सिरहा, ३ मंसिर। छठ पूजाको मुख्यदिन आज व्रतालु धमाधम छठघाटतर्फ प्रस्थान गर्नेक्रम सुरु भएको छ। अस्ताउँदै गरेको सूर्य आराधनाका लागि नजिकको पोखरी, तलाउ, खोला, नदीलगयत जलाशयमा निर्माण गरिएका छठघाटमा पूजा सामग्री बोकेर व्रतालु जान थालेका हुन्।
त्यसका लागि व्रतालु र परिवारका सदस्य बाँसको ढाकीमा केरा, स्याउ, सुन्तला, नरिवल, चामलको पिठोबाट बनेको भुसवा, ठकुवा, सहित विभिन्न पूजा सामाग्री बोकेर छठघाटमा पुग्न थालेका छन्। व्रतालु अब आइतबार रातभर नै छठघाटमै जाग्राम बस्छन्।
सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि यो वर्षको छठपर्व विधिवत् रूपमा समापन हुन्छ। प्रत्येक छठघाटमा छठ पर्वका गीत गुन्जिएका छन्। छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने, आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर जाने जनविश्वास छ।























