युवा पलायनबारे समाजमा अनावश्यक भय, डर र चिन्ता फैलाउनेभन्दा त्यसले द्रुत गतिमा समाज परिवर्तन हुनेमा हामी तयार हुनुपर्छ । यस्तो खालको परिवर्तन सामाजिक, सांस्कृतिक, आर्थिक, प्राविधिक, वैचारिक इत्यादि हुन्छ । बरु, यी आउने परिवर्तनबीच हामीले कामप्रतिको हाम्रो व्यक्तिगत र सामाजिक हेराइ एवं बुझाइमा परिवर्तन गर्नैपर्छ । यस अर्थमा मैले यहाँ राख्न खोजेको मुख्य विषय युवाको पलायनले चिन्तित प्रबुद्ध एवं बौद्धिक वर्ग र भविष्य निर्माणका निम्ति विदेशिने युवा जमातबीचको असामञ्जस्यता र विरोधाभासबारे हो।

‘राम्रो पढ्नु, नाम कमाउनु, डाक्टर हुनु, इन्जिनियर बन्नु’, आफूभन्दा ठूलाले आशीर्वाद दिइराख्ने भाष्य हुन् । अझ ‘इमानी हुनु, बाबुआमाको इज्जत राख्नु, बेइमानी नगर्नु, नढाँट्नु, नचोर्नु’ जस्ता नैतिक शिक्षाको ओइरो त लागि नै रहन्छ । तर, यति धेरै नैतिक शिक्षाको बावजुद पनि नेपाल संसारको भ्रष्ट देशमध्ये एक हो भनेर ट्रान्सपरेन्सी इन्टरनेसनललगायत अन्तर्राष्ट्रिय संस्थाको प्रतिवेदनमा दर्ज हुनु आफैंमा दुःखको कुरा हो । कुनै पनि कामको इज्जत र त्यसलाई व्यावसायिक एवं जिम्मेवारीपूर्ण तरिकाले निर्वाह गर्नुपर्छ भन्ने कुरा ठूलाबडाको आशीर्वादभित्र पर्न सकेको छैन ।

कामलाई वर्गीकरण गर्दै त्यसकै आधारमा कामदारलाई होच्याउने, हेप्ने, उसको सामाजिक र आर्थिक नापतौल गरी इज्जत र प्रतिष्ठाप्रति बारम्बार धावा बोल्ने प्रवृत्ति खासै कम भएको छैन । अर्काको जुठो उठाउने भनेर रेस्टुरेन्टमा काम गर्नेहरूलाई ‘ओ भाइ’, ‘ओ बहिनी’ भनेर होच्याएर बोलाउने मात्र होइन, कुनै बेला त ‘ओ फुच्चे यता आइज’ भनेर अपमान गर्ने हाम्रो बानी अझै हराएको छैन । भलै, तारे होटलमा अलिक सजग हुन खोज्ने प्रवृत्तिले भने कामदारलाई अपमान गर्ने र होच्याउने बानी केही कम भएको कि ! निर्माण क्षेत्रमा दैनिक मजदुरी गर्नेलाई पनि समाजले खासै सम्मान गर्दैन ।

हामी कृषि प्रधान देश भन्छौं तर खेतबारीमा काम गर्न या गर्नेलाई ‘दुःखको’ दृष्टिले हेर्छौं । त्यसैले होला सेनामा नगई समायोजन प्याकेज लिएर नागरिक जीवन बिताउने निर्णय गरेका धेरैजसो माओवादी लडाकुले व्यावसायिक खेती र पशुपालनसम्बन्धी तालिम लिन अस्वीकार या हिच्किचाहट गरेका थिए । केही लडाकुले पछि व्यावसायिक खेती र पशुपालन गरेका उदाहरण पनि छन् । उनीहरूको भनाइ के थियो भने ‘त्यही खेतीपातीबाट छुटकारा पाउनका लागि क्रान्ति गरेको, फेरि कसरी त्यही काममा फर्किनु, इज्जत इमानले दिँदैन ।’ अर्थात्, उनीहरूको भनाइ र रोजाइ समाजले वर्गीकृत, परिभाषित र परिष्कृत अनि ‘सम्मान’ गरेको कामका आधारमा थियो, जसभित्र कृषि कर्म परेन ।

यात्रु र ट्याक्सी चालकबीचको संवाद विरलै सम्मानपूर्वक हुन्छ । किनकि धेरैजसो यात्रु अनि ट्राफिक प्रहरीले उनीहरूलाई सेवा प्रदायक रूपमा भन्दा ‘ओ ट्याक्सी’ या ‘ओए’ भनी हेपाहा र अपमानजनक सम्बोधन गर्ने प्रवृत्ति छ । केही महिनाअघि कालीमाटीबाट ट्याक्सी चढ्दा ती चालकले छोराले ‘आफ्नो जस्तो हेपिने’ कामबाहेक जे गरे पनि खुसी हुने कुरा सुनाए, जुन आफैंमा मार्मिक थियो । अनुभव सुनाउने क्रममा ती चालकले आफूलाई ट्राफिक प्रहरीदेखि अधिकांश यात्रुले ‘मान्छे’ नै नगन्ने गरेको र विगत १० वर्षमा ‘साहुको’ नभई आफ्नै ट्याक्सी चलाउँदा पनि आफ्नो नाम नै ‘ट्याक्सी’ मा परिणत भएको दुखेसो पोखे । त्यसैले होला, अधिकांश ट्याक्सी चालक यात्रुहरूसँग सामान्यतया अलि रूखो भाषामा प्रस्तुत हुने गर्छन् ।

व्यक्ति र समाजले कामको प्रकृति हेरी गर्ने व्यवहार र प्रवृत्तिले सम्मान र इज्जत हुँदैन । फलस्वरूप कामदारहरू समाजभित्र आफू पिँधमा परेको, थिचिएको र हेपिएको पाउँछन् । यसले आफ्नो कामप्रतिको तिरस्कार मात्रै होइन कि उसले समाजलाई द्वेषका साथ हेर्छ । आफ्नो कामप्रति तिरस्कृत हुन्छ र सकेसम्म कतै टाढा जाने चेष्टा गर्छ । बरु, भ्रष्टाचार, ठगी, ‘डनगिरी’ मार्फत अकुत सम्पत्ति कमाएकाहरू, अदालतले दोषी ठहर्‍याइ सजाय भोगेर बसेकाहरू चौडा छाती फुलाएर हिँड्दा पनि सामाजिक रूपमा उनीहरूको काम र प्रवृत्ति बहिष्कृत हुँदैन । अर्थात्, समाजले उनीहरूको जीवनशैलीको निरन्तर प्रशंसा नै गरिरहेको हुन्छ ।

वैदेशिक रोजगारमा जाने अधिकांशले गर्ने काम भनेको सेवाग्राही क्षेत्र जस्तै– होटल, रेस्टुरेन्ट, फ्याक्ट्री, निर्माण नै हो । यी काम समाजले तिरस्कृत र वितृष्णाका साथ हेरेको अनि इज्जत नदिएकोमध्येका हुन् । यस्ता काम गर्दा वैदेशिक रोजगारमा जानेहरूले इज्जत र सम्मान पाउँछन् भन्ने मेरो तर्क कदापि होइन । परिवारबाट टाढा रहनुको पीडा, इष्टमित्र, छरछिमेकको दुःखसुखमा साथ दिन नपाउँदाको खिन्नताबारे वर्णन गरेर साध्य हुन्न ।

विदेशको परिवेशमा जतिसुकै मान सम्मान र इज्जत पाए पनि ती पीडा कम हुन्न । पीडाको बाबजुद संकीर्ण समाज, आफन्त र राज्यको निरन्तर हेपाइ, अपहेलना र अपमानबाट टाढा रहेर उनीहरू काम गर्छन् भन्ने मात्र हो । राजनीतिक शक्ति अनि पहुँच नहुने र सीमित आर्थिक अवस्था भएको जनसंख्याका लागि परिवारमा केही उन्नति र परिवर्तन ल्याउन वैदेशिक रोजगार एकमात्र विकल्प हो भन्ने आभास हुन्छ । त्यसका अतिरिक्त सामान्यतया समाज र अधिकांश परिवार आफ्नो मान्छे वैदेशिक रोजगार या अन्य प्रयोजनमा विदेश रहेकामा खुसी र गर्व गर्ने चलन छ । खुसी र गर्व आर्थिक कारण मात्र नभएर सामाजिक प्रतिष्ठासँग पनि जोडिन्छ ।

विदेश जानु र यसलाई सामाजिक प्रतिष्ठासँग जोड्ने चलन कुलीन र पहुँचवाला परिवारबाट नै स्थापित भएको हो । भलै, ती परिवारका सदस्य ‘तिरष्कृत’ कामका लागि विदेश नगएका होलान् । खाटी कुरा भनेको युवाहरूको विदेश पलायनबारे राजनीतिक दलहरूको बयानबाजी र चिन्तित बौद्धिक वर्गको अभिव्यक्ति त अचम्मलाग्दो छ । अथवा, युवालाई रोजगारी सिर्जना गरेर स्वदेशमै बस्ने र काम गर्ने वातावरण बनाउनुपर्छ भन्नु नीति तथा चाहनासँग अमिल्दो र ठीक उल्टो छ ।

राज्यले रोजगारको गन्तव्य भनेर विभिन्न देशसँग श्रम सम्झौता गर्न छाडेको छैन, जसलाई सञ्चारमाध्यमले सार्वजनिक चासोको विषय भनी प्राथमिकतासाथ प्रकाशन/प्रसारण गर्छन् । ऐतिहासिक रूपमा पनि बेलायत र भारतमा सैनिक सेवाका निम्ति आफ्ना कलिला नौजवान त्यो पनि कुनै खास जातजाति र लिंगलाई निरन्तर जान दिइरहेको सबैलाई थाहा भएकै विषय हो । विदेश जानु राष्ट्रप्रतिको माया नहुनु भन्ने देशको राजनीतिक परिदृश्यभित्र जबर्जस्त घुसेको राष्ट्रियताभित्रको एक पुरानो वक्तव्यबाजी मात्रै हो । विदेशमा अवसर खोज्न जाने युवालाई ‘पलायन’ का रूपमा हेर्नु भनेको उनीहरूलाई आत्मग्लानिको आभास गराउनु र बाँच्ने तथा भविष्य सुनिश्चित गर्ने अधिकारमाथि अनावश्यक धावा बोल्नु हो । यस्ता अभिव्यक्ति र भाष्यलाई सच्याउनैपर्छ ।

– नाल्बो दी ओपन इन्स्टिच्युट फर सोसल साइन्सका सहसंस्थापक एवं असिस्टेन्ट प्रोफेसर हुन् ।

कान्तिपुरबाट।