सिरहा, ३ मंसिर। आज ‘षष्ठी’ छठ पर्वको मुख्य दिन, सूर्यको आराधना पूजा गरी उल्लासपूर्वक मनाइँदैछ। तराई मधेसमा आज छठ पर्वको विशेष रौनक छ।
व्रतालुहरू आज पानीसमेत नखाइकन निराहार बस्दछन्। साँझपख नजिकैका पोखरी, तलाउ, नदीलगायतका जलाशयमा गई अस्ताउँदो सूर्यको पूजा गर्दछन्। चढाउनका लागि तयार पारीएका सामग्रीहरू घाटमा लगेर पालैपालो पानीमा चोपल्दै सूर्यलाई चढाउँदछन्।
भोलीको प्रातःकालीन अर्घका लागि व्रतालुहरू आज रातभर जलाशय क्षेत्रमा भजन कीर्तन र नाचगान गरेर बस्ने गर्दछ। छठका घाटहरु पनि बेहुली झैँ सिङ्गारिएका छन्।
छठ पर्वमा पुत्र, पति र परिवारको कल्याणको कामना गर्ने गरिन्छ। छठ पूजा गर्दा भाकल गर्नेहरूको सबै मनोकामना पूरा हुने जनविश्वास छ।
विशेषगरी तराई मधेशमा मनाइने छठ पछिल्लो समय मुलुकका अन्य भेगमा पनि मनाउन थालिएको छ। सत्य र अहिंसाप्रति मानवको रुची बढाउने तथा सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने महान् छठ पर्व चार दिनसम्म मनाइन्छ।
कात्तिक शुक्ल चतुर्दशीका दिनदेखि सुरु हुने छठ पर्व सूर्यको आराधना गरी मनाइन्छ। अत्यन्तै श्रद्धा र निष्ठाका साथ ब्रत बसी अस्ताउँदो सूर्य र उदाउँदो सूर्यको पुजा गरी मनाइने गरिन्छ।
श्रद्धापूर्वक मनाइने छठ पर्वका लागि बाँकसले बनेको ढाकी, नाङ्लो, कोनियाँ, डगरी, उखु, केरा, हल्दी, अदुवा, निम्बु, मूला, नरिवल, पान, सुपारीसहितका फलफूल तथा माटोका हाथी, ढकनी, घैला, चामलको मिठोबाट बनेको भूसवा, ठकुवा जस्ता सामाग्री चढाउने चलन रहेको छ।