काठमाडौं, १६ कात्तिक। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले गरेका राम्रा कामहरूबाट परिवर्तनविरोधीहरू तिलमिलाएको बताएको छ।
सत्तारूढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री दहालले पार्टीको बागमती प्रदेश, उपत्यका विशेष प्रदेश र सम्पर्क समन्वय समितिका केन्द्रीय सदस्य, आयोग र प्रदेश पदाधिकारी बैठकमा सम्वोधन गर्दै परिवर्तनविरोधीहरूको षड्यन्त्र निरन्तर असफल बनाउँदै आएको बताए।
उनले सरकारलाई के गरि असफल पार्न सकिन्छ र गठबन्धन के गरि तोड्न सकिन्छ भनेर एक थरी शक्ति र तत्व न्वारानदेखिको बल लगाएर लागिरहेका छन्, नौ महिनामा ७ जना त प्रधानमन्त्री तयार गरिसके। तर सबै प्रयास सरकार र नेतृत्वले असफल पारिरहेको बताउँदै अझै पनि त्यस्ता प्रतिगामी षड्यन्त्रहरू चलिरहेपनि असफल पारिछाड्ने जिकिर गरे।
प्रचण्डले माओवादी केन्द्रले चलाएको अभियान मुलभुत रूपमा सफल रहेको र पहिले भन्दा गम्भीर र जनतासँग जोडिएको पाएको बताए। उनले जनता नै ईतिहासका निर्माता भएको र जनतासँग जोडिने कुरानै प्रधान विषय भएको दोहर्या। अभियानबाट पार्टी देशभर चलायमान र व्यवस्थित हुँदै गएको कुरा विरोधिहरूले समेत भनेको बताउँदै उनले अब जनतालाई परिचालन गर्ने तर्फ अभियान केन्द्रित गर्नुपर्नेमा जोड दिए।
प्रचण्डले जनतालाई सरकारले गरेका कामको जानकारी दिन, परिवर्तनको पक्षमा जागरुक गर्न र प्रतिगमनकारी प्रवृत्तिलाई खबरदारी गर्न आगामी मंसिर २२ गते जनपरिचालन गर्ने योजना रहेको जानकारी दिए। उनले जनपरिचालनलाई माओवादीले सडक संघर्ष गर्न लाग्यो भनेर मिडियामार्फत परिवर्तनविरोधीले स्याल हुईंंंया मच्चाएको बताउँदै जनतालाई सत्य के हो बताउन जरुरी रहेको जनाए।
उनले भने, ‘माओवादीको नेतृत्वमा सरकारले मिटरब्याज पीडितलाई कसरी न्याय दिईयो, नागरिकता नपाएर विक्षिप्त भएकालाई नागरिकता दिलाउने काम गरियो, बैदेशिक रोजगारिमा रहेका मजदुरहरूलाई सामाजिक सुरक्षा कोषमा आवद्व गर्ने निर्णय गरियो, देश भित्रै अनौपचारिक क्षेत्रमा रहेका ४० लाख युवाहरूलाई सामाजिक सुरक्षा कोषमा आवद्व गराइयो, उत्पादन र रोजगारीको लागि सरकारले विषम परिस्थितिमा पनि बजेट छुट्टयाइएको र १५ अरब रकम गाउँ पुर्याउन खोजिएको छ।’
उनले भ्रष्टाचारविरूद्वको अभियानलगायतका कामहरू हल्ला नगरी परिणाम देखिने गरि गरिएको बताउँदै जनतामा यसको बारेमा आजश्यक जानकारी नपुगेको बताए।