सिरहा, ७ पुस। बाल यौन दुर्व्यवहार आरोपमा पक्राउ परी म्याद थप्न जिल्ला सदरमुकामस्थित सरकारी वकिल कार्यालयनजिकबाट हत्कडी खुस्काएर भागेका थुनुवा २४ घण्टा नपुग्दै पुनः पक्राउ परेका छन्।

सिराहाको लहान नगपालिका २१ घर भएका करिब ३६ वर्षीय छोटु सदाय शनिबार दिउँसो लुकिछिपी बसिरहेको अवस्थामा कल्याणपुर नगरपालिका १२ थलहाबाट पक्राउ परेको हो।

इलाका प्रहरी कार्यालय लहानका प्रहरी सहायक हवल्दार देवकुमार यादवको कमान्डमा सादा पोसाकमा खटिएको टोलीले खोजतलासको क्रममा सदायलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रवीन्द्रराज पाण्डेले जानकारी दिए। नियन्त्रणमा लिएको सदायलाई जिल्ला प्रहरी कार्यालय पु¥याएर थप अनुसन्धान भईरहेको जनाएको छ।

सिराहाको सखुवानन्कारकट्टी गाउँपालिका ३ दिनाजपुर सरन्चियाको भित्री सडक खण्डमा नाबालिकालाई यौन दुर्व्यवहार गरेको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय महेशबारीबाट खटिएको प्रहरीले सदायलाई ५ पुसमा लहान १९ बेतहाबाट पक्राउ गरिएको थियो।

फत्रउ परेको भोलिपल्ट शुक्रबार प्रहरी सहायक निरीक्षक विनेश यादवको कमान्डमा ६ जना प्रहरीसहित तीनजना थुनुवालाई कानुनी प्रक्रियाको लागि सिराहा जिल्ला अदालत पठाइएको थियो।

तीमध्ये बाल यौन दुर्व्यवहारमा अनुसन्धानका लनगि पक्राउ गरिएका थुनुवा सदायको सरकारी वकिल कार्यालयमा मिसिल देखाउने क्रममा कार्यालयको गेट अगाडिबाट हत्कडी खुस्काई फरार भएका थिए।