प्रधानमन्त्री महोदय, सुरुमै स्पष्ट गर्छु कि म तपाईंको भक्त होइन, आलोचक हो । तपाईंलाई के लाग्छ थाहा छैन, मलाईचाहिँ लाग्छ, आलोचक हुनु निकै सुन्दर कुरा हो । किनभने आलोचना लोकतन्त्रको गहना हो । प्रश्न, आलोचना र प्रतिस्पर्धा हुन्छ र नै लोकतन्त्र गतिशील हुन्छ । तर आसेपासे, भक्त र सेवकहरूले घेरिएको तपाईंलाई आलोचकहरू देख्दा कतै झोक पो चल्छ कि ?

याद गर्नुहोस् महोदय, भक्तहरू शत्रुभन्दा (यहाँ आलोचना र शत्रुता फरक कुरा हो) खतरनाक हुन्छन् । किनभने शत्रुले सिधा आक्रमण गर्छन् । शत्रुसँग लड्न सकिन्छ र परास्त गर्न सकिन्छ । तर भक्तले थाहै नपाई तपाईंको नैतिकता, इमान, इच्छाशक्ति र मर्यादालाई सिध्याउँछन् । त्यसैले प्रारम्भमै ध्यानाकृष्ट गर्छु– ‘प्रधानमन्त्री महोदय, कृपया भक्तहरू नबनाउनुहोस् र भगवान् बन्ने कोसिस त्याग्नुहोस् । हामीलाई भक्तहरूले घेरिएको पालनहार हैन, जनताको बीचमा बस्ने एक असल नेता चाहिएको छ ।’

GBR MABI - 444

अब थोरै तपाईंको अघिल्लो कार्यकालको सम्झनाबाट कुरा अगाडि बढाउँछु । जब, नेकपाको शक्तिशाली अध्यक्षका रूपमा तपाईंको सत्तारोहण भयो, तपाईंका अगाडि अथाह सम्भावनाहरू थिए । पार्टीका रूपमा तपाईंसँग बलियो र एकीकृत नेकपा थियो । ताजा जनमत थियो । दुई तिहाइको समर्थन थियो । तपाईंका विरोधीहरू रक्षात्मक थिए र समर्थकहरूमा अति उत्साह थियो । त्यो बेला, मलाई लागेको थियो कि तपाईंले आफ्नो ऐतिहासिक दायित्वलाई बुझ्नुहुनेछ र विनम्रताका साथ आफ्नो औचित्य पुष्टि गर्नुहुनेछ ।

तर अपेक्षाभन्दा फरक तपाईंले आफ्नो उदयलाई दैवी अवतारका रूपमा लिनुभयो । मानौं एक तिलस्मी चमत्कार । एकीकृत कम्युनिस्ट पार्टी बन्नु, चुनाव जित्नु र तपाईं प्रधानमन्त्री हुनु एक लोकतान्त्रिक प्रक्रिया हो भन्ने तपाईंले ठान्नु भएन । सायद तपाईंलाई लाग्यो, त्यो सबै चमत्कारको केन्द्रमा ‘तपाईं र मात्र तपाईं’ हुनुहुन्छ । तपाईंमा उदारता, जिम्मेवारी बोध र गम्भीरता कम र फुर्तीफार्ती धेरै देखापर्‍यो । तपाईंले भुइँ छोड्नुभयो । तपाईं मैमत्त बन्नुभयो । जे बोले पनि हुने, जे गरे पनि हुने । सेवकहरूले जब तपाईंलाई राजनेता घोषणा गरेर मनमनै राज्याभिषेक गरे, तपाईं आत्ममुग्ध हुनुभयो । आफ्नो स्तुतिगान सुनेर मुस्कुराउँदै दरबारको दाहिने बुर्जामा उभिएर तपाईंले घोषणा गर्नुभयो– ‘म नै सरकार हुँ । म नै पार्टी हुँ ।’ सडकमा तपाईंको फोटो । पत्रिकामा तपाईंको फोटो । बिजुलीका पोलमा तपाईंको फोटो ।

आफ्ना ख्वामितको दिव्य मुहार देखेर तपाईंका सेवकहरू गद्गद् भए र नारा लगाए– ‘राजनेता कि जय हो ।’ त्यही जयजयकारले मदहोस तपाईंले व्यङ्ग्यरसमा भन्नुभयो– ‘दुःखी मान्छेहरू अब तिम्रा दुःखका दिन गए । म नै तिम्रो पालनहार हुँ । म नै तिम्रो बा हुँ । म अलौकिक छु । यो पृथ्वीलोकमा म जति योग्य र अनुपम कोही छैन ।’ जब सामूहिकतालाई छोडेर तपाईं उटपट्यांग गर्दै एक्लै हिँड्न थाल्नुभयो तब हिजो सँगै लोकतन्त्रका लागि लडेकाहरू अलमलमा परे, किसान, मजदुरहरू अलमलमा परे, दलित, जनजातिहरू अलमलमा परे, महिलाहरू अलमलमा परे, नागरिक समाज अलमलमा पर्‍यो । त्यो अलमललाई तपाईंले आफ्नो विरोध ठान्नुभयो । र, यसरी तपाईंले एक सफल नेता बन्ने अवसर गुमाउनुभयो ।

सायद तपाईंका भक्तजनले भने हुन्– ‘ख्वामित अगाडि बढ्नुहोस् । नाथे आलोचकहरू सबका सब तपाईंका शत्रु हुन् । शत्रुलाई परास्त गर्नुपर्छ ।’ उनीहरूले भने हुन्– ‘कमरेड राजनीति भनेको सत्ताको रजगज हो । तथ्यहरू माथिको जालसाजी हो । जनता निरीह प्राणी हुन् र राजनीति तिनीहरूको मन र मस्तिष्कमाथिको नियन्त्रण हो ।’ तपाईंलाई लाग्यो होला– ‘आफूले बनाएका सत्ताका सीमाहरूलाई सुरक्षित गर्नु राजनीतिको धर्म हो ।’ त्यसपछि, दुःखको कुरा यो छ कि लोकतान्त्रिक आन्दोलनबाट उठेको तपाईं स्वयं भित्रबाट सर्वसत्तावाद देखिन थाल्यो । संविधानको अर्थ हरायो । राज्य संरचनाहरूको अर्थ हरायो । अदालतको अर्थ हरायो । पार्टीको अर्थ हरायो । कार्यकर्ताको अर्थ हरायो । बिस्तारै तपाईंभित्र अहंकार बढ्दै गयो । पार्टीभित्र अहंकार, सहकर्मीहरूसँग अहंकार र प्रतिस्पर्धीहरूसँग अहंकार । सरकारमा अहंकार, व्यवस्थापिकामा अहंकार, संवैधानिक

परिषद्मा अहंकार । परिणाम, पार्टी फुट्यो । कम्युनिस्ट एकता समाप्त भयो । स्वयं अलौकिक बन्ने लोभमा तपाईंले हासिल गरेको लौकिक संसारको समर्थन माटोमा मिल्यो । अन्ततः भयो त्यही कि पटक पटक संसद् विघटन गरेर तपाईंले जे उल्कापात गर्नुभयो, त्यो त प्रतिगमनको बिम्ब पो बन्यो ।

प्रधानमन्त्री महोदय, तपाईंलाई लाग्ला, मेरो सत्ता गयो त गयो, तँ नाथेलाई के मतलब ? तर त्यो तपाईंको सत्ता र सरकार मात्र थिएन । त्यो हाम्रो समयको बर्बादी पनि थियो । विचार गर्नुहोस् त यसरी नै सत्ताको चाकाचुली खेलेर तपाईंहरूले हाम्रो जीवन र जवानीलाई कसरी सत्यानास गर्नुभयो ? लगातार अस्थिरता । लगातार अंकगणित । लगातार परिणामहीनता । यहाँनेर म तपाईंको नामसँग तपाईंका समकालीन सबै नेताहरूलाई जोड्न चाहन्छु । विचार गर्नुहोस् त तपाईंहरूको नेतृत्वमा बनेका पार्टी कस्ता छन् ? राजनीति कस्तो छ ? सरकार कस्तो छ ? परिणाम के आयो ? राजनीतिक नैतिकता दिनदिनै स्खलित हुँदैछ । राजनीतिमा सांस्कृतिक उन्नयन, उदारता, निष्ठा र सरलता छैन । लोकतन्त्र दलतन्त्र बन्यो । राज्य अंगमा दलालहरू हाबी भए । दलहरूले राजनीतिक, आर्थिक र सामाजिक परिवर्तनको एजेन्डालाई बिर्सिए । पार्टी कार्यालयहरू लोकतन्त्रका मन्दिर बन्नुपर्ने, नयाँ दरबार बन्न पुगे । राजनीति गतिशील भएन । राज्य नै भ्रष्टराज्य बन्यो । मेरो प्रश्न छ, प्रधानमन्त्री महोदय, के यी यावत् प्रश्नसँग भागेर तपाईं र तपाईंहरूको पुस्ताले धर पाउँछ ?

मेरो तपाईंलाई आरोप छ महोदय, तपाईं र तपाईंको पुस्तासँग समाजलाई नेतृत्व दिने, देशको सपनासँग एकाकार हुने, समयको संगीत सुन्ने र परिवर्तनका पाइलाहरू चाल्ने क्षमता र संकल्प छैन । तपाईंहरूका लागि राजनीति भनेको सत्तामा पुग्ने सूत्र र षड्यन्त्र मात्र हो । विगत आन्दोलन र इतिहासलाई न्याय गर्ने क्षमता तपाईंहरूमा छैन । सर्वत्र सत्यानास हुँदा पनि चेत नखुल्ने बोधो ज्ञानबाहेक तपाईंहरूसँग छ भने फगत आफ्नै इतिहासको भ्रम मात्र बाँकी छ । अन्यथा, तपाईंहरूसँग क्षमता, उत्तरदायित्व र जिम्मेवारीबोध छैन । हुने भए व्यवस्थासँगै राजनीति बदलिने थियो । अनेक रङ र रूपमा उही पुरानै पात्र र प्रवृत्तिको पुनरावृत्ति भइरहने थिएन । मेरा आरोपहरूलाई मिथ्या सिद्ध गर्नुहोस्, मेरो चुनौती भयो ।

प्रधानमन्त्री महोदय, अझै भन्छु तपाईंहरूले राजनीति गर्नुभएन, राजनीतिका नाममा नागरिकका सपनामाथि खेलबाड गर्नुभयो । एक राजनीतिज्ञले राजनीति नगर्नु र त्योबाहेक सबैथोक गर्नुको अर्थ के हुन्छ ? राजनीति दलाली बन्छ । मुद्दाहरू बर्गेलिन्छन् । व्यवस्थाले परिणाम दिँदैन । नेताहरू भ्रष्ट बन्छन् । जवाफदेहिता सकिन्छ । के अहिले यही भइरहेको छैन ? विचार गर्नुहोस् त यावत् संकटहरू हुर्कंदै गर्दा देशको नेतृत्वमा को थियो ? तपाईंहरू नै हैन जो बितेका ३५ वर्षदेखि हरदम सत्तामा हुनुहुन्छ ? मलाई लाग्छ, एउटा मान्छे कतिपटक प्रधानमन्त्री भयो, त्यसले उसको सफलता नापिँदैन । भोका मान्छेहरूको सपनामाथि ठडिएको अग्लो टावरले विकासको ओज बढाउँदैन । गरिबको आँसु नपुछी मन्दिरमा राखिने सुनको जलहारीले राजनीतिको औचित्य पुष्टि हुँदैन । विचार गर्नुहोस् महोदय, नागरिक के चाहन्छन् र तपाईंहरू के गरिरहनुभएको छ ?

अवश्य नै अहिले तपार्इंले पुनः सत्ता प्राप्त गर्नुभएको छ । तर तपाईंलाई बोध हुनुपर्छ कि यो नेपाली राजनीतिको कुनै गम्भीर र उल्लेख्य परिघटना होइन । न त यो ताजा जनादेश हो, न त यसले तपाईंका आलोचनाहरू सकिएको पुष्टि हुन्छ । अहिले तपाईंलाई जे प्राप्त भएको छ यो त फगत अंकको फेरबदल मात्र हो । जगजाहेर छ, ‘सेटिङ’ मा हुने सत्तारोहणले न त राजनीतिक सफलता पुष्टि हुन्छ, न त तपाईंको लोकप्रियता नापिन्छ । यद्यापि, यो सत्य हो कि तपाईं फेरि सत्तामा हुनुहुन्छ । भन्नुहोस् त महोदय, यो पटक बालुवाटार सरेको पहिलो रात तपाईंले के सपना देख्नुभयो ? याद गर्नुहोला, तपाईंलाई फेरि एकपटक आफ्नो विगत सम्झने अवसर मिलेको छ । फेरि आफ्ना कमजोरीहरू सुधार्ने अवसर मिलेको छ । र, फेरि गरेर देखाउने समय आएको छ । बालुवाटार र सिंहदरबारमा बसेर कृपया इतिहाससँग खेलबाड नगर्नुहोला । किनभने, इतिहासले बारम्बार कसैलाई पनि मौका दिने छैन ।

प्रधानमन्त्री महोदय, हुनलाई तपाईंसँग सल्लाहकारहरूको ठूलै वेतनधारी समूह छ । यद्यपि, तीनवटा थप सल्लाह दिन चाहन्छु । तपाईंलाई जगजाहेर छ कि संसारका सबै देश सबै कुरामा एकैपटक सफल भएका होइनन् । अहिले पनि कतिपय देशहरू खास विषयमा मात्र सफल छन् । कोही कृषिमा सफल छन् । केही पर्यटनमा । केही उद्योग, व्यापारमा । कोही सामाजिक न्यायमा । कोही स्वास्थ्यमा । कोही शिक्षामा । कोही सुशासनमा । अथवा, कोही ‘हार्ड’ पावरमा, कोही ‘सफ्ट’ पावरमा । यो अर्थमा मेरो प्रश्न छ, प्रधानमन्त्रीका रूपमा तपाईंको प्राथमिकता के हो ? सामाजिक न्याय हो ? पूर्वाधार हो ? कृषि हो ? उद्योग हो ? पर्यटन हो ? शिक्षा हो ? स्वास्थ्य हो ? सुशासन हो ? सार्वजनिक यातायात हो ? अब आफ्नो प्राथमिकता तय गर्नुहोस् ।

मानौं तपाईंले तत्कालका लागि तीनवटा प्राथमिकताहरू निर्धारण गर्नुभयो । ती प्राथमिकता पूरा गर्न चाहिने नीति, संरचना, जनशक्ति र स्रोत के हो ? गृहकार्य गर्नुहोस् । त्यसका लागि देश, विदेशमा काम गरिरहेका योग्यतम पचास वा सय जना नेपाली विषयविज्ञहरूलाई सिंहदरबार झिकाउनुहोस् । यो किन आवश्यक छ भने सिंहदरबारमा तपाईंको वरिपरि बस्ने र तपाईंको ढोकामा धाउनेहरूको क्षमताले यो देश बन्दैन । यो देशलाई ‘समाजमा मिस फिट’ राजनीतिक कार्यकर्ता हैन, अब्बल मान्छे चाहिएको छ । यो देश तपाईंका अगाडि नतमस्तक बनेर उभिने हनुमान जस्ता सचिवहरूको क्षमताले बन्दैन ।

ख्याल राख्नुहोस्, क्षमता नहुनेहरूले तपाईंलाई चाकरीमात्र गर्दछन्, परिणाम दिँदैनन् । मेरो सल्लाह छ कि, विज्ञहरूसँग बसेर निश्चित समयभित्र आफ्ना प्राथमिकताहरू कार्यान्वयन गर्ने रणनीति बनाउनुहोस् । विषयगत मन्त्रालयलाई काम दिनुहोस् । व्यवस्थापिकालाई काम दिनुहोस् । कानुनी तथा नीतिगत प्रबन्धहरू मिलाउनुहोस् । नीति तथा कार्यक्रम र बजेट त्यसैमा ‘फोकस’ गर्नुहोस् । अनावश्यक भेटघाट बन्द गर्नुहोस् । उद्घाटन र भाषण बन्द गर्नुहोस् । सिंहदरबारलाई गति दिनुहोस् । अनुगमनलाई प्रभावकारी बनाउनुहोस् । सुन्न पाइयोस् कि ओलीलाई केही गर्ने भूत चढेको छ । यो सबै गरिरहँदा तपाईं आसेपासे, दलाल र बिचौलियाबाट बच्नुहोस् । स्तुतिगान हैन, आलोचना रप्रश्नहरू सुन्नुहोस् । आफ्नो सचिवालयलाई देशकै अब्बल, क्षमतावान र इमानदार मान्छेले भर्नुहोस् । यस्तो होस् कि तपाईंको अफिस हेरेर मान्छेहरू आशावादी बनुन् ।

प्रधानमन्त्री महोदय, मेरो अर्को सुझाव छ, कृपया सुशासनको प्रत्याभूति दिनुहोस् । मान्छेहरू ठान्दछन् तपाईंबाट यो सम्भव छैन । मेरो सल्लाह छ, तपाईंका आलोचकहरूलाई अचम्ममा पार्ने गरी सुशासनका काम सुरु गर्नुहोस्  । यसका लागि तीनवटा काम प्रस्ताव गर्छु, पहिलो मितव्ययिता, दोस्रो प्रभावकारिता, तेस्रो दण्ड सजायको प्रबन्ध । जस्तो कि सार्वजनिक खर्च पुनरावलोकन आयोगका अनुसार हाम्रा ६ वटा मन्त्रालय, तीन दर्जन आसपास महाशाखा, दर्जनौं विकास समिति र आयोगहरूलाई या त खारेज गर्न सकिन्छ या त मिलाउन । त्यसो गर्दा अहिले नै हजारौं कर्मचारीको खर्चबोझ कम हुन्छ । कृपया यसको प्रक्रिया थाल्नुहोस् । सरकारी साधनको दुरुपयोग अर्को बेथिति हो । रोक्न सकिन्छ । अहिले साप्ताहिक बिदा एक दिन दिइन्छ, दुई दिन गर्न सकिएला ।

त्यसो त मन्त्रिपरिषद्, संसद्, आयोग, समिति, सरकारी कार्यालयमा दिइने बैठक भत्ता रोक्दा नै अर्बौं जोगिन्छ । यहींनेर आर्थिक अनुशासनका साथै, योजना कार्यान्वयनमा पनि अनुशासन चाहिएको छ । जस्तो कि परियोजना सुरु हुन्छन्, पूरा हुँदैनन् । ठेकेदारले काम गर्दैन । ऋण लिएर सुरु गरिएका परियोजनामा ऋण बढ्दै छ तर परिणाम शून्य । के यस्तै हुन दिने ? देशमा सञ्चालन भइरहेका निश्चित अंक (मानौं ५० करोड) माथिका सम्पूर्ण परियोजनाहरूको स्थिति मूल्यांकन गरी, एक महिनाभित्र दोषीलाई कारबाही गर्ने अभियान थाल्नुहोस् । ढिलासुस्तीको उचित कारण छैन भने ठेक्का रद्द गराउनुहोस् । क्षतिपूर्ति भराउनुहोस् । कानुनी त्रुटि छन् भने सुधार गर्नुहोस् । यसैगरी विगतमा भएका चर्चित भ्रष्टाचारका काण्डहरूको फाइल खोल्नुहोस् । अहिलेसम्म राजकीय पदमा बसेकाहरूको सम्पत्ति छानबिन गर्न जिम्मेवार निकायलाई आदेश दिनुहोस् । सम्पत्ति जफत गर्नुहोस् । दोषीलाई सजाय दिनुहोस् । अख्तियार क्षमताहीन र लाचार भयो, लोकपाल बनाउनुहोस् ।

प्रधानमन्त्री महोदय, मेरो थप सुझाव छ, कृपया भुइँलाई न्याय गर्नुहोस् । जगजाहेर छ कि आज भुइँ गरिबी, असमानता र दिशाहीनतामा फसेको छ । एकातिर भ्रष्टाचार तीव्र छ, अर्कोतिर भुइँमान्छे जीविकाको धपेडीले गलेको छ । इकोनोमिक्स सर्भे (०२२/२३) का अनुसार नेपालमा अझै १५.१ प्रतिशत मान्छे गरिबीको रेखामुनि छन् । अर्थात् ४५ लाख मान्छेहरू अझै खाना, नाना र छानाको सकसमा छन् । हाम्रोमा लगभग १० लाख बालबालिका अझै निकृष्ट श्रम गर्दछन् । अझै ४० प्रतिशत नागरिकलाई स्वास्थ्य सेवा सर्वसुलभ छैन । वार्षिक दस लाखभन्दा धेरै मान्छे कामको खोजीमा भारत र अन्य देशमा जान्छन् । हाम्रा युवा भाडाको सिपाही बनेर मरिरहेका छन् । रुस, युक्रेन, इजरायल र गाजा त पछिल्ला उदाहरण मात्र हुन् । के तपाईं उनीहरूलाई न्याय गर्न सक्नुहुन्छ ?

कमरेड प्रधानमन्त्री, तपाईंलाई अवश्य नै थाहा छ कि आज भुइँ निराश छ । ऊ तपाईंसँग निराश छ । सिंहदरबारसँग निराश छ । लोकतान्त्रिक गणतन्त्रसँग निराश छ । उसलाई लाग्छ, उसको कोही छैन । त्यसैले देशमा सरकार छ भन्ने कुरा निर्धा नागरिकलाई अनुभूति गराउनुहोस् । चलनचल्तीका काम गरेर, नयाँ परिणाम आउँदैन महोदय, नयाँ सुरुवात गर्नुहोस् ।

अन्यथा, सिंहदरबारमा कोही प्रधानमन्त्री हुनु वा नहुनु आफैंमा महत्त्वहीन कुरा हो । अन्यथा, संविधानमा लेखिएको समाजवाद इतिहासलाई झुक्याउने मात्र जाली कुरा हो । अन्यथा, संघीय लोकतान्त्रिक गणतन्त्र भुइँमान्छेका लागि एक भ्रम मात्र हो । अन्यथा, इतिहासमा भएका अनेकौं असफल प्रधानमन्त्रीको सूचीमा तपाईं एक जना फेरि थपिनु हुनेछ । विचार गर्नुहोस् त महोदय, अन्यथा इतिहास स्वयं लजाउने तपाईंको फोटो सिंहदरबारमा टाँसेर देशलाई के फाइदा ?

maunt - Copy