वीरगञ्ज, १६ जेठ। बारा प्रहरीले १३ लाखभन्दा बढी नक्कली नेपाली नोटसहित एक भारतीयसहित चारजनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय बाराले नक्कली सिम्रौनगढ नगरपालिका ९ कचोर्वा सानो बसवरीया र ठूलो बसवरीयाबाट १६ लाख १३ हजार नक्कली नोटसहित उनीहरुलाई नियन्त्रणमा लिएको हो।

441503458_974587621337750_8913363463654433469_n

बाराको कोल्हवी नगरपालिका ६ का २५ वर्षीय राजन चौधरी, वडा नम्बर ५ का १९ वर्षीय आकाश चौधरी, रौतहटको राजपुर नगरपालिका १ का १९ वर्षीय मोहन कुमार साहलाई नियन्त्रणमा लिइएको बाराका सूचना अधिकारी डीएसपी दधिराम न्यौपानेले जानकारी दिए। उनीहरुको साथबाट एक हजार दरको सात सय सात थान गरेर सात लाख सात हजार नेपाली नक्कली नोट बरामद गरिएको प्रहरीले बताए। उनीहरुले प्रयोग गरेको बिआर ०६ ए डब्लु २७५८ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिइएको छ।

त्यस्तै, भारत बिहारको मोतिहारी थाना झौखर पञ्चायत कबैया ग्राम खरसलवा ७ का ४० वर्षीय महमद आलमलाई पनि बारा प्रहरीले पक्राउ गरेको छ। बाराको सिम्रौनगढ नगरपालिका ९ ठूलो बसवरीयामा साइकलमा आउँदै गरेको अवस्थामा आलमलाई नियन्त्रणमा लिइएको डीएसपी न्यौपानेले बताए। उनकाअनुसार आलमको साथबाट एक हजार दरकोे छ सय नौं थान गरेर ६ लाख ९ हजार नेपाली नक्कली रकम बरामद भएको छ।

बाराका विभिन्न स्थानबाट १३ लाख १६ हजार नेपाली नक्कली रकमसहित तीन जना नेपाली र एक जना भारतीय नागरिक पक्राउ गरेको उनले बताए।
प्रहरीले यस सम्वन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ।