सर्लाही, २० फागुन। सर्लाहीको हरिपुर्वा नगरपालिकामा नाटकिय ढङ्गले भइरहेको प्रशासकीय अधिकृत सरुवा प्रकरणमा मेयर विनोद कुमार साहले व्यापक चलखेल गर्दै आएको खुलासा भएको छ।
प्रमुख प्रशासकीय अधिकृत शम्भु प्रसाद यादवले मेयर साहको निर्देशन पालना नगरेको भन्दै आफ्नो पदिय हैसियतको चरम दुरुपयोग गरेको खुलेको हो।
नगर प्रमुख साहले गत पुस २६ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई प्रमुख प्रशासकीय अधिकृतको सरुवाका लागि कार्यपालिकाबाटै निर्णय गरेर पत्राचार गरेको छ।
पुस २५ गते बसेको नगर कार्यपालिका बैठकको निर्णयमा प्रमुख प्रशासकीय अधिकृत यादवले असहयोग गरेको र निर्देशन पालना नगरेकोले निजको अविलम्ब अन्यत्र सरुवा गरिदिन पत्रातार गरेको छ।
मेयर साहले भनेजस्तो नगरेकै कारण प्रकख प्रशासकीय अधिकृतलाई सरुवा गराउन लागेको स्थानीयको आरोप रहेको छ। मेयर साहको चलखेलकै कारण समाजिक सुरक्षा भत्ता वितरण, शिक्षक तथा कर्मचारीहरूको तलब, भत्ता भुक्तानी लगायतका कार्यहरुको साथै नगर विकासको कामहरु विगत लामो समयदेखि ठप्प रहेको छ।
मेयर साहले गरेका भ्रष्टाचारका फेरिहस्तलाई सुरक्षित अवतरण गर्नैका लागि कानुनको दुरुपयोग गरेको छ। व्यक्तिगत स्वार्थ पुरा गर्नेखालका प्रमुख प्रशासकीय अधिकृतको खोजि विभिन्न निकाय धाईरहेका छन्।
मेयर साहको गतिविधिले नै उनी नामुद भ्रष्टाचारी भएको कुरा प्रमाणित भएको स्थानीय राजनीतिकर्मीहरु बताउँछन्।
फागुन ७ गते मेयर साहले गुपचुप रुपमा गर्नलागेको ११ औं नगरसभा गर्न खोजेपछि सभामै झडप समेत भएको थियो। नगरपालिकाले चालु आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्न नपाउदै नगरसभा झडप पछि सभास्थगित भएको थियो।
मेयर साहले नगरसभामा ल्याएको माइन्युट पुर्व पश्चिम् राजमार्ग स्थित लालबन्दीमा तयार गरि फर्जी हस्ताक्षर सहितको ल्याएको स्थानीय जनप्रतिनिधि र जनताहरुले सो नगरसभा बिथोलेका थिए।
मेयरका गतिविधिले नगरपालिका बन्दिमा परेको स्थानीय जनप्रतिनिधी तथा दलका नेताहरुले बताए।
मेयर साहको हैकमवादी, विकास विरोधी गतिविधि तथा भ्रस्टाचारको विरुद्धमा नगरस्तरीय राजनैतिक दलका प्रतिनिधिहरुले सर्वदलीय संघर्ष समिति गठन गरिएको छ। सो समितिमा नेपाली काङ्ग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), जसपा, नेसपा तथा जनमत पार्टी लगायतका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। संघर्ष समितिको उदेश्य भ्रष्टाचार उन्मुलन गरि विकास निर्माणको कार्यमा सहकार्य तथा सहयोग गर्ने रहेको बताइएको छ।