तीज भर्खरै सकिएको छ। तीजसँग जोडिएका प्रतिक्रियाहरू अझै सेलाउन पाएका छैनन्।
उदाहरणको लागि एक जनाको भनाइ थियो, ‘अहिलेको तीजको चहलपहलले त महिलाले आधा आकाश मात्र होइन, पूरै आकाश नै ढाक्न लागिसके जस्तो देखिन्छ। जता हेर्यो, उतै महिला । स्कुल, कलेज, कार्यालय, संघ–संस्था, पार्टी प्यालेस र होटलसम्म उनीहरूकै जमात छ, चहलपहल छ । पुरुषहरू त कता हराए कता !’
पुरुषहरू होइन, नेपालमा महिलाहरू हराउँदै छन्। अर्थात्, महिलाहरूको जन्मिने सम्भावना पुरुषहरूको भन्दा क्रमशः कम हुँदै गइरहेको छ। गएका दुई राष्ट्रिय जनगणनाहरू (२०६८ र २०७८) ले पनि यही कुरा संकेत गर्दछ।
जनगणना भएको वर्ष २०७८ सालमा ११२ बालक जन्मिंदा जम्मा १०० मात्र बालिका जन्मिएका थिए। यो बच्चा जन्मिने वैज्ञानिक नियम विपरीत हो। किनकि जन्मिंदाखेरि अलि बढी छोरा जन्मिने तर छोरीको रोगसँग लड्न सक्ने क्षमता छोराभन्दा बढी हुने भएकोले जन्मेका छोरीहरूको बाँच्ने सम्भावना छोराको भन्दा बढी हुन्छ।
यसरी पछि गएर लैंगिक अनुपात बराबर हुन्छ। तर यदि छोराको अनुपातमा छोरीहरू एकदम कम जन्मिरहेका छन् भने ती नजन्मिएका छोरीहरू कहीं गर्भबाट नै हराइरहेका त छैनन् भन्ने प्रश्न गर्नु वा यसमा चासो राख्नु मानवीय र लैंगिक दृष्टिकोणले पनि महत्वपूर्ण छ। यो चासो आजको र हाम्रो मात्रै होइन। यसको सापेक्षिक रूपमा लामो विश्व इतिहास छ।
महिलाहरू हराएको बारे सन् १९९० तिर नै अमत्र्य सेनले ‘एसियाज मिसिङ मिलियन्सः हाउ पोलिसी एण्ड सोसियल प्रेसर मेड मिलियन्स अफ वुमन डिस्एप्पियर’ नामक लेख प्रकाशित गरेर एसियामा, खासगरी चाइना र इन्डियाबाट छोरीहरू हराउने क्रम बढ्दो छ भनी ‘फिमेल फेटीसाइट’ को कुरा अगाडि ल्याएका थिए। गर्भमै लिंग पहिचान गरी छोरी भए गर्भपतन गराउने व्यापक चलनको विषयलाई लिएर उनले यो लेख प्रकाशित गरेका थिए। सेनको यो लेखपछि ‘फिमेल फेटीसाइट’ को बहसको सुरुवात भएको देखिन्छ।
त्यसपछि यो विषयको खोजी व्यापक हुनथाल्यो। यसको एक उदाहरण गिता अर्भामुडानको खोजमूलक किताब ‘डिस्एपियरिङ डटर्सः द ट्राजेडी अफ फिमेल फेटीसाइड, २००७’ हो।
यो किताब सन् १९८० पछि इन्डियामा कसरी अल्ट्रासाउन्डको मद्दतले गर्भमै छोरीको पहिचान गरी भ्रूण हत्या गरिन लाग्यो भन्नेमा केन्द्रित छ।
यो प्रविधिको विकास अगाडि पनि खासगरी इन्डियाका केही सीमित राज्यहरू जस्तो हरियाणा र पञ्जाबमा छोरी जन्मियो भने या त परिवारले नै या सुँडेनीको माध्यमबाट उक्त बच्चालाई मार्ने गरेको तथ्य पनि यो लेखमा समावेश छ।
लिंगको आधारमा जन्मिएको बच्चाले मर्न पर्ने हो कि बाँच्न पाउने हो भन्ने कुरा घर, परिवार र समाजले कसरी निर्धारण गथ्र्यो भन्ने बारेमा हालै बीबीसीमा निस्किएको एक खोजमूलक लेखमा विहार, इन्डियाको एक गाउँको कथाले बताउँछ।
उक्त लेख विभिन्न सुँडेनीहरू, जसको मूल काम बच्चा जन्माउन महिलालाई सहजीकरण गर्ने हो, उनीहरूले कसरी जन्मिने बित्तिकै छोरीहरूलाई मार्थे भन्ने अनुभवमा आधारित छ । उनीहरूको भनाइमा छोरी जन्मियो भने परिवारले नै उनीहरूलाई उक्त बच्चा मार्न लगाउँथे।
बच्चालाई या त विष दिएर वा घाँटी निमोठेर मारिन्थ्यो। बच्चा मारेबापत या त लुगा, अन्न वा केही रकम उनीहरूको हातमा पथ्र्यो । यदि मार्न आनाकानी गर्यो भने पनि बलजफ्ती उनीहरूबाट यो काम गराइन्थ्यो ।
कजना सुँडेनीको भनाइ अनुसार उनले करिब १२/१३ छोरीको हत्या गरेकी थिइन्। त्यो गाउँमा छोरीको हत्या कुनै नौलो कुरा थिएन। सबै सुँडेनीहरूले यसै गर्थे।
छोरा नभई नहुने र छोरी भयो भने दहेज दिनुपर्ने भएकोले पनि छोराको आशमा बच्चा जन्माइरहने र यदि छोरी जन्मिएमा छोरीलाई मार्न लगाउने चलनको बारेमा लेख केन्द्रित छ।
समय परिवर्तन भएको छ। आजकाल त जन्मिएका छोरीहरूलाई मार्न सुँडेनीहरूको खोजी हुँदैन । जन्मनु अगाडि नै अल्ट्रासाउन्ड गरेर लिंग पहिचान गरी छोरीको हत्या गरिन्छ ।
गर्भ पहिचान गरी छोरी भए गर्भपतन गराउन लगाउने परिवार, आफैं गर्भ पतन गर्न अगाडि सर्ने महिला र त्यसलाई सहजीकरण गरिदिने प्रविधि, चिकित्सक, फितलो कानुन, साथै जिम्मेवार राजनीतिकर्मी, सबैको मिलेमतोमा मात्र यसप्रकारको अमानवीय र आपराधिक कार्य सम्भव हुन्छ।
मान्छे मार्नु अपराध हो। झन् छानी–छानी कसलाई बाँच्न दिने, कसलाई गर्भमै मार्ने भनी नियतवश गर्भपतन गर्नु, गराउनु झन् ठूलो अपराध हो। गाउँले र नपढेकाले मात्रै यस्तो काम गर्छन् भन्ने हो भने इन्डियाको पढे–लेखेका शहरी परिवारमा यो समस्या झन् चर्को भएको कुरा गीता अर्भामुडानले आफ्नो किताबमा उल्लेख गरेकी छिन्।
त्यसरी नै आमाले त आफैं अग्रसर भएर गर्भपतन गराउँदैनन् भन्ने हो भने पनि कैयौं महिला आफैं यस्ता हत्यामा सामेल भएका तथ्यहरू छन्। किन र कस्ता महिलाहरू आफ्नै गर्भको बच्चालाई मार्न तयार हुन्छन् (छोराको चाहनामा, घरपरिवारलाई खुसी बनाउन वा विवाह गरेको घरमा आफ्नो स्थिति बलियो बनाउन) भन्ने प्रश्न आफैंमा महत्वपूर्ण छ।
महिलावादी आन्दोलनमा महिलाको कर्तामय भूमिकाको महत्वको बारेमा अमत्र्य सेनले आफ्नो किताब आर्गुमेन्टेटिभ इन्डियन्स, २००५ मा वर्णन गरेका छन्। तर कैयौं नारीवादी लेखकहरूले महिलाको कर्तामय भूमिका सधैं पितृसत्तालाई चुनौती दिने खालको मात्रै हुँदैन।
बरु कतिपय अवस्थामा यही संरचनालाई नै सघाउने खालको पनि हुन्छ भनी गर्भ पहिचान गरी छोरी भए गर्भपतन गराउने महिलाहरूको नकारात्मक कर्तामय भूमिकाको बारेमा उल्लेख गरेका थिए।
किन सबैलाई छोरा नै चाहिएको छ त? पहिलाको जस्तो धेरै बच्चा अबको जमानाको न चरीत्र हो न रहर नै। किनकि कृषिप्रधान समाजमा धेरै बच्चा पाउनु रहर होइन, आवश्यकता हुन्छ।
खेती किसानीको लागि उनीहरूको श्रम। तर जग्गा जमिनहरू क्रमशः बाँझो हुँदै गइरहेका अहिलेको समाजमा खेती–किसानीको लागि धेरै बच्चा पाउनुपर्दैन । बच्चा जन्मिन नै कम हुँदै गएको पनि ४०/४५ वर्ष हुन लागिसक्यो ।
४० वर्ष अगाडि एउटी महिलाले सरदर ५ बच्चा जन्माउँथिन् भने अहिले आएर त्यो संख्या दुईवटा र शहरमा त एउटा बच्चामा सीमित हुन थालिसक्यो। यसको एक प्रमुख कारण बच्चा हुर्काउन जति पैसा भए पनि नपुग्ने हुँदैछ, दिनानुदिन। स्कुलको फी लगायत अन्य खर्चले निम्न र मध्यम वर्गका परिवारलाई नराम्रोसँग गाँजेको छ।
तैपनि बच्चामाथि खर्च गर्न बाबुआमा करले होइन, रहरले नै तयार छन्। आफूले पूरा गर्न नसकेको सपना छोराछोरीबाट पूरा हुन्छ कि भन्ने आशले। उदाहरणको लागि ज्याला मजदूरी गर्ने बाबुआमालाई बोर्डिङमा पढायो भने त मेरो सन्तान डाक्टर, इन्जिनियर बन्न सक्छन् कि भन्ने आश छ ।
लोकतन्त्रले सबैलाई ठूलो सपना देख्ने बनाइदिएको छ। त्यसैले धेरै बच्चा पाउने त कुरै भएन। थोरै पाउने तर एउटा छोरा त नभई हुँदैन। यो आम बुझाइ हो। छोरा नजन्माउने वा जन्माउन नसक्ने महिला पूर्ण महिलामा गनिंदैनन् भने छोरा नभएको परिवारलाई पनि पूर्ण मानिंदैन।
छोरी बारेको सामाजिक बुझाइ र भनाइ मेरो आफ्नै जीवनमा पनि प्रतिबिम्बित हुन्छ। चाहे त्यो नातेदारहरूको समूह होस् वा छरछिमेकी, कार्यालयका साथीहरू हुन् वा अनुसन्धानका क्रममा विभिन्न गाउँमा भेटिएका महिला दिदीबहिनी हुन्, मेरो विषयमा प्रायःको जिज्ञासा, अझ भनुँ चिन्ता भनेको, ‘एउटै सन्तान, त्यसमाथि पनि छोरी!’
मेरो एउटै छोरी छ । पुरानै जमानाको भए पनि छोरी मात्रैले पुग्दैन, एउटा छोरा त हुनैपर्छ भन्ने सोचाइ कहिल्यै पनि आएन । नआउनु अचम्म पनि हो किनकि हामीले बाँचेको समाजमा जताततै छोराको चर्चा सुनिन्थ्यो। दुइटा वा तीन सन्तान, त्यसमा पनि एउटा छोरा अनिवार्य। छोरा भएन भने छोरीहरू जति नै भए पनि परिवार पूर्ण भएको अनुभूति न बाबुआमालाई नै हुने, न समाजलाई नै।
त्यसैले हामीलाई एउटै बच्चाले पुग्यो, त्यसमा पनि एउटै छोरी भन्ने कुरा समाजलाई पत्याउनै गाह्रो। छोरा नभएपछि भन्ने कुरा नै यही हो भन्ने सामाजिक बुझाइ। विचराहरू के गरुन्, भन्नेसम्मका मायाले युक्त भनाइ। छोरीको मात्र आमा भएकोले मलाई ‘विचरी’ भन्नेको संख्यामा कमि थिएन। एउटा उदाहरण यहाँ राख्न चाहन्छु।
म अनुसन्धानको सिलसिलामा एउटा गाउँमा गएकी थिएँ । क्याम्पसमा पढाउने, कमाउने, साथै घरधन्दालाई अरूको जिम्मा लगाएर आफ्नो रोजेको काममा लाग्न सक्ने क्षमता भएकी महिला भएकोले अरू महिलाहरूलाई म उनीहरूको पहुँच भन्दा माथिको लाग्थ्यो । न पढेका छन्, न सम्पत्ति नै आफ्नो नाममा छ, न कमाउने दरिलो आधार छ ।
घरधन्दा र बस्तुभाउले जीवन ढपक्कै ढाकेको छ, एकछिन पनि फुर्सद छैन, त्यस्ता महिलाहरूसँग कुराकानी गर्नुपर्ने। मेरो आर्थिक र सामाजिक हैसियतले गर्दाखेरी उनीहरू आफूलाई ‘विचरा’ मान्न बाध्य थिए । त्यसैले एउटा महिलावादी अनुसन्धानकर्ताको हिसाबले मैले जतिसुकै उनीहरू जस्तै बन्ने र उनीहरूले भोगेका कुरालाई सही रूपमा बाहिर ल्याउने प्रयास गरे पनि उनीहरू जस्तै बन्न सकिरहेको थिइनँ ।
जोडी मिलर र वेरी ग्यासरले आफ्नो लेख “द ‘इन्साइड’ एण्ड द ‘आउटसाइड’ः फाइन्डिङ रियालिटिज् इन इन्टरभ्यूज, २०१२” भने जस्तै मलाई पनि इन्साइडर र आउटसाइडरको दूरी मेटाउन गाह्रो थियो।
कुराकानीको क्रममा कति जना बच्चा भन्ने कुरा निस्कियो । जब मेरो एउटै सन्तान, त्यसमाथि पनि ‘छोरी’ भन्ने थाहा पाए, उनीहरूको मप्रतिको दृष्टिकोण नै बदलियो । अकस्मात् म ‘विचरी’ बन्न पुगें। उनीहरू मप्रति दयाभाव देखाउन थाले।
एकजनाको भनाइ सान्दर्भिक छ, ‘मनमा पीडा त कति होला, सासूको बुहार्तन कति खप्न पर्यो होला, श्रीमान्ले अर्की बिहे गरेर ल्याउने डर त मनबाट किन जान्थ्यो, के गर्नु दैवले ठगेपछि, जतिसुकै धन सम्पत्ति भए पनि सन्तान नै नभएपछि, भनौं न छोरा नभएपछि के गर्नु, पीडा त कति होला मनमा, हामी जस्तो जसलाई पनि भन्दै हिंड्ने होइन !’
अर्कीले मतर्फ हेर्दै थपिन्, ‘आफू त पैसा र पढाइ नभए तापनि तीन तीन जना छोराकी आमा हुँ, त्योभन्दा ठूलो धनसम्पत्ति के चाहियो, दैवले कति ठगेको यो दिदीलाई, एउटै मात्र सन्तान भए पनि छोरा भए त शिर त अलि ठाडो हुन्थ्यो, के गर्नु !’
सारमा उनीहरूको विचारमा म उनीहरू भन्दा पनि दुःखी र विचरी भएकीले मसँग लुकाउनुपर्ने कुरा नै बाँकी रहेन । यसले मलाई उनीहरूको जीवनको बारेको सही सूचना बटुल्न धेरै मद्दत गर्यो । साथै छोराको महत्व, जुन पुरुषमुखी समाजको एक बलियो चरित्र हो, यसको जरा कति गहिरो छ भनी आफ्नै जीवनमा अनुभव गर्ने थप मौका पनि दियो।
त्यसैले पितृसत्ताको जरा कमजोर नहुन्जेलसम्म छोरीको गर्भमै हत्या हुन रोकिंदैन। आर्थिक, सामाजिक परिस्थितिको कारण एउटै मात्र बच्चा पाउनुपर्ने अवस्थामा त छोरी जन्मिने सम्भावना झन् कम हुन्छ वा छोरी नै जन्मिंदैनन्।
लोकतन्त्रमा छानीछानी मान्छे मार्ने छुट कसैलाई पनि छैन वा हुनुहुँदैन। छोरीको गर्भमा नै हत्या गर्नु विभेदको पराकाष्ठा हो। गर्भमा बच्चा मार्ने वा मार्न बाध्य बनाउने समाजले न महिलालाई बराबरको हैसियत भएका व्यक्तिको रूपमा आत्मसात् गर्न सक्छ। न त जनजातिलाई नै आफ्नो बराबरीमा राख्न सक्छ। दलितको त कुरै छोडौं
अबको बाटो
पहिलो र महत्वपूर्ण कुरा त राजनीतिक दलहरूको प्रतिबद्धता र प्रयास हुनुपर्यो लिङ्ग पहिचान गरी गर्भपतन गर्न–गराउन रोक्न। त्यसको लागि दलका नेता–कार्यकर्ताहरूको आफ्नै सोचाइमा परिवर्तन हुन पर्यो किनकि उनीहरू पनि यही समाजकै एक भाग हुन्।
छोरा उनीहरूलाई पनि चाहिएकै छ भने नियम–कानुन एकातिर, व्यवहार अर्कोतिर हुन जान्छ। प्रयासको थालनी सबैतिरबाट र खासगरी वडास्तरमै हुनु जरूरी छ।
स्थानीय तहको राजनीति र स्वयंसेविकाहरूको जनचेतना जगाउने काममा ठूलो भूमिका रहेको कुरा अरू ठाउँको अनुसन्धानले पनि बताउँछ। स्कुल, कलेज लैंगिक चेतना जगाउने एक प्रमुख थलो हो। हुर्कंदै बढ्दै गरेका केटाकेटीहरू बीचमा छोरीको गर्भमा नै हत्या गर्ने बढ्दो चलनको बारेमा छलफल चलाउन सकियो भने पनि यो लैंगिक विभेद हो र यसलाई रोक्न जरूरी छ भन्ने मानसिकताको विकास सुरुदेखि नै उनीहरूमा हुन जान्छ।
महिलाको शिक्षा र रोजगारीको महत्व पनि कम छैन, यसको रोकथामको लागि। महिला शिक्षित हुँदा जन्मेको छोरीको बाँच्ने सम्भावना बढी भएको तथ्य अमत्र्य सेनले भारतको एक राज्य केरलाको उदाहरण दिएर आफ्नो किताबमा लेखेका छन्।
तर शिक्षित महिलाहरूले झन् कानुन छलेर गर्भपतन गराएको उदाहरणहरू दिंदै गीता अर्भामुडानले आफ्नो किताबमा भरपर्दो कमाउने आधार वा रोजगारी सुनिश्चित भएका महिलाहरूले लिंगको आधारमा गर्भपतन गराएको एकदमै कम देखिएको तर्क अगाडि सारेकी छिन्। त्यसैले महिला शिक्षा र भरपर्दो रोजगारी यो समस्यालाई कम गर्न सहायक हुने देखिन्छ।
महिलावादीहरूको भूमिका बारे कुरा गर्दा गर्भमै छोरीको हत्याको बढ्दो चलन बारे महिलावादीहरूबीच गहन र निरन्तर बहस र रोकथामको लागि साझा वकालतको खाँचो छ । किनकि यो एकथरीको मात्रै समस्या होइन। यहाँ मूलधारे र सीमान्तकृत बीचको कित्ता पनि छैन। उच्च जातमा मात्रै छोराको चाहनाले छोरीको गर्भमै हत्या हुन्छ भनूँ भने दलित र जनजातिमा पनि यो प्रवृत्ति देखिन्छ।
त्यसरी नै धनी, गरिब, तराई, पहाड सबै क्षेत्रमा यो व्याप्त बन्दैछ । त्यसैले यो आम महिलावादी सवाल हो, कुनै विशिष्ट जात, वर्ग वा समुदायको समस्या होइन। जसको सवाल, उसकै पहल भनेर पन्छिन मिल्ने। जब महिलावादी सवाल आम हुन्छ, सबैको जीवनलाई छुने खालको हुन्छ, त्यो बेलामा सबै किसिमका महिलावादीहरू एकै ठाउँमा उभिनुको विकल्प छैन।
किनकि जन्मिएका महिलाहरूको जीवन सहज बनाउन र लैंगिक समतामूलक समाजको निर्माणमा जीवन नै खर्चेका र खर्चिन चाहनेको लागि महिलालाई जन्मिनबाट नै रोक्ने अर्थात् गर्भ पहिचान गरी छोरी भए गर्भपतन गराउने वा गर्ने कुरा सामान्य हुँदै होइन वा हुनुहुँदैन।
यो विषयमा मौन बस्नु वा मौका हेरेर बोलुँला भन्नु वा मैले वा हामीले त ठूलाठूला महिलावादी एजेन्डामा काम गर्नुछ वा गरिरहेका छौं, जे कुरामा पनि हात हाल्न सकिंदैन भन्नु समयलाई चिन्न नसक्नु हो।
महिलाले जन्मनै पाएनन् भने जन्मँदापछिको गरिने काम वा वकालतले त्यति महत्व राख्दैन। छोरीलाई जन्मिनै नदिने समाजबाट अरू के आश गर्न सकिन्छ? त्यसैले सबै एकै ठाउँमा उभिऊँ। जसले जे गर्न सक्छन्, गरौं । लिंग पहिचान गरी गरिने गर्भपतनको विरोधमा लागौं।
तर आजको महिलावादी क्रियाकलाप र आन्दोलनको प्रकृतिलाई हेर्दा एकैठाउँमा उभिनु गाह्रो छ। सबैथरी आ–आफ्नो एजेन्डा लिएर दौडिरहेका छन् । आफ्नो एजेन्डा नै सबैभन्दा महत्वपूर्ण हो र मानिनु पनि पर्छ भन्ने मानसिकता पनि बढ्दो छ।
आफूले बोकेको एजेन्डा बाहेक अरू विषयमा चासो राख्ने र बोल्ने क्रमशः कम हुँदैछ, चाहे जतिसुकै महत्वपूर्ण नारीवादी सवाल भए पनि। यसको एक उदाहरण बलात्कार सम्बन्धी विषय पनि हो।
पल शाह र सन्दीप लामिछानेसँग सम्बन्धित बलात्कारको घटनामा पुराना अर्थात् पहिलो, दोस्रो जेनरेसनका महिलावादीहरू विभाजित हुनु, कैयौंले मौन बस्नुमा नै आफ्नो भलाइ देख्नु वा छानी–छानी केमा बोल्ने, केमा नबोल्ने भनी तर्क अगाडि सार्नु इत्यादि ।
यसले एकातिर युवा पुस्ता जो बलात्कार जस्तो जघन्य अपराधको विरोधमा सामूहिक महिलावादी प्रतिबद्धता आउनेमा ढुक्क देखिन्थे, उनीहरूको आश टुटेको देखिन्थ्यो । उनीहरू निरास देखिन्थे । आक्रोसित पनि थिए र छँदैछन् । र कैयौंमा महिलावादी आन्दोलनलाई नयाँ रूपमा अगाडि लिएर जाने क्षमता पनि देखिन्छ ।
यो विभाजनले सामूहिक आन्दोलनलाई घाटा पुर्याउने त छँदैछ; तर फेरि पनि नयाँ, पुराना सबै एकै ठाउँमा उभिएर महिलाको जन्मिन पाउने अधिकारलाई सुरक्षित राख्नुको विकल्प छैन ।