आशिष विश्वकर्मा
सिरहा, ५ कात्तिक। दशैं नवरात्रको सुरुवातसँगै तराई मधेशका देवी दुर्गाको मन्दिरहरुमा लोकगीत तथा नृत्य झिझियाले छुट्टै माहोल सृजना गरेको छ। दशैंको बेला मिथिलाका गाउँहरुमा गाउँने तथा घर घरमा गएर नाच्ने झिझिायाले ठूलो साउण्ड सिस्टम र दुर्गा मन्दिरका स्टेजहरु पाएपछि यसले छुट्टै रौनक सृजना गरेको हो।
कुनै समय महिलाहरु गाउँ घरमै घटस्थापनाको दिनदेखि विजयादशमीसम्म हरेक साँझ नाच्ने गरिन्थ्यो । परम्परागत बाजा ढोलक, मृदङ, झ्याली बजारएर गाउँदै घर–घर गएर नाच्ने र घरपट्टीले दिएको दक्षिणाबाट देवीको पूजा गर्ने चलन रहेको नरहा गाउँ पालिका ३ चोहर्वाका ६० वर्षिय दुखनी मण्डलले बताइन्।
प्रविधिको विकास र पहुँचले हिजोआज गाउँ घरभन्दा पनि बजार क्षेत्रमा लाग्ने मेला महोत्सवहरुमा नाच्ने चलन बढेको जय माँ दुर्गा झिझिया टिमका धामी समेत रहेका मण्डलले सुनाए। उनले भने, ‘पहिला हामी दशैंभरी गाउँमै नाचगान गथ्र्यौं , हिजो आज बजारहरुमा दुर्गामेला महोत्सवहरुमा नाच गान गर्ने चलन बढेको छ । हाम्रो टिम पनि सहभागी हुने गरेको छ ।’
यो नृत्यमा महिलाहरूले धेरै प्वाल भएको माटोको घैलाभित्र बलिरहेको दियो राखेर नाच्ने परम्परा रहेको छ । यसले पनि नृत्यमा रौनक थीने गरेको छ । घैलाको प्वाल बोक्सीले गन्तीगर्न सक्यो भने र बलिरहेको दियो निभ्यो भने अनर्थ हुने जनविश्वास रहँदै आएको छ।
आफ्ना बालबालिका र समाजमा शान्ति, अमनचैन आओस र बोक्सी डायनबाट जोगाउन यो नाच गर्ने जनविश्वास छ । दशैंका समयमा बोक्सी ज्ञानभएकाहरु सलबलाउने भएकाले बोक्सीको जादूको प्रभावलाई कम गर्न यो अनुष्ठान सुरु गरिएको भन्ने विश्वास समाजमा छ।
झिझिया गीत नृत्यको फैलदो प्रभावसँगै गीतमा प्रयोग भएका भाषाले समाजमा अन्धविश्वास र कुरीतिलाई संरक्षण गरेको विषय अधिकारकर्मीहरुले उठाउन थालेका छन्।
माछ मार गेले डनिया ... पोखरीया..
दुर जो गे डैनिया, जोरे बेटा खौकी ....जस्ता गीतमा प्रयोग भएका शब्दले सभ्य समाजलाई कलङ्कित पारेको अधिकारकर्मीहरुको भनाई रहेको छ। अधिकारकर्मीहरुले समाजमा भएका सवै भाषा, धर्म, संस्कार संस्कृतिको संरक्षण सम्वर्धन गर्न जरुरी भएको भन्दै त्यसभित्र रहेका कुसंस्कार र कुरीतिहरुलाई पनि परिमार्जन गर्दै जानुपर्नेमा जोड दिए।
महिला अधिकारकर्मी श्याम कुमारी साहले भने, ‘हाम्रो समाजमा भएको सवै धर्म, संस्कार संस्कृतिको हामी तपाईले नै संरक्षण, सम्वर्धन गर्ने हो। तर, संस्कार संस्कृतिभित्रको खराव विषयलाई पहिचान गर्दै यसलाई शुुुसंस्कृत बनाउनु पनि हाम्रौ कर्तव्य हो।’
‘झिझिया गीतमा प्रयोग भएका डायन, जोगिन, बेटखौकी जस्ता शब्दले महिलामाथि ठाडो प्रहार भएको प्रतीत हुन्छ; महिला मानव अधिकाररक्षकहरुको राष्ट्रिय सञ्जालकी अध्यक्ष समेत रहेका साहले भने, ‘यस्ता खालका हानिकारक शब्दहरुलाई परिमार्जन गर्न म जरुरी देख्छु।’ उनले यो समाजिक र कानुनी दुवै प्रकारले विरोधी रहेको बताए।
यो नृत्य विशेषगरी दलित, गरिब र सामाजिक शक्ति सन्तुलनमा निम्छरो वर्गका रुपमा रहेका परिवारका किशोरी तथा महिलाहरुलाई नचाइन्छ। त्यसमा पनि छोरीहरुले मात्र नाच्न पाउने चलन छ। यो एक प्रकारको विभेद रहेको पत्रकार तथा अभियन्ता अजुथपलिया बताउँछन्। पत्रकार थलियाले भने, ‘यद्यपि झिझियालाई लोक नृत्य भनेर यसलाई मनोरञ्जनका खातिर संरक्षण गरिंदैछ। तर यो नाच मानव अधिकारका दृष्टिले समाजमा महिला मान सम्मानको भञ्जक छ।’
उनले थपे, ‘यस नाचमा कुनै दर्शन छैन। यो विशुद्ध सामन्तवादी युगको एक महिलाहन्तक अन्धविश्वास हो। यसलाई खारेज गरिनुपर्छ। झिझियाले बोक्सी हुन्छ, टुनामूना मन्त्र हुन्छ र मन्त्र शक्तिको आडमा बोक्सीले जनधनको क्षति पु¥याउँछ भन्ने मिथ्या सन्देश फैलाउँछ। अन्धकार र अन्धविश्वासतर्फ समाजलाई उन्मुख गर्छ। यो घातक छ र यसलाई सती प्रथा जस्तै गरी प्रतिवन्ध लगाएर समाजबाट निमिट्यान्न पारिनुपर्छ।’
संस्कृति भनेको सामूहिक सामाजिक जीवन जिउने उद्धति रहेको भन्दै थपलियाले भने, ‘यो सुखमय र आनन्ददायक हुनुपर्छ। समाजको कमजोर वर्गलाई लाञ्छित गर्ने, मिथ्याचारी सन्देश प्रवाह गर्ने र मानवअधिकार हनन गर्न सिकाउने परम्परा अबको सभ्य समाजमा किमार्थ मान्य हुन सक्दैन। कुनै पनि अन्यायपूर्ण व्यवहार वा चलन धेरै पुरानो समयदेखि चलिआएको भन्दैमा त्यसले वैधता, निरन्तरता र संरक्षण पाउनुपर्छ भन्ने मान्यता गलत छ।’
नेपाल सरकार र उसका अन्य निकायहरुले खासगरी स्थानीय सरकारले झिझिया नाच आयोजन गर्न बजेट खर्च गर्न थालिएको प्रति अधिकारकर्मीहरुको आपति जनाएको छ। उनीहरुले स्थानीय तलहले यस्ताखालका कार्यमा लागनी गर्नु झन् चिन्ताको विषय भएको बताए। ‘बोक्सी, धामी वा कुनै पनि टुनामूना हुँदैन भनेर समाजलाई चेतनाकरण गर्नु पर्ने बेला समाजलाई अन्धविश्वासतर्फ डो¥याउन सरकारी धन खर्च गर्नु दुखदायी छ; उनीहरुले भने।
बोक्सीको आरोपमा तराईमा वर्षेनी समाजका कमजोर वर्गका दर्जनौ महिलाहरुलाई मलमूत्र ख्वाउने गरिएको मानव अधिकार विपरीत हुदयविदारक घटना सुन्नुपर्छ। यो मध्ययुगिन अन्धविश्वास र सामन्ति उत्पिडनको पर्याय झिझिया समाजमा बदरयोग्य रहेको उनीहरुको कथन रहेको छ।