै तीन दिनअघि मात्रै हाम्रो घरमा गफ गरेको मैले सुनेको थिएँ। 

तर दुर्भाग्य, रातिको बाढीले त्यो बाँध सोहोरेर लगेछ। बाँध मात्रै होइन, करवीर बालाई पनि बाढीले लगेछ। मन निराश र बेचैन भयो। 

आकाशबाट पानी पर्न रोकिए पनि घर, आँगन, डगर, खेतबारी जताजतै पानी नै पानी थियो। हाम्रो घरभित्र हिजो राति आमाले भात पकाउनुभएको चुल्हो थिएन। घरमा बालुवा र लेदो भरिएको थियो। ढिकीको ओखल र जाँतो पनि पुरिएको थियो। 

टोलमा ८–१० घर थिए। सबैका घरमा बाढीले वितण्डा मच्चाएछ।

उज्यालो भएपछि गाउँका आमाहरू घरभित्रको लेदो र बालुवा सोहोर्नतिर लाग्नुभयो। बाहरू हराएका करवीर बालाई खोज्न खोलातिर हिँडे। 

‘के साँच्चै करवीर बालाई खोलाले बगाएकै हो त? कि राति नै बुढा अन्त कतै गएर बसे?’ डराएको मेरो मनमा विभिन्न प्रश्नहरू खेल्न थाले। 

बा बिँडी तान्दै घरबाट निस्कनुभयो। डगरमा छिमेकीहरू पर्खिरहेका थिए। म पनि बाको पछि लागेँ। ‘भुराभुरीले हामीसँग जानुहुँदैन’, बाले मलाई रोक्नुभयो। म आँगनबाटै घरतिर फर्किंएँ। 

करवीर बालाई खोज्न जानुभएका बा मध्य दिउँसो घर फर्किनुभयो। 

बा घरमा आउनेबित्तिकै आमाले सोध्नुभयो, ‘करवीर दाइ भेटिए त?’ 

‘जिउँदो भेटिएनन्, लास भेटियो,’ बाले खुइय गर्दै छोटो उत्तर दिनुभयो। 

खोलैखोला खोज्दै जाँदा गाउँलेहरूले चापिनीको बरगाछीनजिक बगरमा करवीर बालाई फेला पारेछन्। 

‘प्राणबबिनाको शरीर लमतन्न भएर बालुवामा लडिरहेको थियो,’ बा घटना विवरण सुनाउन थाल्नुभयो, ‘जिउमा लुगा थिएनन्। शरीरभरी घाउचोट। राति एक्लै त्यसरी खोलामा जानुहुँदैनथ्यो। अकालमै मरे बिचरा!’

हिजोसम्म मलाई औधी माया गर्ने करवीर बा अब जिउँदा छैनन् भनेको सुन्दा मेरो मनमा डरले ड्यांग्रो बजाउन थाल्यो। 

दिउँसो रोकिएको झरी साँझ परेपछि फेरि सुरु भयो। 

खोलाको शिरतिर कालो बादल मडारिँदै थियो। त्यसअघि पनि आमाले ढोकाजोरको शिरतिर कालो बादल देख्दा ‘अब पानी पर्छ’ भनेको सुनेको थिएँ। आमाले ‘अब पानी पर्छ’ भनेको दिन प्रायः पानी परेकै हुन्थ्यो। 

साँझपख ढोकाजोरमाथिको जंगललाई कालो बादलले ढाक्दै लग्यो। अरुबेला पनि ढोकाजोर भनेको सुन्दा मलाई डर लाग्थ्यो। ढोकाजोरतिर कालो बादल मडारिएको देख्दा मेरो मन झन् आतियो, ‘फेरि बाढी पस्ने हो कि? करवीर बालाई जस्तै बगायो भने?’

‘आमा, म राति यहाँ बस्दिनँ। यहाँ बस्यो भने त खोलाले बगाउँछ। करवीर बालाई त बगायो। म त डाँडामा जान्छु, हजुरआमाको घरमा,’ मैले त्रसित मनको आवाज आमासमक्ष बिसाएँ। 

‘केही हुँदैन, अब त्यत्रो बाढी आउँदैन,’ आमाले मलाई सान्त्वना दिन खोज्नुभयो।  

आमाले जेजे भनेर सम्झाए पनि मैले मान्दै मानिनँ।

‘यो घरमा राति त म बस्दै बस्दिनँ’ जिद्दी गरिरहेँ।

मेरो अडानको अघि आमा गल्नुभएछ क्या रे। त्यो साँझ आमाले मलाई हजुरआमाको घरमा लगेर छाडिदिनुभयो। हामी पातलो प्लास्टिक ओढेर डाँडातिर गयौँ।

त्यसपछि बिहान उठेर घर जाने, साँझ परेपछि हजुरआमाकहाँ आएर रात बिताउने मेरो नित्य कर्म हुन थाल्यो। यो क्रम त्यो बर्खाभरि नै चल्यो।

‘हजुरआमा, काकाहरूले चाहिँ माथि डाँडामा घर बनाउँदा हुने, हाम्रो घरचाहिँ खोलाको छेउमा ल्याएर बनाउनुपर्ने,’ आमा–बासँग मैले असन्तुष्टि जनाउन थालेँ। 

बर्खा सकियो। पानी पर्न रोकिँदै गयो। केही दिनमै दसैँ आयो!

बर्खाको पानीले छियाछिया भएको घरको भित्तो आमाले टालटुल पार्नुभयो। माथि पहेँलो र तल रातो माटो पोतेर घर सिँगार्नुभयो।

बाले आँगनमा दुईटा खाँबो गाडेर भोर्लाको डोरी झुन्ड्याएर हामीलाई पिँङ हालिदिनुभयो। 

हाम्रो घरमै ढिकी थियो। आमा-बाले रातभरि लगाएर नयाँ घैयाको चिउरा ढिकीमा कुट्नुभयो। तातो पानीमा भिजाएको धान दिदी कराईमा भुट्ने, बा ढिकी कुट्ने, आमा घान लगाउने। त्यसो गरेपछि मिठो चिउरा तयार हुन्थ्यो।

चिउरा खाने भनेकै दसैँ-तिहारको बेलामा हो। अरू बेला खान मन लागे पनि नलागे पनि मकै, भटमास र कोदाको रोटी। कहिलेकाहीँ खाजामा जाउलो पाक्थ्यो। नयाँ हाफ पाइन्टको खल्तीमा चिउरा र चिनी हालेर पिङमा मच्चिँदा खुब आनन्द लाग्थ्यो।   

घरमा हामीलाई टीका लगाएपछि हरेक वर्ष बाआमा खाली निधार लिएर हजुरआमाको हातको टीका लगाउन डाँडाघरमा जानुहुन्थ्यो। हजुरआमा र काकाहरू सँगै बस्नुहुन्थ्यो। त्यो गाउँलाई हामी डाँडा भन्थ्यौँ। 

त्यो वर्ष हजुरआमाले बाआमालाई टीका लगाइदिँदा आशिषसँगै घर सार्ने सल्लाह पनि दिनुभयो।

‘अब अलिकति जग्गा किनेर घर डाँडामा सार, बाढी पसेको घडेरीमा बस्नुहुँदैन,’ हजुरआमाले भन्नुभयो।  

‘कान्छो पनि त्यहाँ बस्न मानेको छैन। वस्तुभाउ बेचेर, ऋणपान गरेर एकदुई कट्ठा घडेरी किनेर यही वर्ष यतै घर सारिहाल,’ हजुरआमाले आदेश दिनुभयो।

हजुरआमाले त्यसो भन्दा म खुसीले बुरुक्कै उफ्रिएँको थिएँ। किनभने, उहाँले मेरो मनकै कुरा बोल्नुभएको थियो।

उहाँको आड पाएपछि मैले पनि जिद्दी थपेँ, ‘अब यतै घर सार्नु है बा! गहिरामा गएर त म मरिगए पनि बस्दिनँ।’

बाढी पसेको दिनदेखि गहिराको घरमा गएर बस्न मेरो मनले मानेकै थिएन। निरन्तरको मेरो जिद्दी र हजुरआमाको दबाबपछि बा-आमाको पनि मन फर्किएछ क्या रे! गहिराबाट बसाइँ सर्ने निष्कर्षमा पुग्नुभयो। 

दसैँको टीकाको दिन साँझ सुत्ने बेलामा बाले भन्नुभयो, ‘मैले प्रधान (भीमप्रसाद भट्टराई)सँग कुरा गरेर आएँ। आमाको घरभन्दा पश्चिमतिरबाट तीन कट्ठा बेच्छु भनेका छन्। त्यति भयो भने घरगोठ बनाएर यसो सागपात लगाउन पनि पुग्छ।’ 

त्यस वर्ष तिलबारीमा फलेका सबै बदाम (ममफली), गोठको लैनो गाई, सबै खसीबाख्रा, ब्याउने बेला भएको भैँसी  बेचेर घडेरी किन्ने खर्चको जोहो गर्ने हिसाब बाले निकाल्नुभयो। 

‘अब जोत्ने गोरुबाहेक सबै वस्तुभाउ बेच्नुपर्छ। त्यति गर्दा पनि पुगेन भने आधा जति मकै पनि बेचौँला,’ बाले आमालाई भन्नुभयो, ‘त्यतिले पनि नपुगे ऋणपान गरौँला। तँ भोलि माइत जा। आमाको हातबाट दसैँको टीका पनि लगा। बाढी पसेको घडेरीबाट घर माथि सार्नुपर्छ भनेर पनि सुना। अलिअलि भए आमाले पनि दिनुहोला। थपनथापन हुन्छ!’

राति बा-आमाबीच भएको सल्लाहअनुसार टीकाको भोलिपल्ट उज्यालो नहुँदै आमा मावलतिर लाग्नुभयो। 

‘अर्को वर्षको दसैँसम्म त हाम्रो घर पनि डाँडामा बनिसकेको हुन्छ,’ उत्साहित हुँदै दिदी र म गाईवस्तु लिएर चुरेको जंगलतिर लाग्यौँ।