भनिन्छ, मान्छेले हिजोलाई कहिल्यै भुल्नु हुँदैन । हिजोको धरातमा उभिएर नै मान्छे आज बाँचिरहेको हुन्छ । आधुनिकताका नाममा हामीले धेरै पूराना संस्कार र आनीबानीलाई छोड्दै आएका छौं जसले कुनै न कुनै अर्थ राखेका हुन्थे ।

अचेल सहरका ठूलठूला अस्पतालदेखि गल्लीका ससाना क्लिनिकसम्ममा बिरामीहरूको भीड देखिन्छ । अस्वास्थ्यकर खानपान र आनीबानीले कलिलै उमेरमा धेरैलाई रोगको सिकार बनाएको छ । पश्चिमा जीवनशैलीमा समाज अभ्यस्त हुदै गइरहेको परिणाम देखिइरहेको छ ।

अल्छी बानी र पश्चिमा शैलीको रहनसहनको सिको गर्दै मानिसहरूले आफैंलाई रोगको घर बनाइरहेका छन् । उनीहरूले हिजोलाई बिर्सिसकेका छन् । तर खोतल्दै जाने हो भने हाम्रा पुर्खाले हिजो अपनाएको जीवनशैलीमा कतै न कतै वैज्ञानिक कारण लुकेको पाइन्छ । विगतमा उनीहरूले बाँचेको जिन्दगी अन्धविश्वास र रूढिवादमा आधारित भए पनि केही कुरा भने निकै गहकिला र अनुसरण गर्न योग्य छन् ।

अचेल औषधि–उपचारबिना नै रोग निको पार्ने भन्दै केही थेरापिस्टहरूले त्यस्ता व्यायामहरू सिकाइरहेका छन्, जुन हाम्रा पुर्खाको दैनिक जीवनयापनका क्रियाकलाप हुने गर्थे । गाउँघरका कामधन्दा, उकाली–ओराली, मिहिनेती बानीले गर्दा हाम्रा पुर्खाहरू धेरै स्वस्थ थिए र लामो आयु बाँचेका थिए । आधुनिक जीवनशैली र रबैयाले हामीलाई अल्छी बनाएको छ । पुर्खाका खानेकुरा, खाने शैली, पकाउने तरिका, काम गर्ने बानी आदि शरीरको स्वास्थ्यका लागि निकै लाभदायक थिए । त्यस्ता केही अभ्यासबारे यहाँ चर्चा गरौं ।

१. बाह्रहाते पटुकी बाँध्नु : पहिलेका आमाहरूले बाह्रहाते पटुकी टमक्क कसिरहन्थे, जसले गर्दा उनीहरूमा ढाड र कम्मर दुख्ने समस्या कमै हुन्थ्यो । अहिले पनि अधिकांश हजुरआमाले कसिलो गरेर पटुकी बेरेको पाइन्छ । आफ्नो दैनिक प्रयोगमा टाउकामा मजेत्रो (हलुका खालको सानो पछ्यौरा) सधैं बेर्ने गर्थे, अझै पनि गाउँघरमा आमा–हजुरआमाहरूले त्यस्तो बाँधेको पाईन्छ । मजेत्रो बाँध्दा टाउको दुख्ने समस्याबाट राहत मिल्थ्यो भने टाउकाको पनि सुरक्षा हुन्थ्यो । अचेल सुत्केरी अवस्थामा पनि पटुकी बाँध्नुलाई धेरैले बोझका रूपमा लिने वा पटुकीको ठाउँमा मेडिकल बेल्टलाई मात्रै प्राथमिकता दिने गरेका छन् । यसले गर्दा महिलालाई छिट्टै ढाड र पेटको समस्या आउने, जती गर्दा पनि सुत्केरी पेट नघट्ने, सानो काम गर्दा पनि ढाड तथा जोर्नीमा अत्यधिक पीडा हुनेजस्ता समस्या हुने गरेका छन् ।

२. पलेटी मारेर खाना खानु, खानेबित्तिकै नसुत्नु : पहिलेपहिले खाना खाँदा जहिल्यै भुइँमा पिर्का वा गुन्द्री ओछ्याएर पलेटी मारेर बस्ने चलन थियो । पिर्कामा बसेर खाएको खाना राम्रोसँग पच्न पाउँथ्यो, जसले गर्दा पेटसम्बन्धी समस्या खासै हुँदैनथ्यो । तर अहिले सहरमा मात्रै हैन, प्रायः गाउँघरमा पनि डाइनिङ टेबल भान्सामा भित्रिसकेको छ । त्यस्तै, बूढापाकाहरू खानेबित्तिकै सुत्न हुँदैन, अलच्छिना भइन्छ भन्ने गर्छन् । खाना खानेबित्तिकै सुत्दा पेट ढुस्स पर्न तथा ग्यास्ट्रिकको समस्या हुन सक्छ भनेर त्यस्तो भनिएको हुन सक्छ । खानेबित्तिकै नसुत्ने हो भने मोटोपनबाट पनि छुटकारा पाइन्छ ।

३. बसेर भुइँ पोत्नु, जाँतो घुमाउनु : सुविधाभोगी हामी अहिले घरमा उभिएर ‘पोछा’ लगाउँछौं । तर पहिले खाना खाएपछि वा बिहानको समयमा महिला वर्गले टुक्रुक्क बसेर घर लिपपोत गर्थे, जसले गर्दा शरीरका धेरै अंगको एक्सरसाइज हुन्थ्यो । त्यस्तो अभ्यासले गर्दा पाठेघरसम्बन्धी समस्या कम हुन्थ्यो पनि भनिन्छ । अहिले विभिन्न योग सेन्टरमा बसेर भुइँ पुछेजसरी शरीर चलाउन लगाइन्छ, पेट घट्ने भन्दै । हरेक दिन जाँतो घुमाएजसरी हात घुमाउने हो भने आङ खस्ने समस्या हुँदैन र पाठेघर पनि स्वस्थ हुन्छ भनेर पनि सिकाइन्छ अचेल, योग सेन्टरमा ।

४. टुक्रुक्क बसेर दिसापिसाब गर्नु : पहिलेका मानिस वनजंगलमै जाने बानी परे पनि टुक्रुक्क बसेरै दिसापिसाब गर्थे । पछि खुला दिसापिसाबमुक्त भएका ठाउँमा पनि प्यानवाला चर्पी बसेपछि टुक्रुक्क बसेरै नित्यकर्म गरे । तर अचेल अधिकांश घरमा कमोडवाला शौचालय छन् । सजिलोको हिसाबले कमोड राखे पनि प्यानवाला शौचालय नै स्वास्थ्यका लागि राम्रो हुने मानिन्छ । खुट्टा फट्टाई टुक्रुक्क बसेर दिसापिसाब गर्दा पेट सफा हुने, कब्जियत नहुने विभिन्न अध्ययनले पुष्टि गरेका छन् ।

५. धेरै ठाउँ हिँडेरै पुग्नु : अचेल मानिस पाँच–दस मिनेटको बाटो हिँड्न पनि अल्छी मान्छन् । तर पहिलेका मानिसहरू घण्टौं उकालो–ओरालो गर्थे । सबैजसो कामका लागि हिँड्नुपर्दा शारीरिक परिश्रम निकै हुने गर्थ्यो, शरिरबाट पसिना निस्कन्थ्यो, त्यसैले पनि धेरै निरोगी हुन्थे । तर अचेल अलिकति पसिना निकाल्न पनि हजारौं रुपैयाँ बुझाएर जिमतिर जाने गरेका छन् मानिसहरू । शारीरिक श्रम नगरेपछि, अल्छी हुदै गएपछि भोक कम लाग्ने र निद्रा नलाग्ने हुन्छ । निद्रा नै लगाउन पनि स्लिपिङ ट्याब्लेटको सहारा लिनुपर्ने अवस्था कतिपयको छ । पहिलेपहिले शारीरिक श्रम बढी हुन्थ्यो, बढी काम र खटाइका कारण थकाइ लाग्थ्यो अनि भोक र निद्रा राम्रोसँग लाग्थ्यो ।

६. आगो ताप्नु, तेल मालिस गर्नु : प्रायः आगो ताप्नु, तेल मालिस गर्नु पनि अपरिहार्यजस्तै थियो पहिले । अहिले सहरमा विभिन्नथरीका मसाज गर्ने भन्दै पार्लरहरू खोलिएका छन् ।

७. अर्गानिक खानेकुरा खानु : ढिँडो, मही, मकैको च्याँख्ला, कोदो, फापर, सागसब्जी र दूधजन्य खानेकुरा बढी खाने गर्थे हाम्रा पुर्खाहरू । अचेल खेतबारी बाँझै छन् । व्यस्त जीवनशैलीका कारण मानिसहरू पकाएको ताजा खानेकुराभन्दा छिट्टै बन्ने तयारी खानेकुरा, स्ट्रिट खाजा खान बाध्य छन् । करेसा बारीहरू सागसब्जी नलगाउने र विषादी मिसिएका तरकारी किनेर खाने गर्नाले रोगको शिकार हुने गरेका छन् । यस्तो अभ्यासले न स्वास्थ्य न पैसा नै आफूसँग रहने गरेको छ ।

८. घाम अस्ताउनुअघि खानु : कतिपय गाउँघरमा अझै पनि घाम अस्ताउनुअघि नै बेलुकाको खाना खाने चलन छ । साँझ पाँच–छ बजे खाएर भोलि बिहानको खाना १० बजे मात्रै खाने चलन केही गाउँघरमा अझै पनि छ । अहिले आएर त्यही पुरानो बानीलाई ‘इन्टरमिटेन्ट फास्टिङ’ को नाम दिएर अपनाउने गरिएको छ ।

त्यस्तै, भान्सामा काम गर्दा लुगा एकसरो लगाउने गरिन्थ्यो । खाना खाँदा वरिपरि पानी छम्किने गरिन्थ्यो, कीटाणु नआऊन् भनेर । टन्न नखाने, एक गाँस अन्तिममा छोड्ने, घरपालुवा जनावरलाई त्यो अन्तिम गाँस दिने, खाना खाँदा र ट्वाइलेट बस्दा नबोल्ने जस्ता बानीसमेत थिए । अचेल त खाना खाने बेला मात्र होइन,ट्वाइलेट बस्दा पनि मानिसहरू मोबाइलमै झुन्डिरहेका हुन्छन् ।

अन्त्यमा, खोज्दै जाने हो भने धेरै परम्परागत आनीबानी आधुनिक जीवनशैलीभन्दा निकै स्वास्थ्यकर रहेको पाउन सकिन्छ । सबै पुराना कुरा राम्रा थिए र अहिले पनि अनुसरण गर्नैपर्छ भन्ने त छैन, तर स्वास्थ्य र पैसा जोगिने पुराना आनीबानी पछ्याउँदा नराम्रो पनि हुन्न ।

कान्तिपुरबाट।