सिरहा, २ फागुन। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता एवम् पूर्व मन्त्री राजेन्द्र महतोले उत्पीडित वर्ग, जातिको पूर्ण अधिकार प्राप्तीको लागि संयुक्त राष्ट्रिय मुक्ति क्रान्ति आश्यक रहेको बताए।
सिरहाको मिर्चैयामा आयोजित कार्यकताभेलालाई सम्वोधन गर्दै सवै जात, जाति, भाषा, समुदायको राष्ट्रिय पहिचान कायम गर्न, बहुल राष्ट्रवादको लागि अझै एउटा क्रान्तिको आवश्यता रहेको बताएको हो।
कार्यकर्ता भेलामा नेता महतोले मधेशवादी पार्टी सत्तामा बसेर आफ्नै कार्यकर्तालाई जेल पठाएको प्रति आक्रोस व्यक्त गरे। उनले भने, ‘आन्दोलनमा साथ सहयोग गरेका आफ्नै नेता कार्यकर्ता जेल गएको छ। आजिवन कारावासको सजाय सुनाएको छ। सत्ता सुखको लागि नेताहरु आन्दोलनकारीहरुलाई जेलमा कोचेको पनि टुलुटुलु हेरी रहेको छ।’ उनले यस्तो पार्टी र सरकारबाट मधेशी जनताले कुनै आशा गर्न नसकिने बताए।
यस्ताखालका विभेदविरुद्ध मधेशी, थारु, जनजाति, आदिवासी, ओबीसी, मुस्लिम, दलितले साझा रुपमा राष्ट्रिय मुक्ती क्रान्तिमा होमिन यो मुक्ति अभियान शुरु गर्न लागेको बताए। नेता महतोले आगामी चैत १ गते अभियानको घोषणा हुने बताए। उनले आन्दोलनको लागि मधेशका सबै जिल्लाहरुमा मधेश युथ लिग गठन गरिने र यसको लागि तयारी थाल्न पनि कार्यकतालाई अपिल गरे।
कार्यक्रममा लोसपाका राष्ट्रिय उपाध्यक्ष एवम् पिछडावर्ग महासंघको राष्ट्रिय अध्यक्ष कौशल कुमार सिंहले संविधान नै उत्पीडित वर्गको विरुद्धमा रहेको बताए। उनले सबैको पहिचान र अधिकारको लागि बहुल राष्ट्रवाद आवश्यक रहेको भन्दै राष्ट्रिय मुक्ती क्रान्ति गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा लोसपा केन्द्रीय एवम् जिल्लाका नेताहरु, पिछडावर्ग महासंघका नेता कार्यकर्ता एवम् मधेशका बुद्धिजीवी, यूवा, महिलाहरुको सहभागिता रहेको थियो।