वीरगञ्ज, ७ फागुन। जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ।
रौतहटको ईशनाथ नगरपालिकाको मोतीपुरमा सरस्वतीको मूर्ति सेलाउने विषयमा दुई पक्षबीच विवाद र झडप भएको विषयलाई लिएर वीरगञ्जमा झडपको स्थिति उत्पन्न भएपछि स्थानीय प्रशासनले महानगरक्षेत्रमा अपरान्ह पाँच बजेबाट अनिश्चित कालिन कर्फूयू घोषणा गरेको हो।
सोमबार अपरान्ह प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले सार्वजनिक सूचना निकालेर सोमबार बेलुकी ५ बजेदेखि लागू हुने गरी अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यू जारी गरिएको जानकारी गराएका छन्।
उनका अनुसार पूर्वमा नगवा चौक (बारा जिल्ला सिमाना), पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर पर्सा र दक्षिणमा मित्तेरीपुल (भन्सार क्षेत्र) भित्र लागू हुनेगरी कर्फ्यू जारी गरिएको हो।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६क बमोजिम कर्फ्यू आदेश जारी गरिएको प्रशासनले जनाएको छ। ‘आदेश बर्खिलाफ भएमा कानून बमोजिम कडा कारवाही हुने व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ,’ प्रमुख जिल्ला अधिकारी भुसालले जारी गरेको कफ्र्यू आदेशमा उल्लेख गरिएको छ।