तस्बिर स्रोत, EPA
हमासका सशस्त्र लडाकुहरूले गत अक्टोबर ७ मा इजरेलमा गरेको अभूतपूर्व हमलाको जबाफमा इजरेलले गरेको आक्रमण र गाजा क्षेत्रमा हुन सक्ने सम्भावित स्थल कारबाहीलाई लिएर संसारभरि तरङ्ग उत्पन्न भइरहेको छ।
हामीले यो द्वन्द्व, यसको असर र यो कहाँ गएर अन्त्य हुन्छ भन्नेबारे तपाईँका सयौँ प्रश्नहरू प्राप्त गरेका छौँ। केही मानिसहरूले अरू देशहरू पनि युद्धमा सहभागी हुन्छन् कि हुँदैनन् भनेर जिज्ञासा व्यक्त गरेका छन्।
उक्त क्षेत्रमा रहेका हाम्रा संवाददाताहरूले बारम्बार सोधिएका केही प्रश्नहरूको उत्तर दिएका छन्।
के इरान र अमेरिकी संलग्न भए भने यसले तेस्रो विश्वयुद्ध निम्तिन सक्छ?
तस्बिर स्रोत, EPA
तस्बिरको क्याप्शन,
अमेरिकाले संसारकै सबैभन्दा ठूलो विमानवाहक जहाज जेरल्ड आर फोर्डलाई इजरेलनजिक तैनाथ गरेको छ
जेरमी बोवन, दक्षिण इजरेलबाट विवरण पठाइरहेका हाम्रा अन्तर्राष्ट्रिय सम्पादक भन्छन्:
इरान वा उसको लेबननस्थित साझेदार हिज्बुल्लाहले गर्न सक्ने हस्तक्षेपको सम्भावनाबारे सोधिएको प्रश्नमा जो बाइडनले भने, “नगर।”
अमेरिकीहरूले दुईवटा विमानवाहक लडाकु पानीजहाजको समूह पूर्वी भूमध्यसागरमा तैनाथ गराएको छ र यो द्वन्द्वमा टाढै बस्न इरानलाई स्पष्ट सन्देश दिएको छ।
यदि कसैले हस्तक्षेप गर्यो भने उनीहरूले इजरेलको मात्र नभई अमेरिकी सैनिकको सामर्थ्यसँग पनि जुझ्नुपर्ने सन्देश दिन खोजेका छन्।
मध्यपूर्वमा अमेरिका र उसका साझेदार अनि इरान र उसका साझेदारबीच ठूलो टकराब छ।
दुवै पक्ष जोखिमका बारेमा अवगत छन्। यदि त्यो चिसोपन अझ बढ्यो भने त्यसले विश्वभरि प्रभाव पार्ने मध्यपूर्व द्वन्द्वलाई जन्माउने छ।
गाजामा इजरेलले गर्न सक्ने स्थल कारबाहीको उद्देश्य के हो?
लीज डूसेट, दक्षिण इजरेलस्थित बीबीसीकी प्रमुख अन्तर्राष्ट्रिय संवाददाता भन्छिन्:
अघिल्ला वर्षहरूमा ‘हमासमाथि कडा प्रहार गर्ने’ वाचा गरेको इजरेलले त्यसका लागि उसका सुरुङहरूको सञ्जाल नष्ट गर्ने र इजरेलभित्र रकेट प्रहार गर्ने सामर्थ्यलाई ध्वस्त पार्ने बताएको थियो।
तर अहिले समय फेरिएको छ। इजरेलले हमासलाई ‘निमिट्यान्न पारिदिने’ उद्घोष गरेको छ। उसका अनुसार इस्लामिक स्टेट समूहजस्तै हमासलाई पनि निर्मूल गरिदिनुपर्छ।
हमासका भौतिक पूर्वाधारहरू ध्वस्त पार्ने, सुरुङहरू भत्काइदिने र उसको कमान्ड र नियन्त्रण सञ्जाललाई अस्तव्यस्त पार्ने सैनिक सामर्थ्य इजरेलसँग छ।
तर गाजाभित्रको अवस्था कस्तो छ भन्ने कुरा इजरेललाई कति जानकारी छ भन्ने स्पष्ट छैन।
हमासको सैनिक विज्ञता र इजरेलको सुरक्षाबारेको अच्चम पर्ने किसिमको उसको सूक्ष्म बुझाइकै कारण उसले त्यस्तो शक्तिशाली प्रतिरक्षालाई छल्न सकेको हो।
सशक्त इजरेली आक्रमणसँग भिड्दा उससँग त्यही किसिमको अत्याधुनिक सामर्थ्य रहने ठान्न सकिन्छ।
इस्लामिक स्टेट समूहभन्दा पृथक् हमास एउटा राजनीतिक र सामाजिक समूह हो जसले प्यालेस्टिनी समूहमा गहिरो छाप छाडेको छ।
सैनिक कारबाहीले उसका भौतिक संरचनाहरूलाई ध्वस्त पारिदिए पनि त्यसले उनीहरूले उठाएका विषयहरूमा ज्यान दिन राजी भएका मानिसहरूको हिम्मतलाई अझ कठोर बनाउने छ। तस्बिर स्रोत, EPA
तस्बिरको क्याप्शन,
गाजाको सीमामा इजरेली सैनिकहरू भेला भएका छन्
हमास लडाकुहरूले इजरेलमा धावा बोल्नुको उद्देश्य के हो?
फ्र्याङ्क गार्डनर, हाम्रा सुरक्षा संवाददाता भन्छन्:
हमासका प्रवक्ता मुहम्मद अल-डेफले इजरेलमा हमासले आक्रमण गरेपछि "अति भयो" भनेका थिए।
गाजा र वेस्ट ब्याङ्कमा इजरेलीहरूका कारण प्यालेस्टिनीहरूले भोगेको निरन्तरको उक्साहट र अपमानको प्रत्युत्तर दिन आक्रमण गरिएको उनको भनाइ थियो।
तर विज्ञहरू अरू अघोषित कारणहरू रहेको ठान्छन्।
हमलाअघि इजरेल र साउदी अरब आफूबीचको सम्बन्ध सामान्य बनाउने प्रयासमा थिए।
हमास र उसलाई समर्थन गरिरहेको इरान दुवैले त्यसको विरोध गरेका थिए। साउदी अरबले अहिले इजरेलसँगको वार्ता स्थगित गरेको छ।
तर हमासको नेतृत्वले बेन्यामिन नेतन्याहुको दक्षिणपन्थी सरकारले ल्याएको न्यायिक सुधारका कारण इजरेली समाजमा देखिएको चरम विभाजनलाई पनि देखेको छ।
उनीहरूले इजरेललाई ठूलो धक्का दिने उद्देश्य राखेका थिए र त्यसमा उनीहरू सफल देखिए।
मुस्लिमहरू 'इस्लामिक बन्धुत्व' को चर्चा गर्छन्। इजिप्टका मुस्लिमहरू कसरी गाजासँगको सीमा बन्द गर्ने कुराको औचित्य पुष्टि गर्न सक्छन्?
तस्बिर स्रोत, Getty Images
तस्बिरको क्याप्शन,
रफा सीमा बन्द रहेको छ
जेरमी बोवन, दक्षिण इजरेलबाट विवरण पठाइरहेका हाम्रा अन्तर्राष्ट्रिय सम्पादक भन्छन्:
इस्लाम एउटा आस्था हो तर त्यो राष्ट्रिय सुरक्षाको राजनीतिको दायराभन्दा पर जाँदैन।
मलाई लाग्छ इजिप्टका दशौँ लाख मुस्लिमहरू गाजामा रहेका गैरसैनिकहरूको पीडा समाप्त भएको हेर्न चाहन्छन्।
तर इजिप्ट सरकारले शान्ति बहाल रहेको अवधिमा पनि गाजाबाट नियमित रूपमा रफाह सीमासम्मको पहुँच दिँदैन। सन् २००७ मा हमासले गाजामा सत्ता हातमा लिएयता इजरेलले गाजामा गरेका आक्रमणहरू इजिप्ट उसको सहयोगीजस्तो देखिने गरेको थियो।
हमासको जरो 'मुस्लिम ब्रद्ररहुड'सँग छ। उक्त सङ्गठन एक शताब्दीअघि इजिप्टमा स्थापित भएको थियो। ब्रदरहुडले इस्लामिक शिक्षा र आस्थाका आधारमा राज्य र समाजलाई पुनः संरचना गर्न चाहेको छ।
इजिप्टको सेनाले उक्त चाहनाको विरोध गर्छ। सन् २०१३ मा उसले निर्वाचित मुस्लिम राष्ट्रपतिलाई अपदस्थ गरेको थियो।
इजिप्टको अहिलेको सत्ताले हमाससँग सम्बन्ध राखेको छ। तर उसले प्यालेस्टिनी शरणार्थी ओइरिएको देख्न चाहँदैन।
नयाँ स्थापित इजरेलले धपाएका मानिसहरूका लागि बनाइएका गाजाको शरणार्थीका शिविर स्थापना गरिएको ७५ वर्ष भइसक्दा पनि अस्तित्वमा छन्।के हमास समूहले युद्ध अपराध गरेको छ?
पोल एडम्स, बीबीसीका विश्वमामिला संवाददाता भन्छन्:
दशकौँसम्म द्वन्द्व चलेको भए पनि इजरेलले अक्टोबर ७ अघि हमाससँग आफू युद्धमा रहेको भन्ने गरेको थिएन। इजरेलका लागि त्यसअघि त्यो आतङ्ककारी गतिविधि थियो, युद्ध होइन।
बेन्यामिन नेतन्याहुको सरकारले आफ्नै तरिकाले न्यायको बाटो अघि बढाएको छ र उसले नरसंहारका लागि जिम्मेवार ठहर गरेका कम्तीमा दुई हमास कमान्डरलाई मारिदिएको छ।
उसले अझ धेरैको ज्यान लिने प्रयास गर्नेमा कुनै शङ्का छैन।
उक्त संस्थाको राजनीतिक नेतृत्वकर्ताको बारेमा प्रश्नहरू उठ्न सक्छन्। उनीहरू कतार र लेबनानमा बसिरहेका छन्। समूहको सैनिक सङ्गठनले इजरेलभित्र हमला गर्ने योजनाबारे उनीहरू बेखबर भएको कतिपय बताउँछन्।
संयुक्त राष्ट्रसङ्घले किन इजरेलले गाजामा गरिरहेको हवाई हमलामा हस्तक्षेप गरिरहेको छैन?
जेम्स ल्यान्डल, बीबीसीका कूटनीतिक संवाददाता भन्छन्:
धेरै देशहरूले इजरेललाई हवाई हमला रोक्न आग्रह नगर्नुको प्रमुख कारण उनीहरू उक्त मुलुकलाई हमासले आक्रमण गरेको र इजरेलसँग आफ्नो प्रतिरक्षा गर्ने अधिकार रहेको स्वीकार गर्छन्।
उनीहरूले संयम हुन गरिरहेको आग्रह भनेको इजरेलले कसरी आफ्नो रक्षा गर्नेभन्नेतर्फ केन्द्रित छ।
संयुक्त राष्ट्रसङ्घले इजरेललाई गैरसैनिक मानिसहरु हताहत हुन नदिन अनुरोध गरेका छन्।
राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरसले केही दिनअघि भने, “अन्तर्राष्ट्रिय मानवीय कानुन र मानवाधिकार कानुनको सम्मान र पालना गरिनुपर्छ; गैरसैनिकहरू सुरक्षित गरिनुपर्छ र उनीहरूलाई कहिल्यै पनि मानवढालको रूपमा प्रयोग गरिनुहुँदैन।”
इजरेलले उसका लडाकु विमान र कारबाही हमासले प्रयोग गरेका गाजास्थित स्थानहरूमा केन्द्रित रहेको दाबी गरेको छ। तर ती हमलामा धेरै गैरसैनिकहरूको ज्यान गएको छ र धेरै मानिसहरू घाइते भएका छन्।
इजरेलले अत्यधिक र अन्धाधुन्ध हवाई हमला गरेकाले धेरै मानिस हताहत भएको प्यालेस्टिनीहरू बताउँछन्। इजरेलले चाहिँ हमासले सर्वसाधारणहरूलाई मानवढाल बनाएको आरोप लगाएको छ।
तस्बिर स्रोत, EPA
तस्बिरको क्याप्शन,
राष्ट्रसङ्घले सर्वसाधारण मानिसलाई तारो नबनाउन आग्रह गरेको छ
इजरेली सेनाले गुप्तचर र निगरानी क्षमता भए पनि किन हमासको आक्रमणको भेउ पाएन?
योलान्ड नेल, जेरुसलेमस्थित बीबीसीकी मध्यपूर्व संवाददाता भन्छिन्:
इजरेलको सेनाले गाजामा निगरानी गर्ने उसको नियन्त्रणकक्ष विगतमा पत्रकारहरूलाई देखाएको थियो। ड्रोन र अरू क्यामरा प्रयोग गरेर इजरेलले गाजामा हुने आवतजावतबारे जानकारी तत्कालै प्राप्त गर्ने गरेको स्पष्ट छ।
इजरेलसँग सुराकीहरूको ठूलो सञ्जाल पनि छ। मे महिनामा इस्लामिक जिहादसँग भएको लडाइँका क्रममा हामीले विद्रोहीहरू कहाँ हुन सक्छन् भन्ने इजरेलको सूचना कति यथार्थपरक हुन सक्छ भन्ने देख्न पायौँ।
ब्रीफिङहरूमा इजरेली सैन्य अधिकारीहरूले हमासले गरेको पछिल्लो घातक हमलामा ठूलो गुप्तचरी र सुरक्षा विफलता भएको स्वीकार गरेका छन्।
तर हमासलाई लक्ष्य गरिने ठाउँहरूबारे इजरेलको सूची कति वास्तविक छ भन्ने कुरा हामीले उसले स्थलसेना खटाएपछि मात्रै थाहा पाउन सक्छौँ।
तस्बिर स्रोत, Getty Images
तस्बिरको क्याप्शन,
लेबननमा आधारित हिज्बुल्लाह हमासभन्दा बढी तालिमप्राप्त र स्रोतसाधन सम्पन्न छ
लेबनन पनि युद्धमा मिसियो भने हमासको तुलनामा हिज्बुल्लाह कति ठूलो शक्ति हो?
ह्यूगो बशेगा, दक्षिणी लेबननबाट भन्छन्:
लेबननमा आधारित सैनिक, राजनीतिक र सामाजिक अभियान हिज्बुल्लाहलाई इजरेलले हमासभन्दा बढी खतरनाक शक्तिका रूपमा लिने गरेको छ।
धेरै अस्त्रशस्त्र भएको तथा इरानको समर्थन पाएको उक्त समूहसँग इक लाख ३० हजारवटा रकेट र क्षेप्यास्त्र रहेको सेन्टर फर स्ट्रटीजिक एन्ड इन्टरन्याश्नल स्टडीजले जनाएको छ।
अधिकांश अस्त्र साना, मान्छेले बोक्न मिल्ने खालका र जमिनबाट जमिनमा मार हान्न सक्ने रकेट हुन्।
हिज्बुल्लाहसँग विमानभेदी र पानीजहाजभेदी क्षेप्यास्त्रहरू पनि छन्। यसै गरी इजरेलको भित्रसम्म हान्न सक्ने गाइडेड क्षेप्यास्त्रहरू पनि छन्।
ती अस्त्र अहिले हमाससँग भएका अस्त्रभन्दा अत्याधुनिक हुन्।
हिज्बुल्लाहका नेताहरूले आफूहरूसँग एक लाख लडाकु रहेको दाबी गर्छन्। तर स्वतन्त्र आँकडा उक्त सङ्ख्या २० देखि ५० हजारको बीचमा हुन सक्ने ठानिएको छ। धेरै लडाकु राम्रोसँग तालिमप्राप्त छन् र युद्धमा कुशल छन्। कैयौँ लडाकु सिरियाको गृहयुद्धमा सहभागी भएका छन्।
इजरेलले हमासका लडाकुको सङ्ख्या ३० हजार रहेको अनुमान गरेको छ।
तस्बिर स्रोत, Getty Images
तस्बिरको क्याप्शन,
गाजाको सुरुङमा एक हमास लडाकु
के हमासले अस्पताल र विद्यालयमुनि सुरुङ बनाएको छ?
लीज डूसेट, दक्षिण इजरेलबाट बीबीसीकी प्रमुख अन्तर्राष्ट्रिय संवाददाता भन्छिन्:
गाजाका सुरुङहरू यति व्यापक र झुक्क्याउने खालका छन् कि इजरेली सेनाले त्यसलाई भूमिगत गाजा भन्ने गर्छ।
ती सुरुङ हमासले गर्ने कारबाहीमा महत्त्वपूर्ण अङ्ग हुन्। सुरुङहरूलाई सामान आपूर्ति र मानिसको आवतजावत, अस्त्र र गोलीगट्ठा भण्डारणका लागि प्रयोग गरिन्छ। कमान्ड र कन्ट्रोल सेन्टर पनि सुरुङभित्र छन्।
बलियो कङ्क्रिटको सुरक्षा व्यवस्था र विद्युत् आपूर्ति पनि त्यहाँ रहेको बताइन्छ। तीस मिटरसम्म गहिरो रहेको भनिएका ती सुरुङ कहाँ छन् भन्ने यकिनका साथ भन्न गाह्रो छ।
तर त्यति सानो भूभागमा त्यस्तो भूमिगत सञ्जाल ठूलो जनघनत्व रहेको बस्ती, अस्पताल वा विद्यालयमुनि रहेको हुन सक्ने ठानिएको छ।
कतिपय विवरणमा केही प्रवेशद्वारहरू भवन, मस्जिद, विद्यालय र अन्य सार्वजनिक भवनको तल्लो तलामा रहेका र त्यसले गर्दा विद्रोहीहरूको पहिचान गर्न नसकिने जनाइएको छ।
इजरेली सेनाले हमास यी सुरुङभित्र लुक्ने गरेको भन्दै उसले मानवढाल प्रयोग गरी आफूलाई जोगाउने गरेको बताउँदै आएको छ।
तस्बिर स्रोत, Getty Images
तस्बिरको क्याप्शन,
गाजाको पुनर्निर्माण ठूलो चुनौती हुने बीबीसीका पोल एडम्स बताउँछन्
गाजामा कसको शासन होला?
पोल एडम्स, हाम्रा विश्वमामिला संवाददाता भन्छन्:
इजरेलले उसले हमास समूहलाई उन्मूलन गर्न चाहेको तर आफू २० वर्षअगाडि पछि हटेको क्षेत्रलाई पुन: नियन्त्रणमा लिन चाहेको ठान्नुपर्ने कुनै कारण नरहेको बताउने गरेको छ।
इजरेलका केही अतिदक्षिणपन्थीहरूले त्यसो गर्न चाहेका हुन सक्छन्। तर सन् १९६७ देखि २००५ सम्म गरिएको अतिक्रमण महँगो र अलोकप्रिय बनेको थियो।
इजरेल २० लाखभन्दा बढी रुष्ट प्यालेस्टिनीहरूलाई दैनिक शासन गर्ने भूमिकामा फर्किन चाहँदैन।
तर घर छाड्न प्यालेस्टिनीहरूलाई इजरेलले दिएको चेतावनीले इजरेलसँग एउटा लुकेको उद्देश्य रहेको भय उत्पन्न गराएको छ। त्यसले प्यालेस्टिनीहरूले अल-नक्बा वा प्रलय पनि भन्ने गरेको सन् १९४८ को इतिहास दोहोर्याउन सक्ने डर त्यहाँ पाइन्छ। त्यस बेला लाखौँ प्यालेस्टिनीहरू भागेका वा निर्वासित भएका थिए।
अहिले त्यहाँ द्वन्द्वपछिको समाधान टाढै देखिन्छ। एक भूतपूर्व इजरेली सैनिक अधिकारीले इजरेल, खाडी देशहरू र अन्तर्राष्ट्रिय समुदाय गाजाको पुनर्निर्माणमा मिलेर अघि बढ्ने विषयमा एक ठाउँमा उभिने अपेक्षा आफ्नो रहेको बताए।
अनि वेस्ट ब्याङ्कमा आधारित रहेको प्यालेस्टिनी प्राधिकरणलाई पुन: शक्तिमा ल्याउनेबारे छलफल भएका छन्। सन् २००७ मा हमाससँग भएको सङ्क्षिप्त रक्तपातपूर्ण झडपपछि उक्त निकाय शक्तिबाट बाहिरिन बाध्य भएको थियो।
इजरेली बम हमलाले पुर्याएको क्षतिलाई विश्लेषण गर्दा गाजाको पुनर्निर्माण निकै ठूलो काम हो।
बीबीसी नेपालीसेवा।