काठमाडौं, १९ जेठ/
आजभन्दा ठीक २३ वर्षअघि। अर्थात् २०५८ जेठ १९ गते राति।
तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार नीराजन, अधिराजकुमारी श्रुतिलगायत १० जना राजपरिवार सदस्यको ज्यान जाने गरी नारायणहिटी दरबार हत्याकाण्ड भएको थियो।
घटनाको विवरण संकलन गर्न तत्कालीन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्याय, सभामुख तारानाथ रानाभाट र प्रमुख प्रतिपक्षी दलका नेता माधवकुमार नेपाल रहेको उच्चस्तरीय समिति गठन गरिएको थियो। नेपालले पछि समितिमा बस्न अस्वीकार गरे।
उपाध्याय र रानाभाट रहेको समितिले जेठ २६ गते काम थाल्यो। चार दिन म्याद थपियो र ३२ जेठमा प्रतिवेदन बुझायो।
यति हुँदाहुँदै पनि समितिले घटनास्थलमा भएका राजपरिवार सदस्य कोमल राज्यलक्ष्मीदेखि पारस र हिमानीको पनि बयान लिएको थियो। प्रधानसेनापतिलगायत नेपाली सेना र अन्य सुरक्षा निकायका अधिकारीहरूबाट पनि जानकारी संकलन गरेको थियो।
समितिले युवराज दीपेन्द्रले नै सम्पूर्ण घटना घटाएको निष्कर्ष निकाल्यो। दीपेन्द्रप्रति शंका गर्दै उनीसँग टेलिफोन सम्पर्कमा जोडिएका आधारमा दुई युवतीको बयान लिएको थियो।
तीमध्ये एक थिइन्, देवयानी राणा। जो पशुपतिशमशेर राणाकी छोरी थिइन्। अर्की सुप्रिया शाह थिइन्, जो मुमा बडामहारानी रत्नका अंगरक्षक रहिसकेका नेपाली सेनाकै एक अधिकारीकी छोरी थिइन्।
देवयानी उपचारका लागि भारत गएकी थिइन्। चिकित्सककै रोहवरमा तत्कालीन भारतका लागि नेपाली राजदूत डा भेषबहादुर थापाले समितिका लागि बयान लिएका थिए। सुप्रियासँग भने समितिले काठमाडौँमै बयान लिएको थियो।
यी दुई युवतीको बयान एकै ठाउँमा राखेर हेर्दा दीपेन्द्रबारे परस्पर बाझिने खालका प्रसंग पनि पाइन्छन्।
घटनाको पृष्ठभूमिमा दीपेन्द्रको मनोदसा के थियो भनेर समितिले जान्न चाहेको देखिन्छ। त्यस क्रममा देवयानीले दीपेन्द्र लरबराएको भनेकी छन् भने सुप्रियाले सामान्य नै रहेको आफूले पाएको बताएकी छन्। यद्यपि, उनीहरूको अभिव्यक्ति दीपेन्द्रसँग फरकफरक समयमा भएको कुराकानीमा आधारित देखिन्छ।
यहाँ ती दुवै युवतीसँग तत्कालीन अवस्थामा लिइएको बयान प्रतिवेदनबाट साभार गरिएको छ-
देवयानी राणाको बयान
२०५८ जेठ ३०। अहिले भर्खरै २ बजेतिर शाही नेपाली राजदूतावास दिल्लीबाट सिलबन्द एउटा खाम प्राप्त भएको छ र यसमा के लेखिएको छ भने ‘मेरो जिम्मामा रहेको र सिलबन्दी गरेर पठाएको’ सही गर्ने भेषबहादुुर थापा शाही नेपाली राजदूत छाप सहित र यो लाहाछापबाट सिलबन्दी गरिएको, यो खोलौँ है। भारतको लागि शाही नेपाली राजदूत भेष बहादुर थापाले पठाउनु भएको यो पुलिन्दा खोलेर हेर्दा यसमा एउटा टेपरेकर्ड क्यासेट चक्का प्राप्त भयो। यो पुलिन्दा हामीले समितिका अध्यक्ष सम्माननीय प्रधानन्यायाधीशज्यू र हाम्रा अन्य कर्मचारीहरुको रोहबरमा खोल्यौँ। र यसलाई हामीले अब अध्ययन गर्ने क्रम सुरु भयो।
१९ गते राजदरबारमा घटेको घटनाका सम्बन्धमा हामीले बुझ्नु पर्ने देखिएकी देवयानी राणा हाल प्रवास भारतमा रहेको बुझिएको र देवयानीको मातापितालाई बुझ्दा उनले यस सम्बन्धमा आफूलाई थाहा भएको कुरा भन्न सक्ने स्थिति देखिएको तर तत्काल नेपाल आउन सक्ने परिस्थिति नभएको भन्ने बताएपछि हामीले बुझ्नका लागि शाही नेपाली राजदूत भेषबहादुर थापालाई फोनद्वारा अधिकृत गरे अनुसार राजदूत थापाले यो टेपरेकर्ड उपलब्ध गराउनु भएको हो। उतार यस प्रकार छ :
नयाँ दिल्ली २०५८ साल जेष्ठ २९ गते बेलुका ८:१५ बजे नयाँ दिल्लीमा म डा. भेषबहादुर थापा शाही नेपाली राजदूत, नयाँ दिल्ली, तपाईं देवीयानी राणासँग आजको दिनमा अहिले तपाईंले आफ्नो नाम र परिचय दिन हुन अनुरोध गर्दछु।
देवयानीः देवयानी राज्य लक्ष्मी राणा।
डा. भेषबहादुर थापा (शाही नेपाली राजदूत) : आज श्री मोहनबहादुर सिलवाल, काउन्सेलर, शाही नेपाली दूतावासको रोहबरमा र डाक्टर जैन, आइ वुड लाइक टु आइडेन्टिफाइङ योरसेल्फ!
डा. जैन : आइ एम डक्टर एसके जैन।
राजदूतः जसको रेखदेखमा सुश्री देवयानी राणा औषधि उपचार गर्न यहाँ हुनुहुन्छ। तपाईसँग, यही जेठ १९ गते शुक्रवार राति नेपालमा राजदरबारमा घटेको घटना सम्बन्धमा केही प्रश्न गर्छु। यसको लागि गठित आयोगको निर्देशनमा म केही प्रश्नहरु सोध्न गइरहेको छु। आफूले जान्नुभएको सबै कुराहरु राम्रोसँग भनिदिन हुन अनुरोध छ। अहिले दिल्लीमा तपाईं के कारणले आउनु भएको र के गर्दै हुनुहुन्छ?
देवयानी : मलाई सन्चो भएको छैन। अनि डाक्टर साबले (रुँदै)... ट्रिटमेन्ट ...
राजदूत : माथि अघि उल्लेख गरेको घटनाबारे तपाईंलाई के जानकारी छ?
देवयानी : मलाई अरु यसको जानकारी छैन। थाहा पनि छैन। हुन सक्छ भनेर सोचेको पनि थिएन।
राजदूत : तपाईं र तत्कालीन श्री ५ युवराजाधिरााको बीच सम्बन्ध थियो भन्ने बारे तपाईंको के भनाइ छ?
देवयानीः (रुँदै रुँदै) ... व्यक्तिगत हो, त्यसको बारे म कुरा गर्न चाहँदिनँ। (रुँदै)।
राजदूत : काठमाडौँको त्यो दिनको बेलुकी ८ र ९ बजेको बीचमा तपाईं र तत्कालीन राजदरबारको लङ्गबाट तपाईंसँग लामो वार्ता भएको कुरो लगबाट देखियो। त्यसबारे तपाईंले सम्झेर भएका कुराहरु कोसँग वार्ता भएको हो, के वार्ता भएको हो, त्यसमा प्रकाश पारिदिन हुन अनुरोध छ।
देवयानी : मैले सम्झेअनुसार मलाई युवराजाधिराज सरकारले ८ बजेपछि फोन गरिबक्सेको थियो। त्यो बेला हुकुम भयो। मलाई आइतबार नेपालमा हुने राष्ट्रिय खेलुूद समारोहको इनागुरेसनको लागि म आउँदै छु कि छैन भनेर हुकुम भयो। मोबाइलमा फोन गरिबक्सेको थियो। मेरो मोबाइलमा (रुँदै...) मोबाइल क्लियर आइराखेको थिएन। सरकार, मैले कुरा बुझिनँ भनेँ। फेरि सोधिबक्स्यो। म जवाफ दिनुभन्दा अगाडि फोन राख्दिबक्स्यो। त्यसपछि मैले सरकारको मोबाइलमा फोन लगाएँ, घण्टी गयो। गयो, गयो, गयो, सरकारले फोन उठाइबक्सेन। अनि जब सरकारले फोन उठाइ बक्सँदैनथ्यो, अटोमेटिकल्ली त्यसको चाहिँ डिउटीको एडीसीलाई ट्रान्सफर हुन्थ्यो पहिलाजस्तो। ट्रान्सफर भयो। ट्रान्सफर हुने बेलामा डिउटी एडीसीले फोन उठायो। अनि मैले उहाँलाई भने सरकारको स्वर अलिकति लरबराइ बक्सिरहेको छ, गाथमा आराम छैन कि? .... लाग्यो भने मैले उहाँलाई एकचोटि माथि खोपीमा गएर हेर्नु हुन्छ कि भनेर मैले रिक्वेस्ट गरेँ। पछि फोन राखेँ। फेरि एकछिन सरकारको फोन आयो। अनि हुकुम भयो मलाई, भोलि बिहान मात्र तिमीलाई फोन गर्छु। गुडनाइट भनेर हुकुम भो। अनि मैले पनि गुडनाइट भने। त्यसपछि फेरि हुकुम भयो। अब म सुत्न लागेको छु है। म भोलि बिहान फोन गर्छु, गुडनाइट भनी फेरि राखिबक्सियो।
राजदूत : तपाईंको तत्कालीन श्री ५ युवराजाधिराजसँग कुरा भएको बेलामा तपाईंले उहाँलाई सधैँ जस्तो पाउनु भयो या विशेष फरक केही देखियो, सुनियो?
देवयानी : सरकारको स्वर लरबराइ बक्सिरहेको थियो। अघिजस्तो अघि मैले भने अनुसार मलाई लाग्यो सरकारको गाथमा आराम छैन कि के भयो भनेर। त्यसैले (रुँदै रुँदै) एडीसीलाई कन्ट्याक्ट गर्दाखेरी माथि खोपीमा जानु हुन्छ कि भनेर मैले रिक्वेस्ट मात्रै गरेको हो। (रुँदै...रुँदै... खोक्दै...)
राजदूत : यो बाहेक उक्त घटनाबारे तपाईंले अरु केही कुरा प्रकाश पार्न सक्नुहुन्छ वा छैन?
देवयानी : मैले यो बाहेक अरु केही थाहा छैन। (रुँदै रुँदै सुक्क गर्दै)
राजदूत : धन्यवाद। यो टेप आज निर्देशानुसार माथि उल्लेख भएको प्रश्नहरु गरेर तयार गरिएको छ। यसलाई अब काठमाडौँ पठाइने छ।
***
सुप्रिया शाहको बयान
समिति : बैनी, अस्ति दरबारमा घटेको घटनाको बारेमा त यहाँलाई थाहा छँदैछ। त्यो घटनाको तथ्य सत्य बाहिर लिएर आउन भनेर हाम्रो समिति बनेको पनि थाहा छ। हामीले त्यही सत्य तथ्य पत्ता लगाउने सिलसिलामा हेर्दै जाँदाखेरी एउटा (कुनै अप्ठेरो नमान्नुहोस् है! गाह्रो मान्नुपर्ने, डराउनु पर्ने केही छैन; हामी तपाईंजस्तै हौँ) यो सिलसिलामा तपाईंले प्रयोग गर्ने गरेको कति हो? २७३९५ हो मोबाइलको?
जवाफ : हो।
समिति : त्यो दिन ११ बजेर ९ मिनेट जाँदा तत्कालीन युवराजधिराजसँग कुरा भएको थियो यहाँको?
जवाफ : थियो।
समिति : के कुरा भएको थियो सम्झनुहुन्छ?
जवाफ : त्यस्तो विशेष केही कुरा भएको थिएन। उहाँको र मेरो टाइम टाइममा फोनमा कुरा भइरहन्थ्यो। अनि के छ? कसो छ? भनेर मात्र ५/१० मिनेट जति कुरा भएको थियो होला। त्यही पनि म काममा थिएँ, त्यो बेला त।
समिति : त्यस्तो कुनै विशेष?
जवाफ : अहँ।
समिति : ... बारे कुरा, तपाईंको पर्सनल कुरा भन्नु पर्दैन है! पर्सनल कुराहरु हामी जान्न पनि खोज्दैनौँ। तपाईं फ्रेन्ड्ली रिलेसन हो?
जवाफ : हो।
समिति : टेलिफोन आएपछि उठाउनै पर्यो।
जवाफ : त्यही त।
समिति : त्यो दिन ११ बजे तपाईंले उहाँसँग कुरा गर्दाखेरी कुनै नौलो अभिव्यक्तिहरु त्यस्तो विशेष खालको मनस्थिति, मानसिकता अनुभव गर्नुभएको थियो तपाईंले?
जवाफः सधैँजस्तो उस्तै हो।
समिति : तपाईंसित कुरा हुँदाखेरी फ्रिक्वेन्ट्ली भइरहन्थ्यो कि कहिलेकाहीँ हुन्थ्यो?
जवाफ : कस्तो के विषयमा भन्नु भएको हो?
समिति : हैन केही होइन, मैले विषयमा सोध्न चाहेको होइन। तपाईं जे भन्न सक्नु हुन्छ, त्यो मात्रै भन्नुस्, जे भन्न मिल्छ त्यो भन्नुहोस्। सार ओपन गर्नु हुन्छ तपाईंको। यु ह्याभ सिन टु से एनिथिङ। तर हामी बयान लिँदा बयानको विषय यो। के कुराकानीमा भेटघाट पनि हुन्थ्यो कि खाली टेलिफोनको वार्तालाप मात्र हुन्थ्यो।
जवाफ : पहिलापहिला भेटघाट हुन्थ्यो; अहिले आजकल थिएन भेटघाट।
समिति : भेट नभएको कति भयो?
जवाफ : एक्ज्याक्ट्ली कति भयो त म भन्न सक्दिनँ। तर रिसेन्ट्ली चाहिँ भएको छैन मेरो भेटघाट।
समिति : भनेपछि युवराजाधिराजले यहाँसँग कुरा गर्दाखेरी त्यस्तो उहाँमा परिवर्तन भएको उहाँको पहिले पहिले तपाईंसित जुनप्रकारले हुन्थ्यो त्यो कन्टिन्यु थियो कि थिएन?
जवाफ : कस्तो आधारमा भन्नु भएको?
समिति : हैन आधार केही होइन। मैले त्यो दिनको कुनै अभिव्यक्ति?
जवाफ : त्यो दिनको अभिव्यक्ति केही पनि थिएन। नर्मल कुरा गरेर म बेलुकी आउँछु र फोन गर्छु शुद्ध पनि भनिबक्स्या थियो मलाई।
समिति : अनि फोन आएन?
जवाफ : आएन। बेलुकी अब त्यो काण्ड भएछ।
समिति : विशेष पहिले विवाद आदि इत्यादि विषयमा केही जानकारी थियो कि भन्ने हिसाबले मात्रै यो।
जवाफ : नाइँ यो विषयमा त मलाई केही जानकारी छैन। नभएको कुरा हगि। जे होस् तर फ्रेन्ड्ली रिलेसन चाहिँ हाम्रो थियो, टाइम टु टाइम कुरा चाहिँ हुन्थ्यो। म डिनाइ गर्दिनँ त्यो त।
समिति : मतलब पारिवारिक सम्बन्ध स्थापित गर्ने हिसाबले कसैको विषयमा केही कुरा गर्नुहुन्थ्यो कि भन्ने?
जवाफ : कस्तो पारिवारिक विषय?
समिति : वैवाहिक जीवनमा कुनै मान्छेसँग कोहीसँग गर्ने कुरा आदि इत्यादि केही गर्नुहुन्थ्यो कि?
जवाफ : वैवाहिक जीवनको त्यस्तो त अब त्यही देवयानीसँगै गर्ने भन्ने वहाँको इच्छा थियो क्या रे। अब यो विषयमा तपाईंले डिटेलमा सोध्ने हो भने त वहाँलाई सोधे राम्रो हुन्छ है, मलाई होइन।
समिति : तर तपाईंसँग केही कुरा हुँदैन? अथवा म कसैसँग गर्दैछु भन्ने बारेमा, हैन हैन देवायानीको बारेमा?
जवाफ : मसँग त्यस्तो देवयानीको बारेमा मसँग त्यस्तो अहँ। डिटेलमा कुराहरु त्यस्तो चाहिँ हुन्नथ्यो। देवायानीलाई नै सोधे राम्रो हुन्छ किनभने वहाँ त पास्ट १३ वर्ष त वहासँग गर्छु भनेर १/२ वर्षसम्म त वहाँसँगै राम्रो रिलेसन थियो क्यारे।
समिति : यस विषयमा केही जानकारी?
जवाफः (बुझिएन ....) उहाँसँगै हो उहाँसँगै तपाईंहरुले सोध्यो भनेदेखि केही थाहा हुन्छ कि वहाँलाई मसँग चाहिने कुरा हुन्थ्यो तर अब यो विषयमा यस्तो अचानकमा यस्तो काण्ड हुने यस्तो चाहिने मलाई अहँ।
समिति : कुनै लक्षण थिएन त्यो दिनको कुराकानीमा?
जवाफ : थिएन। अहँ अहँ कुनै लक्षण थिएन।
नेपालखवरबाट।