सामाजिक सम्झौतावादी सिद्धान्तकारहरूले १५ औं शताब्दीमा निकालेको निष्कर्ष हो— देश सामाजिक सम्झौतामा चल्छ । अर्थात्, आरम्भमा प्राकृतिक नियममा बाँचेको मानिस स्वाभाविक विकासअन्तर्गत निश्चित भूगोलभित्र भविष्य सुरक्षित गर्ने चाहनामा पुग्दा सामाजिक सम्झौताको चरण आउँछ— समाजको निर्माण र समाजमार्फत राज्यको निर्माण । त्यसो गर्दा आफैंले बनाएको प्राधिकारबाट शासित हुन ऊ ससर्त तयार हुन्छ ।

सर्त हुन्छ— त्यो बनाइएको प्राधिकार (शासक) ले समाजको हरेक सदस्यसँग गरिएको सम्झौता पालना गर्नुपर्छ, गरेन भने उसलाई समाजले मान्दैन । त्यसभित्र शान्ति र मेलमिलाप त हुन्छ नै, व्यक्तिका पूर्ण र आंशिक स्वतन्त्रता पनि पर्छन् । महत्त्वपूर्ण हुन्छ— सामाजिक मूल्यमान्यताको संरक्षण । जब समाजलाई जोड्ने खास चरित्र समाप्त हुन्छ वा त्यसमाथि नियोजित बाह्य र घरेलु आक्रमण हुन्छ, समाज र त्यसबाट निर्माण गरिएको राष्ट्र पनि विघटन हुन्छ । भूगोल त खण्डीकृत रूपमा रहन सक्छ तर राष्ट्रिय स्वाभिमान रहँदैन ।

सन्दर्भ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हिन्दुत्व राजनीतिको हो, जसप्रति समर्थन र विरोधको घम्साघम्सी छ, भारतभित्र मात्र होइन, भारतबाहिर पनि । र, यहाँ नेपाली राजनीति पनि जोडिन्छ, जसले नेपालको राष्ट्रिय चरित्रलाई एकीकृत रूपमा विश्वमा परिचित हुन दिएको छैन । मोदीले किन हिन्दुत्वमा आधारित राष्ट्रवादलाई प्रमुख राजनीतिक मुद्दा बनाएका छन् वा चीनका राष्ट्रपती सी चिनफिङले किन विश्व सभ्यता पहल (ग्लोबल सिभिलाइजेसन इनिसिएटिभ) लाई मलजल गरिरहेका छन् ? वा, अरब विश्व किन यहुदीविरुद्ध बारम्बार पराजित युद्ध लडिरहन्छ ? किनकि, त्यसको सीधा सम्बन्ध राष्ट्रिय पहिचानसँग छ, खास मूल्यमान्यतासँग छ । यसबारे बहस गरौं ।

शब्दहरू के रचना गरिएका छन् वा संकथन कस्तो निर्माण गरिएको छ, त्यता नजाऔं । भारतीय जनता पार्टीको सन् १९८० देखिको एउटा सपना, योजना र संकल्पले २२ जनवरीमा मूर्त रूप पायो । हिन्दुहरूले बढी मान्ने भगवान् रामको जन्मभूमि उत्तरप्रदेशको अयोध्यामा ४५० वर्ष पुरानो मस्जिदलाई विस्थापित गरेर मन्दिर पुनःस्थापना भयो । मन्दिरले पूर्णता नपाएको र विधिपूर्वक प्राणप्रतिष्ठाको तयारी नभएको भन्दै शंकराचार्यहरू असन्तुष्टि राखेर ऐतिहासिक अनुष्ठानमा सहभागी भएनन् । एउटा ठूलो धार्मिक परियोजनाले साधुसन्त र गुरुहरूकै बीचमा पनि अलिअलि घोचपेच गराउँछ किनकि सत्तामा कोही खास गुरुहरूको प्रभाव र पकड अरूको भन्दा दरिलो हुन्छ ।

भारतका प्रधानमन्त्री मोदी र विदेशमन्त्री एस जयशंकरले अब ‘इन्डिया’ होइन, ‘भारत’ भन्नुपर्छ भनेर जुन सोचीविचारी रणनीतिक भारतको यात्रा थालेका छन्, त्यसका लागि राम मन्दिर पुनःस्थापना एउटा ऐतिहासिक लक्ष्यको श्रीगणेश मात्रै हो । तर श्रीगणेश निकै प्रभावकारी भयो । त्यसले ‘इन्डिया’ लाई विस्थापित गरेर ‘भारत’ को जगजगी स्थापित गर्ने सम्भावना देखिँदै छ । भारतीय विदेशमन्त्री जयशंकरको नयाँ पुस्तक ‘ह्वाई भारत म्याटर्स’ को सार्वजनिकीकरण र राम मन्दिरको निर्माणले भारत भाष्यलाई बाह्य शासक वर्गमा पुर्‍यायो । त्यो अलंकार होइन, कार्य हो भन्ने प्रमाणित गरिदियो । सन् १९४७ मा भारत विभाजन हुँदा औपनिवेशिक बेलायती शासकले दिएको इन्डियालाई भारतमा रूपान्तरण गर्ने प्रयास नामको मात्रै होइन, पहिचान र शक्तिको घोषणा पनि हो भन्ने देखियो ।

सत्य हो, मोदीको मन्दिर उद्घाटनको हतारो अप्रिल–मेमा हुने भारतीय लोकसभाको निर्वाचनसँग सम्बन्धित छ । यो प्रतिपक्षीका लागि बलियो मुद्दाचाहिँ होइन । महत्त्वाकांक्षी राजनीतिज्ञले समर्थनको फराकिलो क्षितिजको आकलन गर्न सक्छ र त्यसलाई मतमा रूपान्तरण गर्ने मौका छोप्छ पनि । यो स्वाभाविक भयो । राजनीतिक सत्ता यति निर्मम हुन्छ कि, त्यसले सत्ताका लागि मेकियाभेली विचारलाई सूत्र बनाउँछ र सत्तालाई कायम राख्न निरकुंशसमेत बन्छ । ‘प्रक्रिया जतिसुकै अनैतिक र निर्दयी होस्, परिणामले त्यसलाई न्यायोचित सिद्ध गर्छ’ भन्ने मेकियाभेली विचारले विश्वमा जगजगी मच्चाएका बेला मोदीले भारतीय मूल्यमान्यता र आस्थाका धरोहरलाई भावनाको जीवन दिएका मात्र हुन् । त्यस अर्थमा मोदी गलत छैनन् । हिन्दुत्वको संरक्षणका नाममा अधिनायकवाद टिक्दैन भन्ने मोदीले बुझेको हुनुपर्छ ।

विश्वराजनीतिमा देखिएको राष्ट्रवादी लहरले सत्तालाई भूगोलको अन्धो बनाउँछ । किनकि भूगोलभित्रको स्वीकारोक्तिबिना उसले अर्को सार्वभौम भूगोलमाथि आक्रमण गर्न सक्दैन । त्यस बेला आफ्ना नागरिकको सुरक्षाको सुनिश्चितता प्रधान भएर आउँछ । जस्तो— इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले विश्वको आग्रहलाई अस्वीकार गरी गाजामा हत्याहिंसाको बर्बर शृंखला जारी राखेका छन् । दुनियाँ मूकदर्शक छ । किनकि इजरायली जनताको साथ पाउँदासम्म उनी युद्ध–अपराधमा हेग जाँदैनन् । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनलाई जति ध्वस्त पार्‍यो, त्यति रुसका नायक बन्छन् । त्यसैले उनले अमेरिका वा युरोपले के भन्छ भन्नेप्रति जवाफदेह हुनुपर्दैन ।

त्यसैले जसरी मोदीले सबैभन्दा बढी जनसंख्या (१ अर्ब ४२ करोड) र सबैभन्दा बढी हिन्दु (१ अर्ब १०) करोड भएको देशमा हिन्दुहरूका भगवान् रामलाई आफ्नो जन्मभूमिमा पुनःस्थापित गरेका छन्, त्यसलाई मोदीले स्थापित गर्न खोजेको भारतीय पहिचान, मूल्यमान्यताको राजनीतिका रूपमा बुझ्नुपर्ने धारणा त्यहाँको सत्ताको छ । यो अहिले भारतले पुनर्परिभाषित गरिरहेको संकथनको एउटा यो प्रस्थानबिन्दु मात्रै हो । मोदीले हिन्दुत्वको राजनीति अहिले मात्र गरेका होइनन् वा भाजपाको राजनीतिक आधार हिन्दुत्व आज मात्र होइन । विश्व जनसंख्यामा १५ प्रतिशत हिन्दु छन्, जसको नेतृत्व देशका रूपमा भारतले र नेताका रूपमा मोदीले गरेका छन् । हिन्दुत्वको राजनीति वा हिन्दु राष्ट्रवादको विदेशनीतिका कारण भारतभित्र वा बाहिर अर्को धार्मिक सम्प्रदाय वा आस्थामाथि प्रहार भयो भने त्यसको प्रतिरोध हुनुपर्छ । हिन्दुलाई बाहेक पार्टीमा अरूलाई निषेध गरे भने वा हिन्दु मतदाताबाहेक अन्यतिर राज्यकोष र राज्यस्रोत केन्द्रित गरेनन् भने भारतकै नागरिक प्रतिरोधमा उत्रन्छन् ।

त्यति नै सत्य के हो भने, करिब ८० प्रतिशत भारतीय हिन्दु भए पनि सबै ‘अतिवादी’ होइनन् वा कतिपयले हिन्दुत्वको संघ राजनीतिसँग सरोकार राख्दैनन् । करिब १४ प्रतिशत मुस्लिमले हिन्दुत्वसँग सरोकार नराख्न सक्छन् तर भगवान् रामलाई मर्यादा पुरुषोत्तमका रूपमा मान्न सक्छन् । जस्तो— राम मन्दिर पुनःस्थापनालाई मुस्लिम समुदायले ठूलो मुद्दा बनाएको पनि देखिएन । इन्डिया टुडेको जनवरीको एउटा रिपोर्टअनुसार, भारतमा रहेका मुस्लिमहरूको बहुमत हिस्साले भगवान् रामलाई ‘सबैका’ भएको भन्दै राम मन्दिर पुनःस्थापनाको विरोध नगर्ने बताएको थियो ।

एउटा दाबी छ— मोदीले यसरी नै सफलता पाउँदै गए भने आउने कार्यकालभित्रमा आफूलाई हिन्दु अधिनायकवादी शासकका रूपमा स्थापित गर्नेछन् । अर्थात्, उनी अनुदार बन्नेछन् । त्यसो हुँदा भारतीय जनताको दृष्टिकोण पनि परिवर्तन गर्लान्, त्यो पखाईकै विषय भयो । तर ‘अनुदारवाद’ र ‘अधिनायकवादउन्मुख’ राजनीति गर्दा पनि मोदीको स्वीकार्यता बढ्नुको कारक हो— उनैले विकास गरेको भारतको बलियो अर्थतन्त्रको जग । विकास भयो भने धार्मिक अतिवाद र नियन्त्रित राजनीति पनि छायामा पर्छ ।

जस्तो— चीनमा चिनियाँ कम्युनिस्ट पार्टी निर्देशित वा नियन्त्रित प्रजातन्त्र छ तर राष्ट्रपति सीको सत्ता जनमुखी छ । त्यही भएर चीन पुँजीवादी व्यवस्थालाई चुनौती दिन सक्ने समाजवादी व्यवस्था निर्यात गर्दै छ । मोदीले हिन्दुत्वको राजनीति गरेका हुन्, त्यसलाई अनुदारवादी राजनीति मान्दा पनि उनले तुलनात्मक रूपमा भारतीय जनतालाई सरकारको अनुभूति गराएका छन् । मोदीले योगदेखि ‘वसुधैव कुटुम्बकम्’ सम्मको अन्तर्राष्ट्रियकरण गरेका छन्, जसप्रति हरेक भारतीय गर्व गर्छन् । मोदीले स्थानीयदेखि राष्ट्रिय अर्थतन्त्रसम्मलाई प्रवर्द्धन गरिरहेका छन् । उनले कल्याणकारी र विकासकेन्द्रित एजेन्डा ल्याएका छन् । जस्तो— अयोध्यामै उनले एयरपोर्ट र नयाँ रेलवे स्टेसन बनाउने, ६० नयाँ होटललगायत खोलेर वार्षिक ५ करोड पर्यटक ल्याउने उद्देश्य राखी १० अर्ब अमेरिकी डलर लगानी गर्दै छन् । हरेक नागरिकले बलियो नेता खोज्छन् । मोदी त्यस्तै नेता भएका छन् । र, उनले सबैभन्दा ठूलो भारतीय चरित्र, मूल्यमान्यता र आस्थालाई स्थापित गरिरहेका छन् ।

अब नेपाललाई हेरौं । नेपाल र भारतले पूर्वीय ज्ञानसिद्धान्त र ज्ञानशास्त्रका स्रोतहरू वेद, उपनिषद्, वेदान्त, पुराण, रामायण, महाभारत वा त्यस्तै दर्शनलाई साझा बनाएका छन् । तर त्यति गर्दा पनि नेपालसँग निर्यात गर्ने विशिष्ट ज्ञान र शक्ति छन् । नेपाललाई हिन्दुराष्ट्र बनाएर हिन्दुत्वको संरक्षण हुने होइन, हिन्दु मूल्यमान्यतालाई स्थापित गर्दै र त्यसलाई नेपाली घरेलु विविधतासँग जोड्दै बलियो राष्ट्रिय पहिचान निर्माण गर्ने हो । भारतलाई हिन्दुराष्ट्र बनाउँछु नभनेका मोदीले नेपाललाई हिन्दुराष्ट्र बनाउन कसैलाई सहयोग गर्दैनन् र त्यसैको आडमा राजतन्त्र पनि नेपालमा आउँदैन । मोदीले हिन्दुत्वको विस्तारमा लगानी गर्दै पूर्वीय मूल्यमान्यतालाई स्थापित गर्ने प्रयास गर्छन्, त्यसको प्रभाव नेपालमा पर्छ नै । तर मूल प्रश्नचाहिँ नेपालले आफ्नो सामर्थ्यअनुसार आफ्नो मूल्यमान्यता वा राष्ट्रिय चरित्र स्थापित गर्न सक्छ कि सक्दैन भन्ने हो ।

एउटा सार्वभौम राष्ट्रका रूपमा नेपालको आजको सबैभन्दा ठूलो चुनौती भनेकै सरकारसँग नागरिकको सम्बन्धविच्छेद हुनु हो, जसको प्रमाण त्रिभुवन विमानस्थलमा दैनिक बिदेसिने युवाको भीड हो । जब नागरिक निराश हुन्छन् र परसम्म आशा गर्ने विश्वासिलो आधार भेट्दैनन्, त्यति बेला देश चार किल्लाभित्रको एउटा भूगोलमा सीमित हुन्छ । शरीर छ तर जीवन छैन, मक्किएको घर छ तर परिवार छैन । विडम्बना, आजको सत्ताले देशको भूगोलभित्र जीवन भर्नु त परको कुरा, भूगोललाई उल्टै खण्डीकृत गरिरहेको छ । अर्थात्, सत्तासँग नागरिकले गरेको सम्झौता च्यातिएको छ । नेपालको सबैभन्दा ठूलो पहिचान वा शक्ति भनेको सांस्कृतिक–साम्प्रदायिक सद्भाव, धार्मिक सम्मान हो ।

हिन्दु र बौद्ध सभ्यताको उद्गमस्थलभन्दा अर्को ठूलो पहिचान नेपालको हुनै सक्दन । तर सत्ता त्यो साम्प्रदायिक सद्भावलाई खण्डित गर्ने प्रयासमा लागेको छ, सत्ता टिकाउने ध्याउन्नेमा । यो थाहा पाउन, कोशीदेखि मधेश र लुम्बिनीसम्मका घटनाहरू हेर्दा हुन्छ, सामाजिक सञ्जालमा भाइरल कन्टेन्टमा धार्मिक वहसले लिएको आयतन हेर्दा हुन्छ ।

प्रचण्ड सरकारसँग नागरिकले ठूलो अपेक्षा राखेका थिएनन् किनकि उनी कमजोर प्रधानमन्त्री हुन्, तर प्रधानमन्त्री कहिले खास जाति–समुदायको अभियन्ताका रुपमा, कहिले विद्रोही नेताका रूपमा र कहिले हिंसाको प्रवर्द्धकका रूपमा देखिनु गलत हो । सम्पूर्ण शक्ति विकासमा लगाउनुपर्ने सरकार त्यता केन्द्रित हुन सकेन, ठीकै छ, तर राष्ट्रिय पहिचानलाई धमिल्याउन उद्यत हुनु हुँदैन । समय लाग्छ, असम्भव छैन । भारत र चीनलाई, मोदी र सीलाई हेर्दा पुग्छ, पहिचान, मूल्य र मान्यतामा आधारित विकासले प्रवाह गर्ने सन्तुष्टिको स्वाद नै स्वर्गीय हुन्छ ।