प्रतीकात्मक तस्वीर

हालै काठमाण्डूको बालाजुमा बसले ठक्कर दिँदा स्कुटरमा चालकपछाडि बसेकी एक महिलाको घटनास्थलमै ज्यान गयो।

प्रहरीका अनुसार घटनापछि ुअफलाइन राइडरु फरार भए। चालक अनलाइन नभएको कारणले गर्दा उनको पहिचान गर्न प्रहरीलाई तुलनात्मक रूपमा बढी समय लाग्यो।

त्यसअघि काठमाण्डूकै माछापोखरीमा एक महिलामाथि धारिलो हतियार प्रयोग गरी भाग्ने क्रममा आरोपितले अफलाइन राइडिङ सेवा लिएको पाइएको थियो।

काठमाण्डू उपत्यकामा राइड शेअरिङसम्बन्धी भएका यी दुइटा प्रतिनिधि घटना मात्रै हुन्।


उपत्यकाभित्र आवतजावतका लागि धेरै मानिसलाई सजिलो बनाएको बताइने अनलाइन राइड शेअरिङले समस्या पनि थपिरहेको अधिकारीहरू बताउँछन्।

पछिल्लो समय अफलाइन राइडिङबारे गुनासो बढिरहँदा त्यसबाट समस्या पनि निम्तिएको भन्दै प्रहरीले अफलाइन सेवा नलिन प्रयोगकर्तालाई अनुरोधसमेत गरेको छ।

काठमाण्डू उपत्यकामा खासगरी अनलाइन राइड शेअरिङ कम्पनीहरू पठाओ र इनड्राइभ बढी प्रयोगमा छन्।

  • प्रहरीले निगरानी बढाउँदै

जिल्ला प्रहरी परिसर काठमाण्डूका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीका अनुसार अनलाइन राइड शेअरिङका नाममा अफलाइन राइड गर्ने ८३ जनालाई नियन्त्रणमा लिई सोमवार सोधपुछ गरिएको छ।

अफलाइन राइडरहरूबारे सम्बन्धित सेवाप्रदायक कम्पनीहरूलाई जानकारी पनि गराउने उनले बताए।

त्यस्ता राइडरलाई सम्बन्धित कम्पनीले निलम्बन गर्ने गरेका मैनाली बताउँछन्।

यसअघि पनि प्रहरीले कैयौँ पटक अफलाइन राइडरहरूलाई नियन्त्रणमा लिएका उदाहरणहरू छन्।

“त्यस्ता घटनामा वृद्धिसँगै ट्राफिक प्रहरीले र सादा पोशाकमा रहेका प्रहरीले अफलाइन राइडरलाई चेज गर्नेदेखि लिएर चोकचोकमा पार्किङ गरेर यात्रु कुर्नबाट रोक्ने काम गरिरहेका छन्,” उनले थपे।

प्रहरीका अनुसार अनलाइन राइड शेअरिङमा दर्ता नभएका कतिपय व्यक्तिले पनि त्यसरी अफलाइन राइड गर्ने गरेका पाइएको छ।

अफलाइनले निम्त्याएका समस्या

अफलाइन राइडरहरूले प्रयोगकर्तासँग मोलमोलाइ गरी बढी रकम लिने गरेका, यात्रीलाई गन्तव्यमा नपुर्‍याउने गरेका विवरण पटक पटक आउने गरेका छन्।

तर ती समस्याबाहेक सुरक्षासम्बन्धी चुनौती पनि थपिएको परिसरका प्रवक्ता मैनाली बताउँछन्।

एकातर्फ अफलाइन राइडरबाट सेवा लिँदा ग्राहकलाई घाटा हुन्छ भने अर्कोतर्फ तिनीहरू आपराधिक गतिविधिमा संलग्न हुँदा अनुसन्धान प्रक्रियामा प्रहरीलाई कठिनाइ हुने गरेको बताइएको छ।

“अनलाइन हुँदा अनुसन्धानका क्रममा सम्बन्धित अनलाइन राइड शेअरिङ कम्पनीबाट राइडरबारे सबुत प्रमाणबारे जुन सूचना सजिलै पाउन सकिन्छ त्यो पाइँदैन। त्यसो हुँदा प्रहरीले अर्को वैकल्पिक विधि प्रयोग गर्नुपर्ने हुन्छ,” मैनालीले बीबीसी न्यूज नेपालीसँग भने।

“त्यो सँगसँगै अफलाइन राइडरहरूले ग्राहकबाट बढी भाडा लिने गरेका र मादक पदार्थ सेवन गरेका कतिपय राइडरले सुरक्षित रूपमा गन्तव्यमा नपुर्‍याएका घटना पनि भएका छन्।”

नेपालमा अनलाइन राइड शेअरिङसम्बन्धी अहिलेसम्म कानून छैन।

तर हालै सर्वोच्च अदालतले आवश्यक कानून बनाई नियमित गर्न आदेश दिएको थियो।

“अफलाइन राइडरले ग्राहकका पर्स नै लुटेर भागे भने के गर्ने, गरगहना लिएर भागे भने के गर्नेरु त्यो भएर सकेसम्म अफलाइन प्रयोग नगर्न, त्यसलाई निषेध नै गर्न हाम्रो आग्रह छ,” प्रवक्ता मैनालीले भने।

  • अफलाइनमा दुवैलाई घाटा

कमिसन दिन नपर्ने लोभमा कतिपय राइडरले अफलाइन सेवा दिने गरेका स्वयं राइडरहरू नै बताउँछन्।

पठाओले राइडरबाट २० प्रतिशतसम्म कमिसन लिने गरेको उनीहरू बताउँछन्।

तर अफलाइन राइडिङ दुवै पक्षका लागि ठीक नभएको एकजना राइडरले बीबीसी न्यूज नेपालीसँग आफ्नो अनुभव साझा गरे।

“एकचोटि मैले एकजना विदेशी पर्यटकको आग्रहमा उनलाई ठमेलसम्म पुर्‍याइदिएँ। पाँच सय रुपैयाँ दिन भनेका ती पर्यटकले मसँग पैसा छैन भनेर टोकन थमाइदिए,” नाम उल्लेख नगर्ने शर्तमा उनले भने।

उनका अनुसार अफलाइन सेवाका कारण कहिले राइडर त कहिले ग्राहक समस्यामा पर्ने जोखिम रहन्छ।

“गन्तव्यमा पुगेर ग्राहकले पैसा दिन मानेनन् र एकाध मान्छे बोलाएर पिट्न थाले भने के गर्ने अथवा राइडरले ग्राहकलाई बीच बाटोमा लगेर लुटे भने के गर्ने,” दोहोरो समस्याबारे ती राइडरले भने।
बीबीसी नेपालीसेवा।